कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दाहालसँग नोकझोंक गर्ने शर्माको बल के हो ?

द्वन्द्वकालका कमान्डरको भूमिका र खुला राजनीतिमा संगठनमा पकड बनाएका शर्मा अध्यक्ष दाहालका राजनीतिक र व्यक्तिगत कमजोरीका साक्षी पनि हुन्
माओवादीबाट वैद्य र भट्टराई बाहिरिएपछि सार्वजनिक मञ्चमा अरु नेताले दाहालविरूद्ध बोल्न हिम्मत गरेका थिएनन्, पछिल्लो समय शर्माले आफूविरूद्ध बोल्न थालेपछि दाहाल आक्रोशित छन्
गंगा बीसी

काठमाडौँ — माओवादी उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी पदाधिकारी चयनप्रति सार्वजनिक रूपमै आलोचना गरेपछि अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित भएका छन् । शर्माको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा कडा टिप्पणी नगरे पनि दाहालले निकटस्थसँग ‘अति नै हुन थाल्यो’ भन्न थालेका छन् । 

दाहालसँग नोकझोंक गर्ने शर्माको बल के हो ?

माओवादीबाट मोहन वैद्य र बाबुराम भट्टराई बाहिरिएपछि सार्वजनिक मञ्चमा अरू नेताले दाहालविरुद्ध बोल्न हिम्मत गरेका थिएनन् । पार्टीमा दाहालको यस्तो प्राधिकार छ कि उनले जे

चाह्यो त्यही हुँदै आएको छ । सशस्त्र युद्धको बेलादेखि नै दाहालविरुद्ध उत्रने नेतालाई पार्टी छाड्नुपर्ने वा खुम्चेर बस्नुपर्ने अवस्थामा पुर्‍याइएको छ । शर्मा आफूविरुद्ध बोल्ने नेताका रूपमा निस्किएपछि दाहाल आक्रोशित बनेको उनीनिकट नेताहरू बताउँछन् ।

माओवादीमा शर्मा र वर्षमान पुन महासचिवका आकांक्षी थिए । नेतृत्वले उनीहरूलाई व्यवस्थापन गर्न नसकेकै कारण पदाधिकारी चयनमा ढिलाइ हुँदै आएको थियो । पार्टीले महाधिवेशनको करिब आठ महिनापछि भदौ पहिलो साता पदाधिकारी चयन त गर्‍यो तर शर्मा र पुन दुवै उपमहासचिवमा सीमित भए । त्यसको असन्तुष्टि शर्माले बुधबार अखिल (क्रान्तिकारी) को कार्यक्रममा दाहालकै सामुन्ने पोखे । शर्माले आफू दाहालको प्रमुख रक्षक भएको दाबी गर्दै एक नम्बर आलोचक पनि आफैं भएको बताएका थिए । उनले यसो भन्दा प्रज्ञा प्रतिष्ठानको हलमा अखिल क्रान्तिकारीका विद्यार्थीले ताली बजाएका थिए, जुन दृश्य दाहाललाई चित्त बुझेन । लगत्तै दाहालले पार्टी अध्यक्षको हैसियतमा आफूले शर्मालाई हुर्काएको जवाफ दिए ।

कार्यक्रममा शर्माले नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने आफ्नो माग रहेको बताए । ‘अध्यक्ष कमरेडको सबैभन्दा बढी कडा आलोचक पनि मै हुँ, सबभन्दा बढी रक्षा गर्ने पनि मै हुँ,’ उनले भनेका थिए, ‘अध्यक्षले जवाफ यहींबाट दिनुहोला । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन, आलोचना पनि गर्नुपर्छ ।’ जवाफमा दाहालले भनेका थिए, ‘जनार्दनजीले जाँदाजाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो । म तपार्इंहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

शर्माले दुई साताअघि माओवादी कर्णाली प्रदेशको प्रशिक्षणमा पनि उपमहासचिवको हैसियतले सहभागी नभएको भन्दै दाहालप्रति कटाक्ष गरेका थिए । दाहालले त्यही मञ्चमा शर्माप्रति संकेत गर्दै पार्टीमा गुट नै गुट भएको बताएका थिए । बुधबार पनि शर्माले आलोचना गरेपछि दाहालले आफूमाथि अपमान भएको ठानेको निकट नेताहरू बताउँछन् ।

