हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : मेयर बालेन्द्र- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हामी १०० दिनको दौडमा छैनौं, ५ वर्षका योजना छन् : मेयर बालेन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरको मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर बालेन्द्र शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उनले बताएका छन् ।

मेयर शाहले लेखेका छन्– 'हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौं, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्‍यौं भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौं ।'

आफ्नो कार्यकाल १०० दिन पुगिसकेको सन्दर्भमा मेयर शाहले आफूहरुको मनमा छोएका केही सन्दर्भहरु यसरी सम्झिएका छन् ।

१. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुहरुको लागि हो । सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

२. ई–स्पोर्ट्सलागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरुप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मानभन्दा पनि अफ्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्ट्स पनि खेलका रुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्ट्सको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो । यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठूलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमिल र साथीहरुसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भूमिकाका लागि अर्को भूमिकाभन्दा विपरीत हुनु पर्ने पनि हुन सक्छ । माहोलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहोललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनिक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्विकार्नु पर्दछ भने १०० भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहीरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ती कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।

प्रकाशित : भाद्र १९, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

साफमा चम्किने दाउमा फुटसलकी स्टार

केटाहरुका टिममा एक्ली केटीका रुपमा खेल्ने गरेकी प्रीति राई राष्ट्रिय टिमबाट साफ महिला च्याम्पियनसिपमा
राजु घिसिङ

काठमाडौँ — कुनै उमेर समूहमा अवसर पाएकी थिइनन् । राष्ट्रिय टिममा पुग्ने त टाढाकै विषय थियो । तर, ‘कान्छी खेलाडी’ का रूपमा परिचित भइसकेकी थिइन्, जो कपनका मैदान र फुटसल प्रतिस्पर्धामा केटाहरूको टिममा एक्ली ‘केटी’ भएर पनि छाइरहेकी हुन्थिन् । केही वर्षअघि फुटसल र स्थानीय खेलमै रमाइरहेकी उनै प्रीति राई अहिले नेपाली राष्ट्रिय महिला फुटबल टिमकै महत्त्वपूर्ण सदस्य भएकी छन् ।

दशरथ रंगशालामा मंगलबार सुरु हुने छैटौं साफ महिला च्याम्पियनसिपको अन्तिम तयारीमा रहेकी प्रीति मिडफिल्डर हुन् । अट्याकिङ मिडफिल्डर । ४ फिट १० इन्च अग्ली उनको ‘फुट वर्क’ निकै राम्रो छ । उनलाई पनि आफ्नो फुट वर्क नै सबभन्दा बलियो हतियार लाग्छ । मैदानमा उनको ‘ड्रिब्लिङ’ लोभलाग्दो हुने गर्छ । दुवै खुट्टा उत्तिकै चलाउने खुबी छ ।

शारीरिक रूपमा सानी देखिए पनि उनी घरेलु फुटबलमा एक–दुई जना विपक्षीलई सजिलै छक्याउने गर्छिन् । यसरी विपक्षीलाई पन्छाउँदै गोलका लागि स्ट्राइकरलाई बल उपलब्ध गराउनु उनको कला नै हो । गोल हान्ने कौशल पनि उस्तै राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट पोस्टमा सटीक प्रहार गर्न उनी सिपालु छिन् । विपक्षीलाई रोक्नका लागि ‘ट्याकल’ गर्न कत्ति पनि हिच्किचाउँदिनन् ।

गुंदेल, सोलुखुम्बु पुर्ख्यौली घर भएकी १७ वर्षीय प्रीतिको अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यु’ पनि सानदार रहेको थियो । २०७८ साल भदौ २४ गते दशरथ रंगशालामा महिला टिमले पहिलोपल्ट खेल्ने अवसर पाएको थियो । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको उक्त अवसरमा तत्कालीन प्रशिक्षक ग्यारी फिलिप्सले प्रीतिसहित, सविता राना, सिर्जना सिंह र रश्मिकुमारी घिसिङलाई डेब्यु गराएका थिए । पहिलो रोजाइमा मौका पाएका प्रीति र सविताकै गोलमा नेपाल २–१ ले विजयी भयो । प्रीति ‘प्लेयर अफ द म्याच’ नै भइन् ।

तस्बिर : हेमन्त श्रेष्ठ

गत वर्ष तीजकै दिन भएको खेल सम्झँदै प्रीतिले भनिन्, ‘अभ्यासमा गोल गरिरहेकी थिएँ । त्यसैले खेलमा गोल गर्छुजस्तो भइरहेको थियो । राम्रो गर्न सक्नेमा डर भने थियो । तर, राम्रो गर्न सकें, गोल पनि गरें ।’ उनले बंगलादेशविरुद्धका मैत्रीपूर्ण दुई खेल र उज्वेकिस्तानको तास्कन्दमा गत वर्ष भएको एसियन कप छनोटमा गरी चार ‘क्याप’ जितेकी छन् । छनोटमा नेपालले फिलिपिन्सविरुद्ध २–१ ले हारेको थियो भने हङकङसँग गोलरहित खेलेको थियो । विमला चौधरीको गोलमा अग्रता लिए पनि इन्ज्युरी समयमा दुई गोल बेहोरेपछि फिलिपिन्सविरुद्ध हारेको थियो, जसको कारण नेपालको एसियन कप खेल्ने ढोका बन्द भएको थियो । फिलिपिन्स एसियन कपको सेमिफाइनलमै पुग्यो, विश्वकपमा पनि छनोट भयो ।

