कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रीहरूले चुनावमा प्रचारप्रसार गर्न नपाउने आचारसंहिता हटाउनुपर्छ : श्रेष्ठ

काठमाडौँ — सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन् ।

मन्त्रीहरूले चुनावमा प्रचारप्रसार गर्न नपाउने आचारसंहिता हटाउनुपर्छ : श्रेष्ठ

बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले निर्वाचनको प्रचारप्रसार गर्न नमिल्ने भन्ने कुरा मान्य नहुने उल्लेख गर्दै उक्त प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनले माग गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेता श्रेष्ठले यस्तो बताएका हुन् । साथै राज्यको स्रोत/साधनको दुरुपयोग हुन नदिनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ थियो ।

तर राजनीतिक नेताहरू नै मन्त्री हुने भएकाले उनीहरूलाई निर्वाचन प्रचारप्रसारमा रोक लगाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गर्न भने कुनै पनि हालतमा नमिल्ने उनको तर्क थियो ।

श्रेष्ठले भने, ‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो । यो कुरा मिल्दैन । राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने । अनि, त्यही प्रणालीले नेताहरू मन्त्री पनि हुने । तर, मन्त्रीहरूले चाहिँ चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन । यो उपयुक्त छैन । अनुगमन कहाँ गर्नुपर्छ भने राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन ? त्यहाँ अनुगमन गर्न जरुरी छ । तर, मन्त्रीले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र ? पोलिटिकल लिडरहरू हुन्छन् मन्त्रीहरू । त्यसकारणले यो कुरा मिल्दैन । यस्तो कुरा चाहिँ सच्याउन जरुरी छ । समानुपातिक सहभागिताको बारेमा भने संविधान नै संशोधन गरेर जानुपर्ने अवस्था छ । जुन तत्काल सम्भव छैन ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा समानुपातिक सहभागिताको प्रश्नमा भने संविधान नै संशोधन गरेर अघि बढनुपर्ने अवस्था रहेको पटकपटक दोहोर्‍याएका थिए ।

प्रकाशित : भाद्र २७, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?