२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१७ वर्षपछि सच्चियो 'अपमानित' नाम, अब फणिन्द्र बादी

ज्योति कटुवाल

दैलेख — जिल्ला प्रशासन कार्यालय, दैलेखले दुल्लु नगरपालिका-१ का एक व्यक्तिको नागरिकतामा उल्लेखित अपमानित नाम १७ वर्षपछि सच्याइदिएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासन कार्यालयले नागरिकतामा अपमानजनक नाम उल्लेख भएकाको आवश्यक प्रक्रिया पुर्‍याएर नागरिकतामा नाम सच्याएको हो ।

१७ वर्षपछि सच्चियो 'अपमानित' नाम, अब फणिन्द्र बादी

यसअघि नागरिकतामा फ्याउरो बादी नाम उल्लेख गरिएका व्यक्तिको नागरिकता परिवर्तन गरी फणिन्द्र बादी उल्लेख गरेर नयाँ नागरिकता प्रदान गरिएको छ ।

२०४० सालमा दुल्लु गाविसबाट सचिवले सिफारिस गरेको पत्रमा गलत नाम लेखेको र सोही सिफारिसका आधारमा जिल्ला प्रशासनले २०४० सालमा फ्याउरो बादी नाम लेखेर नागरिकता दिएको उनको भनाइ छ । 'नाममै अपमान' शीर्षकमा कान्तिपुरले समाचार प्रकाशित गरेपछि गृह मन्त्रालय र संसद्‌को ध्यानाकर्षण भएको थियो । गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशनसमेत दिएको थियो ।

बादीलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए । १७ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि उत्साहित भएको उनको भनाइ छ ।

उनले भने, ‘नागरिकतामा अपमानजनक नाम हटाउन पाउनु मेरो अहोभाग्य हो । आफ्नै नामबाट नागरिकता पाइएला भन्ने सोचेकै थिइनँ ।’ उनको यसअघिको नागरिकतासँगै अपमानित नाम उल्लेख भएका अन्य प्रमाणपत्रहरूसमेत खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।

प्रकाशित : भाद्र १९, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?