नेपाली साक्षीको स्मृति

५० वर्षअघिको ओलम्पिक हत्याकाण्ड

ग्रीष्मकालीन ओलम्पिक्समा सहभागी ११ इजरायली खेलाडीको प्यालेस्टिनी बन्दुकधारीले बन्धक बनाएर बीभत्स हत्या गरे, सागैको कोठामा थिए– नेपाली खेलाडी, प्रशिक्षक र राजपरिवारका सदस्यहरू
हिमेश

काठमाडौँ — सन् १९७२ को म्युनिक ग्रीष्मकालीन ओलम्पिक्स । एक पुस्ताका नेपालीले यसबारे स्कुलमा पढ्दै केही न केही थाहा पाए । अंग्रेजीको नेपाली पाठ्यक्रममा यसलाई समावेश गरिएको थियो, एउटा पाठका रूपमा ।

५० वर्षअघिको ओलम्पिक हत्याकाण्ड

पौडीबाज मार्क स्पिट्जको प्रदर्शन त्यस ओलम्पिक्समा कस्तो रह्यो त ? यसबारे केही दशकअगाडिसम्म अंग्रेजीको जाँचमा प्रश्न आउने गर्थ्यो र उत्तरमा लेखिन्थ्यो, यी अमेरिकी खेलाडीले सात स्वर्ण जितेका थिए, त्यो पनि सातै विश्व कीर्तिमानसहित ।

समग्र विश्व खेल इतिहासमै यत्तिको प्रदर्शन विरलै मात्र देख्न पाइन्छ । त्यस पाठमा त्यही म्युनिक ओलम्पिक्समा भएको एउटा घटनाबारे भने खासै लेखिएन । यो यस्तो घटना थियो, जसको कारण पूरा विश्व सधैंका लागि फेरिएको थियो । ९/११ बारे कसलाई मात्र थाहा छैन र ? अझ सबैलाई के पनि थाहा छ भने अमेरिकाको न्युयोर्कस्थित ट्वीन–टावरमा भएको आतंककारी आक्रमणपछि हाम्रो विश्व त्यस्तो रहेन, जस्तो पहिले थियो, धेरैथोक धेरै अर्थमा फेरिए ।

आजको ठीक ५० वर्षअगाडि यस्तै घटना त्यही म्युनिक ओलम्पिक्समा भएको थियो, जसलाई ‘म्युनिक हत्याकाण्ड’ नामले प्रायः सम्झिने गरिन्छ । हुन त यो विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सवका क्रममा भएको थियो, त्यस अर्थमा यसको सीधासीधा प्रभाव खेलकुदमै पर्ने भयो नै । तर यो यत्तिकै मात्र सीमित रहेन । आतंकवादी आक्रामक कस्तो हुँदो रहेछ, यति विघ्न नराम्रो र नमीठोसँग पहिलोपल्ट मानवीय इतिहासले थाहा पाएको थियो ।

तत्कालीन पश्चिम जर्मनीले पहिलोपल्ट ओलम्पिक्स आयोजना गरेको थियो । त्यसो त जर्मनी दुई फरक देशमा छुट्टिन अगाडि बर्लिनमा सन् १९३० मै पनि ओलम्पिक्स भएको थियो । यो पनि कम्ती विवादास्पद ओलम्पिक्स रहेन । यो नाजी ओलम्पिक्स थियो, यो हिटलरको ओलम्पिक्स थियो । सन् १९७२ सम्म आइपुग्दा विश्व राजनीतिमा यति धेरै परिवर्तन आएको थियो कि दुई जर्मनी अस्तित्वमा रहे । त्यसमध्ये पश्चिम जर्मनीले ओलम्पिक्सको आयोजना गर्ने अवसर पाएको थियो ।


इजरायलीलाई बन्धक बनाएको ओलम्पिक भिलेजको घरबाट बाहिर हेर्दै प्यालेस्टिनी ब्ल्याक सेप्टेम्बर समूहका सदस्य । तस्बिर : एएफपी

