कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मुख्य दलकै पूर्वेली महिला अवसरबाट वञ्चित

अन्यभन्दा कांग्रेसको नाममा राजनीति गर्ने अधिकांश महिला अझै उपेक्षित
‘नाम सिफारिस मात्र भएर हुँदैन, सांसदको कोटा भित्र पनि पर्नुपर्‍यो, अनि मात्र अवसर पाएको पुष्टि हुन्छ’
विनोद भण्डारी

विराटनगर — राजनीतिक शक्तिकेन्द्रकै घरानामा रहेर पनि मिता आचार्यले अहिलेसम्म नेपाली कांग्रेसबाट कुनै अवसर पाएकी छैनन् । स्वर्गीय शैलजा आचार्यकी भाइबुहारी उनी दुई पटक पार्टीको महासमिति सदस्य भइन् ।

२०३४ देखि सक्रिय राजनीति गर्दै आएकी मिताको नाम यसपालि मोरङ क्षेत्र ५ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिस भएको छ । तर ६२ वर्षीया मितालाई यसमा चित्त बुझेको छैन । ‘संघीय सांसदमा जाने तयारी गरेको थिएँ,’ उनले भनिन्, ‘पार्टीले पहिलो पटक अवसर त दिएको छ तर प्रदेशमा सीमित गरेको छ ।’ उनले यसैमा चित्त बुझाउन बाध्य भएको बताइन् । ‘पार्टीले सही मूल्यांकन गरेको भए मंले धेरै पहिला नै अवसर पाउनुपर्ने हो,’ उनले भनिन्, ‘ढिलै भए पनि पार्टीले मूल्यांकन गर्न खोजेको जस्तो छ, त्यसलाई स्वीकार्छु ।’

शैलजा आचार्यका नाममा मोरङको जहदामा स्थापित एक प्राविधिक शिक्षालय उनले सञ्चालन गर्दै आएकी छन् । मिताले अध्यक्ष भएर अघि बढाइरहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले सीमावर्ती दक्षिणपूर्वी मोरङमा प्राविधिक शिक्षाको क्षेत्रमा क्रान्तिको उद्घोष गरेको छ । स्थानीय मात्र नभएर मुलुकभरका विद्यार्थी त्यहाँ पढ्छन् । अन्तिम क्षणसम्म शैलजालाई मिताको साथ र सहयोग रह्यो । उनी अहिले शैलजाकै मार्गचित्रमा मर्यादित एवं अनुशासित ढंगले शैक्षिक, सामाजिक एवं राजनीतिक पथमा अघि बढेकी छन् । मिताले भनिन्, ‘आमाजू सासूलाई भनेको भए पहिला नै अवसर पाउँथे होला ।’ तर त्याग र योगदान बुझेर पार्टीले नै मूल्यांकन गरोस् भनेर बस्दा राजनीतिमा पछि परेको उनको बुझाइ छ । उनका पति प्रदीपको दशक अगाडि मृत्यु भइसकेको छ । उनका पिता श्यामकृष्ण गौतम २०१७ मा भन्सारका कर्मचारी थिए । त्यसबेलाका शासकले उनलाई कांग्रेस भएकै कारण सरकारी जागिरबाट हटाएको थियो ।

दसक अघिसम्म नेपाली राजनीतिको शक्ति केन्द्र मानिँदै आएको कोइराला परिवारकै सदस्य मृदुलाले पनि बल्ल अवसर पाएकी छन् । उनको नाम क्षेत्र नं ६ बाट समानुपातिकबाट संघीय सांसदमा सिफारिस भएको छ । पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा मृदुलालाई कोइराला परिवारकै टिमले क्षेत्रीय प्रतिनिधिमा हराएको थियो । ‘लामो समयदेखि पार्टीमा काम गर्दै आउँदा बल्ल पहिलो पटक अवसर पाएकी छु,’ उनले भनिन्, ‘नाम सिफारिस मात्र भएर हुँदैन, सांसदको कोटा भित्र पनि पर्नुपर्‍यो, अनि मात्र अवसर पाएको पुष्टि हुन्छ ।’ नातामा कोइराला परिवारकी भान्जी पर्ने मृदुला शक्तिकेन्द्रमा नपुगेको भन्ने चाहिँ होइन । सुशील कोइराला प्रधानमन्त्री हुँदा सम्पर्क सल्लाहकार भएर शक्तिकेन्द्रको परिचित अनुहार बनिन् ।

