कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गठबन्धनमा भागबन्डा : ‘८८ सिटमा समझदारी’

कांग्रेसले दाबी गरेका ६०, माओवादीका १२, एकीकृत समाजवादीका र जसपाका ८–८ निर्वाचन क्षेत्रमा गठबन्धनका अन्य दलको दाबी रहेन
नमिलेका क्षेत्रमा समझदारी जुटाउने जिम्मा देउवा र दाहाललाई दिने कार्यदलको तयारी
कुलचन्द्र न्यौपाने

काठमाडौँ — संसदीय निर्वाचनका लागि सिट बाँडफाँटको प्रयासरत सत्ता गठबन्धनको कार्यदलले बुधबार साँझसम्म ८८ सिटमा समझदारी गरेको नेताहरूले दाबी गरेका छन् । एक महिनाअघि गठन भएको कार्यदलले सुरुमा प्रतिशतमा भागबन्डा गर्न खोजे पनि समझदारी बन्न नसकेपछि एक/एक सिटमा छलफल गरिरहेको छ ।

गठबन्धनमा भागबन्डा : ‘८८ सिटमा समझदारी’

समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने तालिका छ । प्रत्यक्ष सिटमा बाँडफाँट नभएसम्म समानुपातिकमा कसको नाम पठाउने वा नपठाउने भन्ने अन्योल हुने भएकाले अहिले नै सबै विषय टुंगो लगाउन गठबन्धनले प्रयास गरिरहेको छ । सिट बाँडफाँटमा समझदारी बनाउन गठबन्धनले साउन २२ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल बनाएको थियो । त्यसयता शीर्ष नेतासहित कार्यदलको बैठक निरन्तर चलिरहेको छ ।

समग्र सिटलाई प्रतिशतमै भागबन्डा गर्न कठिन भएपछि दलहरूले एक/एक सिट छुट्याउने प्रयास गरिरहेका छन् । प्रतिनिधिसभाका कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एक सय, माओवादीले ६०, जसपाले ३२ र समाजवादीले २० सिटमा दाबी प्रस्तुत गरेका छन् । तर, कांग्रेसले दाबी गरेका मध्ये ६० सिटमा अरू कसैको दाबी नपरेकाले ती सिटमा कांग्रेसले उम्मेदवारी पाउने पक्का भएको छ । त्यस्तै माओवादीले दाबी गरेका मध्ये १२ सिटमा गठबन्धनका अन्य दलको दाबी छैन ।

एकीकृत समाजवादीका पनि अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्ने रौतहट–१, झलनाथ खनालको इलाम–१ र सचिव रामकुमारी झाँक्रीको गुल्मी–२ सहित ८ सिटमा अरूको दाबी छैन । जनता समाजवादी पार्टीका पनि ८ निर्वाचन क्षेत्रमा एकल दाबी छ ।

‘अहिलेसम्म ८८ निर्वाचन क्षेत्रको भागबन्डा मिलिसकेको छ । भोलि बिहान बस्ने कार्यदलको बैठकले केही निर्वाचन क्षेत्र मिलाउन सक्छ,’ कार्यदलका अर्का एक सदस्यले भने, ‘त्यहाँ पनि नमिलेका विषय शीर्ष तहका नेताहरूको जिम्मामा जान्छन्, नेताहरूले ४० देखि ५० निर्वाचन क्षेत्रको समस्या हल गर्नुपर्ने देखिन्छ ।’

०७४ को संसदीय निर्वाचन र ०७९ को स्थानीय तहको मतका आधारमा केही सिटमा समझदारी बन्न सजिलो हुने नेताहरूको भनाइ छ । ‘०७४ मा प्रत्यक्ष जितेका निर्वाचन क्षेत्रमा अधिकांशमा समझदारी बनेको छ । केन्द्रीयस्तरका मुख्य नेताले प्रतिस्पर्धा गर्ने क्षेत्रमा पनि समस्या हुँदैन,’ कार्यदलका एक सदस्यले भने ।

