मौलिक महोत्सव येँ याः- समाचार - कान्तिपुर समाचार

मौलिक महोत्सव येँ याः

काठमाडौं सहरसँग जोडिएका अनौठा कथाहरु छन् । इन्द्र, कुमारी र लाखेका कथा किंवदन्ती हुन्, इतिहास होइनन् । तर इतिहास त्यति जीवन्त रहँदैन, जति किंवदन्ती रहने गर्छन् । 
काठमाडौं सहरसँग जोडिएका अनौठा कथाहरु छन् । इन्द्र, कुमारी र लाखेका कथा किंवदन्ती हुन्, इतिहास होइनन् । तर इतिहास त्यति जीवन्त रहँदैन, जति किंवदन्ती रहने गर्छन् । 
हिमेश

काठमाडौँ — धेरै धेरै अगाडि । कति धेरै अगाडि कति धेरै अगाडि । स्वर्गका राजा इन्द्रलाई पारिजातको फूल चाहिएको थियो । उनकी आमा बसुन्धरा व्रत बसेकी थिइन् । यसकै लागि पारिजातको फूल चाहिन्थ्यो ।

इन्द्र झरे, काठमाडौंको भीमसेनस्थानतिर । त्यहाँ एउटा बगैंचा थियो । त्यहीं फूल टिप्न खोज्दा मालीले उनलाई समातिहाले । इन्द्रले फूल टिप्न अनुमति लिएकै थिएनन् । फेरि ती माली पनि कम्तीका थिएनन् । तान्त्रिक थिए । इन्द्र जत्तिको देवतालाई पनि सबैले देख्ने गरेर लिंगोमा बाँधेर राखे ।

छोरा नफर्केपछि आमाले ऐरावत हात्तीलाई खोज्न पठाइछिन् । इन्द्र त समस्यामा रहेछन् । आमा आफैं काठमाडौं झरिन् । त्यो पनि बौलाहीको वेशमा । छोराको स्थिति देखेर उनी छक्क परिन् । पछि धानबाली समयमै पाक्ने दिने बचन दिइन् । त्यति मात्र नपुगेर मरेकालाई स्वर्ग लान पनि मानिन् । अनि आफ्ना छोरालाई स्वर्ग फर्काइन् । इन्द्रकी आमाको बचनअनुसार काठमाडौंका खेतबारी राम्रा हुन थाले । अनि मरेकाहरू पनि स्वर्ग जान थाले ।

अब कुमारीको कुरा । कुमारीको दैत्यसँग माया बस्छ । कुमारीले आफ्नो प्रेमी अथवा देशमध्ये एउटा रोज्नुपर्ने दिन आउँछ । कुमारीले देश रोज्छिन् । अनि दैत्यकै हत्या पनि गर्छिन् । कुमारीले दैत्य रोजेको भए देश रहने थिएन । आफ्नो देशका लागि उनले आफ्नो प्रेमका पनि हत्या गरिन् । यो कुमारीको अमर प्रेम कथा हो । कुमारीले भनेकी थिइन्, ‘अब म कहिल्यै विवाह गर्दिनँ । कुमारी नै रहन्छु ।’ यसरी उनले आफ्नो देशलाई पनि बचाइन्, उनको प्रेम पनि अमर भयो ।

लाखे पनि दैत्य नै हुन्, तर देउता जस्ता राक्षस । अब उनको कथा । काठमाडौं मज्झिपातकी एउटी असाध्यै राम्री युवतीको एक राक्षससँग माया बसेछ । ती राक्षस राति राति युवतीको घरमा आउँथे । सुत्थे पनि । पछि टोल छिमेकीले थाहा पाइहाले । राक्षस समातिए । टोलवासीले ती युवती र राक्षसको विवाह गर्ने निर्णय पनि गरे । त्यसका लागि सर्त भने राखिएको थियो, टोल र यहाँका बासिन्दाको रक्षा गर्ने काम तिनै राक्षसको हुनेछ । तिनले माने पनि, अनि सुरु भयो, लाखे परम्परा ।

यी सबै किंवदन्ती हुन् । काठमाडौं सहरसँग जोडिएका अनौठा न अनौठा कथाहरू । किंवदन्ती बकाइदा इतिहास होइनन् । तर इतिहास त्यति जीवन्त रहँदैन, जति किंवदन्ती रहने गर्छन् । कम्ती रोमाञ्चक छैनन् यी इन्द्र, कुमारी र लाखेका कथाहरू । सबैभन्दा मज्जाको कुरा त के भने काठमाडौं यस्तो सहर हो, जसमा देउताहरू मज्जाले घुम्न आउँछन् । तिनले आममान्छेसँग कुराकानी गर्छन्, कहिलेकाहीं आफैं समस्यामा पनि पर्छन् ।

