१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रञ्जन कोइरालाको मुद्दालाई आधार मानेर महाभियोग लगाइएको भए सहन्छु : जबरा

जयसिंह महरा

काठमाडौँ — तेस्रो दिनको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकारेका छन् ।

रञ्जन कोइरालाको मुद्दालाई आधार मानेर महाभियोग लगाइएको भए सहन्छु : जबरा

संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले गत बुधबारदेखि बयान लिन सुरु गरेको हो । उनले यसअघि दुईपटक बयान दिइसकेका छन् ।

उनलाई संसदीय समितिमा 'सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइराला संलग्न ज्यान मुद्दामा मातहत अदालतबाट भएको फैसला उल्टी गरी गैरकानुनी ढंगले कैद घटाएपछि पुन: सर्वोच्चमा पुनरावलोकनका क्रममा विचाराधीन रहेकामा त्यस्तो संगीन मुद्दाको शीघ्र सुनुवाइ गरी न्यायिक मूल्य पुनर्स्थापित गर्नुपर्नेमा आफैंले पटकपटक पेसी स्थगित गरेको र त्यही मुद्दालाई प्रभावित गर्ने गरी सार्वजनिक रूपमै फैसलाको प्रतिरक्षा गरेको देखिएको छ । प्रधानन्यायाधीशले इजलासबाहिर आफ्नो फैसलाबारे बोल्दै हिँड्नु र टीकाटिप्पणी गर्नु अदालतको गरिमा र पदीय मर्यादाअनुकूलको आचरण होइन, हुन सक्दैन भन्ने आरोप छ, यसमा भनाइ खुलाउनुहोस्‚' भनेर प्रश्न सोधिएपछि उनले त्यसको उत्तर दिन सुरु गरेका थिए ।

'रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ,' समिति सदस्य मीन विश्वकर्माले जबराको भनाइ उद्धृत गर्दै भने, 'यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, आमाको नहुँदा पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ ।'

जबराले यही फैसलाको आधारमा महाभियोग लगाइएको हो भने त्यसलाई आफूले सहनेसमेत बताए । उनले भने, 'यसैबाट महाभियोग लाग्छ भने म यसमा क्षमा चाहन्छु । मेरो हार्दिकतापूर्वक अनुरोध गर्छु, यो आधारबाट महाभियोग लाग्छ भने मलाई यसमा कुनै किसिमको आपत्ति हुनेछैन, गिल्टी फिल पनि गर्दिनँ ।’*

निलम्बित प्रधानन्यायाधीश जबराले रञ्जन कोइरालालाई कैदमुक्त गर्दा परिवारको प्रभावमा परेर गल्ती गरेको बताउँदै यदि त्यसैलाई आधार मानेर अभियोग लगाएमा आफूले सहने बताएको नेपाली कांग्रेसका सांसद् एवं महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताए । उक्त विषयमा न्यायाधीशले गल्ती गरेको भन्दै जबराले समितिसामू माफी मागेको सांसद् विश्वकर्माले बताए ।

बयान लिने समय लम्बिरहेको र ढिलासुस्ती भएको विषयलाई सम्बोधन गर्दै सांसद् तथा समिति सदस्य विश्वकर्माले समितिका अधिकांश सदस्य राजनीतिक दलमा आबद्ध भएको कारण पार्टीका विभिन्न कार्यक्रममा पनि सहभागी हुनुपर्ने भएकाले समय लम्बिन पुगेको बताए । लामो समय लाग्ने देखिएपछि प्रश्नोत्तर विधिबाट एकैपटक स्पष्टीकरण दिने भनेर विधि परिवर्तन गरिएको उनले बताए ।

के हो रञ्जन प्रकरण ?

डीआईजी कोइरालाले करिब ९ वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । कार्यविधि कानुनले तोकेका सर्तहरू पालना गर्नुपर्नेमा तत्कालीन प्रधानन्यायाधीश राणासहितको इजलासले सोझै कैद सहुलियत दिएको र अर्कोतर्फ मुद्दाको मिसिलमै नभएका विषयवस्तुमाथि आफूअनुकूल जबर्जस्ती व्याख्या गरेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले पत्नी हत्याको जघन्य अपराध गरे पनि ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै कोइरालालाई गत वर्ष असार १५ मा कैद सजाय घटाउने फैसला गरेको थियो । संयुक्त इजलासको फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएको थियो । त्यसको फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको थियो ।

*सच्याइएको : यसअघि प्रकाशित समाचारमा जबराको भनाइ गलत रुपमा उद्धृत हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । सम्पादक


प्रकाशित : भाद्र १९, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?