पार्टीभित्रै शेखरको चुनावी संघर्ष

गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा कांग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन्, अर्कोतिर उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन्, ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ
कुलचन्द्र न्यौपाने

काठमाडौँ — निर्वाचन मिति घोषणा हुनुअघिदेखि नै कांग्रेस नेता शेखर कोइराला आफ्नो क्षेत्र मोरङ–६ मा केन्द्रित हुन थालेका थिए । ०७४ को निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरमा पराजित भएपछि कोइरालालाई पार्टी राजनीतिको आन्तरिक प्रतिस्पर्धामा मात्रै असर परेन, राष्ट्रिय राजनीतिमा समेत भूमिका खुम्चियो ।

पार्टीभित्रै शेखरको चुनावी संघर्ष

कांग्रेसमा शेखर सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी हुन् । आठ महिनाअघि पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व लिन देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भयो । ६० प्रतिशत मतसहित देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिए । ४० प्रतिशत मतको प्रतिनिधित्व गरेका कोइरालाको भूमिकालाई देउवाले नजरअन्दाज गर्दै आएका छन् ।

अहिले कोइरालाले पाएकै मत प्रतिशतको हाराहारी हैसियत देउवाले तत्कालीन सभापति सुशील कोइरालासँग १२ औं महाधिवेशनमा पराजित हुँदा पाएका थिए । कोइरालाको कार्यकालभर देउवाले ४० प्रतिशतको भागबन्डामा दाबी गरे । पार्टीमा न्यायिक पद्धति बसाले आफूले भागबन्डा नखोज्ने उद्घोष गरेका शेखर पनि देउवाको ८ महिनाको कार्यशैली हेरेपछि ४० प्रतिशत हिस्सा माग्ने स्थानमा आइपुगेका छन् । देउवाले राजनीतिक क्षेत्राधिकार खुम्च्याउन खोजे पनि शेखरको काँधमा ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी छ । देउवाबाट एकलौटी हुन सक्ने भन्दै नेता–कार्यकर्ताले उम्मेदवार चयन गर्दा ४० प्रतिशत हिस्सा खोज्न उनीमाथि दबाब दिएका छन् ।

०७४ को निर्वाचनबाट ०७९ सम्म आइपुग्दा शेखरको राजनीतिक जीवनमा थुप्रै परिदृश्य बदलिएका छन् । सबैभन्दा ठूलो उनकै भूमिका बदलिएको छ । १४ औं महाधिवेशनअघिसम्म उनी कोइराला परिवारको विरासतबाट राजनीति गरेका र मोरङको एउटा निर्वाचन क्षेत्रमा सीमित नेताका रूपमा चिनिन्थे । अहिले उनी सिंगो कांग्रेसको ४० प्रतिशत संगठनको प्रतिनिधित्व गर्ने नेता बनेका छन् । तर, पार्टी नेतृत्व लिएका देउवाले उनलाई हेर्ने दृष्टिकोण बदलेका छैनन् ।

पार्टीभित्र देउवाका गलत कामको प्रतिवाद गर्दै आएका कोइरालाको अबको लडाइँ पार्टीभित्रै टिकट वितरणमा हुने देखिन्छ । निर्वाचनपछिको सरकारमा समेत नेतृत्व गर्न चाहिरहेका देउवाले आफ्नो पक्षमा सुविधाजनक बहुमत पुर्‍याउने गरी टिकट वितरण गर्ने रणनीति बनाइराख्दा शेखर पक्षलाई आफ्नो समूहमाथि अन्याय गर्न सक्ने भय छ ।

एकातिर माओवादीसहित पाँच दलको गठबन्धन छ । गठबन्धन दलबीच चुनावी तालमेलमा जाँदा कांग्रेसले बढीमा ८५/८६ सिट पाउने सम्भावना छ । यसभित्र पनि देउवाले आफ्नो बहुमत पुर्‍याउन टिकट वितरणमा एकलौटी गरे भने के गर्नुहुन्छ भन्ने प्रश्नमा शेखरको जवाफ छ, ‘मैले अहिले त्यस्तो एक्स्ट्रिम लाइनबाट सोचेको छैन । मलाई यति थाहा छ, पहिला घरभित्रकै असन्तुष्टि मिलाउनुपर्छ । घरभित्रै मिलाउन नसक्ने हो भने गठबन्धनले मात्रै राम्रो परिणाम दिँदैन । मैले बारम्बार भन्दै आएको छु ।’

