२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गृहसचिवमा सिंह

सम्पत्ति शुद्धीकरणका महानिर्देशकको सरुवा  
ऋषिराम पौड्याल

काठमाडौँ — सरकारले आमनिर्वाचन नजिकिँदै गर्दा महत्वपूर्ण मन्त्रालय र विभागका प्रमुखहरुको हेरफेर गरेको छ । साताअघि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित झण्डै एक हजार कर्मचारी सरुवा गरेको सरकारले सोमबार अख्तिायर दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको सचिव, सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकसहित विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । 

गृहसचिवमा सिंह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेम भट्टराईको सरुवा गरिएको छ । शुद्धीकरण विभागको नेतृत्व गरेर शनिबार विदेश गएका बेला नफर्कंदै उनको सरुवा गरिएको हो ।

गैरकानुनी आम्दानी र स्रोत नियन्त्रण गर्न भइरहेको प्रयाससम्बन्धी कार्यक्रममा भाग लिन प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीसहित भट्टराई सिंगापुर गएका हुन् । उनी बिहीबार फर्कने कार्यक्रम छ । भट्टराईको स्थानमा सहसचिव तारानाथ अधिकारीलाई पठाउने तयारी रहेको स्रोतले जानकारी दियो । अधिकारी १० महिना पर्यटन विभागको महानिर्देशक भएका थिए । उनलाई दुई महिनाअघि पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो ।

त्यस्तै निर्वाचनका बेला शान्ति सुरक्षा समन्वयको महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने गृह मन्त्रालयका सचिवलाई सरुवा गरिएको छ । गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । पाण्डेको स्थानमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

अख्तियारका सचिव तोयम रायलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइने स्रोतले बतायो । वाणिज्य सचिव गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका एक उपसचिवका अनुसार सचिवहरुले पत्र बुझिनसकेकाले आधिकारिक जानकारी दिन नमिल्ने बताए । उनले भने, ‘अन्तिममा निर्णय परिवर्तन हुने प्रवृत्ति पनि रहेकाले उनीहरुले पत्र नबुझी सरुवाको अन्तिम जानकारी दिन कठिन हुन्छ ।’

प्रकाशित : भाद्र २८, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?