कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्छ : दाहाल

प्रतीक्षा काफ्ले

कास्की — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणालीमा सांसद भएपछि मात्र मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था भएकाले जरैदेखि भ्रष्टाचार मौलाएको बताउँदै दाहालले भ्रष्टाचार न्यूनीकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त हुने बताएका हुन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्छ : दाहाल

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा सांसद साक्षी जस्तै हुन्छन्,’ उनले भने, ‘जनताले सिधै चुनेर मन्त्री हुने व्यवस्था भयो भने भ्रष्टाचार कम हुन्छ । अहिलेको निर्वाचनमा धनी र पुँजीवादी बाहेक सामान्य मान्छे निर्वाचन लड्न सक्ने अवस्था छैन ।’ उनले निर्वाचन महँगो हुँदै गएको बताए ।

प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले देश निर्वाचनमय भएको बताएका हुन् । देश नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको बताउँदै उनले सिट बाँडफाँटमा शुक्रबार नै गठबन्धनको टुंगो लाग्ने बताए । ‘बिहीबार नै टुंग्याउथ्यौं,’ उनले भने, ‘कोही नेता कहाँ कोही कहाँ जानुपर्ने भएर टुंगो लागेन ।’

उनले शुक्रबार पोखराबाट फर्किएपछि बेलुकासम्म गठबन्धनको टुंगो लाग्ने बताएका छन् ।

यस्तै नागरिकता विधेयकलाई पनि दाहालले सम्बोधन गरेका थिए । वंशजको आधारमा नागरिकता पाउने ७/८ लाख जनता नागरिकाविहीन भएकाले उनीहरुको मध्यनजर गर्दै विधेयक आएको प्रतिक्रिया दिए । पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपनि पुन: फिर्ता गर्ने कानुनी व्यवस्था नरहेको हुँदा राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण हुने विश्वास रहेको उनले बताए ।

‘यदि प्रमाणीकरण नभए कि अदालत जान्छ कि राष्ट्रपतिले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘वैवाहिक अंगिकृतको हकमा ७ वर्ष व्यवस्था राख्नुपर्छ भनेर पहिलेबाटै माओवादीले आवाज उठाएको हो । ७ वर्ष भनेर कुरिरहँदा कयौं नेपाली नागरिकताविहीन हुने हुँदा नागरिकता विधेयक पास गर्नुपर्छ भन्ने पक्षमा माओवादी उभिएको छ ।’

प्रकाशित : भाद्र २४, २०७९ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?