कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले उठाएनन्  ‘अग्निपथ’ को विषय

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा गोर्खा सैनिक अग्निपथ भर्ती कार्यक्रम आगामी निर्वाचनसम्म थाती रहने भए पनि भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटवार्तामा कुरा उठाएनन् । नेपालले उक्त कार्यक्रमलाई लिएर कूटनीतिकस्तरमा पत्राचार र राजनीतिक रूपमा दलहरूबीचमा छलफल हुन बाँकी भएका कारण भेटमा अग्निपथबारे कुराकानी नभएको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेले उठाएनन्  ‘अग्निपथ’ को विषय

भेटमा उपस्थित एक सहभागीका अनुसार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच शुभकामना आदान–प्रदान भएको थियो । पाण्डेले दुई मुलुकको परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी दिइन् ।

भारतले भर्तीका लागि मिति तोकिसकेपछि नेपालले स्थगित गर्न भनेको थियो । त्यसलाई लिएर भारतीय सेनाध्यक्षले प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटवार्तामा कुरा उठाउन सक्ने अनुमान गरिएको थियो । तर पाण्डेले अग्निवीरभन्दा दुई मुलुकका सेनाबीचको विशिष्ट सम्बन्धको बारेमा चर्चा गरेका थिए । ‘नेपालबाट भारत र बेलायतका लागि सेना भर्ती गरिन्छ, त्यो विश्वमा कुनै पनि मुलुकमा यस्तो व्यवस्था छैन । यो विशिष्ट सम्बन्ध हो,’ सेनाध्यक्ष पाण्डेलाई उद्धृत गर्दै ती सहभागीले भने ।

प्रधानमन्त्री देउवालाई भेट्न भारतीय सेनाध्यक्ष पाण्डे दिउसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनको साथमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि उपस्थित थिए । उक्त शिष्टाचार भेटवार्ता करिब ३० मिनेट चलेको थियो ।

'अग्निपथ' भर्ती निर्णय जिम्मा नयाँ सरकारलाई !

बैठकमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भारत सरकारसँग कूटनीतिक र राजनीतिक रूपमै अग्निपथ कार्यक्रमको विषयमा कुराकानी भइरहेको कारणले गर्दा मंगलबारको शिष्टाचार भेटवार्तामा कुनै पनि कुरा नउठेको बताए ।

‘यस विषयको बुझ्ने सवालमा कूटनीतिक तहमा पत्राचार भइसकेको छ भने राजनीतिक रूपमा पनि यस विषयमा नेपालमा छलफल हुन बाँकी नै छ । त्यसैले अहिले अग्निपथको बारेमा कुरा नभएको हो,’ उनले भने ।

नेपालले भने आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै अहिले नै अग्निपथ कार्यक्रमका बारेमा निर्णय नगर्ने रणनीति लिएको छ । निर्वाचनपछि आउने नयाँ सरकारले मात्र यस विषयमा निर्णय गर्ने सरकारी स्रोतले बताएको छ ।

भारतभित्रै विरोध भएको अग्निपथ भर्तीका सम्बन्धमा नेपालमा पनि बहस भइरहेको छ । गठबन्धन सरकारले यस विषयमा छलफल गरेर मात्र निर्णय गर्नुपर्ने जनाएको छ भने संसद्को सबैभन्दा ठूलो दल एमालेले यसलाई अघि नबढाउन सार्वजनिक रूपमै भनिसकेको छ । अग्निपथमाथि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेमात्र होइन, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो व्यक्त गरिसकेकी छन् ।

गोर्खाको ‘अग्निपथ’ भर्ती स्थगित

नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित गरिएको थियो । मंसिर ४ अघि भने यस विषयमा निर्णय नहुने भएको छ ।

माउन्टेन फ्लाइट र पशुपतिनाथको दर्शन

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले मंगलबार बिहान माउन्टेन फ्लाइट गरे । बेलुकी ५ बजे भने उनी पशुपतिनाथको दर्शन गर्न गए । सेनाका अनुसार उनले मंगलबार शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण गरे । उनले तालिका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया पनि गरे ।

पाण्डे बुधबार मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । त्यसपछि उनले पोखरास्थित नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २१, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?