एउटै पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर क्लोज’ भइसक्यो : मन्त्री चौधरी

ठाकुरसिंह थारु

नेपालगन्ज — सहरी विकासमन्त्री मेटमणि चौधरीले एउटै व्यक्ति वा पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर कलोज’ भइसकेको बताएका छन् । ‘कुनै दिन थियो होला एउटै व्यक्ति/पार्टीले देश चल्न सक्थ्यो । तर, ०७४ यताको निर्वाचनपछि सामूहिक रूपले मात्रै देश चल्न सक्ने देखिएको छ,’ उनले भने,‘त्यसैले अब पनि देश चलाउनका लागि राजनीतिक दलबीच गठबन्धनको आवश्यक छ ।’ 

एउटै पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर क्लोज’ भइसक्यो : मन्त्री चौधरी

बाँकेको जानकी गाउँपालिका–३ मा निमार्ण हुन थालेको सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले एकल पार्टीले सरकार चल्न नसक्ने बताएका हुन । उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा वर्तमान सरकारमा रहेका दलहरुबीच गठबन्धन हुने जनाए । ‘सिकलसेल अस्पताल एक्लो व्यक्तिले चल्न सम्भव छैन । त्यस्तै, एकल पार्टीबाट सरकार पनि अगाडि बढ्न सक्दैन,’ मन्त्री चौधरीले भने ।

उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘भौतिक संरचना बन्दैमा अस्पतालले निरन्तरता पाउन सक्दैन । त्यसका लागि स्वास्थ्यकर्मी, चिकित्सक र आवश्यक पर्ने भौतिक पूर्वाधार व्यवस्थापन अति आवश्यक छ,’ उनले भने ।

पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा सिकलसेलको प्रकोप देखिएपछि थारु स्वास्थ्यकर्मीहरूको पहलमा सिकलसेल अस्पताल निमार्णको कार्य सुरु भएको हो । उपचार अभावमा कतिपय सिकलसेल पीडितले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो । अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरूले आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित : भाद्र २३, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?