स्वदेशी ‌‌औषधि उद्योगको प्रवर्द्धनमा सहयोग गर्न सरकार सधैं तयार : स्वास्थ्य राज्यमन्त्री केसी

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । नेपा केयर फर्मास्युटिकल्स प्रालिको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको भन्दै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

स्वदेशी ‌‌औषधि उद्योगको प्रवर्द्धनमा सहयोग गर्न सरकार सधैं तयार : स्वास्थ्य राज्यमन्त्री केसी

उनले भने–‘औषधि उद्योगहरुलाई आफ्नो दायित्व विर्सन नहुने भन्दै आम जनताको हित सम्झेर काम गर्नुस् । गुणस्तरीय औषधिहरु जनतालाई सहजरुपमा उपलब्ध गराउनुहोस्, राज्यले तोकेका मापदण्ड पूरा गर्नुहोस । राज्यले के गर्नुपर्छ भन्नुहोस्, सहयोग गर्न तयार छौं ।’

नेपा केयर फर्मास्युटिकल्स नेपालमा औषधि उत्पादन गर्ने ७६ औं कम्पनी बनेको छ । नेपा केयरका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बिहीबारबाट उत्पादन बजारमा पठाउन थालेको बताए । २०७३ सालमा नयाँ औषधि उद्योगको रुपमा दर्ता भएको यो रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित छ ।

नेपा केयर अध्यक्ष श्रेष्ठले राज्यले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि निर्यातका लागि पहल गर्नुपर्ने धारणा राखे ।

कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठका अनुसार नेपा केयरले ट्यावलेट, क्याप्सुल, मलम र झोलको रुपमा औषधि बन्ने बताए । ‘कम्पनीबाट ९ प्रकारका औषधि उत्पादन सुरु गरी बजार पठाउन थालिएको छ । त्यसमा मधुमेह, छाला, न्युरो, पेन किलर, ग्यास्ट्राइटिसमा प्रयोग हुने औषधिहरु छन्,’ उनले भने ।

श्रेष्ठले कम्पनीले आँखा, नाक तथा कानमा राख्ने थोपा औषधिसमेत उत्पादन सुरु गर्ने योजना रहेको जनाए ।

प्रकाशित : भाद्र २४, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?