‘नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा छ’

काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुसँग नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा एमाले अध्यक्ष ओलीले भने, ‘हाम्रो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेका छौं, यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका छौं ।’
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले अगामी अक्टोबरमा हुन लागेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना दिए ।
लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान–प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कामय कायम गर्ने बताएका थिए । उनले नेपालमा हुन गइरहेको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि शुभकामना दिए ।
उक्त शिष्टाचार भेटवार्तामा चिनियाँ टोलीको नेतृत्व अध्यक्ष लीले गरेका थिए भने नेपालको लागि चिनियाँ राजदूत होउ यान्छी पनि सँगै थिइन् । एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै विदेश विभागका प्रमुख राजन भट्टराई, अर्का उपमहासचिव विष्णु रिमाल, पूर्व राजदूत तथा विदेश विभाग सदस्य अन्जान शाक्यलागयत सहभागी थिए ।
