१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

थ्याचरशैलीकी ट्रसलाई बेलायती बागडोर

राजतन्त्र अन्त्यको आवाज उठाएको करिब चार दशकपछि लिज ट्रसले महारानी एलिजाबेथ द्वितीयको हात चुम्दै लिइन् प्रधानमन्त्रीको कार्यभार, ‘टेन डाउनिङ स्ट्रिट’ पुग्ने बेलायतको ५६ औं र तेस्रो महिला नेत्री
बुद्धिसागर मरासिनी

काठमाडौँ — लिबरल डेमोक्रेटिक पार्टीको सम्मेलनमा राजतन्त्र अन्त्यको पक्षमा बोल्दै लिज ट्रसले सन् १९९४ मा भनेकी थिइन्, ‘हामी सबैले समान अवसर पाउनुपर्छ भन्ने पक्षमा छौं, मानिसहरू शासन गर्नका लागि जन्मन्छन् भन्नेमा विश्वास गर्दैनौं ।’ 

थ्याचरशैलीकी ट्रसलाई बेलायती बागडोर

२८ वर्षपछि मंगलबार उनै ट्रसले स्कटल्यान्डस्थित बालमोरल शाही निवासमा महारानी एलिजाबेथ द्वितीयको ‘हात चुम्दै’ बेलायती प्रधानमन्त्रीको बागडोर लिएकी छिन् । उनी बेलायतको ५६ औं र तेस्रो महिला प्रधानमन्त्री हुन् । झन्डै तीन दशकमा उनी कट्टर गणतन्त्रवादीबाट आफूलाई कन्जरभेटिभ दलको परम्परागत शैलीको नेतृमा ढाल्न सफल भइन् । सत्तारूढ कन्जरभेटिभका सदस्यले ट्रसलाई पार्टी नेता चयन गरेसँगै उनले बोरिस जोन्सनको उत्तराधिकारी बन्ने मौका पाएकी हुन् । पार्टीभित्र करिब तीन महिना चलेको प्रतिस्पर्धामा ऋषि सुनकलाई पराजित गर्न उनी सफल भएकी हुन् ।

सन् १९७५ मा अक्सफोर्डमा जन्मिएकी ट्रसका पिता गणितका प्राध्यापक र आमा वामपन्थी रुझानकी नर्स हुन् । बाल्यकालमा ट्रसलाई आमाले परमाणु निःशस्त्रीकरणसम्बन्धी प्रदर्शनहरूमा सँगै लिएर जाने गर्थिन् । मार्गरेट थ्याचरको तत्कालीन सरकारले पश्चिमी लन्डनमा अमेरिकाको परमाणु ‘वारहेड’ राख्न दिने निर्णय गरेको थियो । ‘क्याम्पेन फर न्युक्लियर डिसआर्ममेन्ट’ नामक संस्थाले उक्त निर्णयको जोडदार विरोध गरेको थियो ।

विरोध प्रदर्शनमा आमासँगै पुगेकी ट्रस थ्याचर सत्तामा आउनुभन्दा ४ वर्षअघि मात्र जन्मेकी हुन् । सात वर्षको उमेरमा विद्यालयमा भएको आमनिर्वाचनसम्बन्धी एक नाटकमा ट्रसले प्रधानमन्त्री थ्याचरको भूमिका खेलेकी थिइन् । त्यतिबेलाकी प्रभावशाली प्रधानमन्त्री थ्याचरले सन् १९८३ को चुनावमा व्यापक बहुमत पाएकी थिइन् ।

तर नाटकमा थ्याचरको भूमिकामा उत्रेकी ट्रस विद्यालयको चुनावमा भने सफल भइनन् । ‘म त्यसबेला मैदानमा उत्रिएँ र चुनावी मञ्चमा भाषण गरें । तर एक भोट पनि पाइनँ । खासमा म आफैंले पनि आफूलाई भोट हाले कि हालिनँ, थाहा छैन,’ केही वर्षअघि ट्रसले उक्त घटनाको स्मरण गर्दै भनेकी थिइन् । तर चार दशकपछि बेलायतको सत्तारूढ दल कन्जरभेटिभको नेता चयनका लागि गरिएको चुनावमा उत्रेकी उनलाई भने बहुमत सदस्यले पत्याए ।

मत परिणामअनुसार ट्रसलाई ८१ हजार ३ सय २६ र प्रतिद्वन्द्वी सुनकलाई ६० हजार ३ सय ९९ पार्टी सदस्यले मत दिए । त्यसअघिका पाँचै चरणका निर्वाचनमा भने पार्टीका बहुमत सांसदले पूर्वअर्थमन्त्री सुनकलाई समर्थन गरेका थिए । पार्टी सदस्य तथा आफ्नो क्षेत्रका मतदातासँग राम्रो सम्बन्ध बनाउन सिपालु ट्रसले त्यसैका आधारमा सुनकलाई पछि पारेकी हुन् ।