शेखरले देउवासँग दुईवटा सरोकार बारम्बार राख्दै आएका छन् । गठबन्धनमा जाँदा कांग्रेसको कम्तीमा सय सिट हुनुपर्ने र पार्टीभित्रै शक्ति सन्तुलन मिलाएर मात्रै टिकट वितरण गरिनुपर्ने उनको धारणा छ । उनले भनेजस्तै कांग्रेसले सय सिट पाउने अवस्था देखिएको छैन । सोमबारको बैठकमा कार्यदलमा रहेका कांग्रेस नेताहरूले गठबन्धनबाट आफूले जित्ने निर्वाचन क्षेत्र १ सय २५ रहेको खाका प्रस्तुत गरेका छन् । त्यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३० र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी प्रस्तुत गरेका छन् । ‘अब दिनहुँ नेतृत्वसँग संघर्ष गर्ने र आफ्ना नेता–कार्यकर्ताको संरक्षणमा लाग्ने मुख्य दायित्व शेखर दाइसँगै छ,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म सभापतिको कार्यशैली पेलेरै लैजाने खालको छ । त्यसो हुन नदिन हामीले ४० प्रतिशत भागबन्डाकै बाटोमा जानुपर्ने बाध्यता छ ।’

शेखर स्वयं यसलाई इन्कार गर्ने स्थितिमा छैनन् । केन्द्रीय कार्यसमितिका सदस्य मनोनयन, भ्रातृ संस्थाका अध्यक्ष नियुक्तिदेखि स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणसम्म आइपुग्दा देउवाले आफ्नो अस्तित्व स्वीकार गरेको अनुभूति उनलाई भएको छैन । ‘न्यायिक ढंगले टिकट वितरण भएमा ४० प्रतिशत भाग खोज्नै पर्दैन तर आफ्नो पक्षमा नभएको आधारमा जित्न सक्ने व्यक्तिले समेत टिकट पाएनन् भने भागबन्डाको अवस्था आउन सक्छ,’ कोइरालाले कान्तिपुरसँग भने, ‘पार्टीभित्र यो थिति बसाल्ने शेरबहादुरजी नै हो । रामचन्द्रजीले पनि ४० प्रतिशत खोज्नुभयो । भलै उहाँले कतिमा पाउनुभयो, कतिमा पाउन सक्नुभएन, त्यो बेग्लै कुरा भयो ।’

अघिल्लोपटक एमाले–माओवादी गठबन्धन बन्दा कांग्रेस देशैभर कमजोर बनेको थियो । शेखर मोरङ–६ बाट ६ सय ७५ मतले एमाले नेता पण्डितसँग पराजित भएका थिए । पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याउँदा शेखरले ३३ हजार २ सय ६६ मत पाएका थिए । अहिले मतदाता संख्या बढेको छ ।

०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस गठबन्धनबिनै चुनाव लडेको थियो । कांग्रेसकै मत यसपटक एमालेको भन्दा बढी देखिएको छ । त्यसमा गठबन्धनको मत जोड्दा शेखरको स्थिति सुदृढ देखिन्छ । ‘निर्वाचन हो भन्न सकिन्न, फेरि यसपटक निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित भएर बस्न मिलेन, देशभरका साथीहरूले बोलाउँछन्, जानैपर्छ,’ उनले थपे ।

देउवाको खुला लक्ष्य आगामी निर्वाचनपछि पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर प्रधानमन्त्री बन्ने छ तर कोइरालाले प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । ‘कांग्रेसमा अहिलेसम्म शेरबहादुरजी, रामचन्द्रजी र गगन थापाजी प्रधानमन्त्रीका लागि अघि सर्नुभएको छ, त्यसबाहेक अरूको दाबी देखेको छैन,’ शेखरले भने, ‘चुनावपछिको स्थिति के हुन्छ अहिल्यै भन्न सकिन्न तर अहिलेसम्म प्रधानमन्त्री दाबी गर्ने तीन जना मात्रै मैले देखिरहेको छु ।’

प्रकाशित : भाद्र २१, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?