जिउँदो छँदा आलोचना मात्रै गर्छौं, मरेपछि महान् भन्छौं : महतो

काठमाडौँ — उद्यमी तथा समाजसेवी उपेन्द्र महतोले अर्थतन्त्रको विकाससँगै परम्परा, संस्कृति र संस्कारको पनि संरक्षण गर्नुपर्ने बताएका छन् । आर्थिक विकासका नाममा परम्परा र संस्कृति बिर्सिन नहुने उनको भनाइ थियो । 

जिउँदो छँदा आलोचना मात्रै गर्छौं, मरेपछि महान् भन्छौं : महतो

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर कन्क्लेभको तेस्रो संस्करणको पाँचौं सत्र 'विश्व समुदायमा नेपालको सफ्ट पावर'मा बोल्दै महतोले नेपालको सफ्ट पावर भनेको संस्कृति र प्रकृति रहेको बताए ।

'नेपालको सफ्ट पावरमा उच्च महत्त्वमा पर्नुपर्ने संस्कार र प्रकृति नै हो । यो प्रकृतिको देन हो । यसलाई निर्माण गर्न र किन्न सकिन्न । खर्बौं डलर लगाएर पनि हामीले यसको निर्माण गर्न सक्दैनौं । यसलाई हामीले अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्छ । प्रत्येक देशको आफ्नै मौलिक सफ्ट पावर हुन्छ । हामीले त्यो सफ्ट पावर पत्ता लगायौं भने अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सक्छौं । हामी त्यसबाट हार्ड पावर प्राप्त गर्न सक्छौं,' उनले भने । हार्ड पावरका रूपमा रहेका अर्थतन्त्र, सैन्य शक्ति र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभुत्व जमाउने माध्यम सफ्ट पावर रहेको उनको भनाइ थियो ।

नेपालको मौलिकता भनेको अतिथि देवो भवः रहेको भन्दै महतोले नेपालीले अरुको सत्कार गर्नु पनि ठूलो सफ्ट पावर रहेको बताए । तर, नेपालमा मान्छे जिउँदो हुँदासम्म आलोचना हुने र मरेपछि त्यही व्यक्तिलाई महान भन्ने प्रचलन रहेकोप्रति उनले असन्तुष्टि जनाए । 'हामी व्यक्तिको बारेमा राम्रो मरेपछि मात्रै भन्छौ । जीवित हुँदासम्म हामी सधैं आलोचना गरिरहेका हुन्छौँ, जब मर्छ प्रत्येक व्यक्तिले 'ऊ त महान थियो' भन्छौं, शोकसभा गर्छौं,' उनले भने ।

अर्काको सत्कार गर्ने संस्कारलाई नेपालीले बिर्सिन नहुने पनि उनको भनाइ थियो । संस्कृति र परम्परालाई विकास गरेमात्रै नेपाली विकसित हुने उनको भनाइ थियो । त्यसो गर्न नसकिए प्राविधिक रूपमा मात्रै विकसित हुने, पैसा कमाउने तर संस्कार र संस्कृति गुम्ने उनको भनाइ थियो । 'यो गुमायौं भने हाम्रा आँखामा आँसु मात्रै हुनेछ,' उनले भने ।

महतोले वैदेशिक लगानीभन्दा पनि स्वदेशी लगानीलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । अहिले सबैभन्दा बढी लगानी ऊर्जमा लगाउनुपर्ने पनि उनले सुझाव दिए । एक्काइसौं शताब्दी व्यापारको शताब्दी भन्दै उनले हरेक व्यक्ति अर्थतन्त्रको बारेमा कुरा गरिरहेको र व्यापार, लगानी र विकासमा मात्रै जोड दिइरहेको बताए ।

प्रकाशित : भाद्र २५, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?