सांसदहरूबीच लोकप्रिय सुनकले कठिन घडीमा पूर्वप्रधानमन्त्री बोरिस जोन्सनको साथ छाडेका कारण पनि ट्रसलाई पार्टी नेता बन्न सहज बनेको विश्लेषकहरूको भनाइ छ ।

कोरोना महामारीमा जारी गरिएका नियमहरूको उल्लंघनलगायतका कारण विवादमा परेपछि एक्लिँदै गएका जोन्सनलाई उनले साथ दिइन् । जसका कारण जोन्सन पक्षधर सदस्यहरूले ट्रसलाई मत दिए ।

ट्रस चार वर्षकी हुँदा उनको परिवार ग्लास्गोको पश्चिमतर्फ बसाइँ सर्‍यो । बाल्यकालमा उनी कुनै खेलमा वा अन्य प्रतिस्पर्धामा हार्न नचाहने स्वभावकी थिइन् । ‘हामीहरू बोर्ड गेमहरू खेल्ने गर्थ्यौं । हार्ने अवस्थामा ट्रस खेल नै छाडेर भाग्थिन्,’ भाइले बीबीसी रेडियोसँग भनेका छन् । केही समयपछि परिवार लिड्समा सरेपछि ट्रसले एक सामुदायिक विद्यालयमा पढिन् । ‘उनले बाल्यकालबारेका केही कुरा छनोट गरेर मात्र बाहिर ल्याएकी छन्,’ केही समयअघि गार्डियनका पत्रकार मार्टिन पेङ्गेलीले लेखेका छन्, ‘राजनीतिक लाभका लागि उनले शिक्षक तथा विद्यालयलाई अनौपचारिक रूपमा प्रयोग गरिरहेकी छन् ।’

विद्यालय शिक्षा उत्तीर्ण गरेपछि अक्सफोर्ड विश्वविद्यालय गएकी ट्रसले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र पढिन् । विद्यार्थी राजनीतिमा सक्रिय उनी सुरुमा लिबरल डेमोक्र्याट्स पार्टीबाट राजनीति गर्थिन् । त्यसताका गाँजा वैध गरिनुपर्ने पक्षमा आवाज उठाएपछि उनी चर्चामा आएकी थिइन् ।

अक्सफोर्डबाट स्नातक गरेसँगै उनी कन्जरभेटिभ पार्टीमा प्रवेश गरिन् । केही समय लेखापालका रूपमा काम गरेकी ट्रसले सहकर्मी ह्युग ओलेरीसँग सन् २००० मा विवाह गरेकी हुन् । उनका दुई छोरी छन् ।

सन् २००१ को आमनिर्वाचनमा वेस्ट योर्कसायरको हेम्सवर्थबाट उम्मेदवार बनेकी ट्रस पराजित भइन् । त्यसको चार वर्षपछि वेस्ट योर्कसायरकै काल्डर भ्यालीबाट पुनः प्रतिस्पर्धामा उत्रे पनि असफल बनिन् । तर राजनीतिक महत्त्वाकांक्षामा भने कमी आउन दिइनन् र सन् २००६ मा दक्षिणपूर्वी लन्डनको ग्रीनविचको काउन्सिलर बनिन् ।

कन्जरभेटिभ नेता डेभिड क्यामरुनले ट्रसको नाम उम्मेदवारको सूचीमा अग्रस्थानमा राखे । त्यसका लागि उनलाई जित सुनिश्चित भएको दक्षिण पश्चिम नोर्फोल्कबाट उम्मेदवार बनाइयो । तर सांसद तथा पार्टीद्वारा राजनीतिक मेन्टरमा नियुक्त मार्क फिल्डसँग सन् २००५ मा विवाहेत्तर सम्बन्ध रहेको सार्वजनिक भएपछि उम्मेदवारी कायम राख्ने विषयमा उनले पार्टी संसदीय संघको सामना गर्नुपर्‍यो । उम्मेदवार नबनाउने प्रयास असफल भएपछि उनी विजयी भइन् । सांसद निर्वाचित भएको दुई वर्षपछि उनी शिक्षामन्त्री बनिन् । प्रधानमन्त्री क्यामरुनले सन् २०१४ मा उनलाई वातावरणमन्त्री बनाए ।

ट्रसले सन् २०१० मा चार जना कन्जरभेटिभ सांसदहरूसँग मिलेर ‘ब्रिटानिया अनचेन्ड’ पुस्तकसमेत लेखेकी छन् । बेलायतको आर्थिक हैसियत विश्वस्तरमा पुर्‍याउन सरकारी नियम फिर्ता लिनुपर्ने सुझाव पुस्तकमा छ । पुस्तकले ट्रसलाई आफ्नो दलमा खुला बजार अर्थतन्त्रको प्रभावशाली पक्षधरका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको बताइन्छ ।

ट्रस आफ्ना राजनीतिक मुद्दा, अडान र भाषणका कारण पटक–पटक विवादमा आउँछिन् । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा पनि उनले आफूअनुकूल बोली फेरिन् । सन् २०१६ को जुन २३ मा भएको जनमत संग्रहमा उनी ब्रेक्जिटको विपक्षमा उभिइन् । ‘द सन’ पत्रिकामा लेख लेख्दै उनले ब्रेक्जिटपछि ईयू सदस्य राष्ट्रहरूसँगको व्यापारले तीनखाले दुःख निम्त्याउने दाबी गरिन् । समान बिक्री गर्दा धेरै नियम, धेरै फाराम र बढी समय लाग्ने उनको तर्क थियो ।

