युगान्डामा ‘मुजुरा’, ५ नेपाली युवती पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युगान्डामा ‘मुजुरा’, ५ नेपाली युवती पक्राउ

‘केन्या–तान्जानियाको मुजुरा–डान्स अब युगान्डामा’
देवेन्द्र भट्टराई

काठमाडौँ — गैरकानुनी बाटो र उपायबाट नेपाली युवतीलाई अफ्रिकी मुलुकमा लगेर विभिन्न बार–रेष्टुराँमा ‘मुजुरा नाच’ गराउने सञ्जाल पूर्वी अफ्रिकी मुलुक युगान्डामा सक्रिय देखिएको छ । आइतबार राजधानी कम्पालाको एक डान्स रेष्टुराँबाट पक्राउ परेका ६ मध्ये ५ जना नेपाली युवती रहेको र उनीहरू लुकिछिपी ४ वर्षदेखि युगान्डामा रहेको खुलासा भएको छ ।

युगान्डास्थित गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद थापालाई कम्पालास्थित अध्यागमनले दिएको सूचनामा कानुनी अनुसन्धान र छानबिनका क्रममा पक्राउ परेका युवतीलाई थुनामा राखिएको छ । ‘मानव तस्करी, ओसारपसार र यौन व्यवसायको सरोकार पनि यो मामलामा जाडिएको देखिन्छ,’ थापाले भने, ‘हामी युगान्डामा रहेको नेपाली समुदाय नेपाली युवतीको ओसारपसार र मुजुरा नाचसहितका पक्षमा भइरहेको अनधिकृत गतिविधिबारे आफ्नै तहमा पनि अनुसन्धानमा जुटेका छौं ।’

पक्राउ परेका ५ मध्ये २ जनाको राहदानी लिएर मुजुरा डान्सबारका भारतीय मूलका सञ्चालक कम्पाला छाडेर भागिसकेका छन् ।

केही वर्ष अघिसम्म पूर्वी अफ्रिकी मुलुक केन्या र तान्जानियामा सञ्जाल बनेर फैलिएको ‘मुजुरा नाच’को गतिविधि युगान्डा केन्द्रित भइरहेकोबारे सम्बद्ध कूटनीतिक मामला हेर्ने इजिप्टस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ । नेपाली युवती थुनामा रहेकोबारे युगान्डास्थित अवैतनिक दूत र अध्यागमनसहितको सम्बद्ध निकायमा परामर्श थालिएको दूतावासले जनाएको छ । युगान्डामा झण्डै ३ सय नेपाली रहेकोमा ३० भन्दा बढी युवतीहरू मुजुरा नाच वा रेष्टुराँ–बारका सेवामा जोडिएको पाइएको छ ।

केन्या–तान्जानियामा रहेको मुजुरा नाच र नेपाली युवतीको ओसारपसारबारे सूचना आएपछि ५ वर्षअघि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ती मुलुकमा स्थलगत भ्रमण गर्दै २१ जना नेपाली युवती उद्धार गरेर ल्याएको थियो । ‘धेरैजसो भारतको बाटोबाट वा राम्रो रोजीरोटीको आश्वासनसहित पर्यटक भिसामा केन्या, तान्जानिया, युगान्डासहितका मुलुकमा नेपाली युवायुवती पुर्‍याउने गरेको ट्रेन्ड देखिँदै आएको छ,’ नाइजेरियाको लेगोसस्थित गैरआवासीय नेपाली प्रतिनिधि हिक्मत थापाले कान्तिपुरसँग भने, ‘त्यसमा पनि युगान्डासहितको मुलुकमा नेपालीका निम्ति अनअराइभल भिसा दिने सुविधा रहेकाले यसको दुरुपयोग गर्ने प्रवृत्ति देखिन्छ ।’

नेपाली युवती पक्राउ परेको सूचना पाएपछि युगान्डास्थित अवैतनिक दूत डा. सुधिर रुपारेलियाले अध्यागमनसँग समन्वय गर्दै युवतीमाथि लगाइएको ‘ओभरस्टे चार्ज’का बारेमा परामर्श भइरहेको थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा दोलखा, नुवाकोट र काठमाडौंका युवती रहेका छन् । अफ्रिकास्थित गैरआवासीय नेपाली संघले यसै साता समन्वय गरेको जुम–मिटिङमा इजिप्ट(कायरो)स्थित राजदूत शुशीलकुमार लम्साल र दक्षिण अफ्रिका (प्रिटोरिया)स्थित राजदूत दानबहादुर तामाङले युगान्डासहितका मुलुकमा नेपाली युवती ओसारपसारमा देखिएको गतिविधिबारे तत्काल ती मुलुकका सरोकारवाला निकायमा कुरा गरिने प्रतिबद्धता जनाएका थिए । अफ्रिकाको केन्या, युगान्डा जस्ता मुलुकलाई ट्रान्जिट बनाएर अमेरिका र युरोप लगिने भन्दै मानव तस्करीका गिरोहले अहिले पनि नेपाली युवालाई अलपत्र छाड्ने गरेका छन् ।

असावधानीवश संवेदनशील तस्बिर प्रकाशित हुन गएकोमा क्षमायाचनासहित सच्याएका छौं । - सम्पादक

प्रकाशित : भाद्र २२, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रतिवादीको डीएनए मिलेन’ भन्दै अल्झाइएको बलात्कार मुद्दामा अन्ततः ‘कसुरदार ठहर’

‘निर्मला पन्तको मुद्दा ४ वर्षदेखि डीएनए आधारमै अनुसन्धान हुँदै’
देवेन्द्र भट्टराई

