वर्ल्डकपमा कतारले दोहा–काठमाडौं दैनिक २ वटा मात्रै उडान गर्ने

हाल कतार र नेपाल सातामा ३५ उडान भइरहेका छन्
सुरज कुँवर

काठमाडौँ — २२ औं फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेको कतारले मंसिर १ गतेदेखि पुस ५ गतेसम्म ३५ दिन नेपालका लागि दैनिक हुने चारमध्ये दुईवटा उडान कटौती गर्ने भएको छ । काठमाडौंस्थित कतार एयरवेजका एक अधिकारीका अनुसार नोभेम्बर १७ (१ मंसिर) देखि डिसेम्बर २० (पुस ५) सम्म कतारको ध्वजावाहक वायुसेवाले दोहा-काठमाडौं दैनिक दुईवटा मात्रै व्यवसायिक उडान गर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले हाल कतारलाई बिहान ३:३०, १०:३०, ११:३० र राति ०८:३० मा दोहाका लागि उडान अनुमति दिएको छ । विश्वकपको अवधिमा कतारले बिहान २:३० र साझ ५:५५ मा काठमाडौंबाट दोहाका लागि उडान तालिका राख्ने जनाएको छ । काठमाडौंबाट दोहा एकतर्फी ५ घन्टा समय लाग्छ ।

यसअघि कतारले विश्वकपका बेला काठमाडौं–दोहा दैनिक चारमध्ये तीनवटा उडान कटौती गर्दै एउटा मात्रै गर्ने जनाएको थियो । ‘पर्यटन व्यवसायीहरूले कतारसँग एउटा नभई कम्तीमा दुईसम्म उडान राख्न माग गरेकाले कतारको हेड अफिसले ३४ दिनको अवधिमा दैनिक नेपालका लागि हुने उडान संख्यालाई दुई बनाउने निर्णय गरेको छ,’ ती अधिकारीले भने, ‘जून, जुलाइ र अगस्टमा ट्राभल एजेन्सीहरूलाई एउटा मात्रै उडान हुने जानकारी गराउँदै त्यसै अनुसार टिकट बिक्री गर्‍यौं । एउटा दुइटा उडानको निर्णय केहि दिनअघि मात्रै भएको हो ।’

विश्वकपको अवधिमा अधिकांश धनी मुलुकका फुटवलप्रेमी दोहा आउजाउ गर्ने भएकाले कतारले आर्थिक लाभ हुने गन्तव्यमा उडान संख्या थप्नुपर्ने भएकाले पर्यटक र कामदार आउजाउ गर्ने नेपाल जस्ता गन्तव्यमा उडान कटौती गर्ने निर्णय गरेको हो ।

हाल कतारका लागि नेपालबाट हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले क्रमश: सातामा चार र तीनवटा उडान गर्दै आइरहेका छन् । यी दुबै वायुसेवाले त्यसबेला हुने बजारको माग अनुसार उडान थपघट गर्ने जनाएको छ । ‘अहिले नै उडान संख्या थपघट गर्नेबारे कुनै निर्णय लिइसकेका छैनौं,’ हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले कान्तिपुरसँग भने, ‘त्यसबेलाको डिमान्डका आधारमा निर्णय गर्ने छौं ।’

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कतार सरकारले हाल नेपालबाट हुने उडानलाई पुरानो विमानस्थलमा सार्ने निर्णय गरिएको बताए । पुरानो दोहा अन्तर्राष्ट्रिय विमानस्थल अहिले उडान–अवतरण भइरहने कतारको हमाद विमानस्थलबाट ११ किलोमिटर सडक दूरीमा पर्छ ।

‘नेपाली वायुसेवालाई ट्राफिक चापका कारण पुरानो दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिन भनिएको छ,’ सहायक प्रवक्ता भुलले भने, ‘हिमालय र नेपाल वायुसेवा निगमले नया तोकिएका विमानस्थलमा जान नेपालको नागरिक उड्डयन प्राधिकरणबाट पनि अनुमति लिनुपर्छ । उनीहरू अनुमति लिने तरखरमा छन ।’ निगमका एक पाइलटका अनुसार कतारले नेपालसहित १४ वटा मुलुकका वायुसेवालाई भदौ ३० गतेदेखि हमादमा नभइ दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा सर्न भनेका छन् । उनका अनुसार विश्वकप सकिएपछि फेरि हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान तथा अवतरण सुरु हुनेछ । विश्वकप खेलको उद्घाटन नेपाली समय अनुसार मंसिर ४ गते दोहामा सुरु भई पुस ३ गते समापन हुनेछ ।