सहर थियो– त्यही म्युनिक, जससँग इतिहासका धेरै काला पानाहरू जोडिने गर्छन् । अगस्ट १६ बाट म्युनिकमा ओलम्पिक्स सुरु भएको थियो र विश्वास थियो, यसको आयोजना सुमधुर रूपमा चल्नेछ । खासै केही अप्रिय घटना भएको थिएन तर ११ औं दिन सेप्टेम्बर ५ को सबेरै खेलप्रेमीका लागि अनपेक्षित घटना भयो । प्यालेस्टिनी ‘ब्ल्याक सेप्टेम्बर’ समूहका आठ बन्दुकधारी सजिलै ओलम्पिक्स भिलेज छिरे र ११ इजरायली टिमका सदस्यलाई बन्धक बनाए ।

ठ्याक्कै आधा शताब्दीअगाडि ओलम्पिक्स जस्ता ठूला प्रतियोगितामा सुरक्षा नाम मात्रका हुन्थे । त्यसैले बिनाकुनै अवरोध बिनाकुनै रोकतोक ती प्यालेस्टिनीहरू आफूले चिताएको गर्न सफल रहे । ती इजरायली खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई तिनीहरू बसिरहेको अपार्टमेन्टमै बन्धक बनाइएको थियो । सुरुमै दुई बन्धकलाई मारिएको थियो र यसले माहोललाई तनावपूर्ण बनाउन खास भूमिका खेलेको थियो ।

यो पूरा घटनाक्रम भने १८ घण्टा चलेको थियो । सेप्टेम्बर ५ को साँझ हुँदा नहुँदै नौ बन्धकलाई हेलिकोप्टरबाट नजिकैको सैनिक एयरपोर्ट पुर्‍याइएको थियो । भनिएको थियो, त्यहाँबाट बन्धक र बन्धक बनाउनेहरू कुनै अमूक अरब देशमा उड्नेछन् । तर भित्रभित्र अर्कै योजना पनि बनिरहेको थियो । त्यतिखेर आतंककारी आक्रमणका बेला जुध्न चाहिने प्रशिक्षित सुरक्षा दस्ता पनि थिएन, न त कुनै अनुभव नै । लगभग लहलहमै पश्चिम जर्मनीले प्यालेस्टिनी आतंकवादीलाई ‘एम्बुस’ थाप्ने योजना बनायो ।

तर पूरा योजना साह्रै नराम्रोसँग असफल भयो । साह्रै बेमज्जाले सबै घटनाक्रम अगाडि बढे । जर्मन सुरक्षाकर्मीहरूले प्यालेस्टिनी आतंकवादीहरू कति बलिया छन् भनेर आँक्नै सकेका थिएनन् । तिनका अगाडि फिक्का साबित भए । फितलो उद्धार प्रयासबीच बाँकी सबै इजरायली खेलकर्मी मारिए । त्यसमध्ये चारलाई नजिकबाट गोली हानिएको थियो । बाँकी पाँच जनालाई भने केही समयको अन्तरमा मेसिनगनबाट गोली हानिएको थियो ।

यसबीच तीन आतंककारी पनि मारिए । बाँकी समातिए र मुद्दा पनि चलाइयो । तिनीहरूबारे कुनै निर्णय पनि भएको थिएन, अक्टोबर २९ आइपुग्दा तिनीहरू पनि छुटे । तिनीहरू खासमा छुटेका थिएनन्, छुटाइएका थिए । लुफ्थान्साको एउटा विमान अपहरण गरिएपछि त्यसकै यात्री छुटाउने क्रममा ती आतंककारी पनि छुटे । यता म्युनिक ओलम्पिक्स आफैं केही घण्टा अवरुद्ध भएपछि फेरि सुरु गरियो, चर्को विवादबीच । आक्रमणको ३४ घण्टापछि फेरि खेल सुरु भयो र भनिएको थियो, ‘खेल त अगाडि बढ्नैपर्छ ।’

संयोग नै मानौं, ‘म्युनिक हत्याकाण्ड’ को सुरुआती घटनाक्रम निकै नजिकबाट देख्न पाउने र सुन्न पाउनेमा नेपाली पनि थिए । त्यस ओलम्पिक्समा नेपालका तर्फबाट एउटा सानो टोली पनि सहभागी थियो, जसमा दुई खेलाडी थिए । ती थिए, जितबहादुर केसी र भक्तबहादुर सापकोटा । दुवैले म्याराथनमा सहभागिता जनाएका थिए । प्रशिक्षक थिए, लक्ष्मणविक्रम शाह । त्यसपछि तात्कालीन राजपरिवारका चार सदस्य थिए, त्यसमध्ये कुमार खड्गविक्रम शाह टोली प्रमुख थिए ।

