चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा आम निर्वाचनको तयारी चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सय जनाको जम्बो टोलीसहित सोमबार अपराह्न काठमाडौंमा उत्रँदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ ।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज आउँदै

चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन् । उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । मन्त्रीस्तरका ६ नेतासमेत रहेको लीको टोली विशेष विमानमा नेपाल आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ । ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तेस्रो वरीयतामा पर्छन् ।

अध्यक्ष लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटासँग नयाँ बानेश्वरस्थित संसद् भवनमा द्विपक्षीय वार्ता गर्नेछन् । उक्त संसद् भवन चीनले नै निर्माण गरिदिएको हो । द्विपक्षीय वार्ताका दौरान नेपालको संघीय संसद् र चीनको राष्ट्रिय जनकंग्रेसबीचमा द्विपक्षीय सहकार्य र भ्रमण आदानप्रदानका सम्बन्धमा सम्झौता हुने गृहकार्य भइरहेको संसद् सचिवालयका एक पदाधिकारीले जानकारी दिए । सभामुख सापकोटाले सोमबार नै लीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि अध्यक्ष लीको नयाँ बानेश्वरमै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । ती दुवै भेटवार्ता बानेश्वरको संसद् भवनमै हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम छ ।

आसन्न आमनिर्वाचन र चीनमा अर्को महिना हुन लागेको सीपीसीको २० औं जनकंग्रेसका बारेमा पनि दुई पक्षबीच विचार आदानप्रदान हुने बताइएको छ । चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज २५–२६ मा भएको दुईदिने राजकीय भ्रमण गरेयता अध्यक्ष लीको नेपालमा दोस्रो ठूलो उच्च तहको भ्रमण हो । सी नेपालमा २३ वर्षपछि भ्रमण गर्ने चीनका राष्ट्रपति हुन् । चिनियाँ अध्यक्ष ली सभामुख सापकोटाको निमन्त्रणमा नेपाल आएका लागेका हुन् । सापकोटाले गत चैत २९ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए ।

प्रकाशित : भाद्र २७, २०७९ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?