१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भू-सञ्जाल विस्तारमा नेपाललाई मौकै मौका छ : लामा

काठमाडौँ — जवाहरलाल नेहरु विश्वविद्यालयका वरिष्ठ प्राध्यापक महेन्द्र पी. लामाले दक्षिण पूर्वी एसियाको भू-सञ्जाल विस्तारमा नेपाललाई थुप्रै अवसरहरू रहेको बताएका छन् ।

भू-सञ्जाल विस्तारमा नेपाललाई मौकै मौका छ : लामा

आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको आरम्भ सत्र 'भूराजनीति र अर्थ कूटनीति' शीर्षकमा बोल्दै उनले यस क्षेत्रमा पूर्वाधार विकासमा नेपालले दर्जनौँ परियोजनाहरूको नेतृत्व गर्न सक्ने र त्यो प्रयासले नेपालमा विकासको मूल फुट्न सक्ने बताए ।

‘दक्षिण-पूर्वी एसियालाई जोड्न नेपालले पूर्वाधार विकासको नेतृत्व गर्न सक्छ । म त नेपाललाई मौकै मौका रहेको देख्छु; ती मौकाहरूलाई उपयोग गर्ने हो भने नेपालमा विकासको मूल फुट्न सक्छ,’ उनले भने ।

सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार समेत रहेका प्राध्यापक लामाले पूर्वी नेपालबाट सिक्किम हुँदै ताप्लेजुंगको पाथीभरासम्म पुग्ने सडकमार्ग विकास गर्न सकिने बताए ।

‘पूर्वी नेपाल भनेको १४ जिल्ला हो; त्यो भनेको नेपालको १७ प्रतिशत भूभाग हो । यो भूभाग भएर नेपालले भू-सञ्जाल विस्तारमा थुप्रै काम गर्न सक्छ । नेपालको चिवा भन्ज्याङदेखि पश्चिम सिक्किमसम्म सडकमार्ग खोल्ने हो भने त्यो विकासको ढोका बन्न सक्छ,’ उनले भने, ‘त्यहाँबाट ताप्लेजुङमाथि पाथीभरासम्मको मार्ग विकास गर्न सकिन्छ । यी र यस्तै परियोजनाहरुमा नेपाल सरकारले भूमिका खेल्न सक्छ ।’

उनले भू-सञ्जाल विस्तारमा भारत सरकारले पनि थुप्रै पहल गरिरहेको सुनाए ।

‘अहिले भारतको फुलबारी भएर बंगलादेश जान सक्ने मार्ग सञ्चालनमा छ । त्यो बेला छोटो मार्ग सोचिएको भए पनि अहिले यो यहाँको मुख्यमार्ग बनेको छ,’ उनले भने, ‘अब हामी ढाका हुँदै बंगलादेशको बन्दरगाह भएर उत्तर-पूर्वसम्म पुग्न सक्ने राजमार्ग विकासमा लगानी गर्ने सोच बनाइरहेका छौँ । यदि यो मार्ग बन्यो भने भोलि नेपालदेखि सिधै थाइल्यान्डसम्म पुग्ने हाइवे बनाउन सकिन्छ । त्यसो भयो भने हामी हवाईमार्ग प्रयोग गर्न पर्दैन । हामी सडकमार्ग भएरै थाइल्यान्डसम्म पुग्न सक्छौँ ।’

उनले त्यस्तो मार्ग बनेमा दक्षिण पूर्वी राष्ट्रहरूको कृषि, पर्यटन र व्यापारमा सहयोग पुग्ने बताए ।

प्रकाशित : भाद्र २६, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?