१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सर्वसम्मत हुन सकेनन् पौडेल

सम्झना रसाइली

तनहुँ — आसन्न प्रतिनिसभा सदस्य निर्वाचनका लागि कांग्रेस नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्रबाट सर्वसम्मत सिफारिस हुन सकेनन् । पार्टीको जिल्ला समितिले तनहुँको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि पौडेलसहित ३ जनालाई सिफारिस गरेको छ । 

सर्वसम्मत हुन सकेनन् पौडेल

कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएअनुसार उम्मेदवारका लागि पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईको नामावली केन्द्रमा पठाइएको जानकारी दिए । प्रधानमन्त्रीको आकांक्षी पौडेल गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसकेका हुन् । आसन्न निर्वाचनमा सिफारिस गरिएका तीनमध्ये एक जना मात्र उम्मेदवार बन्न सक्छन्, तर त्यसका लागि पनि गठबन्धनको सिट बाँडफाँटमा तनहुँ–१ कांग्रेसको भागमा पर्नुपर्छ । समानुपातिकतर्फ रामचन्द्र पोख्रेल, मीरा जोशी र यमुना खड्का विकलाई सिफारिस गरिएको छ ।

कांग्रेस नेता पौडेल अहिले गृहजिल्लामा दौडधुप गरिरहेका छन् । निर्वाचनलाई लक्षित गर्दै राखेका उनी हरेक पत्रकार भेटघाट तथा कार्यक्रममा देशले आफूलाई कार्यकारी भूमिकामा खोजेको अभिव्यक्ति दिँदै आएका छन् । पार्टीको चौधौं महाधिवेशनका बेला पौडेललाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुलुकलाई तपाईंको योगदान अझै आवश्यक छ, स्वास्थ्य ठीक पारेर राख्नुहोस्’ भनेका थिए, जसलाई उनले प्रधानमन्त्री पदसँग जोडेर हेर्ने गरेका छन् । गत भदौमा आयोजित एक कार्यक्रममा पौडेलले ‘म एकपटक आफूले हारेको निर्वाचन क्षेत्रबाट चुनाव जितेर मर्न चाहन्छु’ भनेका थिए ।

पौडेल ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए । पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गरेका श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । गठबन्धनमा पहिले जितेको ठाउँ सम्बन्धित दलले नै राख्ने मापदण्ड बन्यो भने तनहुँ–१ एकीकृत समाजवादीको भागमा पर्न सक्छ । उक्त निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीबाट श्रेष्ठसँगै प्रतापलाल श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले २०७४ को नतिजाका आधारमा तनहुँ–१ आफ्नै पार्टीको हुनुपर्ने बताए । गठबन्धनको अर्को दल माओवादी केन्द्रले तनहुँ–१ मा श्रीराम ढकाल र हरिबहादुर चुमानलाई सिफारिस गरेको छ ।

उम्मेदवारी निश्चित भएको अवस्थामा पनि पौडेललाई पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहको चुनौती रहनेछ । पौडेल र जोशीबीच पुरानो प्रतिद्वन्द्विता छ ।

प्रकाशित : भाद्र २१, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?