सत्ता र शक्तिलाई नजिकबाट नियालेकी उनी अमेरिका र नेपाली कांग्रेस जनसम्पर्क समितिको संस्थापक र उत्तर अमेरिकाको कांग्रेस केन्द्रीय प्रतिनिधि थिइन् । तर आफ्नै क्षेत्रमा कदर नभएको मृदुलाको बुझाइ छ । तर उनलाई आफ्नै क्षेत्रका कार्यकर्ताले संगठनमा कमजोर र माथिल्लो लेवलका नेतासँगमात्र पहुँच राख्ने नेतृका रूपमा औंल्याउँदै आएका छन् । स्थानीय कार्यकर्ताबीच उनी लोकप्रिय हुन नसकेको निकट बताउँछन् ।

मोरङमा कांग्रेसबाट गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला र नेतृ डिला संग्रौलाले पटकपटक अवसर पाउँदा उनीहरूसँगै र त्यसभन्दा अगाडि कांग्रेसको नाममा राजनीति गर्ने अधिकांश महिला अझै उपेक्षित छन् । स्व. नोना कोइराला उर्फ (सुधा पौडेल) को आशीर्वादमा भुटनीदेवी खवास र कविता सरदार समानुपातिकबाट संविधानसभा सदस्य भइसकेका छन् । तर मिता, मृदुला, गीता सिलवाल, शान्ति रिजाल, रुकमणी कोइराला, शोभा पालुङवा र इन्दिरा कार्कीले अहिले उच्च अवसर पाएका छैनन् । उनीहरूको नाम समानुपातिकमा पटकपटक सिफारिस भए पनि सांसदको कोटाभित्र परेका छैनन् । तीमध्ये कार्की विराटनगर महानगरको निवर्तमान उपमेयर हुन् । कार्की गत स्थानीय निर्वाचनमा मेयरको दावेदार थिइन् । तर उपमेयर हुँदा कार्कीबाट अपेक्षा अनुरूपको कार्यसम्पादन हुन नसकेको र पार्टीमा गुट परिवर्तन गरेको भन्दै उनका पक्षमा कोही पनि नेता खुलेर नबोलेको पार्टी स्रोतको भनाइ छ ।

एमाले मोरङले पनि पुराना र त्यागी महिला नेतृलाई अवसर दिन सकेको छैन । मीरा दली, राधा पोखरेल, राधा अधिकारी, विमला घिमिरे, सरस्वती खरेल, अन्जु उपाध्या, मालती सुब्बा, किरण चौधरी र चन्द्रकला भण्डारीलगायत पुराना कार्यकर्ताले अझै पनि अवसर पाएका छैनन् । उनीहरू सबैको नाम यसपालि संघीय र प्रदेश सभा सदस्यमा समानुपातिकबाट सिफारिस भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए । ‘उनीहरूले एक पटक पनि राजनीतिक अवसर पाएका छैनन्,’ खतिवडाले भने,‘पार्टीले यसपाली उनीहरूको मूल्यांकन गरेर समानुपातिका नाम पठाएको छ ।’ एमालेबाट हालसम्म शिवमाया तुम्वाहाम्फे, गंगा डाँगी, योशोदा अधिकारी, मिनादेवी यादव, नैनकला ओझा, लक्ष्मी भण्डारी, राजमति इङनाम र शान्ति लिम्बुले पटकपटक राजनीतिक अवसर पाएका छन । इङनाम कानेपोखरी गाउँपालिका प्रमुख हुन । एमाले स्रोतका अनुसार महानगरकी उपमेयर शिल्पा कार्की एमालेको महिलामा सबैभन्दा छिटो अवसर पाउनेमध्येकी एक हुन् ।

भूमिगत कालदेखि अहिलेसम्म सक्रिय रहे पनि माओवादी केन्द्रबाट रचना राई, लता न्यौपाने र नरमाया भट्टराईले मौका नपाएको पार्टी स्रोतले जनाएको छ । अवसर पाए पनि माओवादी नेतृहरू विनिता घिमिरे, गीता तिम्सिना, शान्ता राई र शान्ति मोदीले चुनावमा पराजित भइसकेका छन् । सदैव शक्तिको नजरमा रहने घिमिरे चाहिँ अहिले पनि सुकुम्बासी आयोग मोरङको संयोजक हुन् । माओवादीले पिछडा वर्गकी जुम्बा सोरेन (सतार) लाई संविधानसभामा समानुपातिकबाट सभासद बनाएको थियो ।

प्रकाशित : भाद्र २७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?