युरोप पुग्न ‘मृत्युमार्ग’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोप पुग्न ‘मृत्युमार्ग’

संगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रिस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो
जनकराज सापकोटा

काठमाडौँ — ‘आज राति म अनलाइनमा आउन्नँ, अब १० दिनपछि मात्रै कल गर्छु । त्यही भन्दे आमालाई, पीर गर्नु पर्दैन ।’

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करिब आठ किलोमिटर उत्तर चुरेको फेदमै छ, सानो बस्ती छिपछिपे । यही बस्तीमा जस्तापाताले छाएको सानो घरमा बस्छन्, यमकला तिवारी र उनका जेठा छोरा दीपेन्द्र । यमकलाका कान्छा छोरा नवीन युरोपको सपना बोकेर करिब पाँच वर्षअघि टर्कीतर्फ लागेका थिए । २०७४ मंसिर १९ को राति करिब ९ बजे उनै नवीनले टर्कीबाट पठाएको सन्देश दीपेन्द्रले आमा यमकलालाई सुनाएका थिए ।

करिब ४ हजार ६ सय २० किलोमिटर परबाट ‘१० दिनपछि कल गर्छु’ भन्ने सन्देश पठाएका नवीनले त्यसपछि न फोन गरे न त कुनै सन्देश नै आयो । २४ वर्षीय नवीन कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट ग्रिस जाने सपना बोकेर २०७४ कात्तिक १५ मा घरबाट बिदाबारी भएका थिए । घरबाट हिँडेको २४ दिनपछि नवीनले आफू टर्कीको राजधानी इस्तानबुल पुगेको खबर दाइ दीपेन्द्रलाई पठाए ।

इस्तानबुल पुगेको पाँचौं दिनमा नवीन ग्रिस जान हिँड्नेहरूको समूहमै रहेकोसम्म टोलीका अन्य सदस्यबाट थाहा भएको छ । त्यसयता कान्छो छोरा आउने बाटो हेर्दाहेर्दै यमकलाका आँखा थाकिसकेका छन् । टर्कीबाट अवैध रूपमा ग्रिस छिर्नेहरू इभ्रोस नदी वा भूमध्यसागर पार गर्ने जोखिम उठाउँछन् । क्षमताभन्दा धेरै मानिस हालिएका जोखिमपूर्ण डुंगाबाट नदी वा समुद्र पार गर्न नचाहनेले २ सय ३ किलोमिटर लामो जंगलको बाटो पार गर्नुपर्छ । नवीनले परिवारसँग गरेको कुराकानी र उनीसँगै हिँडेका इलाम घर बताउने मोती गुरुङ, रोहित गुरुङ र नवलपरासी कावासोतीकै टीकाराम भट्टराईको भनाइअनुसार उनीहरू पनि पैदलमार्गबाट अगाडि बढे । २०१८ जुलाई २५ मा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा मोती गुरुङले कठ्यांग्रिँदो चिसोमा घना जंगलको बाटो हुँदै ७ रात ८ दिनसम्म हिँड्नुपरेको र त्यसक्रममा भोकैप्यासै हिँडिरहेका नवीन बिरामी परेको बताए । उनले भने, ‘नवीनलाई जंगलमै एक जना मान्छेको जिम्मा लगाएर एजेन्टले हामीलाई अघि बढायो, त्यसपछि के भयो थाहा छैन ।’ ग्रिसबाट सम्पर्कमा आएका मोती त्यसपछि भने सम्पर्कमा आएनन् । उनको फेसबुक अकाउन्ट पनि २०२० मार्च १५ यता अपडेट भएको छैन ।

१० दिनपछि फोन गर्छु भनेका भाइको कुनै खबर नआएपछि दीपेन्द्रले नवीनसहितको समूहलाई टर्कीबाट ग्रिस छिराउने जिम्मा लिएका मोहम्मद नाम गरेका पाकिस्तानी एजेन्टसँग ‘इमो’ मार्फत सम्पर्क गरेका थिए । मोहम्मदले ग्रिस जाने क्रममा नवीनको खुट्टा सुन्निएको र ज्वरोसमेत आएकाले अस्पतालमा उपचार भइरहेको बताएको तर कहाँको कुन अस्पताल हो भन्ने नखुलाएको दीपेन्द्रको भनाइ छ । न त नवीनसँगै ग्रिसका लागि हिँडेका अरू नेपालीलाई त्यसबारे थाहा छ ।

नवीन हराएको खबर सार्वजनिक भएको करिब सात महिनापछि नवीनसँगै यात्रा गरेका मोती गुरुङसँग सम्पर्क हुन सकेको थियो । त्यतिबेला ग्रिस पुगिसकेका उनी २५ दिन थुनामा बसेर छुटेका थिए । २०१८ जुलाई २ र २५ मा म्यासेन्जरमा कुराकानी हुँदा उनले इस्तानबुलबाट ग्रिस जानका लागि एक एजेन्ट, एक डोंकर (जंगलमा बाटो देखाउने मानिस) सहित चार नेपाली र तीन पाकिस्तानी मध्यरातमा सँगै हिँडेको बताए ।

छोराको पर्खाइमा बिताएका प्रत्येक दिनको सम्झना मात्रैले पनि यमकलालाई हुरुक्कै बनाउँछ । उनी भन्छिन्, ‘छोरो हराएपछि मेरा दिनरात हराएका छन् । मर्नु न बाँच्नु भएकी छु ।’