तर जनमतसंग्रहमा आफ्नो पक्ष पराजित भएपछि उनले धारणा फेरिन् । ‘म गलत थिएँ र गलत थिएँ भन्ने स्वीकार गर्न तयार भएकी छु,’ उनले भनेकी थिइन् । यो एउटा अवसर पनि हुने भन्दै उनले ब्रेक्जिटको पक्षमा वकालत गरेकी थिइन् । ब्रेक्जिटबारेको ‘यू–टर्न’ ले उनको राजनीतिक करिअरमा झन् सुविधा थप्यो । टेरेजा मे प्रधानमन्त्रीकालमा न्यायमन्त्री बनेकी उनी पछि अर्थमन्त्री बनिन् । सन् २०१९ मा बोरिस जोन्सन प्रधानमन्त्री भएपछि उनी अन्तर्राष्ट्रिय व्यापारमन्त्री बनिन् । ब्रेक्जिटपछिका व्यापार सम्झौताका लागि उनले जापान, अस्ट्रेलियालगायत देशको चक्कर लगाइन् ।

सन् २०२१ मा ४६ वर्षको उमेरमा विदेशमन्त्री बनेपछि भने उनमा पार्टीको नेतृत्व सम्हाल्ने महत्त्वाकांक्षा पलाएको देखिन्छ । डोमेनिक राबपछि विदेशमन्त्री बनेकी उनले उत्तरी आयरल्यान्डमा प्रोटोकलसम्बन्धी समस्या हल गरिनुपर्ने बताइन् । जसका कारण युरोपेली संघले उनको व्यापक आलोचना गर्‍यो ।

युक्रेनमाथि रुसी आक्रमणको उनी कडा आलोचक हुन् । फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गरेपछि ट्रसले ‘भ्लादिमिर पुटिन (रुसी राष्ट्रपति) का सबै फौजलाई धपाउनुपर्ने’ बताएकी थिइन् । रुसविरुद्ध लड्न युक्रेन पुगेका बेलायती नागरिकको पक्षमा बोलेपछि पनि उनी आलोचित भएकी थिइन् ।

नयाँ प्रधानमन्त्रीका रूपमा ट्रसमाथि विभिन्न चुनौती छन् । खासगरी पछिल्लो समय कमजोर बन्दै गएको अर्थतन्त्र सुधार्न कठिन देखिन्छ । बेलायतमा ४० वर्षयताकै उच्च मुद्रास्फीति छ । ट्रसले आपत्कालीन बजेटमार्फत अर्बौं पाउन्ड कर कटौती गर्ने बताएकी छन् ।

ऊर्जा संकट, अकासिएको महँगी, आर्थिक संकट र पार्टीभित्रको मतभेद हटाउनुपर्ने पनि उनको प्राथमिकतामा परेको छ । सरकार गठनदेखि नै जनजीविकाका सवालमा गर्ने नीतिगत निर्णयले नै उनको नेतृत्व परीक्षण हुनेमा दुई मत छैन ।

‘आइरन लेडी’ का नाममा परिचित थ्याचरजस्तै उनले आफूलाई पश्चिमा लोकतन्त्रको ‘उग्र रक्षक’ का रूपमा प्रस्तुत गर्छिन् । कोरोना महामारीले प्रभावित विश्व समुदाय आर्थिक र सामाजिक रूपमा तंग्रिँदै गर्दा १० महिनाअघि ट्रस युक्रेनको संरक्षणका लागि बेलायत गम्भीर रहेको सन्देश पुटिनलाई दिन इस्टोनियास्थित नाटोमा आबद्ध बेलायती सैनिकसँगै देखिएकी थिइन् । त्यतिबेला उनको उपस्थितिलाई सन् १९८६ मा थ्याचरको पश्चिम जर्मनीस्थित बेलायती फौजको शिविर भ्रमणलाई सम्झाइदिएको थियो । कतिपयले उनको पोसाक र हाउभाउ हेरेर थ्याचरको अनुकरण गरेको बताउँछन् ।

गत फेब्रुअरीमा मस्को रेड स्क्वायरमा भुवावाला टोपी र कोटसहितको पहिरन, मोटरसाइकलमा बसेको पोज र कृषि फार्ममा गाईसँगै खिचिएका ट्रसका तस्बिरले पनि थ्याचरको झल्को दिन्छन् । तर ट्रसले भने आफू थ्याचर शैलीबाट प्रभावित भएको कुरा अस्वीकार गर्दै आएकी छन् । उनी भन्छिन्, ‘म त्यो स्वीकार गर्दिनँ, म आफैंमा फरक व्यक्ति हुँ ।’

– एजेन्सीहरूको सहयोगमा

प्रकाशित : भाद्र २२, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?