दाहालनिकट एक नेताले अध्यक्षलाई खुइल्याउन खोज्दा पार्टी नै खुइलिनेप्रति उपमहासचिव शर्मा सचेत हुनुपर्ने बताए । ‘जनार्दनजी पार्टीको निर्णयविरुद्ध सार्वजनिक रूपमा बोल्दै हिँड्नुभएको छ,’ उनले भने, ‘अध्यक्षले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको काण्डमा अध्यक्षले रेस्क्यु गरेर शर्मालाई पुनः अर्थमन्त्री बनाउनुभयो । उहाँ अहिले अध्यक्षविरुद्ध उत्रिनु गलत हो ।’ गत जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति छिराएर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेर चौतर्फी आलोचना भएपछि शर्माले मन्त्री पदबाट राजीनामा दिएका थिए । संसदीय विशेष छानबिन समितिले सीसीटीभी फुटेज नभेटिएको भन्दै ‘सफाइ’ दिएपछि शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

शर्मा र पुन माओवादीमा खम्बाका रूपमा चिनिन्थे । दुवै नेता दाहालका विश्वासपत्र पनि थिए । शर्मा बाहिरी मोर्चा र पुन आन्तरिक काममा प्रभावकारी देखिन्छन् । माओवादी सशस्त्र संघर्षका बेला दाहाल लडाकुको सुप्रिम कमान्डर थिए भने शर्मा र पुन डेपुटी । पुनले लडाइँको पूर्वी र शर्माले पश्चिम मोर्चा सम्हालेका थिए । दुवैले एउटै पद ताकेपछि अप्ठ्यारोमा परेका दाहालले पदाधिकारी चयन प्रक्रिया धकेल्दै आएका थिए । भदौ ४ को स्थायी समिति बैठकले दाहालको प्रस्तावमा उनीहरूलाई उपमहासचिवमा सीमित गरेर देव गुरुङलाई महासचिव बनायो ।

गुरुङलाई महासचिव चयन गर्नुअघि दाहालले पुन र शर्मामध्ये एक जनालाई महासचिव बनाउने आवश्वान दिएको स्रोतको दाबी छ । दुवै नेताले खुमलटारमा दाहाललाई आफूहरूमध्ये एकलाई महासचिव बनाए आपत्ति नहुने बताएका थिए । त्यसबेला दाहालले खासै प्रतिक्रिया जनाएका थिएनन् । तर पुनलाई महासचिव बनाउँदा शर्मा बिच्किने, शर्मालाई बनाउँदा पुन असन्तुष्ट हुने दाहालले अनुमान गरे अनि मध्यमार्ग अपनाएर गुरुङलाई अघि सारे । गुरुङ भने विगतदेखि नै दाहालका राजनीतिक आलोचक थिए । ‘अध्यक्षको पुन र शर्मासँग डर र भर दुवै छ, उनीहरूमध्ये एक जनालाई महासचिव बनाउँदा द्वन्द्व बढ्न सक्थ्यो । त्यसैले देवजी महासचिव हुनुभयो,’ माओवादीका एक पदाधिकारीले भने ।

शर्मा र पुनको पार्टीको जिल्ला तहसम्म गुटगत संगठन छ । पार्टी नेतृत्व चयन, केन्द्र, प्रदेश र स्थानीय निर्वाचनमा टिकट वितरणमा यी दुई नेताको बढी प्रभाव पर्छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेको भए पनि महासचिव हुनेमा पुनभन्दा शर्मा बढी आशावादी थिए । उनले निकट नेताहरूसँग अध्यक्ष दाहालले आफूलाई महासचिव बनाउन बचन दिइसकेको बताउँदै आएका थिए । ‘अध्यक्षले महासचिव बनाउने बचन दिनुभएको थियो, अहिले धोका भयो’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