बेवारिसे मृत्यु, न्यून उजुरी

संगठित मानव तस्करको प्रलोभनमा परी ११ देखि १५ लाख रुपैयाँ खर्चेर टर्की पुगेका अधिकांश नेपालीको एउटै ध्याउन्न हुन्छ– जसरी हुन्छ, ग्रिस पुग्ने । तर, युरोपेली संघको सदस्य र सम्पन्न देश ग्रिस छिरेपछि पनि नेपालीको यात्रा टुंगिँदैन । टर्कीको कोच युनिभर्सिटीका प्राध्यापक एवं माइग्रेसन रिसर्च सेन्टर का निर्देशक आमेत इस्डुगु लिखित ट्रान्सबोर्डर क्राइम बिटविन टर्की एन्ड ग्रिसः ह्युमन स्मग्लिङ एन्ड इट्स रिजनल कन्सिक्वेन्सेस् शीर्षकको अनुसन्धानपत्रमा टर्कीबाट ग्रिस छिरेकामध्ये १४ प्रतिशतको गन्तव्य बेलायत हुने, १३ प्रतिशतको जर्मनी, १३ प्रतिशतको ग्रिस, ६ प्रतिशतको इटाली र ५ प्रतिशतको फ्रान्स हुने उल्लेख छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्रमुख रहिसकेका डीआईजी टेकप्रसाद राई पनि ग्रिस पसेका नेपाली त्यहाँबाट युरोपका अन्य देश जाने प्रवृत्ति रहेको बताउँछन् ।

नवीन र मोतीसँगै हिँडेर ग्रिस पसेका रोहित गुरुङसँग २०१८ जुलाई १८ मा फेसबुक म्यासेन्जरमार्फत भएको कुराकानीमा उनले आफूजस्तै गरी ग्रिस पुगेका नेपाली कोही पोर्चुगल र इटाली त कोही स्पेनतिर पुगिसकेको बताएका थिए । उनका अनुसार त्यतिबेला उनी ग्रिसको एउटा होटलमा दैनिक १० डलर ज्यालामा काम गरिरहेका थिए, जुन रकम एक दिनको खाना र बसाइका लागि पर्याप्त थिएन । उनले भनेका थिए, ‘ग्रिस छिरेका ७५ प्रतिशत नेपालीको हालत यस्तै हो ।’ त्यसपछि २०१९ डिसेम्बर २५ मा कुराकानी हुँदा भने उनी पनि पोर्चुगल पुगिसकेका रहेछन् ।

कामदार भिसामा टर्की पुग्ने र त्यहाँबाट संगठित मानव तस्करका एजेन्टलाई लाखौं रुपैयाँ बुझाएर अवैध रूपमा ग्रिस छिर्न खोज्ने नेपालीको यकिन विवरण प्रहरी र अन्य सरकारी निकायसँग छैन । डीआईजी राई अवैध रूपमा टर्की हुँदै ग्रिस छिर्ने क्रममा दुर्घटनामा पर्ने नेपालीको संख्या ठूलो भए पनि पीडितका परिवारले हराएको, मृत्यु भएको वा संगठित मानव तस्करीमा परेको सूचना नदिने भएकाले यकिन संख्या थाहा नहुने बताउँछन् । डीआईजी राईले भने जस्तै यमकलाले पनि छोराको खोजीका लागि कुनै सरकारी निकायमा निवेदन दिएकी छैनन् । नवीनलाई टर्की पठाउने काममा आफन्त नै जोडिएको हुँदा उनको परिवारले सरकारी पहलका लागि उदासीनता देखाएको हो ।

डीआईजी राई भन्छन्, ‘घटनाबारे अनौपचारिक सूचना आए पनि पीडितका परिवार प्रहरीमा आउँदैनन् । संगठित मानव तस्करीका अधिकांश घटनामा पीडितकै चिनजानका, छिमेकी वा आफन्त जोडिएका हुन्छन् ।’ यमकलाका अनुसार नवीनलाई टर्की पठाउन चाँजो मिलाउने बुटवल निवासी उनकै भिनाजु तुलसीप्रसाद न्यौपाने हुन् । साउदी अरबमा एक दशकभन्दा धेरै बसेका तुलसीले प्रक्रिया मिलाइदिएकै कारण यमकला ढुक्क थिइन् । घर छाड्ने दिन नवीनसँग भएको कुरा सम्झिँदै उनले भनिन्, ‘मासिक ३० हजारको काम मिल्छ । पार्टटाइम पाइयो भने अझै धेरै कमाइ हुन्छ भन्थ्यो तर, बेपत्ता भयो ।’

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट्स का अनुसार सन् २०२२ को मेसम्मका पाँच महिनामा मात्रै टर्की–ग्रिस सीमा क्षेत्रमा २१ जना आप्रवासीको मृत्यु भएको छ । सन् २०२१ को जनवरी–फेब्रुअरीमा मात्रै १० जना आप्रवासीहरू सीमा क्षेत्रमा मृत भेटिएका थिए । अवैध बाटो भएर ग्रिस जानेहरूलाई एजेन्टले परिचय खुल्ने कुनै कागजात वा मोबाइल फोन राख्न दिँदैनन् । त्यसैले मृत वा मानसिक स्वास्थ्य बिग्रेको अवस्थामा भेटिएका यस्ता आप्रवासी कुन देशका हुन् भन्ने खुल्दैन ।

