२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

देउवाको ध्यान : गठबन्धन जोगाउने, आरजु जिताउने

तत्कालका लाभ–हानि हेरेर अंकगणितको व्यवहारवादी राजनीति गर्न सिपालु देउवा आफ्नै नेतृत्वमा चुनाव गराएर जनमतबाट छैटौं पटक प्रधानमन्त्री बन्ने योजनामा

काठमाडौँ‚ डडेलधुरा — कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावसम्म जसरी पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छन् । गठबन्धनलाई सहज अवतरण गराउन व्यस्त बनिरहेका उनका अनुहारमा थकान र बोझ झल्किन्छ । 

देउवाको ध्यान : गठबन्धन जोगाउने, आरजु जिताउने

तत्कालका लाभ–हानि हेरेर अंकगणितको व्यवहारवादी राजनीति गर्न सिपालु ७८ वर्षीय देउवा आफ्नै नेतृत्वमा चुनाव गराएर जनमतबाट छैटौं पटक प्रधानमन्त्री बन्ने योजनामा छन् तर गठबन्धनका पाँच दललाई मिलाएर चुनावमा जानु सहज छैन । समानुपातिक उम्मेदवारको सूची बुझाउन ६ दिन बाँकी छँदा गठबन्धनभित्र प्रतिनिधिसभाको सिट संख्यामै सहमति जुटेको छैन । एकले अर्कोलाई गलाउने रणनीतिबाट गठबन्धन दलहरू टसको मस भएका छैनन् ।

प्रत्यक्षतर्फका सिटमा भागबन्डा नटुंगिँदा समानुपातिक उम्मेदवार छनोट गर्न अन्योल भएको छ । प्रत्यक्षमा वञ्चित हुने नेतालाई समानुपातिकमा राखेर असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने भएकाले गठबन्धनलाई अबको एक–दुई दिनभित्रै निकास दिनुपर्ने बाध्यतामा उनी छन् । ‘एकातिर विभिन्न शक्तिकेन्द्रले गठबन्धन भत्काइदिन सक्ने संशय, अर्कोतर्फ गठबन्धनका सहयात्री दलहरूका अनावश्यक माग र पार्टीभित्रको दबाबका कारण उहाँले आफ्नो निर्वाचन क्षेत्रको चिन्ता गर्ने समयसमेत पाउनुभएको छैन,’ देउवानिकट एक नेताले भने ।

अर्कातिर श्रीमती आरजु राणालाई जिताउनैपर्ने दबाब पनि देउवामाथि छ । चुनाव जितेर प्रधानमन्त्री हुने महत्त्वाकांक्षा राखेकी आरजुलाई यसअघि हारेको निर्वाचन क्षेत्र कैलाली–५ बाटै चुनाव लडाउने उनको तयारी छ । त्यसका लागि अहिल्यैदेखि पार्टीभित्रका असन्तुष्टलाई बालुवाटार बोलाएर फकाउन र स्थानीय तहमा प्रभाव जमाएका व्यक्ति र क्षेत्रीय पार्टीलाई पक्षमा पार्न देउवाले कसरत गरिरहेका छन् । आरजुलाई चुनाव जिताएर आगामी पाँच वर्षभित्रै प्रधानमन्त्री बनाउने तयारीसमेत भइरहेको चर्चा राजनीतिक वृत्तमा छ । आफ्नो स्वीकार्यता बढाउन आरजुले पार्टी र गठबन्धन दलबीचमा मात्रै नभई भारतीय संस्थापनलाई समेत रिझाउन खोजेको कतिपयको बुझाइ छ ।

देउवानिकट कतिपय नेताहरू आरजु प्रधानमन्त्री बन्ने कुरा आश्चर्यजनक नभएको बताउँछन् भने कतिपयले असम्भव भएको तर्क गरिरहेका छन् । ‘आरजुलाई प्रधानमन्त्री बनाउने पक्षमा लागेको मैले पाएको छैन, केही दिनअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिभिजनबाट शेरबहादुर देउवा नै थप एक पटक प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ, सम्भवतः उहाँले थाहा पाएरै त्यस्तो धारणा राख्नुभएको होला,’ संस्थापन पक्षका एक नेता भन्छन्, ‘भाउजूको दबाब परेको होला तर शेरबहादुर दाइले प्रधानमन्त्री छाड्ने कुरामा मलाई विश्वास छैन ।’