उनी राष्ट्रिय खेलकुद परिषद्का तात्कालीन सदस्य सचिव थिए । अनि कुमार मोहनबहादुर शाहीसँगै दुई अधिराज्यकुमारी शारदा र शोभा पनि । पूरा नेपाली टोली ओलम्पिक्स भिलेजमै बसेको थियो । कुरा यत्तिकैमा सकिन्न । नेपाली र इजरायली टिम त्यहाँ सबैभन्दा नजिकका छिमेकी थिए । नेपाली टिमका सदस्यहरू बसेको कोठा र इजरायली टिम बसेको कोठा ठ्याक्कै अगाडि पछाडि थियो । चारफुटे बाटोको दुई छेउ भन्दा हुन्छ । दुवै देशका झन्डा पनि सँगसँगै गाडिएको थियो ।

बन्धक बनाइएको घर

त्यो अर्थमा कम्तीमा यी दुई टिमका खेलाडी र प्रशिक्षकबीच देखादेख र भलाकुसारी त चल्ने नै भयो । प्रशिक्षक शाह अहिले हामीबीच रहेनन् । नेपाली खेलकुद वृत्तमा के सुन्न पाइन्छ भने तिनको इजरायली खेलाडीसँग संगत मज्जाले बसेको थियो । उनी इजरायली खेलाडीका राम्रै साथी बनेका थिए । पूरा घटनाक्रमलाई सबैभन्दा नजिकबाट पहिलो सुन्ने र पछि देख्नेमा थिए, तिनै जितबहादुर केसी । दशरथ रंगशालातिर जानुपर्छ, एउटा दुब्लो पातलो मान्छे लुखुरलुखुर आफ्नै पाराले काम गरिरहेको देखिन्छ ।

उनी खासै धेरै बोल्ने मान्छे पनि होइनन् । केसी नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हुन् । तिनै केसी त्यस म्युनिक हत्याकाण्डबारे सम्झीसम्झी बेलिविस्तार लगाउने गर्छन् । भन्छन्, ‘घटना भएको रात मलाई खासै निद्रा लागिरहेको थिएन । बिहानबिहान हुनै लागेको थियो, केही विस्फोट भयो । हामी बसेको कोठा नै जुरुक्कै उठ्लाजस्तो भएको थियो ।’ नेपाली र इजरायली टिम बसेको ठ्याक्कै मुनिको तलालाई खेलाडीका लागि अभ्यास गर्न छुट्याएको थियो ।

केसीलाई लागेछ, खेलाडी त्यहीं उपद्रो पो गरे कि ? तर एकपछि फेरि अझ ठूलो आवाजमा सुनियो, केही पड्केको थियो । फेरि कोठै उचाल्दाजस्तो पनि भयो । केसी त फेरि तल्लो तलाका खेलाडीले उपद्रो गरेको सम्झे र तिनलाई सुत्नै नदिएको मानेर मनमनै गाली पनि गरे । पछि एक गिलास दूध खाए र त्यहीं निदाए । उनले आफ्नो पल्लो छेउ के भइरहेको थियो भने पत्तै पाएनन् । ‘यसैबैला कानको जाली नै फुट्ने गरेर घण्टी बज्यो र म उठें,’ उनी सम्झन्छन् ।

थप्छन्, ‘जर्मन पुलिस आइपुगेको रहेछ । आफूलाई ब्युँझाएकामा मलाई रिस पो उठ्यो । गम्छा मात्र बेरेर बाहिर निस्केको त अधिराजकुमारी शारदा भेटें । यसो हेरेको त इजरायली बसेको कोठाबाट आलो रगत बाटोतिर बगिरहेको थियो । दुई खेलाडी त मारिसकेका रहेछन् । बाँकी नौ जनालाई प्यालेस्टिनीहरूले आफ्नो कब्जामा लिएका रहेछन् । ती नौ जनालाई पाता कसेर राखिएको थियो । उनीहरूलाई बिजुली बत्तीका तार निकालेर बाँधिएको थियो ।’