गएको ३ फेब्रुअरीमा टर्कीबाट अवैध रूपमा ग्रिस छिर्न खोजेका नेपाली, पाकिस्तानी र केही अफ्रिकीसहित करिब ५० जनालाई ग्रिसका सीमा सुरक्षा अधिकारीहरूले पक्राउ गरे । पक्राउ परेकालाई केही घण्टासम्म थुनामा राखी जुत्ता र न्यानो कपडा खोल्न लगाइयो । त्यसपछि उनीहरूलाई टर्कीतिर पैदलै फिर्ता पठाइयो । हिमपात भइरहेको त्यो बेला टर्कीतर्फ फर्कंदै गरेका १९ आप्रवासीहरूको चिसोले कठ्यांग्रिएर बाटोमै मृत्यु भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरे ।

टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वलकुमार घिसिङ हिमपात र अत्यधिक चिसोसँग जुध्दै फर्किनेहरूको समूहमा ८ जना नेपाली रहेको सूचना आफूले पाए पनि मृत्यु हुनेमध्ये नेपाली थिए/थिएनन् भन्नेचाहिँ थाहा पाउन नसकेको बताउँछन् ।

संसारभरि फैलिएको आप्रवासीको सामूहिक मृत्युको यो खबरले बैतडीका दिव्यदेव अवस्थीको परिवारलाई झस्कायो । यो त्यही बेला थियो जब दिव्यदेव इस्तानबुलबाट अवैध बाटो हुँदै ग्रिसतर्फ लागेका थिए । उनका भिनाजु वीरेन्द्रराज जोशीलाई ग्रिस जान हिँडेको टोलीमा आठ जना भए पनि सात जना मात्रै टर्की फर्केको सूचना प्राप्त भएपछि झनै आत्तिएको बताए । उनका अनुसार गएको १७ माघबाट सम्पर्कविहीन भएका दिव्यदेवको अझै अत्तोपत्तो छैन । ‘दिव्यको खबर थाहा पाउन हामी छट्पटाएका छौं तर यकिन सूचना पाउन सकेका छैनौं,’ जोशी भन्छन् ।

दिव्यदेव अवस्थी

मृत्यु भएका आप्रवासीको सूचीमा पो दिव्यको नाम छ कि भनेर उनको परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखादेखि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म निवेदन दिएका छन् । ब्युरोका पूर्वप्रमुख राई दिव्यबारे थाहा पाउन प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत पत्राचार गरिए पनि कुनै खबर नआएको बताउँछन् ।

करिब एक वर्षअघि २५ कात्तिकमा पनि ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वको सीमावर्ती क्षेत्रमा आप्रवासी सवार गाडी दुर्घटनामा पर्‍यो । तीव्र गतिका कारण भएको उक्त कार दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । दुर्घटनालगत्तै नेपालमा रहेका परिवारले टर्कीबाट ग्रिसतर्फ लाग्दा सम्पर्कविहीन भएका आफन्तको खोजी सुरु गरे । उनीहरू प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेपछि ब्युरोले इन्टरपोलको सहायतामा उक्त दुर्घटनामा मृत्यु भएकाहरूको फोटो झिकायो । घटनाको ४० दिनपछि अर्थात् ५ पुसमा आफन्तले फोटो हेरेका भरमा मृतकको पहिचान गरे । जसमा दोलखाको भीमेश्वर–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ–५ का ओमबहादुर थापा थिए ।

घटनामा मृत्यु हुनेमध्ये लक्ष्मण र राजु कामदार भिसामा दुबई हुँदै टर्की पुगेका थिए । रसुवाको दुर्गम गाउँकी शर्मिला भने यसअघि १९ वर्षको उमेरमा इराक पुगेकी थिइन् । प्रतिबन्धका बाबजुद पनि इराक पुगेकी उनी त्यहाँबाट अवैध रूपमै टर्की छिरेकी थिइन् । दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा दुबई पुगेका ओमबहादुर थापा मगर भने त्यहींबाट मानव तस्करको सहयोगमा टर्की पुगेका थिए ।

दुर्घटनामा घाइते भएका कैलालीका लोकराज आचार्यले जंगलको बाटो १३ दिनसम्म हिँडेर ग्रिसको सीमा छेउ पुगेको र त्यहाँबाट गाडी चढेर ग्रिस पस्ने क्रममा दुर्घटना भएको बताए । अहिले ग्रिसमा रहेका उनी पनि गरिरहेको काम र पारिश्रमिकबाट सन्तुष्ट छैनन् ।

सुख खोज्दा दुःख मात्रै

सम्बन्धित परिवारका अनुसार संगठित मानव तस्करका विभिन्न एजेन्टमार्फत टर्की पुग्नेहरूले औसतमा १० देखि १५ लाख खर्च गर्छन् । जसमा एजेन्ट खर्च, विमान टिकट र खाने–बस्ने खर्च पनि जोडिएको हुन्छ । ग्रिस जानका लागि नवीनसँगै नेपालबाट हिँडेका रोहितले इस्तानबुलमा बस्ने एजेन्ट आशिष घिमिरेलाई थप २ हजार ९ सय डलर बुझाएपछि मात्रै एक पाकिस्तानी एजेन्टमार्फत ग्रिसतर्फ लाग्न पाएका थिए । ग्रिस जाने अवैध बाटो कतिसम्म सकसपूर्ण छ भने यस्तो बाटो रोज्नेहरू हिंसा, यातना र दुर्घटनामा मात्रै पर्दैनन् कहिले सुरक्षाकर्मीबाट पक्राउ पर्ने त कहिले बन्धक बनाइने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तो कि, गत अप्रिल ४ मा टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट ३७ जना नेपालीलाई ग्रिस जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