राजनीतिक विश्लेषकसमेत रहेका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल कांग्रेसभित्र देउवा, एमालेभित्र केपी ओली र माओवादीभित्र प्रचण्ड तीनै जनाले राजनीतिक विश्राम लिएर युवा नेतालाई अघि सार्नुपर्ने समय घर्किसकेको बताउँछन् । गठबन्धनको जोडघटाउ मिलाएर छैटौं पटक प्रधानमन्त्री बन्ने लक्ष्य बनाइरहेका देउवाले विश्राम लिएर ५० वर्षमुनिकालाई अघि बढाउँछु भन्ने हो भने माहोल ह्वात्तै बढ्ने उनको बुझाइ छ । तर, देउवाको लक्ष्य आफैं प्रधानमन्त्री हुनेतिरै रहेको बुझाइ उनको छ ।

‘कुनै नाटकीय मोड नआएमा आगामी पाँच वर्ष पनि देउवा, दाहाल र ओलीकै सेरोफेरोमा राजनीतिको मियो रहने करिब निश्चित छ, प्रधानमन्त्री यी तीन नेताभन्दा बाहिर जाने अवस्था देखिन्न,’ उनले भने, ‘आफू नांगो भइसकेको छु भन्ने थाहा छैन । तीनै जनाले जनमत आफूविरुद्ध गइरहेको छ भन्ने अनुभूति गरेर पार्टीभित्रकै काविल मान्छेलाई अघि सार्न सके राम्रो हुन्थ्यो तर त्यो अवस्था देखिन्न ।’ अघिपछि परिवर्तनको कुरा गर्ने नेता–कार्यकर्ता पनि चुनावी मुद्दा सुरु हुन थालेपछि नेताहरूकै पछि लाग्ने प्रवृत्ति देखिएको उनी बताउँछन् । ‘राम्रो डेलिभरी दिन सक्ने, बलियो र मतदाताबीच लोकप्र्रिय नेता आउन सके हुन्थ्यो तर प्रमुख यी तीन दलमा यसै पटक नेतृत्व परिवर्तन हुने सम्भावना कम छ,’ उनले थपे ।

गृहनगर डडेलधुरामा अहिले कांग्रेस कार्यकर्ताहरू ‘देउवाले जिते प्रधानमन्त्री, अरूले जिते सांसद’ भन्ने राजनीतिक थेगो बनाउन थालेका छन् । ०४८ सालयताका ६ वटै निर्वाचनमा अपराजित देउवाले सातौं निर्वाचनलाई जीवनकै अन्तिम निर्वाचन भन्ने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्नेभन्दा पनि गठबन्धनलाई निरन्तरता दिने र पार्टीभित्रको झगडा मिलाएर आगामी निर्वाचनमा ठूलो दल बनाउने मुख्य लक्ष्य देउवाको छ ।

बालुवाटार स्रोतका अनुसार केही दिनअघिको भेटमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीले ‘तपाईं जनमतबाट कहिल्यै प्रधानमन्त्री हुनुभएकै छैन, राजनीतिक दलभित्रको फुट, विभाजन र राजनीतिक घटना–परिघटनाले हुनुभएको त हो नि’ भन्दा देउवाले अब जनमतबाट प्रधानमन्त्री हुने पालो आएको जवाफ दिएका थिए । ओलीले ०७४ कै निर्वाचनमा देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेका थिए ।

अहिले देशभर परम्परागत पार्टीका पुराना नेतालाई चुनाव हराउने राजनीतिक नारासमेत अघि सारिएका छन् । स्वतन्त्र पक्षधर उम्मेदवारहरूले परम्परागत पार्टीबाट मुलुकले राजनीतिक स्थायित्व र विकास प्राप्त गर्न नसक्ने भन्दै अभियान थालेका छन् । राजनीतिक दलप्रति विरक्त मतदाता स्वतन्त्र पक्षधरको अभियानप्रति जोडिने गरेका छन् । गत स्थानीय चुनावमा काठमाडौं महानगरमा बालेन शाह, धरान उपमहानगरमा हर्क साम्पाङ र धनगढी उपमहागनरमा गोपी हमालको उदय यसैको परिणति भएको बुझाइ राजनीतिक वृत्तमा छ ।