प्रकाशित : भाद्र २२, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

वन मन्त्रालयको सरुवा : अधिकृतलाई प्रमुख, उपसचिव विभागमा थन्किए

वन तथा वातावरणमन्त्री प्रदीप यादवको स्वार्थअनुसार मन्त्रालयले उपसचिव प्रमुख रहने तराईदेखि हिमालसम्मैका निकुञ्जमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुखका रुपमा खटाएको हो । 
अब्दुल्लाह मियाँ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले उपसचिवको दरबन्दी रहने निकुञ्ज–आरक्षको प्रमुख (प्रमुख संरक्षण अधिकृत/वार्डेन) मा अधिकृतहरूलाई खटाएपछि धेरै उपसचिव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएका छन् ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवको स्वार्थ अनुसार मन्त्रालयले उपसचिव प्रमुख रहने तराइदेखि हिमालसम्मैका निकुञ्जमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुख (वार्डेन) का रुपमा खटाएको हो । वन्यजन्तु–मानवद्वन्द्व बढी भएका र मध्यवर्ती क्षेत्रका समस्या सम्बोधन गर्नुपर्ने निकुञ्ज–आरक्षमा समेत अधिकृतलाई कायम मुकायम वार्डेन बनाएर खटाइएपछि निकुञ्जका उपसचिवहरू हालैको सरुवाप्रति असन्तुष्ट छन् ।

अधिकृतलाई प्रमुखका रुपमा खटाइएपछि धेरै उपसचिव विभागमा थन्किएका हुन् । मनोजकुमार साह, विष्णुप्रसाद श्रेष्ठ, रामचन्द्र खतिवडा, अणनाथ बराललगायत उपसचिवहरू विभागमा छन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन । उनीहरूको जिम्मेवारी महानिर्देशक महेश्वर ढकालले तोक्नेछन् ।

मन्त्री यादवको दबाबमा उपसचिव रामचन्द्र खतिवडालाई हटाएर कोसीटप्पु वन्यजन्तु आरक्षमा अधिकृत रमेश यादवलाई कामु वार्डेन बनाइएको छ । ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रमुख रहेका रमेशलाई मन्त्री यादवको दबाबमा कोसीटप्पु वन्यजन्तु आरक्षको कामु वार्डेन बनाइएको हो । मन्त्रालयस्रोतका अनुसार मन्त्रीको निर्देशन अटेर गरेको आरोपमा खतिवडालाई प्रमुखबाट हटाइएको थियो ।

अर्का अधिकृत अशोककुमार रामले पनि पर्सा निकुञ्जको कामु वार्डेन हुने अवसर पाएका छन् । उनी हात्तीमा विद्यावारिधी गरेका अधिकृत हुन् । मन्त्री यादवले पर्सा निकुञ्जमा प्रमुख रहेका उपसचिव मनोजकुमार साहलाई हटाएका थिए । उपसचिवको दरबन्दी रहने अपीनाम्पा संरक्षण क्षेत्र, दार्चुलामा अधिकृत नुरेन्द्र अर्याललाई प्रमुख बनाइएको छ भने रारा निकुञ्जमा पनि अधिकृत विश्वबाबु श्रेष्ठलाई प्रमुखका रुपमा खटाइएको छ । यसअघि पनि अधिकृत नै प्रमुख रहेका बद्रीविनोद दाहालको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा सरुवा भएको छ ।

बर्दिया निकुञ्जको प्रमुखमा दुई वर्ष अवधि पुगेको भन्दै विष्णुप्रसाद श्रेष्ठलाई विभागमा सरुवा गरिए पनि करिब तीन वर्षसम्म सगरमाथा निकुञ्जमा प्रमुख रहेका भूमिराज उपाध्यायलाई मन्त्री यादव र सचिव पेमनारायण कँडेलकै चाहना अनुसार थमौती गरिएको छ । बर्दियामा भने विभागका उपसचिव अशोक भण्डारीलाई प्रमुखका रुपमा खटाइएको छ । निकुञ्ज विभागका अर्का उपसचिव डिलबहादुर पुर्जा पुनलाई राष्ट्रपति चुरे तराइ मधेस कार्यक्रम इकाइ, मोरङमा सरुवा गरिएको छ ।

निजामती सेवामा सामान्यतय: दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने प्रचलन भए पनि निकुञ्ज विभागमातहत रहेका कार्यालयमा अवधि पुगेर पनि सरुवा नभएका प्रमुखहरू धेरै छन् । ढोरपाटन सिकार आरक्षका प्रमुख वीरेन्द्र कँडेलको अवधि पुगे पनि उनको सरुवा गरिएन । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले भने निकुञ्ज विभागको प्रस्तावअनुसार नै सरुवा भएको हुनसक्ने दाबी गरे ।

मन्त्रालयले मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रमुख रामदेव चौधरीलाई भने एम्पिक इनर्जी प्रालिको बाँकी काममा सघाए बाँके निकुञ्जमा प्रमुखका रुपमा सरुवा गर्ने आश्वासन दिइएको स्रोतको दाबी छ । एम्पिकले निकुञ्जक्षेत्रमा १३२ मेगावाटको आयोजना प्रस्ताव गरेको छ । उक्त कमपनीले ईआईए–आईईई गर्न माग गरेको थियो ।

निकुञ्जको पहिलाका प्रमुखहरूले उक्त आयोजना निकुञ्जको कोरक्षेत्रमा पर्ने भएकाले प्रक्रिया अघि बढाउन नमिल्ने राय दिएपछि आयोजनाका काम रोकिएको छ । निकुञ्जको कोर क्षेत्रमा हाइड्रो पावर अगाडि बढाउन नसक्ने व्यवस्था छ । अहिले वार्डेन चौधरीबाट त्यही गाँठो फुकुवा गर्न खोजिएको स्रोतको दाबी छ ।

प्रकाशित : भाद्र २२, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×