त्यसको केही दिनपछि २६ अप्रिलमा टर्कीको ताक्सिम स्क्वायरमा चार जना नेपालीलाई ६ जना पाकिस्तानी हतियारधारीले बन्धक बनाएका थिए । टर्कीबाट ग्रिस लैजाने एजेन्टको रूपमा ती पाकिस्तानीसँग नेपालीको भेट भएको थियो । दुई पुरुष र दुई महिला नेपाली बन्धक भएको खबर थाहा पाएपछि टर्की प्रहरीले बन्धक बनाउने एक सदस्यलाई पक्राउ गरी नेपालीलाई छुटाउन सफल भएको थियो ।

सन् २०१६ र २०१७ का चार महिना ग्रिसको ठूलोमध्येको आप्रवासी शिविर, मोरिया क्याम्पमा काम गरेका एक दोभाषेका अनुसार टर्कीबाट ग्रिस जानेमध्ये अधिकांश नेपाली मानव तस्करकै सहायतामा जान्छन् ।

संस्थागत आबद्धताका कारण नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, ‘एजेन्टले समूह बनाएर बिहानको ३/४ बजे नै हिँडाउने रहेछन् । बाटोमा पर्ने ठूलो नदी तर्न सानो डुंगामा कोचाकोच मानिस हालिन्छन् ।’ उनका अनुसार यसरी ग्रिस पुगेकाहरूले शरणार्थी बन्नका लागि आवेदन दिने क्रममा आफू नेपालमा सशस्त्र हिंसा वा जातीय दंगाको सिकार भएकाले स्वदेश फर्किन नसक्ने तर्क प्रस्तुत गर्छन् ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा टर्कीमा आकर्षक रोजगारीको प्रलोभनबाट ठगिएका ३७ उजुरी परेका थिए । आर्थिक वर्ष २०७६/७७ मा भने टर्की लगिदिने भन्दै ३९ लाख रुपैयाँ ठगेको एउटा मात्र उजुरी परेको थियो । यस्तो ठगीको उजुरी दिने आर्थिक वर्ष २०७७/७८ मा चार जना थिए । उजुरीमा यी चारै जनाबाट एजेन्टले जनही साढे २२ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला टर्की र ग्रिस लगिदिने भन्दै ठग्नेहरूको संख्या ठूलो भए पनि उजुरी निकै कम पर्ने गरेको बताउँछन् । २०७५ जेठ २७ मा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भने यस्तो उजुरी एउटा मात्रै परेको छ । काठमाडौंको टोखा–३ बस्ने मोरङको पथरी शनिश्चरेकी ‘बबरमहल ६१’ (प्रहरी मिसिलमा परिवर्तित नाम) ले आफू र छोरीलाई समेत आकर्षक रोजगारीको प्रलोभन देखाएर टर्की पुर्‍याई अलपत्र पारेको भन्दै २०७७ फागुन ५ मा उजुरी दिएकी थिइन् ।

बूढानीलकण्ठमा फेन्सी पसल गर्ने ‘बबरमहल ६१’ लाई अनिल डंगोलले जानुका लामा घिसिङसँग सम्पर्क गराइदिएका थिए । जानुकाले दुवै आमा–छोरीलाई ग्रिसमा मासिक ८० देखि ९० हजार रुपैयाँ आम्दानी हुने काम लगाइदिने प्रलोभन देखाइन् । त्यसपछि जानुकामार्फत आमा–छोरीले स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका लागि गोंगबुमा औषधि पसल सञ्चालन गर्ने पूर्णिमा बस्नेतलाई भेटे । पूर्णिमाले उनीहरूको सम्पर्क आफ्ना बाबु भन्दै लक्की सिंह भनिने किस्मत सिंहसँग इमोमार्फत गराइन् । विदेश जानकै लागि उनीहरूले टोखामा रहेको चार आना जग्गा बेचेर पूर्णिमालाई आठ लाख रुपैयाँ दिए ।

२०७७ असोज २२ मा टर्की पुगेका आमा–छोरीलाई लक्कीले काम मिलाइदिने भन्दै करिब तीन महिनासम्म बन्धकजस्तै बनाएर राखे । एक दिन लक्कीले आमालाई काम लगाइदिने भन्दै टर्कीको सीमा क्षेत्रमा पुर्‍याए, छोरी कोठामै थिइन् । त्यसैबेला छोरीचाहिँ टर्कीस्थित गैरआवासीय नेपाली संघको सम्पर्कमा पुग्न सफल भइछन् । संघकै पहलमा उनी २०७७ मंसिर ८ मा नेपाल फर्किइन् । आमालाई भने लक्कीले ग्रिस लैजाने भन्दै चार पटकसम्म जंगलमा हिँडाउँदै फर्काउँदै गरे । ‘बबरमहल ६१’ ले प्रहरी बयानमा भनेकी छन्, ‘ग्रिस छिर्न जंगलको बाटो हिँडिरहेका बेला एक जना पाकिस्तानी मरेको देखेपछि म बरु आत्महत्या गर्छु अगाडि बढ्दिनँ भनेर रोइकराइ गरें र, मलाई लक्कीले फिर्ता ल्यायो ।’

