१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चेपाङ समुदायमा छोनाम पर्वको उत्साह, पहिलोपटक सार्वजनिक विदा

प्रताप विष्ट

हेटौंडा — चेपाङ समुदायको प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी) का दिन अर्थात् भदौ २२ गते वाग्मती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ । चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते छोनाम पर्व मनाउने गर्छन् ।

चेपाङ समुदायमा छोनाम पर्वको उत्साह, पहिलोपटक सार्वजनिक विदा

नेपाल चेपाङ संघको माग अनुसार वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद्‍ले २०७८ चैत ९ गते प्रदेशको चेपाङ वाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारको उक्त निर्णय अनुसार पहिलोपटक चेपाङ समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्वको दिन बुधबार विदा पाउँदै छन् । न्वाँगीको दिन सार्वजनिक विदा दिने व्यवस्था गरेकोमा चेपाङ संघले प्रदेश सरकारप्रति आभार प्रकट गरेको छ ।

यस्तै चेपाङ संघले बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले आफ्नो समुदायको महत्त्वपूर्ण पर्वका दिन सार्वजनिक विदा दिइएकोमा वाग्मती प्रदेश सरकारलाई धन्यवाद दिँदै खुसी व्यक्त गरे ।

यस क्रममा वाग्मती प्रदेश सरकारका राज्यमन्त्रीसमेत रहेका चेपाङ समुदायका अगुवा सन्तबहादुर चेपाङले पनि खुसी व्यक्त गरेका थिए । चेपाङ समुदायको भाषा, संस्कृति, वेषभुषा र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले न्वाँगीका दिन सार्वजनिक विदा दिइएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । उनले भने,‘न्वाँगीका दिन सार्वजनिक विदा दिन माग हुँदै आएको थियो । सरकारले उनीहरूको माग पूरा गरेको हो ।’

यसैबीच चेपाङ समुदायका अगुवाहरूले आफ्नो संस्कृति र पहिचान गुमाउँदै गएको अवस्थामा सार्वजनिक विदाले चेपाङको पहिचान र संस्कृतिमाथि भइरहेको अतिक्रमण रोकिन विश्वास व्यक्त गरेका छन् । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।

विगतमा भदौ पूर्णिमाका दिन चेपाङहरूले एक्लाएक्लै घरमा न्वाँगी मनाउने गर्थे । प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएको बताइन्छ । परिवर्तनकारी युवा चेपाङहरू सक्रिय भएर संघको अगुवाइमा प्रत्येक वर्षको भदौ २२ गते सामूहिक रुपमा न्वाँगी मनाउन थालेका हुन् ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ । उक्त पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमुल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने गर्छन् । भीरपाखामा बस्ने यस जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफुल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम (न्वाँगी) पर्व मनाउने गरिन्छ । चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ ।

यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा 'छोनाम' भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ । चितवनमा यो समुदायको बसोबास बढी रहेको बताइन्छ । जहाँ चेपाङको जनसंख्या २८ हजार ९ सय ८९ छ । दोस्रो मकवानपुरमा १९ हजार २ सय ३३ र तेस्रो धादिङमा १४ हजार ४ सय ९२ छ । यस्तै गोरखामा ३ हजार ४ सय ५४ चेपाङ समुदायको बसोबास छ ।


प्रकाशित : भाद्र २०, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?