कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन मन्त्रालयको सरुवा : अधिकृतलाई प्रमुख, उपसचिव विभागमा थन्किए

वन तथा वातावरणमन्त्री प्रदीप यादवको स्वार्थअनुसार मन्त्रालयले उपसचिव प्रमुख रहने तराईदेखि हिमालसम्मैका निकुञ्जमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुखका रुपमा खटाएको हो । 
अब्दुल्लाह मियाँ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले उपसचिवको दरबन्दी रहने निकुञ्ज–आरक्षको प्रमुख (प्रमुख संरक्षण अधिकृत/वार्डेन) मा अधिकृतहरूलाई खटाएपछि धेरै उपसचिव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा थन्किएका छन् ।

वन मन्त्रालयको सरुवा : अधिकृतलाई प्रमुख, उपसचिव विभागमा थन्किए

वन तथा वातावरणमन्त्री प्रदीप यादवको स्वार्थ अनुसार मन्त्रालयले उपसचिव प्रमुख रहने तराइदेखि हिमालसम्मैका निकुञ्जमा अधिकृतस्तरका कर्मचारीलाई प्रमुख (वार्डेन) का रुपमा खटाएको हो । वन्यजन्तु–मानवद्वन्द्व बढी भएका र मध्यवर्ती क्षेत्रका समस्या सम्बोधन गर्नुपर्ने निकुञ्ज–आरक्षमा समेत अधिकृतलाई कायम मुकायम वार्डेन बनाएर खटाइएपछि निकुञ्जका उपसचिवहरू हालैको सरुवाप्रति असन्तुष्ट छन् ।

अधिकृतलाई प्रमुखका रुपमा खटाइएपछि धेरै उपसचिव विभागमा थन्किएका हुन् । मनोजकुमार साह, विष्णुप्रसाद श्रेष्ठ, रामचन्द्र खतिवडा, अणनाथ बराललगायत उपसचिवहरू विभागमा छन् । उनीहरूको जिम्मेवारी तोकिएको छैन । उनीहरूको जिम्मेवारी महानिर्देशक महेश्वर ढकालले तोक्नेछन् ।

मन्त्री यादवको दबाबमा उपसचिव रामचन्द्र खतिवडालाई हटाएर कोसीटप्पु वन्यजन्तु आरक्षमा अधिकृत रमेश यादवलाई कामु वार्डेन बनाइएको छ । ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रमुख रहेका रमेशलाई मन्त्री यादवको दबाबमा कोसीटप्पु वन्यजन्तु आरक्षको कामु वार्डेन बनाइएको हो । मन्त्रालयस्रोतका अनुसार मन्त्रीको निर्देशन अटेर गरेको आरोपमा खतिवडालाई प्रमुखबाट हटाइएको थियो ।

अर्का अधिकृत अशोककुमार रामले पनि पर्सा निकुञ्जको कामु वार्डेन हुने अवसर पाएका छन् । उनी हात्तीमा विद्यावारिधी गरेका अधिकृत हुन् । मन्त्री यादवले पर्सा निकुञ्जमा प्रमुख रहेका उपसचिव मनोजकुमार साहलाई हटाएका थिए । उपसचिवको दरबन्दी रहने अपीनाम्पा संरक्षण क्षेत्र, दार्चुलामा अधिकृत नुरेन्द्र अर्याललाई प्रमुख बनाइएको छ भने रारा निकुञ्जमा पनि अधिकृत विश्वबाबु श्रेष्ठलाई प्रमुखका रुपमा खटाइएको छ । यसअघि पनि अधिकृत नै प्रमुख रहेका बद्रीविनोद दाहालको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा सरुवा भएको छ ।

बर्दिया निकुञ्जको प्रमुखमा दुई वर्ष अवधि पुगेको भन्दै विष्णुप्रसाद श्रेष्ठलाई विभागमा सरुवा गरिए पनि करिब तीन वर्षसम्म सगरमाथा निकुञ्जमा प्रमुख रहेका भूमिराज उपाध्यायलाई मन्त्री यादव र सचिव पेमनारायण कँडेलकै चाहना अनुसार थमौती गरिएको छ । बर्दियामा भने विभागका उपसचिव अशोक भण्डारीलाई प्रमुखका रुपमा खटाइएको छ । निकुञ्ज विभागका अर्का उपसचिव डिलबहादुर पुर्जा पुनलाई राष्ट्रपति चुरे तराइ मधेस कार्यक्रम इकाइ, मोरङमा सरुवा गरिएको छ ।

निजामती सेवामा सामान्यतय: दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने प्रचलन भए पनि निकुञ्ज विभागमातहत रहेका कार्यालयमा अवधि पुगेर पनि सरुवा नभएका प्रमुखहरू धेरै छन् । ढोरपाटन सिकार आरक्षका प्रमुख वीरेन्द्र कँडेलको अवधि पुगे पनि उनको सरुवा गरिएन । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेले भने निकुञ्ज विभागको प्रस्तावअनुसार नै सरुवा भएको हुनसक्ने दाबी गरे ।

मन्त्रालयले मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रमुख रामदेव चौधरीलाई भने एम्पिक इनर्जी प्रालिको बाँकी काममा सघाए बाँके निकुञ्जमा प्रमुखका रुपमा सरुवा गर्ने आश्वासन दिइएको स्रोतको दाबी छ । एम्पिकले निकुञ्जक्षेत्रमा १३२ मेगावाटको आयोजना प्रस्ताव गरेको छ । उक्त कमपनीले ईआईए–आईईई गर्न माग गरेको थियो ।

निकुञ्जको पहिलाका प्रमुखहरूले उक्त आयोजना निकुञ्जको कोरक्षेत्रमा पर्ने भएकाले प्रक्रिया अघि बढाउन नमिल्ने राय दिएपछि आयोजनाका काम रोकिएको छ । निकुञ्जको कोर क्षेत्रमा हाइड्रो पावर अगाडि बढाउन नसक्ने व्यवस्था छ । अहिले वार्डेन चौधरीबाट त्यही गाँठो फुकुवा गर्न खोजिएको स्रोतको दाबी छ ।

प्रकाशित : भाद्र २२, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?