प्रहरीमा उनले गरेको बयानअनुसार लक्कीले यो प्रक्रियामा संलग्न ‘पूर्णिमा र जानुकालाई केही गर्ने छैन’ भन्ने व्यहोराको कागज गराएपछि मात्रै उनलाई नेपाल फर्काउन तयार भएका थिए । नेपाल फर्केपछि भने आमा–छोरीले आफूहरू ठगिएको र करिब २० लाख रुपैयाँ गुमाएको जाहेरी प्रहरीमा दिए । यही जाहेरीका आधारमा प्रहरीले बाफलस्थित श्रम कार्यालय बाहिर बसेर एजेन्टको काम गर्ने जीवन भट्टलाई काठमाडौंको तारकेश्वरबाट र पूर्णिमा बस्नेतलाई माछापोखरीबाट पक्राउ गर्‍यो । २०७७ चैत १८ मा काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादी भट्टलाई तीन लाख धरौटीमा र बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । घटनामा जोडिएका अर्का प्रतिवादी लक्की सिंहलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने प्रयासमा छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अमेरिकासँगै युरोपका ग्रिस, टर्की, क्रोएसिया, रोमानिया पठाइदिने संगठित मानव तस्करको गिरोह नेपालमा सक्रिय छ । यी तस्करहरूले भारतीय र पाकिस्तानी गिरोहअन्तर्गत रहेर अवैध रूपमा सिमाना कटाउने काम गर्छन् । टर्की हुँदै ग्रिस पस्न खोज्ने धेरै नेपालीको अपेक्षा भने राम्रो काम पाए ग्रिसमै बस्ने, नपाए पोर्चुगलतर्फ लाग्ने हुन्छ । ब्युरोका अनुसार पछिल्ला दुई वर्षमा संगठित मानव तस्करले अवैध रूपमा अमेरिका पुर्‍याएका १ सय ५० जना नेपाली घर फर्काइए तर, यीमध्ये तीन जनाले मात्रै प्रहरीमा उजुरी दिएका छन् । ग्रिस र टर्कीका लागि समेत राजदूत रहेका पाकिस्तानका लागि आवासीय नेपाली राजदूत तपस अधिकारी पनि पछिल्लो डेढ वर्षमा टर्कीबाट दुई नेपालीको ‘केस’ मात्रै आफूकहाँ आएको बताउँछन् । ‘ती दुई केस पनि टर्कीमा कामदार भिसा सकिएपछि मृत्यु भएका नेपालीका थिए,’ उनी भन्छन् ।

आप्रवासीहरूको सामूहिक मृत्यु भएको पछिल्लो घटनाबारे भने दूतावासले टर्की सरकारसँग सोधखोज गर्दा उक्त घटनामा कोही नेपाली नपरेको खबर आएको उनले बताए । अवैध बाटोबाट यात्रा गर्दा हुने मृत्यु, बेपत्ता, दुर्घटना र अन्य दुःखका खबरहरू सार्वजनिक भइरहँदा पनि लाखौं खर्च गरेर टर्की–ग्रिसको यात्रा गर्ने क्रम भने रोकिएको छैन ।

............................................................................................................................................................................

‘कसलाई सोधौं ?’

यमकला तिवारीले घरको भित्तामा झुन्डिएका छोरा नवीनका सबै तस्बिर हटाएकी छन् । तर पनि बेपत्ता भएको छोराको सम्झनाले सताउन छोड्दैन ।

पिँढीमा बसेका बेला उनका आँखा सधैं पर–परसम्म पुगेर टोलाउँछन् । भेट हुने प्रत्येक नौला मान्छेले छोराकै खबर ल्याए कि झैं लाग्छ । नचिनेको नम्बरबाट आउने फोनका प्रत्येक घण्टीले छोराको आवाज सुन्ने उत्कट तिर्सना बढाइदिन्छन् । गएको फागुन दोस्रो साता कावासोती–४ मा यमकलाको घर पुग्दा उनी उदासीमा कतै हराएकी जस्ती देखिन्थिन् ।

१२ कक्षा पास गरेका नवीन बिहे भोजका भिडियो खिच्ने काम गर्थे । भिडियोको कमाइले नपुग्ने भएपछि टर्की जाने तारतम्य मिलाइवरी उनले आमालाई विदेशिने योजना सुनाएका थिए । धेरै कमाइका लागि विदेश जान लागेको भन्दै छोराले आश्वस्त पारेपछि यमकला आफैं साइत हेराउन पण्डितकहाँ पुगेकी थिइन् । पण्डितले तोकिदिएको ‘शुभ–साइत’ १५ कात्तिक २०७५ मा घरबाट हिँडेका नवीनको दशा टर्की पुगेपछि बिग्रियो ।

हराएको छोराको खबर कसले ल्याइदेला ? यमकलालाई थाहा छैन । अवैध बाटो गएको भन्ने थाहा पाएकी उनले सरकारलाई सोध्न पनि सक्दिनन् । पठाउने तारतम्य मिलाएका ज्वाईंलाई सोधौं भने पनि यही कुराले छोरीको घरबार बिग्रेला कि भन्ने डर छ । भन्छिन्, 'मैले छोराको खोजखबर गर्दा अरूलाई पीर पर्छ कि भन्ने डर हुन्छ ।'

२०५७ सालमा पति बितेपछि यमकलाले दुई छोराको अनुहार हेरेर चित्त बुझाइन् । अहिले कान्छो नवीन बेपत्ता भएपछि उनको पीर दोब्बर भएर बल्झिएको छ ।

