गठबन्धनको गाँठो : सिट संख्या कि प्रधानमन्त्री पद ?

सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउले सिट बाँडफाँटमा समस्या
आइतबार बिहान देउवा र दाहालबीच करिब एक घन्टा वान–टु–वान छलफल

काठमाडौँ — सत्तारूढ मुख्य दुई दल कांग्रेस र माओवादीले आगामी निर्वाचनपछि बन्ने सरकार निर्माणको अंकगणितलाई रणनीति बनाएर भाग खोजेपछि निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्णय लिन गठबन्धनलाई सकस परेको छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक नै सरकार निर्माण गर्न सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ ।

गठबन्धनको गाँठो : सिट संख्या कि प्रधानमन्त्री पद ?

‘पहिला त सिट संख्यामै समस्या छ, संख्यामा समझदारी जुटाए पनि कुन निर्वाचन क्षेत्र कुन पार्टीले लिने भन्ने मिलाउन अर्को चुनौती छ, गठबन्धनका सबै दलको चाहना सकभर सुरक्षित निर्वाचन क्षेत्र खोजौं भन्ने हुन्छ, नेमकिपाको प्रभाव रहेको भक्तपुर–१ जस्ता निर्वाचन क्षेत्र कसले लिने भन्ने अर्को समस्या देखिँदै छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले कार्यदलले अनौपचारिक संवादमार्फत कुन दलले कुन निर्वाचन क्षेत्र लिने र प्रदेश निर्वाचन क्षेत्रमा सन्तुलन कसरी कायम राख्ने भन्नेमा गृहकार्य गरिरहेको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको लक्ष्य पनि प्रधानमन्त्री हुने नै छ । बालुवाटार स्रोतका अनुसार देउवा र दाहालबीच आलोपालो प्रधानमन्त्रीमा समझदारी बन्नासाथ बाहिर देखिएका सबै समस्या हल हुन्छन् । ‘आलोपालो प्रणालीमा जाने विषयमा दुई नेताबीच विवाद छैन तर पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने विषय नमिल्दासम्म बाहिर समस्या देखिएको हुन सक्छ,’ स्रोतले भन्यो, ‘देउवा र दाहालबीच धेरै पटक वान टु वान छलफल भएका छन् । ती छलफलमा प्रधानमन्त्रीको विषयमा समझदारी बन्यो भने अरू समस्या चाँडै हल हुन्छन् ।’

आइतबार बिहान पनि देउवा र दाहालबीच करिब एक घन्टा वान–टु–वान छलफल भएको छ । कतिपय नेता भने देउवा र दाहालबीच प्रधानमन्त्री मात्रै नभएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेशका मुख्यमन्त्रीसमेतका पदमा समेत प्याकेजमै भागबन्डा मिलाउने प्रयास भइरहेको बताउँछन् ।

अहिले सिट संख्यामा भइरहेको रस्साकसीले निर्वाचन परिणामपछिको राजनीतिक परिस्थितिप्रति दुवै जना ढुक्क हुने स्थिति नरहेको संकेत गर्छ । त्यसैले दुवै नेताले सिट संख्या बढी लिन चाहिरहेका छन् । कांग्रेसले अन्य साना दल लिएर सरकार निर्माण गर्न नसक्दा आफ्नो पार्टी निर्णायक शक्ति हुने दाहालको बुझाइ छ । देउवाले पहिलो चरणमै प्रधानमन्त्री छाड्न नमाने एमालेको समर्थनमा भए पनि सुरुमै आफू प्रधानमन्त्री हुन सकिने दाहालको भित्री मनसाय रहेको कांग्रेस नेताहरूको बुझाइ छ । देउवा माओवादीबिनै अन्य साना दल मिलाएर सरकार बनाउन सकिन्छ कि भन्ने कसरतमा छन् । त्यसका लागि उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई टाढिन दिएका छैनन् । कांग्रेसले पाएको सिट संख्यामा केही दिएर भए पनि उनले लोसपालाई आफ्नै विश्वासमा लिन खोजेका छन् ।