केसी थुरुरु कामिहाले । ‘रगत देखेपछि त म साह्रै आत्तिएँ,’ केसी भन्छन्, ‘मैले त रगत नै टल्किरहेको देखें । अलमल पनि परें ।’ लगतै पूरै नेपाली टिमलाई अन्यत्र सारियो । फुत्त फुत्केर केसी बाहिर निस्केको त पूरा भिलेज सेनाले घेरेको रहेछ । भिलेजबाट बाहिर निस्कने त अवस्था नै थिएन । कसैलाई बाहिर जान पनि दिएनन् ।’ उनकै भाषामा जहाँ देख्यो, त्यहीं बैठक बसिरहेको जस्तो देखिन्थ्यो, सबैको आँखामा डर थियो, सबै बिस्तारैबिस्तारै कुरा गरिरहेका थिए ।

जर्मन सेनाले भने त्यति बेलासम्म अत्याधुनिक हातहतियार बोकेर सुरक्षा दिन सुरु गरिसकेको थियो । यसैबीच केसीको कानमा यत्ति कुरा पुग्यो, जर्मन चान्सलरले ती प्यालेस्टिनी अपहरणकर्तालाई भनेका रहेछन्, ‘ती सबै इजरायली खेलकर्मीलाई छुटाउनु, त्यसका बदलामा हाम्रा सबैभन्दा धेरै बुद्धिजीवीलाई बन्धक बनाउनु ।’ हल्ला के पनि आयो भने अब पूरै भिलेजलाई नै बम विस्फोटन गराएर उडाइनेछ । ‘राति साढे नौ बजेतिर भिलेजमै हेलिकोप्टर आइपुग्यो र उनीहरू सबैलाई अन्यत्र लगियो,’ केसीले भने ।

लगभग एक दिनभन्दा बढी समयपछि फेरि खेल सुरु भयो । म्याराथनको प्रतिस्पर्धा बाँकी नै थियो । त्यति बेला दुवै खेलाडीको मन खेलमा भन्दा पनि आफ्नै नजिक भएको घटनामा केन्द्रित थियो । केही कतै आवाज सुनियो कि तर्सिने स्थितिसम्म थियो । खासमा यस्तो स्थिति नेपाली खेलाडीको मात्र थिएन, सबैको थियो । धेरैको विचार थियो, खेल त्यही घटनालगत्तै रोकिनुपर्थ्यो । विवाद अहिलेसम्म पनि के छ भने खेल त्यही बेला रोकिनु ठीक थियो कि अगाडि बढाउनु ?

जेहोस्, खेल सुरु भएयता म्याराथनमा सापकोटाले त दौड पूरा गरे, तर केसीले सकेनन् । भएको के थियो भन्दा दौड २० किलोमिटर पुग्दा सबैभन्दा अगाडि थिए, तिनै केसी । बीबीसीले समाचार पनि फुकेछ, अब म्याराथनमा स्वर्ण जित्ने नेपालले हो । ओलम्पिक्स भिलेजमा त हलचल मच्चिसकेको रहेछ । तर नेपाली खेलकुदको दुर्भाग्य मान्नुपर्छ, ठीक त्यहीबेला खुट्टाको मासु फर्कियो । केसीले एकाएक असाध्यै दुखेको अनुभव गरे र त्यहीं ढले, उनको भाग्यमा इतिहास लेख्नु नै लेखिएको थिएन ।

उता कुमार मोहनबहादुर शाहीले पनि घटनाबारे हालै सुनाएका थिए । उनी भन्थे, ‘पूरा घटनापछि पूरा जर्मन स्तब्ध देखिएको थियो । म्युनिक सहरको त के कुरा चारैतर्फ सन्नाटा मात्रै थियो ।’ उनले पूरा पश्चिम जर्मनीबीच एक प्रकारको रिस र आक्रोश दुवै देखेका थिए । नेपाली टिमका लागि छुट्याइएका गाडी चालक त हदै रिसाइरहेका थिए र आफूले पाएमा मारूँकाटूँजस्तो कुरा गर्थे । खासमा जर्मनीहरू यो घटनाले ओलम्पिक्स बिथोलिएकामा बढी चिन्तित थिए, त्यसैले रिसाएका पनि थिए ।