शर्माले कार्यक्रममा उपमहासचिवको हैसियतमा उपस्थिति नभएको बताउने गरे पनि पदबाट राजीनामा दिएको घोषणा भने गरेका छैनन् । पदाधिकारी चयनका बेला स्थायी समिति बैठकमा भने शर्माले महाधिवेशनको भावनाअनुसार नभएको टिप्पणी गर्दै उपमहासचिव पद अस्वीकार गरेका थिए । उनले सहमतिमा महासचिव चयन नभए केन्द्रीय समितिमा निर्वाचन गराएर चयन गर्नुपर्ने बताउँदै आएका थिए । ‘पार्टीले उपमहासचिव बनाउन गरेको निर्णय नमान्ने तर महाधिवेशन अघि दिएको संगठन विभाग प्रमुखको हैसियतमा मञ्चमा बोल्ने जनार्दनजीको गतिविधि पार्टी नीतिसँग मेल खाँदैन,’ दाहालनिकट एक नेताले भने, ‘पार्टी निर्णय मान्नुपर्‍यो, यसरी अराजक ढंगले चल्न मिल्दैन ।’

गुरुङ पुन र शर्माभन्दा वरिष्ठ नेता हुन् । तर गुरुङलाई महासचिव बनाइएकामा माओवादीभित्र धेरै नेता असन्तुष्ट छन् । खासगरी भारत र अमेरिकालाई हेर्ने सवालमा गुरुङ अनुदार देखिन्छन् । पार्टी महासचिवको हैसियतले राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्तुलन मिलाउन उनलाई गाह्रो हुने नेताहरूको बुझाइ छ । २०६९ मा मोहन वैद्यसँग अलग भएका गुरुङ २०७२ मा माओवादीमा फर्केका थिए ।

उपमहासचिव पुन पनि महासचिव पद नपाएपछि असन्तुष्ट छन् । तर उनले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका छैनन् । ‘महासचिव नभए पनि पार्टीका लागि खटिरहेको छु,’ पुनका निकट एक नेताले भने, ‘यसरी महत्त्वपूर्ण निर्णयमा खटाउने भए महासचिव बनाएको भए हुन्थ्यो ।’ सचिव राम कार्कीले विगतमा कोठाभित्र अध्यक्षको आलोचना हुने गरेको भए पनि संसदीय धारमा गएपछि सार्वजनिक मञ्चमा आलोचना हुन थालेको बताए । ‘अहिले सार्वजनिक मञ्चमा आलोचना हुन थालेको छ । यो स्वाभाविक पनि हो,’ उनले भने, ‘पार्टीको संसदीय चरित्र बाहिर आउँदै छ ।’

शर्माले सशस्त्र द्वन्द्वकालदेखि नै दाहाललाई फकाउने र धम्काउने गर्दै आएका छन् । तर ती आन्तरिक रूपम सीमित रहन्थे । पछिल्लोपटक भने सार्वजनिक रूपमै आलोचना भएपछि दाहालले कुनै ‘एक्सन’ लिन्छन् कि त्यत्तिकै सामसुम पारिदिन्छन् भन्नेमा पार्टीभित्र चासो उत्पन्न भएको छ । पदाधिकारी चयनको निर्णयबाट दाहाल पछि हट्न सक्ने देखिँदैन । सम्मुखमा आमनिर्वाचन रहेकाले शर्माको असन्तुष्टिलाई दाहालले हाल चर्को प्रतिक्रिया नदिने सम्भावना रहेको एक नेताले बताए । ‘चुनावको मुखमा बढी प्रतिक्रियात्मक बन्दा पार्टीभित्र असन्तुष्टि बढ्छ । त्यसले चुनावको माहोल बिगार्न सक्छ,’ ती नेताले भने ।

पदाधिकारी चयन प्रक्रियामा अरू नेता पनि असन्तुष्ट रहेकाले आमनिर्वाचनपछि पार्टी विशेष महाधिवेशनमा जाने सचिव कार्कीले बताए । ‘चुनावपछि सैद्धान्तिक र वैचारिक विशेष महाधिवेशन हुन्छ,’ उनले भने, ‘त्यसबेला नेतृत्व चयनको मुद्दा उठ्नेछ ।’

प्रकाशित : भाद्र २४, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?