यी कथाले हाम्रो समाज, परम्परा, परिवेश, मूल्य मान्यताबारे धेरथोक भनिरहेका हुन्छन् । यसमा रमाउन जान्नुपर्छ, यसमा भिज्नुपर्छ, यसले हामीलाई धेरथोक दिइरहेको हुन्छ । आज इन्द्रजात्रा । यो समय हो, काठमाडौंको सबैभन्दा ठूलो र मौलिक पर्व, येँ याःको । येँ भनेको नेपाल भाषामा काठमाडौं भयो । अनि याः भनेका पर्व । इन्द्रजात्रा भन्नु नै येँ याः भने होइन् । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्दशीसम्म येँ याः मनाइन्छ, यसकै एक दिन इन्द्र जात्रा पर्छ ।

फाइल तस्बिरहरू

यी पर्वसँग तिनै इन्द्र, कुमारी र लाखेसँग अरू धेरै जोडिन्छन् । संस्कृतिका अध्येता जितेन्द्रविलास वज्राचार्य भन्छन्, ‘येँ याःका धेरै पक्ष छन्, यसका धेरै आयाम छन् । यो सुरुमा जस्तो मनाइन्थ्यो, यसमा समयअनुसार परिवर्तन आएको छ । यो काठमाडौंको आफ्नै मौलिक महोत्सव हो, जसको इतिहास आफैंमा धेरै वर्ष पुरानो छ । यसमा झन्झन् नयाँ मोड थपिएका छन्, यसले अझ यसलाई जीवन्त बनाएको छ । त्यसैले यो धेरै लोकप्रिय पनि छ ।’

वज्राचार्यका अनुसार यो यही समय हो, जति बेला काठमाडौंमा धान फल्न सुरु हुन्छ । मौसम पनि मज्जाको हुन्छ, न त गर्मी, न त जाडो । कृषिको काम सकेर सबै फुर्सदमा पनि हुन्छन् । अनि यही उपयुक्त समयमा सुरु भयो, येँ याःका रूपमा महोत्सव मनाउन । खुसी मनाउने समय, रमाइलो गर्ने समय । येँ याः बारे खोज्दै जाँदा लिच्छविकाल पुग्न सकिन्छ । त्यति बेला यो जम्माजम्मी चार दिन मात्र मनाइन्थ्यो । मल्लकाल आइपुग्दा आठ दिनको भयो । कुमारी प्रथा प्रताप मल्लले सुरु गरे, तर यसको रथ यात्रा सुरु गर्ने श्रेय काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्ललाई जान्छ । यो पर्व असाध्यै लोकप्रिय र प्रसिद्ध भएको एउटा प्रमुख कारण कुमारी रथ यात्रा नै हो । पछिल्लो समय त सिंगो नेपालकै सबैभन्दा ठूलो परिचय बनेको छ, जीवित देउता, कुमारी । यो पर्व सुरु भएको प्रतीकका रूपमा यसिं गाढिन्छ । यसका लागि चाहिने लिंगो भक्तपुरको नालागाउँबाटै ल्याउनुपर्छ । त्यहाँबाट सबैभन्दा पहिले भोटाहिटी ल्याइन्छ र पछि हनुमानढोका पुर्‍याइन्छ ।

यसअघि यो यसिं चिकंमुगलको अट्कोनारायण अगाडि ठड्याइन्थ्यो । पछि प्रतापसिंह शाहले यसलाई हनुमानढोकामा ठड्याउने निर्णय गरे । कारण ? अर्का संस्कृतिका अध्ययेता सन मानन्धर भन्छन्, ‘नेपाल संवत् ९८५ मा तिब्बत जितेको उत्साहमा राजाले खुसियाली मनाउन यस्तो निर्णय गरे ।’ तिनै अध्येता मानन्धरका अनुसार येँ याः धेरै अर्थमा पितृमोक्षको पर्व हो । मृतको सम्झनामा ‘उपाकु वनेगु’ गरिन्छ । त्यसो भनेको दिवंगत आफन्तको सम्झनामा धूप बाल्दै, ‘पाल्चा’ राख्दै केहीले त बाजा बजाउँदै काठमाडौंका नगर घुमिन्छ । येँ याःको अर्को उत्तिकै रोमाञ्चक पक्ष हो, ‘हाथु हायकेगु’ । यसिं ठड्याउनेबित्तिकै हनुमानढोकास्थित हाथुद्यो खोलिन्छ । यी हुन्, श्वेत भैरव । भैरवको विशाल शीर मात्र भएको मूर्ति राजा रणबहादुर शाहले स्थापना गरेको मानिन्छ । ‘हाथु हायकेगु’ भनेर साँझतिर भैरवको मुखबाट जाँडरक्सी बहाइन्छ, मूर्तिको पछाडि रहेको ठूलै घ्याम्पोबाट ।