कांग्रेस नेताहरूले गठबन्धन बैठकमा दाहाल लचकजस्तो, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कडा रूपमा प्रस्तुत हुनुका पछाडि पनि दाहालको रणनीतिसँग जोडेर हेर्ने गरेका छन् । माओवादीसँग पार्टी एकीकरण गर्ने गृहकार्य चलिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई ७० भन्दा बढी सिट दिन नसकिने अडान बुधबारको गठबन्धन बैठकमा राखेका थिए । शनिबार एक सार्वजनिक कार्यक्रममा समेत नेपालले त्यही कुरा दोहोर्‍याएका छन् ।

२०७४ मा कांग्रेसले २३ सिट जितेकाले अहिले त्यसको तीन गुणामा एक सिट बढाएर ७० सिट लिनुपर्ने र ९५ सिट गठबन्धनका अन्य दलका लागि दिनुपर्ने उनको भनाइ छ । उनले कांग्रेसले अस्वाभाविक सिटको दाबी गरेका कारण बुधबार बालुवाटारमा निर्णायक भनेर बोलाइएको बैठकमा समझदारी बन्न नसकेको बताए । ‘कांग्रेसले अहंकार देखाएको छ, हामीलाई सय सिट देऊ, उब्रिएको तिमीहरू लिऊ भन्छ, हामीले उनीहरूलाई हैसियतभन्दा बढी नमाग भनेर जवाफ दिएका छौं,’ नेपालले शनिबार विराटनगरमा पेसागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने, ‘२०७४ को निर्वाचनमा २३ सिट जितेको कांग्रेसलाई त्यसको तीन गुण ६९ सिटमा एक बढाएर ७० लिनुहोस् भनेका छौं । उनीहरू सय भन्दै छन् । मिलाउन कठिनाइ परेको छ ।’

कांग्रेसमा देउवालाई आफ्नै समूहका नेताहरूको आकांक्षा व्यवस्थापन गर्न र शेखर कोइराला समूहको दबाब थेग्नसमेत कठिनाइ परेको छ । गठबन्धनको बैठक चलिरहेकै बेला नेता कोइराला र एमाले अध्यक्ष केपी ओलीबीचको भेटले देउवालाई झस्काएको छ । पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनलाई मात्रै प्राथमिकता दिने हो भने पार्टीमै विद्रोह आउन सक्ने चेतावनी कोइराला समूहले दिएको छ । ओली र कोइरालाबीचको भेटमा गठबन्धन नगरी अलग–अलग निर्वाचन लड्ने विषयमा छलफल भएको थियो ।

कोइरालाले सयभन्दा कम सिटमा सम्झौता नगर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । कार्यदल बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि सयभन्दा कम सिटमा सम्झौता नहुने अडान राखिरहेका छन् । सय सिट पनि नपाउने हो भने कांग्रेसभित्र असन्तुष्टि बढ्ने कोइरालाले बताए । ‘गठबन्धन गर्ने भनेको जित्नका लागि हो, गठबन्धनको ठूलो र देशभर जनाधार भएको पार्टीलाई खुम्च्याएर गठबन्धनको उद्देश्य पूरा हुन सक्दैन । कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्न हुन्न,’ कोइरालाले कान्तिपुरसँग भने, ‘सय सिट हाम्रा लागि बटमलाइन नै हो । हाम्रो पार्टीमा आकांक्षी धेरै छन् । सय सिट पनि पाएनौं भने विद्रोह हुन सक्ने स्थिति छ । त्यसले गठबन्धनलाई पनि फाइदा हुन्न ।’

देउवा भने गठबन्धन जोगाउन लचक हुन तयार देखिएका छन् । सिट संख्या नमिलेकै आधारमा गठबन्धन भत्किए माओवादी एमालेसँग मिल्न सक्ने भय देउवामा छ । त्यसैले उनी केही सिटमा लचकता देखाएर पनि गठबन्धन जोगाउने पक्षमा देखिन्छन् । त्यस्तो छनक उनले बिहीबारको बैठकमा दिइसकेका छन् । देउवानिकट एक नेताका अनुसार उनले बैठकमा ‘८६ प्लस दुई’ को प्रस्ताव गरेका थिए । कांग्रेसले ८८ सिट लिएर दुई सिट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका लागि छाडिदिने प्रस्ताव देउवाको थियो । समझदारीमा जाँदा ९० सिटभन्दा घट्नै नहुने अडान कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री थापाले लिएका थिए । देउवा अझै लचक भएर दुई सिट घटेका थिए । लोसपालाई दुई सिट छाड्न गठबन्धनका अन्य दल तयार नभएपछि देउवाले कांग्रेसकै भागबाट दिन खोजिएको बताएका थिए ।