स्वतन्त्र अभियान प्रधानमन्त्री देउवाको गृहनगर डडेलधुरामै सबैभन्दा अगाडि सुरु भएको छ । गुल्मीका सागर ढकाल एक महिना अघिबाटै स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन् । देउवाका पूर्वस्वकीय सचिवसमेत रहेका डडेलधुरा कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्ल कांग्रेस छाडेर बीपी कांग्रेसमा प्रवेश गरेका छन् । गत स्थानीय तह निर्वाचनमा उनकै नेतृत्वमा डडेलुधुरामा बीपी कांग्रेस निर्वाचनमा होमिएको थियो । बीपी कांग्रेसले देउवाले मतदान गर्ने गन्यापधुरा गाउँपालिका–१ र अमरगढी नगरपालिका–८ मा जित निकालेको थियो ।

‘३१ वर्षदेखि देउवाले डडेलधुराका जनता र मुलुकलाई ढाँट्दै आउनुभयो, यसको जवाफ चुनावमा डडेलधुराका जनताले ससम्मान राजनीतिक बिदा गरेर दिन खोजेका छन्,’ मल्लले कान्तिपुरसँग भने, ‘६ पटकसम्म डडेलधुराबाट निर्वाचित भएर जानुभयो । विकास भएन । जनतालाई अपमान गर्ने, ढाँट्ने काम भयो । उहाँ प्रधानमन्त्री भएका बेला मुलुकमा विदेशी हस्तक्षेप बढ्ने भयो । अब यो स्थिति लामो समय रहन्न ।’

उनका अनुसार देउवाको यो चुनाव आफ्नोभन्दा पनि आरजुलाई प्रधानमन्त्री बनाउने दिशामा लक्षित छ । ‘०७४ मै आरजुले चुनाव जितेको भए संसदीय दलको नेतालाई आरजुलाई अघि सार्ने कुरा थियो, यो कुरा मैले त्यतिबेलै पार्टीका अन्य शीर्ष नेतालाई जानकारी गराएको थिएँ,’ उनले भने, ‘यस पटक त सिंगो कांग्रेसलाई आफ्नै निजी घरजस्तो बनाउनुभएको छ । विजयी भएमा संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने आरजुलाई नै हो ।’

डडेलधुराबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नैनसिंह महर देउवाका लागि गृहनगरमा कुनै चुनौती नभएको दाबी गर्छन् । उनका अनुसार देउवाले अन्तिम पटकको प्रतिस्पर्धा भनेकाले त्यसको सेन्टिमेन्टसमेत जोडिएको छ । देउवालाई गृहजिल्लाका मतदाताले मात्रै नभएर सुदूरपश्चिमले नै खोजिरहेको उनको बुझाइ छ । देउवा लोकप्रिय हुनुका पछाडि ०४८ सालपछि उनले निर्माण गरेका विकासको जग मुख्य भएको महर बताउँछन् । ‘सुदूरपश्चिम राजधानी काठमाडौंसँग जोडिएको थिएन, भारत हुँदै काठमाडौं आउनुपर्थ्यो, देउवाकै पहलमा २२ वटा पुल निर्माण भएपछि सुदूरपश्चिम काठमाडौंसँग जोडिन पायो,’ उनले भने ।

कांग्रेस मात्रै होइन, जिल्लामा एमालेले समेत देउवालाई सघाउँदै आएको दाबी कतिपय नेताको छ । एमाले नेताहरू पनि जिल्लामा स्वतन्त्र उम्मेदवारको प्रभाव नपर्ने दाबी गर्छन् । ‘डडेलधुरामा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने सम्भावना छैन,’ एमाले नेता गजेन्द्र शाहीले भने, ‘दलीय पद्धतिका लागि लड्ने दलहरूले स्वतन्त्रलाई कसरी सहयोग गर्न सक्छन् ?’ उनका अनुसार गठबन्धन दलबाहेकको संयुक्त उम्मेदवार हुन सक्छन् तर स्वतन्त्रहरूको प्रभाव ठूलो पर्दैन ।

