कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

खनालको ‘अन्तिम’ लडाइँ

पाँचवटा संसदीय चुनावमा विजय हासिल गरेर प्रधानमन्त्रीसम्म बनेका खनालले आफ्नै क्षेत्रको विकास निर्माणमा बेवास्ता गरेको मतदाताको गुनासो
बबिता शर्मा

काठमाडौँ — २०४८ यताका ६ संसदीय निर्वाचनमा टिकिरहेका झलनाथ खनालका लागि आसन्न चुनाव फरक तर चुनौतीपूर्ण हुनेछ । २०७४ सम्मका हरेक संसदीय निर्वाचनमा एमालेबाट चुनावी लडाइँ लडेका उनले पाँच जित र एक हार बेहोरेको इतिहास छ । यसपटक भने उनी एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर चुनावी मैदानमा उत्रँदै छन् । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता रहेका उनी सम्भवत: आफ्नो संसदीय राजनीतिक यात्राको ‘अन्तिम’ लडाइँमा छन् ।

खनालको ‘अन्तिम’ लडाइँ

७३ वर्षीय खनालका लागि आसन्न प्रतिनिधिसभा निर्वाचन नितान्त फरक अनुभवका साथै कठिन हुने निश्चित छ । फरक यस अर्थमा कि विगतमा लगातार कांग्रेस नेतासँग प्रतिस्पर्धा गरेका उनी यसपटक भने कांग्रेसकै समर्थनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनेछन् । ‘नि:सन्देह यसपटक निर्वाचनमा मेरा मतदाता नयाँ–नयाँ हुनेछन् । जुन खालका मतदाताले पहिला मलाई हराउनुपर्छ भन्ने ठान्थे, अहिले तिनैले समेत जिताउनुपर्छ भनेर लाग्ने अवस्था सिर्जना भएको छ,’ खनालले कान्तिपुरसँग भने, ‘विश्वास छ, इलाम–१ ले मलाई माया गर्छ, अर्को ५ वर्ष यो क्षेत्रलाई सेवा गर्ने मौका पाउँछु ।’ इलाममा एकीकृत समाजवादीको ठूलो संगठनात्मक शक्ति छैन, जसले आगामी निर्वाचन खनालका लागि ०७४ जस्तो सहज हुने छैन । तर उनी आसन्न निर्वाचनमा केही नयाँपन भए पनि चुनौती नरहेको दाबी गर्छन् । कांग्रेस, माओवादी र जसपाका मतदाता रिझाएर आफ्नो जित सुरक्षित गर्नुपर्ने खनालमाथि दबाब छ । एमालेले कस्तो उम्मेदवार उठाउँछ, त्यसले पनि नतिजा प्रभावित पार्नेछ ।

एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसी खनालको व्यक्तित्व प्रभाव र गठबन्धनको मतले जित सहज भएको दाबी गर्छन् । ‘०७४ मा १७ हजारभन्दा बढी मतले जित्नुभएको थियो । अहिले गठबन्धन भए १० हजारभन्दा बढी मतले जित्नुहुन्छ,’ केसी भन्छन्, ‘हाम्रो आफ्नै पनि १५ हजारजति भोट छ । त्यसबाहेक उहाँ राष्ट्रिय महत्त्वको व्यक्ति भएकाले एमालेबाट पनि मत आउँछ ।’ तर, पाँच–पाँचवटा संसदीय चुनावमा विजय हासिल गरेर प्रधानमन्त्रीसम्म बने पनि खनालले आफ्नै क्षेत्रको विकास निर्माणमा बेवास्ता गरेको मतदाताको गुनासो छ ।

०७९ को स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने आफ्नो क्षेत्रमा खनाल पार्टीकै बलमा मात्रै एक्लै निर्वाचन जित्ने अंकगणितमा छैनन् । निर्वाचन आयोगका अनुसार वडाध्यक्षको मतका आधारमा इलाम १ मा एमालेको २६ हजार २ सय ३३, कांग्रेस २५ हजार ७ सय ७२, एकीकृत समाजवादी ९ हजार ४ सय ८१, जसपा १ हजार ८ सय २९, माओवादीको १ हजार २ सय ३५, राप्रपा १ हजार १ सय ६९ मत छ । एकीकृत समाजवादीले गठबन्धनबाट खनालकै निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जिल्ला अध्यक्ष केसीका अनुसार स्थानीय निर्वाचनमा वार्डमा गठबन्धन भएको थिएन । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एकीकृत समाजवादीले सूर्योदयका ५ वडामा अध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा भने एमालेसँग तालमेल गरेर उपप्रमुख र केही सदस्यमा आफ्नो उपस्थिति जनाएको छ ।