छोराको खबर पत्ता लगाउन हात हेराउनेदेखि मठ–मन्दिरमा भाकल गर्नेसम्म सके जति सबै गरिन् । 'अब त देवीदेउताको भर लाग्न छाड्यो,' उनी भन्छिन्, 'दु:ख सहेर हुर्काएको तन्नेरी छोरो परदेशमा हरायो, यस्तो कसैलाई नहोओस् ।'

प्रकाशित : भाद्र २५, २०७९ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

जस्केलोबाट 'प्रकाश' फिल्मले खेल्न खोजेको राजनीति

जनकराज सापकोटा

काठमाडौँ — फिल्ममा प्रयुक्त भाषा र शब्दहरू बढी शक्तिशाली हुन्छन् । त्यही भएर अक्षरहरूभन्दा दृश्यहरु बढी सम्प्रेषणीय हुन्छन् । तिनले धेरै मान्छेमा आफ्नो गहिरो प्रभाव छाड्छन् । पछिल्लो छिमलमा प्रदर्शनमा आएका फिल्महरूमध्ये प्रकाश एउटा शक्तिशाली फिल्म हो । जसमा संवादको भन्दा दृश्यको भाषा बलियो गरी प्रकट भएको छ ।

कैयन् दृश्यहरू यस्ता छन्, जहाँ पात्रहरूले लम्बेतानको संवाद बोलिराख्नुपर्ने जरुरत नै पर्दैन । पार्श्व ध्वनी, रंग र पात्रहरूको अनुहारमा अभिव्यक्त गहिरो भावले नै सबै कुरा बताइरहेझैं लाग्छ ।

बलियो पटकथा, आञ्चलिक भाषिकाको प्रयोग र लम्बेतान संवादको सट्टा दृश्य भाषामा धेरै कुरा भन्न खोज्ने निर्देशकीय क्षमताका कारण ‘प्रकाश’ राम्रो फिल्म बनेकोमा शंका छैन । दशक लामो हिंसात्मक राजनीतिपछि पनि नबदलिएको भुईँमान्छेको कथा र देश र दुनिया बदल्छु भन्दाभन्दै आफैं बदलिएकाहरूलाई फिल्मले राम्रोसँग उधिनेको छ । मुख्य पात्र प्रकाशको भूमिकामा देखिएका प्रदीप खड्का हुन् भने उनकी आमाको भूमिकामा देखिएकी छन् दिया मास्के । यस चलचित्रमा सबै कलाकार आफ्नो चरित्र चित्रणमा अब्बल देखिन्छन् ।

सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरणपछि क्रान्तिकारी राजनीतिमा देखा परेका विचलनका अनेकौंमध्ये एउटा सानो झिल्कोलाई फिल्मले आफ्नो कथाको केन्द्रमा राखेको छ । रंग बदल्नेहरूको फोहोरी राजनीतिक खेलबाट सोझासिदाहरू कसरी पिल्सिन बाध्य भएका छन् भन्ने पनि फिल्मले मसिनो गरी देखाएको छ ।

फिल्ममा घतलाग्दा दुईवटा संवाद छन्, जसले राजनीतिक विचलनलाई निर्मम तरिकाले अभिव्यक्त गरेको छ । राजतन्त्रको तावेदारी गर्दा गर्दै बदलिएको राजनीतिक परिस्थितिको फाइदा उठाउन क्रान्तिकारी आवरणमा देखा परेका ईन्द्रप्रसादलाई उनका ज्वाईंले राजनीतिक भाषणकला सिकाउने क्रममा भन्छन्, ‘...राजनीतिमा बाँचेका भन्दा मरेका काम लाग्छन् ...।’ क्रान्तिका क्रममा मरेका शहीदहरूलाई भजाएर जिउँदाहरूले गर्ने घिनलाग्दो राजनीतिलाई बुझाउन यो संवाद काफी छ ।

राजनीति कसरी टाठाबाठाको स्वार्थ सिद्ध गर्ने खेलमात्रै भएको छ भनेर बुझाउने क्रममा एक ठाउँमा भनिएको छ, ‘...आफ्ना मान्ठा (मान्छे) नभईकन केही हुन्या नाई । रंग बदल्नेहरू महलतिर जाँदा रैछन्; लड्नेहरू किनारतिर ...।’

सशस्त्र द्वन्द्वपछि माओवादीभित्र मौलाएको अवसरवादी राजनीति र जनतासँग उनीहरुको बदलिँदै गएको सम्बन्धको आयाम बुझाउन माथिका दुई संवाद काफी छन् ।

तर‚ फिल्ममा यतिमात्रै छैन ।

राजनीतिक विषयमा बनाइएको फिल्ममा नजानिँदो गरी अर्को राजनीति खेलिएको छ । दृश्यहरूलाई मिहीन गरेर केलाउने र दृश्यहरूलाई जोडेर त्यसबाट भाषा निकाल्ने दर्शकहरूले प्रकाशले खेल्न खोजेको राजनीति सजिलै बुझ्दछ; त्यो हो- ‘आरक्षणको राजनीति’ । चलचित्रले वर्गीय मुक्तिको वकालत गर्दै नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसले निर्माण गरेको तहगत असमानतालाई बेवास्ता मात्र गरेको छैन; त्यसको जगमा टेकेर नेपाली दलित समुदायमाथिको ऐतिहासिक विभेदलाई घुमाउरो तबरले जायज ठहर्‍याउने प्रयास गरेको छ । अनि यो गहिरो समस्यालाई एक सामान्य सामाजिक समस्याका रुपमामात्र देखाउने प्रयास गरेको छ ।