माओवादी अध्यक्ष दाहालले भने कुल निर्वाचन क्षेत्रमा कांग्रेसलाई ५० प्रतिशत अर्थात् ८२ सिट लिएर गठबन्धनका अन्य ४ दललाई ८३ सिट दिनुपर्ने प्रस्ताव गरेका थिए । कांग्रेसले त्यति सिटमा चित्त बुझाए अन्य दललाई मिलाउने जिम्मेवारी आफूले लिने दाहालको भनाइ थियो । उनको प्रस्ताव कांग्रेसले त मानेन नै, एकीकृत समाजवादीका अध्यक्ष नेपालसमेत झोक्किए । स्रोतका अनुसार नेपालले कांग्रेसले ७० सिट राखेर बाँकी ९५ सिट गठबन्धनका अन्य दललाई दिनुपर्ने अडान कडा रूपमा राखेका थिए । आफ्नो पार्टीका लागि कम्तीमा ३० सिट हुनुपर्ने उनको दाबी थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि आफ्नो पार्टीले २५ सिट पाउनुपर्ने अडान राखिरहेका थिए तर ‘साइडलाइन’ कुराकानीमा उनले २२ सिटभन्दा तल झर्न नसकिने, बरु गठबन्धन छाडेर एक्लै चुनाव लड्ने बताएका थिए । ‘१० निर्वाचन क्षेत्रमा हामीले जितेकै छौं, मधेस प्रदेशमा तपाईंहरूले जित्ने होइन, त्यहाँ हाम्रो स्थिति मजबुत छ । सिट घटाउँदा हाम्रो समानुपातिक मत पनि घट्छ । समानुपातिक मत घटाएर जानुभन्दा हामी बरु छुट्टै लड्छौं,’ बैठकमा यादवको भनाइ उद्धृत गर्दै कार्यदलका एक सदस्यले बताए ।

केही सिट तलमाथि परे पनि गठबन्धनमा देउवा प्रतिबद्ध भएकाले अबको बैठकमा समझदारी हुने विश्वास नेताहरूले गरेका छन् । त्यही विश्वासले नेताहरू राजधानीबाहिरका कार्यक्रममा निस्केको माओवादीका एक नेताले बताए । आ–आफ्ना दाबी र पार्टीभित्र शक्ति सन्तुलन मिलाउनुपर्ने दबाबले हतारमा निर्णय लिन नेताहरूलाई कठिनाइ परेको उनको भनाइ छ । माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अबको बैठकमा समझदारी हुने बलियो आधार बनिरहेको दाबी गरे । ‘समझदारी बनिहालेको छैन तर हुने विश्वास छ,’ उनले भने ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विगतका दुई निर्वाचन (२०७४ को संघीय र २०७९ को स्थानीय) का आधारमा १६५ प्रतिनिधि र ३३० प्रदेशसभाका सबै सिटमा शक्ति आकलन गरेर गठबन्धनका शीर्ष नेतालाई ‘ब्रिफिङ’ गरिसकेको छ । ‘यो ब्रिफिङको बलमा शीर्ष नेताले राजनीतिक निर्णय लिन सक्ने आधार बनेको छ,’ ती पदाधिकारीले भने ।

पार्टीले कुन–कुन निर्वाचन क्षेत्र छोड्न नहुने र प्रदेशमा कसरी सन्तुलन मिलाउने भन्नेबारेमा कांग्रेसका कार्यदल सदस्यहरूबीच शनिबार साँझ छलफल भएको थियो । त्यसमा र गठबन्धन बैठकमा समेत महामन्त्री थापाले प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा गठबन्धनका अन्य दल उम्मेदवार हुँदा कांग्रेसले प्रदेशका दुवै क्षेत्र लिनुपर्ने अडान अघि सारेका छन्् । ‘त्यसो नहुने हो भने कांग्रेसको मत ट्रान्सफरमा समस्या आउँछ, आफ्नो पार्टीको उम्मेदवार नभएपछि मत हाल्न किन जाने भन्ने भावना मतदातामा पर्छ, यसले गठबन्धनलाई धक्का पुग्छ,’ उनको भनाइ थियो ।’

प्रकाशित : भाद्र १९, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?