तनहुँ–१ मा कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारीको तयारी गरेपछि एसका सांसद किसानकुमार श्रेष्ठलाई बारा–४ मा उठाउने तयारी गरिएको छ । डोटीमा एसका प्रेम आले र कांग्रेसका वीरबहादुर बलायरबीच गठबन्धनको टिकटमा प्रतिस्पर्धा छ । बलायरलाई कैलालीमा झार्ने देउवाको तयारी छ । मोरङ–४ मा पनि कांग्रेसका केन्द्रीयस्तरका नेताहरू बढी भएकाले कांग्रेसले दाबी गरेको छ ।

०७४ मा उक्त निर्वाचन क्षेत्रबाट माओवादीका अमनलाल मोदीले कांग्रेस नेता महेश आचार्यलाई हराएका थिए । अहिले उक्त क्षेत्रबाट टिकट लिन कांग्रेसभित्र नै महेश आचार्य, गुरु घिमिरे र अमृत अर्यालबीच तीव्र प्रतिस्पर्धा छ । यस्तै जटिल अवस्था सिन्धुपाल्चोक–१ मा पनि छ । त्यहाँ सभामुख अग्नि सापकोटाले नै प्रत्यक्ष चुनाव लड्न खोजेमा कांग्रेसका मोहन बस्नेतलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । आफू लड्दै आएको निर्वाचन क्षेत्र छाड्न नसक्ने भन्दै बस्नेत चुनावी तयारीमा जुटिसकेका छन् ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदनसहित नमिलेका निर्वाचन क्षेत्रको टुंगो लगाउन बिहीबार नै शीर्ष नेताहरूलाई जिम्मेवारी दिइने जानकारी दिए । ‘हामी समझदारीको अन्तिममा छौं, कार्यदलले अहिलेसम्म गरेका कामको प्रतिवेदन तयार पारेर शीर्ष नेतालाई बुझाउँछौं,’ उनले भने, ‘बाँकी निर्णय शीर्ष तहको छलफलमा हुन्छ । अब सहमति हुन समय लाग्दैन ।’

मधेसमा कांग्रेस र जसपाबीच मुख्य रस्साकसी छ जहाँ प्रतिनिधिसभाका ३२ सिट छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको प्राप्त मतका आधारमा मधेसका १८ क्षेत्रमा कांग्रेस एक्लै अघि छ । त्यसैका आधारमा उसले २० भन्दा बढी निर्वाचन क्षेत्रमा दाबी गरेको छ । वडाध्यक्षको मतका आधारमा मधेसमा एमाले ६, जसपा ५, माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक/एक सिटमा मात्र अघि छन् । तर जसपाले मधेस प्रदेशलाई आफ्नो पार्टीको मुख्य आधार क्षेत्र मानेर दाबी प्रस्तुत गरिरहेको छ ।

मोरङ–५, सुनसरी–१, काठमाडौं–७ लगायत गरी मुलुकभरका ३२ निर्वाचन क्षेत्रमा जसपाको दाबी छ । ‘तोप माग्दा लाठी मात्र दिने अवस्था भएकाले सबैले आ–आफ्ना दाबी बढाएका हुन्,’ जसपा नेता मनीष सुमनले भने, ‘समझदारीमा आउँदा जसपा २६/२७ सम्म आउन सक्छ ।’ मधेस प्रदेशमा जसपाको मुख्य आधार र प्रभाव भएकाले गठबन्धनका अन्य दलले भाँजो हाल्न नहुने उनको भनाइ छ ।

उता, माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ५० प्रतिशत अर्थात् ८२ सिट र गठबन्धनका अन्य दलले ८३ सिट पाउनुपर्ने अडान राखिरहेका छन् । कार्यदलका संयोजक सिटौलाले यसअघि नै कांग्रेसले ८८ सिटको दाबी अघि सारेका थिए । त्यसैलाई आधार मानेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ८६ जोड २ को प्रस्ताव गरेका थिए । कांग्रेसले ८६ लिने र दुई सिट लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छुट्याउने उनको प्रस्ताव थियो ।

प्रकाशित : भाद्र २३, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?