निर्देशकले राजनीतिक बेइमानी र संरचनात्मक विभेद नित्तान्त फरक कुराहरू हुन् भनेर बुझाउन नचाहेको देखिन्छ । फिल्मको मुख्य पात्र प्रकाश क्षेत्री समुदायका हुन् । सरकारी शिक्षक बन्ने सपना देखेका प्रकाशलाई शिक्षक बन्नका लागि आवेदन दिनलाई २ हजार रुपैयाँको जरुरत पर्छ । त्यही २ हजार रुपैयाँ पनि आफूसँग नभएकाले छोराको शिक्षक बन्ने लक्ष्य पूरा गर्नका लागि प्रकाशकी आमा मुखिया ईन्द्रप्रसादको दैलोमा गएर बिलौना गर्छिन् । त्यहाँबाट केही उपाय नलागेपछि उनी आरन थापेर गर्जो धानिरहेका राधाको बा भएको ठाउँमा पुग्छिन् । दलित समुदायका उनीकहाँ क्षेत्री समुदायको पात्र ऋण लिन जान्छ ।

यता स्कुल पढ्दै गरेकी राधा र शिक्षक बन्न प्रयत्नरत प्रकाशबीच प्रेम सम्बन्ध मौलाउँदै जान्छ । राधाकी आमा प्रकाशसँग विवाह गर्दिन राजी पनि देखिन्छिन् । तर, बाबु भने मुख्यत: प्रकाशको आर्थिक हैसियतका कारण छोरी दिन तयार हुँदैनन् । राधाको दलित समुदायकै केटासँग विवाह हुन्छ । अर्कोतर्फ स्थानीय एक सुन पसले छोराले नचाहँदा नचाहँदै पनि छोरालाई शिक्षक बनाउन चाहन्छन् । उनको छोराले आर्थिक रुपमा सक्षम भएकै कारण शिक्षक बन्ने इच्छा नहुँदा नहुँदै पनि जनजाति आरक्षणका कारण शिक्षक सेवामा नाम निकाल्छ । तर, जति नै कडा मेहनत गरे पनि प्रकाशको भने नाम निस्किँदैन ।

यो दृश्यले नेपाली समाजको जातव्यवस्था र यसले निम्त्याएको शोषणको भाष्यलाई फरक रुपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । छोटै दृश्य किन नहोस् यसले दिने सन्देश भनेको कर्णालीमा दलनको भाष्य अन्यत्रको भन्दा फरक छ । माथि भनिएजस्तो ब्राह्मण-क्षेत्री शक्ति र संरचनाको उपल्लो बिन्दुमा र दलितहरू पिँधमा छैनन् । गरिब ब्राह्मण-क्षेत्री दलितभन्दा पनि पीडित छन्; आरक्षणका कारण कमजोर दलितहरूले पनि सरकारी जागिर खाएका छन् । बरु कमजोर आर्थिक हैसियत भएका गैरदलितहरू राजनीतिक रुपमा र प्रशासनिक रुपमा पनि पछाडि पारिएका छन् ।

देखाउन त फिल्ममा राधा र प्रकाशबीच टुसाउँदै गरेको प्रेममा जात व्यवस्थाले निर्माण गरेको छुवाछूत कसरी तगारो बन्छ भनेर पनि नदेखाइएको होइन । तर‚ जातीय भेदभावको राजनीतिलाई फिल्मले उति ठाउँ दिएको देखिँदैन ।

निर्देशकले फिल्ममा विद्यमान जात व्यवस्था र त्यसको दलनविरुद्ध अर्को पनि सन्देश दिन खोजेका छन् । शिक्षक लाइसेन्सप्राप्त गरेका प्रकाश शिक्षकको प्रतिस्पर्धामा फारम भर्न जाने बेला एक पात्रले उनलाई ‘कुन कोटाबाट फारम भर्न लागेको हो’ भनेर सोध्छन् । गरिबी र अभावबाट सधैं लखेटिएको पृष्ठभूमि भएको प्रकाशले निर्धक्कसँग आफूले खुला कोटामा फारम भरिरहेको बताउँछन् । यो दृश्यको ध्वनी जानाजान उचो गराइएको देखिन्छ; यहाँ निर्देशक स्पष्टसँग भन्न चाहन्छन्, सरकारी सेवामा विद्यमान आरक्षण व्यवस्थामा पुनर्विचार जरुरी छ । जातका आधारमा भन्दा पनि वर्गका आधारमा यस्तो आरक्षण दिइनुपर्छ ।

फिल्मले निर्माण गर्न खोजेको भाष्यजस्तो सपाट छैन कर्णालीको दलनको इतिहास । गरिब दलित र गरिब गैरदलितको सामाजिक हैसियत पनि उस्तै छैन । न त गरिब गैरदलित र गरिब दलितको समस्यालाई एउटै तराजुमा राखेर नै हेर्न मिल्छ । आरक्षणको विद्यमान व्यवस्थाबारे यति हल्का भाष्य निर्माण गरेर मात्रै दलनको कथा बदलिनेवाला पनि छैन । फिल्म हेरेर निस्किएपछि मेरो स्मृतिमा हालैका महिनामा कान्तिपुरमा प्रकाशित एकाध समाचारहरू लस्कर लागेर आए । पहिलो समाचार थियो, कर्णाली प्रदेश सरकारको समावेशी संरचनाबारे सुर्खेतस्थित कान्तिपुर संवाददाता ज्योती कटुवालले लेखेको समाचार ।

