सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्री खाँणको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्री खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

प्रकाशित : भाद्र २०, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

थप २२१ जनामा कोरोना संक्रमण

५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठमाडौं मात्र
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १२२ र एन्टिजेनबाट ९९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय १९ पीसीआर र २ हजार ५ सय ३९ एन्टिजेन गरी जम्मा ४ हजार ५८ नमुना परीक्षणमा १२२ जना परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार सोमबारबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं मात्र रहेको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या १ हजार ८३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५६ जना संक्रमित थपिएका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुगु, जुम्ला, रुकुम पश्चिम र बझाङ रहेका छन् ।

उपत्यकाका विभिन्न अस्पतालमा ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ४ जना जनरल वार्डमा, ३३ जना एचडीयूमा, २३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा छन् । त्यस्तै धुलिखेल अस्पतालको एचडीयूमा ९ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ६ सय ४५ मात्रा कोरोना खोप लगाइएको छ । अहिलेसम्म नेपालमा ५ करोड १९ लाख १९ हजार ३ सय ४ मात्रा खोप लगाइएको छ । त्यसमध्ये २ करोड २५ लाख ७ हजार १ सय २० जनाले एक मात्रा, २ करोड १६ लाख ८६ हजार ३७ जनाले पूर्ण मात्रा र ७७ लाख २६ हजार १ सय ४७ जनाले अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०७९ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×