०७४ मा इलाम १ बाट खनालले ३६ हजार ८ सय ५ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याए । खनालले २०४८, ०५१, ०६४ र ०७० मा पनि इलाम १ बाटै निर्वाचित भई संसद्मा प्रतिनिधित्व गरेका थिए । ०४८ र ०५१ को संसदीय निर्वाचनमा उनले कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित गरेका थिए । ०५१ मा भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका थिए । ०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए ।

०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका प्रसाईंसँग अघिल्लो हारको बदला लिए भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरे । पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित खनाल पार्टी संसदीय दलको नेतासमेत बने । पटकपटक मन्त्री भएका उनले एक पटक प्रधानमन्त्री बन्ने अवसर पनि पाइसकेका छन् । २०६७ माघमा माओवादीको समर्थनमा प्रधानमन्त्री निर्वाचित खनाल पार्टीभित्रैकै कलहका कारण नौ महिनामै बाहिरिनुपरेको थियो ।

२००६ चैत ६ मा इलामको साँखेजुङमा जन्मेका खनालले विगतमा एमाले निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । लामो समय संसदीय निर्वाचनमा सहभागी हुँदै आएका उनले आसन्न निर्वाचन अन्तिम हुन सक्ने संकेत गरेका छन् । ‘मैले केही समयअघिदेखि यो चुनाव मेरो निम्ति अन्तिम पनि हुन सक्छ भनेको छु तर ठोकुवा गरेको छैन,’ खनाल भन्छन्, ‘अब म यो चुनावपछि नयाँ युवालाई अघि बढाउने पक्षमा छु ।’

...

विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिस्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको पोलिटब्युरो सदस्य हुँदै महासचिव भएका थिए । २०२५ सालमा पार्टी सदस्यता प्राप्त गरे पनि राजनीतिक जीवन भने २०२१ सालदेखि सुरु गरेका थिए । खनाल २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष भए । ०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म मालेको महासचिव रहे, जतिबेला उनी ३३ वर्षका थिए । २०४६ मा संयुक्त वाममोर्चाको गठनमा पनि उनको भूमिका थियो । ०४७ मा नेकपा माक्र्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य बनेका उनी पाँचांै, छैटौं र सातौं महाधिवेशनपछि केन्द्रीय पोलिटब्युरो र स्थायी कमिटीमा थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा एमालेले लज्जास्पद पराजय व्यहोरेलगत्तै तत्कालीन महासचिव माधव नेपालले राजीनामा दिएपछि खनाल केही समय महासचिव बने । २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भए । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली बने, खनाल पार्टीको वरिष्ठ नेता भए । पछि एमाले र माओवादी एकतापछि बनेको नेकपामा उनी वरिष्ठ नेता एवं सचिवालय सदस्य थिए ।

झापा विद्रोहपछि २०३१ सालमा गठित कोओर्डिनेसन कमिटीको उनी संस्थापक सदस्य हुन् । २०३४ सालमा मालेका संस्थापक सदस्य भएका खनाल चार वर्षपछि महासचिव भए । २०४६ सालको आन्दोलनको सफलतासँगै खुलामञ्चबाट जेएन खनालको नाममा उनी सार्वजनिक भएका थिए । जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरणमन्त्री थिए । ०४६ मा सम्पन्न चौथो महाधिवेशनपछि मदन भण्डारी नेतृत्वमा आए । एमालेले २०४९ सालमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित गर्दा सीपी मैनाली र खनालको नौलो जनवादको कार्यनीति अल्पमतमा पर्‍यो । भण्डारीको जबजलाई खनालले ‘दक्ष प्रजापतिको टाउको जस्तो’ भनेर टिप्पणी गरेका थिए । जबजको आफ्नो कार्यनीति पारित भएपछि भण्डारीले खनाललाई पोलिटब्युरो सदस्य बनाएनन् । दासढुंगा दुर्घटनामा भण्डारीको निधनपछि भने उनी पोलिटब्युरो सदस्य भए ।

प्रकाशित : भाद्र २५, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?