भैरवको मुखमा रहेको नलीबाट बगेको यो पवित्र जाँडरक्सी पिउँदा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । यसको सेवनले नानाथरीका रोग निको हुने विश्वास अझ छँदै छ । त्यसैले ‘हाथु हायकेगु’ का बेला खुबै भीड लाग्छ । येँ याःकै बेला टोल टोलमा खलक खलक मिलेर भजन गाउने परम्परा पनि छ । कुमारीको रथ यात्रा पनि तीनपल्ट गरिन्छ । सुरुमा भयो, ‘क्वनेयाः’ । दोस्रो भयो, ‘थनेयाः’ । तेस्रोपल्ट रथ तान्ने परम्परा भने राणाकालमै मात्र सुरु भएको थियो र यसलाई भनिन्छ, ‘नानीचायाः’ ।

कुमारीसँग राजतन्त्रको एउटा विशिष्ट परम्परा पनि जोडिएको छ, जुन हो, यही ‘नानीचायाः’ सकेपछि राजाले कुमारीबाट टीका थाप्ने परम्परा । अब त हाम्रोमा राजतन्त्र पनि रहेन । जति बेला थियो, त्यति बेला राजाले त्यस दिन कुमारीबाट टीका थाप्नुको अर्थ एक वर्षका लागि राज्य चलाउन आसिक माग्नुजस्तै थियो । इन्द्रजात्राकै बेला पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेका थिए र भनिन्छ, पछि उनले पनि यहाँको संस्कृतिलाई उत्तिकै मान्ने र अगाडि बढाउने बचन दिएका थिए ।

अब नयाँ कुरा । येँ याःसँग दुई तथ्य जोडिएका छन्, त्यो पनि केही वर्षअगाडि मात्र । साँच्चै त्यसको पनि केही वर्षअगाडि मात्र भएको भए, यसलाई समाजले स्वीकार्ने थिएन । तर अहिले सबैलाई सजिलै पचेको छ । अचेल ‘हाथु हायेगु’ का धेरै दिनमध्ये एक दिन महिलाका लागि मात्र छुट्याइएको छ । ‘थनेयाः’ को भोलिपल्ट महिला मात्र तिनै श्वते भैरवअगाडि जम्मा हुन्छन् र आफूआफूबीचको भिडमभीडबीच जाँडरक्सीको स्वाद चाख्छन् ।

अनि अचेल महिला मात्रले पनि एक दिन कुमारीको रथ तान्ने परम्परा सुरु भएको छ । पहिले त रथ तान्ने डोरी पनि महिलाले छुन पाउँदैन थिए । छोए बात लाग्थ्यो । तर आजभोलि ‘नानिचायाः’ को दिन महिलाले मात्र रथ तान्छन् । अचेल कुरा काट्ने कोही छैनन् । येँ याःको मज्जा नै यही हो । ती दिन त्यस्ता पनि थिए, जति बेला इन्द्र काठमाडौं झरेका थिए । अहिले त्यस्ता दिन छन्, जति बेला महिलाले रथ तान्ने काम मात्र गर्दैनन्, देउताको मुखबाट निस्केको पवित्र जाँडरक्सी पनि खान्छन् ।

प्रकाशित : भाद्र २४, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालको विजयी सुरुवात 

हिमेश

काठमाडौँ — सावित्रा भण्डारी र अनिता बस्नेतको दुई/दुई गोल मद्दतले नेपालले 'वुमेन्स साफ च्याम्पियनसीप २०२२' मा मंगलबार विजयी सुरुवात गरेको छ । नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गरेको हो । 

सावित्राले खेलको १२औं मिनेटमा पहिलो गरेयता ६८औं मिनेटमा दोस्रो गोल थपिन् । यससँगै नेपालको लागि सावित्राको व्यक्तिगत गोल संख्या ४० पुगेको छ ।

यस्तै, अनिताले खेलको ७३औं मिनेटमा तेस्रो गोल गरिन् भने चौथौ गोल ८४औं मिनेटमा गरिन् । अनिताले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै आफ्नो पहिलो गरिन् । खेल सुरुमा वर्षाका कारण प्रभावित रह्यो । दुबै टिमले आफ्नो स्वभाविक प्रदर्शन गर्न सकेनन् ।

नेपाल लागि अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यु गरे । यो जितसँगै नेपाल समूह बी बाट सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×