संविधानको धारा १६८ (९) मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्य मन्त्रीसहित प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुनेगरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ । तर‚ कर्णाली प्रदेश सरकारमा मुख्य मन्त्रीसहित ८ सदस्यीय मन्त्रीमण्डल नै खसआर्य समुदायका पुरुषमात्रै छन् । जान्नैपर्ने तथ्य के हो भने २०७८ को जनगणनाअनुसार कर्णालीमा दलित समुदायको जनसंख्या झन्डै २३ प्रतिशत छ । प्रदेश सरकारको पछिल्लो ५ वर्षे कार्यकालमा यहाँका दलित समुदायबाट जम्मा एक जना महिला मात्रै मन्त्री भइन् । यही दृश्य काफी छैन र कर्णालीका दलितहरूलाई किन आरक्षण चाहिएको रहेछ भनेर बुझाउन ? के प्रदेश सरकारको यो अनुहार काफी छैन र कर्णालीका दलितहरू दलनको कुन चक्रमा छन् भनेर बुझाउन ? के मन्त्रिपरिषद्को यही अंकगणित काफी छैन र कर्णालीमा शासक को हुन् र शासित को छ भनेर बुझाउन ?

अब अर्को दृश्यको पनि चर्चा गरौं । केही साताअघि कान्तिपुरले लगातारजसो एउटै विषयमा समाचार प्रकाशित गर्‍यो । विषय थियो- कर्णालीका कैयन दलितहरूलाई तत्कालीन शासक/प्रशासकहरूले कुकुर, फ्याउरो, सिगाने, कुत्ता, गुखानेजस्ता अपमानजनक नाम नागरिकतामा राखिदिएका थिए । नामकै कारण उनीहरूको सिंगो परिवारले वर्षौंदेखि अपमानको भूमरीमा पिल्सिन विवश हुँदै आएका थिए । अपमानको यो श्रृंखलाको कुनै ब्राह्मणक्षेत्रीको नाम नागरिकतामा त्यसरी बिगारिएको भेटिएन । नाममा गरिने यस्तो अपमानजनक शासकीय व्यवहारबारे अनुसन्धान गरिरहेका दलित अध्येता शिवहरी ज्ञवालीले मलाई एक दिन सुनाएका थिए, ‘अपमानजनक नाम राखिदिने, नाममा सम्मान झल्केला कि भनेर ‘ई’ कार लगाइएका नाम राखिदिने काम मुख्यत: दलितहरुमाथि मात्रै भएको छ; यस्तो नाम राखिदिनेहरू सबै कथित उपल्लो जातका मात्रै सरकारी हाकिमहरू छन् ।’

कान्तिपुरले निरन्तर समाचार प्रकाशित गरेपछि गृह मन्त्रालयले देशैभरिका प्रशासन कार्यलयमा परिपत्र जारी गरेर अपमानजनक नाम सच्याउन सकिने व्यवस्था मिलायो । केहीले नागरिकतामा भएको अपमानजनक नाम सच्याएपछि आफूले जीवनकै पहिलो पटक सम्मानित महसुस गरेको अनुभव साटे ।

के प्रकाशका निर्देशकले दलित समुदायले भोगेको दलनको यस्तो कथाबारे थाह पाएनन् होला ? अथवा यस्तो अभ्यासको अन्तर्यमा निर्माण भएको सामाजिक शक्ति संरचनाबारे उनले नजरअन्दाज गरेर बस्न खोजेका होलान् ?

विद्यमान आरक्षण व्यवस्थामाथि उठाइएको प्रश्न फिल्मको केन्द्रमा नभए पनि निर्देशक र पटकथा लेखकले जस्केलोबाट भन्न खोजेका छन्- दमनको दुर्दशामा दलित जत्तिकै ब्राह्मणक्षेत्री पनि छन् । त्यसैले आरक्षणको कोटा निश्चित समुदायलाई मात्रै दिइनु न्यायोचित होइन । जात व्यवस्था र दलनको दुर्दशाबारे फिल्मले जस्केलोबाटै किन नहोस् गलत भाष्य स्थापित गर्न खोजेको छ ।

कहिलेकाहीँ शक्तिशाली दृश्य भाषाको एउटै क्लिप काफी भइदिन्छ‚ भ्रमहरुलाई विस्तार गर्न र सत्यहरुलाई लुकाउन । बलियो निर्देशकीय क्षमता देखाउँदा देखाउँदै पनि प्रकाश फिल्ममार्फत नेपाली समाजलाई हेर्ने दृष्टिकोण एक एलिट दृष्टिकोण हो । यसले नेपाली समाजको पिँधमा पारिएका महिला र दलित समुदायको समस्यालाई उठाएको भए पनि ऐतिहासिक रुपमा यस्ता समुदायमाथि भएको विभेदलाई नजरअन्दाज गरेको छ । यस्तो नजरअन्दाजले कलाका लागि कलालाई त सम्बोधन गर्ला तर यस्तो कला समाजका लागि भने हुन सक्दैन । आम भुईँमान्छेहरूका लागि झनै हुँदैन ।

यी पनि पढ्नुहोस् :

प्रकाशित : भाद्र १९, २०७९ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×