प्राध्यापक योगेश जोशी स्थानीय तह निर्वाचनमा देउवाको आफ्नै वडामा भएको पराजय, कांग्रेसमा एउटा समूहले गरेको विद्रोह र देउवाले पटकपटक चुनाव जित्दा सुदूरपश्चिममा केही पनि गर्न नसकेको आरोपका आधारमा उनलाई चुनौती दिने उम्मेदवार जिल्लामा नभएको दाबी गर्छन् । त्यसमाथि गठबन्धन भएकाले देउवालाई सहज भएको बुझाइ उनको छ ।

०७९ को चुनावमा ७ स्थानीय तहमध्ये ५ वटामा कांग्रेसले जितेको छ । ०७४ को तुलनामा यस पटक दुईवटा पालिका थप जितेको छ । स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने कांग्रेस अगाडि देखिन्छ । स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसको २२ हजार छ भने एमाले, माओवादीसहित सबै दलको जोड्दा करिब २७ हजार छ । स्थानीय तहमा एमालेले चारवटा वडा मात्रै जितेको छ । गठबन्धन नभएर कांग्रेसविरुद्ध अरू सबै दल एक ठाउँमा आउँदा मात्रै देउवालाई चुनौती हुने आकलन कांग्रेसका स्थानीय नेताहरूको छ ।

‘देउवा ठीक हुन् तर उनका कार्यकर्ता ठीक छैनन् भन्ने सर्वसाधारणको आमधारणामा धेरै परिवर्तन भएको देखिँदैन,’ भागेश्वरका अगुवा पदम भण्डारी भन्छन्, ‘५० वर्षभन्दा माथिका परम्परागत मतदातामा विचलन नआउँदासम्म देउवालाई कमजोर ठान्न सकिँदैन । देउवाले जति सके, त्यति गरे अरू पार्टीका उम्मेदवारले त्यति पनि गर्न सक्ने क्षमता राखेनन् ।’ देउवाले यो अन्तिम चुनाव भनेकाले पनि सेन्टिमेन्टको मत प्राप्त गर्ने उनको बुझाइ छ ।

के गर्दै छन् सागर ढकाल ?

देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गुल्मीका सागर ढकाललाई यतिबेला डडेलधुराका गाउँ डुल्न भ्याइनभ्याइ छ । कहिले भागेश्वरको ग्वानी बसौटी पुग्छन्, कहिले परशुरामको मलास क्षेत्र । कहिले पश्चिम सेती प्रभावित क्षेत्रमा पुग्छन्, कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको पुर्ख्यौली थलो गन्यापधुरा । जहाँ नेताहरू निर्वाचनका समयमा मात्र पुग्छन्, त्यस्ता दुर्गम बस्तीलाई उनले आफ्नो चुनावी अभियानको पहिलो गन्तव्य बनाएका छन् ।

ढकाल चार दशक पछिसम्मको योजना र आश्वासन बोकेर डडेलधुराका विकासले छुन नसकेका दुर्गम गाउँमा चुनावी भेला गर्न व्यस्त छन् । उनको चुनावी अभियानलाई अमरगढी र परशुराम नगरपालिका तथा आलीताल गाउँपालिकाका दर्जनभन्दा बढी युवाले सहयोग गरिरहेका छन् । ‘ढकालका कुरा युवा, वृद्ध र महिला सबैले ध्यान दिएर सुनेका छन्,’ आलीतालका हर्क बोहरा भन्छन्, ‘उनीसँग योजना छ, स्पष्ट धारणा छ ।’

ढकाल चुनावी माहोल परिवर्तन हुनेमा आशावादी छन् । ‘म ४० वर्षमुनिका युवालाई जागरण गर्दै चुनावी अभियानमा जुटेको छु, समाजका हरेक वर्ग अहिले उकुसमुकुसको अवस्थामा छन्,’ उनी भन्छन्, ‘३२ वर्ष देउवाले शासन गर्दा के भयो ? भन्ने प्रश्न हरेकको मनमा छ । युवासँग यही प्रश्न लिएर म गाउँगाउँ पुगिरहेको छु ।’

पाँच वर्षअघि बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई गरेको प्रश्नबाट चर्चामा आएका ढकाल सरकारले आमनिर्वाचन घोषणा गरेलगत्तै डडेलधुरा पुगेका हुन् ।

प्रकाशित : भाद्र २७, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?