मारिएकाको स्मृतिमा बनाइएको स्मारक रंगाइँदै ।

म्युनिक ओलम्पिक्समा क्रममा भएको अपहरण र त्यसपछिको हत्याको प्रभाव तात्कालीन रूपमा त्यति बेला पर्ने नै थियो । भनिन्छ, त्यसको प्रभाव अहिलेसम्म पनि छ । पछि पनि रहनेछ । सबैभन्दा ठूलो परिवर्तन त ओलम्पिक्सजस्ता ठूला खेल महोत्सव नै रहे । यसअघि ओलम्पिक्स र फुटबलको विश्वकपका लागि सुरक्षामा खर्च नगन्यजस्तै थियो । नाम मात्रको बजेट छुट्याइन्थ्यो । भनिन्थ्यो, खेललाई खेलमै सीमित राख्यौं, यो त उत्साह र उमंगको महोत्सव हो ।

पछि खर्च अत्यधिक बढ्न थाल्यो र यसले पूरा प्रतियोगिता नै निकै खर्चिलो र झन्झटिलो बनाइदियो । सुरक्षाका अनेक तह बने, जसले गर्दा पछि–पछि गएर ठूला खेल महोत्सवमा सबैभन्दा बढी खर्च हुने भनेकै सुरक्षामा रह्यो । यसको प्रभाव विश्व राजनीतिमा पर्नु थियो नै, पर्‍यो पनि । राजनीतिक सम्बन्ध र समीकरणहरू पहिलाजस्तो रहेन । नाटकीय रूपमा फेरिए । आफ्ना खेलकर्मीको हत्यापछि इजरायल अझ बढी आक्रामक बन्यो । आफूलाई सैनिक दृष्टिकोणले अझ बलियो बनायो ।

इजरायलले नीति नै बनायो, आफ्ना शत्रुहरूको सफाया गर्ने । त्यो पनि आफ्नो भूमिमा मात्र होइन, विदेशमै पनि । इजरायललाई लागेको थियो, दोस्रो विश्वयुद्ध ताका जसरी यहूदीहरू मारिएका थिए, त्यसै बराबरको घटना थियो, म्युनिक हत्याकाण्ड । घटनाको महिना दिनपछि नै ‘ब्ल्याक सेप्टेम्बर’ का सदस्य र तिनका सहयोगीहरू भकाभक मर्न थाले, अविश्वसनीय परिस्थितिमा । विशेषतः रोम, पेरिस र साइप्रसलाई आफ्नो आधार बनाएर बसिरहेका प्यालेस्टिनी राजनीतिज्ञहरूमाथि पनि आक्रमण सुरु भयो ।

सुरुआती कारबाही सफल भएपछि इजरायल बढी आत्मविश्वासी पनि देखियो र उसका केही खास खास काम नराम्रोसँग असफल पनि भए । तर पनि इजरायल रोकिएन, उसको आक्रामकपन अझै पनि जारी नै छ । धेरै हदसम्म म्युनिक हत्याकाण्डले प्यालेस्टिनी आन्दोलनलाई पनि नकारात्मक असर पार्‍यो । अनि उत्तिकै हदसम्म प्यालेस्टिनी आन्दोलन पनि कमजोर पर्न थाल्यो । लगभग सबै विकसित र पश्चिमेली देशले आफ्नो सुरक्षा खर्च पनि बढाउन थाले ।

यसैक्रममा आतंकवादीको सामना कसरी गर्ने भनेर अलगै विशेष प्रशिक्षण प्राप्त सुरक्षा निकाय पनि खडा हुन थाले । घटनाले छाडेको प्रभाव हेर्दा यो हिजै भएको जस्तो लाग्छ, तर यो त ५० वर्ष पुरानो भइसकेको छ । यसमध्ये सबैभन्दा नयाँ विकासक्रम हिजै शनिबार मात्र देखापर्‍यो । जर्मन सरकारले के घोषणा गरेको छ भने म्युनिक हत्याकाण्डमा जति पनि इजरायली मारिए, ती सबैका परिवारले एकमुष्ट क्षतिपूर्तिका रूपमा २ करोड ८० लाख डलर पाउनेछन् ।

प्रकाशित : भाद्र २०, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?