काठमाडौँ — धनुषाको महेन्द्रनगरकी एक १४ वर्षीया नाबालिकामाथि भएको बलात्कार मुद्दामा अभियुक्तलाई कसुरदार ठहर भएका छन् । ३ वर्षअघिदेखि अभियुक्तको डीएनए आधार चाहिने भन्दै अल्झाएर राखिएकोमा अन्ततः ‘डीएनए प्रमाण नमिले पनि’ अन्य प्रमाण आधारमा कसुरदार ठहर भएको हो ।

जिल्ला अदालत धनुषाले सोमबार गरेको फैसलापछि बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दामा डीएनएको आधार ‘अन्तिम प्रमाण’ बन्न नसक्ने अर्को नजिर बसेको छ । यसअघि, गोदामचौर बलात्कार घटनामा ललितपुर जिल्ला अदालत र उच्च अदालत दुवैले डीएनए नमिले पनि अभियुक्तहरूलाई दोषी ठहर गरी सजाय सुनाएको’ नजिर रहेकोमा अब धनुषा जिल्ला अदालतले पनि अर्को उही प्रकृतिको फैसला स्थापित गरिदिएको छ ।

तर, २०७५ साउन १० मा कञ्चपुरको महेन्द्रनगरमा नाबालिका निर्मला पन्तमाथि भएको बलात्कार र हत्याको घटनामा अझैसम्म अभियुक्तको डीएनए प्रमाण नमिलेको भन्दै मुद्दा दर्तासम्म पनि गरिएको छैन । निर्मला प्रकरणमा १ सय जनाभन्दा बढीको डीएनए संकलन गरी अनुसन्धान प्रक्रिया चलिरहेको छ ।

धनुषा, क्षीरेश्वरनाथ–५, महेन्द्रनगरमा २०७६ वैशाख १५ मा भएको बलात्कार घटनालगत्तै र आरोपितका पक्षमा स्थानीय तहमा ‘राजनीतिकरण’ भएपछि प्रहरी प्रशासनले उजुरी लिन मानेकै थिएन । पीडितका बाबुको किटानी जाहेरी र त्यसपछिको अनुसन्धानबाट प्राप्त प्रारम्भिक प्रमाणका आधारमा २०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा झन्डै २ दर्जनपटक सुनुवाइ स्थगित हुँदै आएको थियो ।

बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दालाई निरन्तर सुनुवाइ गरी फास्ट ट्य्राकबाट टुंग्याउन सर्वोच्च अदालतले फैसलामार्फत दिएका निर्देशनविपरीत पीडितलाई लामो समयदेखि न्यायबाट वञ्चित गराइको थियो । अदालतले आरोपितको दोहोर्याउँदै डीएनए परीक्षण गराएर र डीएनए प्रमाणका आधारमा फैसला दिन खोज्दा यस्तो संवेदनशील मुद्दा ओझेलमा पर्दै आएको थियो ।

‘यो बलात्कारको घटना र न्यायिक सुनुवाइ डीएनएकै कारण लम्बिएको हो,’ पछिल्ला २ वर्षयता यो मुद्दामा वादी पक्षधर बहसपैरवी गर्दै आएकी अधिवक्ता मोहना अन्सारीले कान्तिपुरसँग भनिन्, ‘जबकि डीएनएबारे समिति बनेर डीएनए ‘रुल आउट’ भइसकेको स्थिति छ, रुल आउट भइसकेको मामला र डीएनए परीक्षणमा देखिएको समस्याको विषयसमेत हो यो ।’

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा दर्जनौं पटक पेशी स्थगित रहँदै आएको थियो । सोमबार न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले अभियुक्त राजकुमार शाहको कसुर ठहर गरेपछि सजाय निर्धारणको प्रक्रिया अघि बढ्ने भएको छ । सजाय निर्धारणको अर्को फैसला जिल्ला अदालतले एक महिनाभित्रमा छुट्टै सुनुवाइ गरी गर्ने भएको छ ।

बलात्कारजस्तो अत्यन्त संवेदनशील मुद्दालाई निरन्तर सुनुवाइ गरी फास्ट ट्य्राकबाट टुंग्याउन सर्वोच्च अदालतले फैसलामार्फत दिएका निर्देशनविपरीत यो मुद्दामा पीडितलाई लामो समयदेखि न्यायबाट वञ्चित गराइएको थियो । महेन्द्रनगरमा कपाल काट्ने पेसाका भरमा २ छोरी, १ छोरा र श्रीमतीको परिवार धान्दै आएका ठाकुर यो घटनापछि आफ्ना २ छोरी लिएर काठमाडौंमा आश्रित बनेका छन् । ‘यतिका वर्षसम्म मैले न्यायको पुकार गर्न काठमाडौं–जनकपुर धाउने काम गरिरहेँ, यत्तिका पछि अभियुक्तलाई अदालतले दोषी ठहर गरेकोमा थोरतिनो न्याय पाएको अनुभूति भएको छ,’ ठाकुरले फोनमा भने ।

२०७६ जेठ ८ मा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा दर्जनौं पटक पेसी स्थगित रहँदै आएको थियो । सोमबार न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले अभियुक्त राजकुमार शाहको कसुर ठहर गरेपछि सजाय निर्धारणको प्रक्रिया अघि बढ्ने भएको छ । सजाय निर्धारणको अर्को फैसला जिल्ला अदालतले एक महिनाभित्रमा छुट्टै सुनुवाइ गरी गर्ने भएको छ ।

यसबीचमा, आफ्नो गाउँघरबाट विस्थापित भएका २ छोरीको पठनपाठनका लागि मधेस सरकारले ठाकुरलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

सम्बन्धित समाचार


प्रकाशित : भाद्र २१, २०७९ १४:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×