चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको भ्रमणमा संसदीय सहकार्यका सम्झौता हुँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको भ्रमणमा संसदीय सहकार्यका सम्झौता हुँदै

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रँदै
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेस बीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सको भ्रमणका दौरान सोमबार बेलुकी नेपाली पक्षसँग संसदीय सहकार्य र सांसदहरुको भ्रमण आदान–प्रदानको लागि सम्झौता हुन लागेको संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष लीको सोमबार दिउँसो करिब साढे ३ बजे एक सय जनाको उच्चस्तरीय टोलीसहित काठमाडौंमा उत्रँदै छन् । अध्यक्ष ली चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र मानिन्छन् । नेपालमा पछिल्लो समय आफ्नो चासो बढाइरहेको चीनको अध्यक्ष लीको टोलीमा ६ मन्त्रीस्तरका नेतासहित विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्र स्रोतले बतायो । लीको सुरक्षाको लागि सरकारले विशेष व्यवस्था समेत मिलाएको छ ।

राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेस अघि आफ्नो नजिकका मित्र लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमले नजाएको छ । उनी चिनियाँ संविधान अनुसार दोस्रो वरियता र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को वरियतामा तेस्रो वरियतामा पर्छन् ।

अध्यक्ष लीले सोमबार दिउँसो नेपाल आएलगतै सोमबारै सभामुख सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्ने छन् । उक्त संसद् भवन चीनले नै निर्माण गरिदिएको हो ।

सभामुख सापकोटाले सोमबारै लीको सम्मानमा चिनियाँ टोलीलाई रात्रिभोज सोल्टी होटलमा आयोजना हुँदैछ । मंगलबार बिहान अध्यक्ष लीले नयाँ बानेश्वरमै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने छन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग भने त्यसपछि सोल्टीमा भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्न बालुवाटार पुग्ने छन् ।

अध्यक्ष लीले अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् । यस्तै, परराष्ट्र मन्त्रालयको अनुसार उनी बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचन अघि तथा चीनमा अर्को महिना हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औं जनकंग्रेसको बारेमा पनि दुई पक्ष बीचमा विचारहरु आदान–प्रदान हुने बताइएको छ । २०७६ असोज २५–२६ मा चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय नेपाल भ्रमण गरेयता अध्यक्ष लीको नेपाला दोस्रो ठूलो उच्च तहको भ्रमण हो । सी नेपालमा २३ वर्षपछि भ्रमण गर्ने चीनका राष्ट्रपति हुन् । चिनियाँ अध्यक्ष ली सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका लागेका हुन् । गत चैत २९ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए ।

प्रकाशित : भाद्र २७, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

विद्युतीय सवारी मेलामा ५१ स्टल रहने

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलो पटक हुन गइरहेको विद्युतीय सवारीसाधनको मेलामा ५१ वटा स्टल रहने भएका छन् । असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुन गइरहेको नाडा ईभी एक्स्पोमा नेपालमा उपलब्ध सबैजसो विद्युतीय सवारीसाधन र तिनका पार्टपूर्जाबारे सम्पूर्ण रुपमा जानकारी लिन पाइनेछ ।

नाडा अटोमोबाइल एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको छ । नाडाका अनुसार मेलामा ७ ब्राण्डका चार पांग्रे, १६ ब्राण्डका दुई पांग्रे, एउटा तीन पांग्रे तथा ३ ब्राण्डका टायरहरुको प्रदर्शन रहनेछ । तीबाहेक अन्य बैंक तथा वित्तीय संस्थाका स्टल पनि मेलामा रहनेछन् । मेलामा विद्युतीय सवारीसाधन किन्दा पाइने कर्जा सुविधा, किस्ता, ब्याजदर लगायतका विषयमा वित्तीय संस्थाहरुले जानकारी गराउने छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिए । प्रवेश गर्दा विद्यार्थीका लागि टिकेट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ । ‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ ।

नाडाले सबै प्रकारका सवारीसाधनको मेला गर्ने तयारी गरेका बेला सवारीसाधन आयातमा सरकारले प्रतिबन्ध लगाएपछि ईभी एक्स्पो हुन लागेको हो । ‘सरकारको आयात प्रतिबन्धले अटो उद्योग नै धरासयी बन्दै गइरहेको अवस्थामा चलायमान बनाउनका लागि पनि ईभी एक्स्पो गर्न लागेका छौं’ थापाले भने । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाखदेखि सवारीसाधनसहित मदिरा, ३ हजार डलरमाथिको मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध असोज २८ गतेसम्म तोकिएको छ ।


प्रकाशित : भाद्र २७, २०७९ १३:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×