नेपाललाई फिलिपिन्सविरुद्ध त्यो हारले सधैं पीडा दिनेछ । ‘साह्रै नराम्रो लाग्छ,’ तास्कन्दमा बेहोरेको हार ताजै रहेको उल्लेख गर्दै प्रीतिले भनिन्, ‘हाम्रा लागि धेरै ठूलो अवसर थियो । त्यो खेल जितेको भए छनोट भएर भारतमा एसियन कप खेल्न पाउँथ्यौं । एसियन कपको शीर्ष ६ मा रहने विश्वकप खेल्न पाउँथ्यो । हामी एसियन छनोटमै रोकियौं । फिलिपिन्स विश्वकपमै पुग्यो । त्यो सम्झँदा साह्रै नराम्रो लाग्छ ।’ उनले थपिन्, ‘हामीले अझै मिहिनेत गरेको भए त्यस्तो पश्चाताप हुँदैनथ्यो । हामी १–० ले अगाडि थियौं । धेरै समय नभएकाले त्यो खेल अवश्यै जित्न सक्ने अवस्थामा थियौं । अन्तिम समयमा फिलिपिन्सले २ गोल फर्कायो । हाम्रो खेल राम्रो थियो, समस्या स्कोरिङमै हो ।’ कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारीले चोटका कारण छनोट गुमाएकी थिइन् ।

साफमा सकारात्मक

साफ महिला च्याम्पियनसिपको १२ वर्षे इतिहासमा सधैं च्याम्पियन बन्ने योजना बनाएको नेपालको सपना पाँचै संस्करणमा भारतले तुहाइदियो । नेपाल चारपल्ट उपविजेता भयो र एकपल्ट सेमिफाइनलमै रोकियो । मुख्य प्रशिक्षक कुमार थापाको टिमले फेरि एकपल्ट च्याम्पियन बन्ने लक्ष्य राखेको छ । पहिलोपल्ट साफ च्याम्पियनसिप खेल्न लागेकी प्रीति भन्छिन्, ‘यो साफमा सकारात्मक छु । घरेलु मैदान हो । घरेलु दर्शक/समर्थक हुन्छन् । टिममा अनुभवी दिदीहरू थुप्रै हुनुहुन्छ । नयाँ खेलाडीहरूले धेरै राम्रो गरिरहेका छन् । कति जित्न सक्छौंभन्दा पनि हामीले गर्नैपर्छ, जित्नैपर्छ भन्ने महसुस भइरहेको छ ।’

‘यसपालिको अट्याकिङ, डिफेन्स, मिडफिल्ड सबै राम्रो छ,’ उनले भनिन्, ‘टिम–वर्क राम्रो छ । टिम संयोजन राम्रो छ । पहिला ‘स्टामिना’ मा हामी पछाडि पर्थ्यौं, यसपालि त्यस्तो हुँदैन भन्ने लाग्छ । किनभने एसियन गेम्सको तयारीमा ४० दिन ट्रेनिङ गरेका थियौं । त्यसपछि कुमार सर (प्रशिक्षक) ले टिमको टेक्निकल पक्ष धेरै राम्रो बनाउनुभएको छ । त्यसैले यो टिमले धेरै राम्रो गर्छजस्तो लाग्छ ।’ कुमार थापाले साउन १० गतेदेखि टिम सम्हालेका हुन् । उनी तीन वर्षअघि विराटनगरमा भएको पाँचौं साफ महिला च्याम्पियनसिपको छनोटमा ३० खेलाडीको सूचीसम्म पुगेकी थिइन् । त्यसपछि यू–१५, यू–१६, यू–१८, यू–१९ का अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् । यू–१५, यू–१६ र यू–१८ साफ च्याम्पियनसिपमा नेपाली टिमको कप्तानी पनि गरिन् । कोकाकोला कप (अन्तरविद्यालय) खेलिन् । काठमाडौं जिल्लाबाट उपमेयर कपमा मैदानमा उत्रिएपछि नेपाली महिला फुटबलकै सबभन्दा शक्तिशाली एपीएफ क्लबमा आबद्ध भइन् । राष्ट्रिय लिग च्याम्पियन पनि भइन् । उनले एपीएफमा पहिलो रोजाइमा कमै अवसर पाएकी छन् । जति समय मौका पाएकी छन्, त्यसमा उत्कृष्ट खेलाडी भएको उनले सावित गरेकी छन् । गोल गरेकी छन्, असिस्ट गरेकी छन् ।

‘एपीएफ च्याम्पियन टिम हो, राम्रो कुरा सिक्न पाउँछु भन्ने लाग्यो अनि गएकी हुँ,’ तत्कालीन यू–१५ टिमकी प्रशिक्षक गंगा गुरुङले बोलाएपछि सशस्त्र प्रहरी बलको टिममा पुगेकी उनले भनिन्, ‘एपीएफमा सबै स्थानमा प्रतिस्पर्धा हुन्छ । त्यसैले सबैले उत्तिकै मिहिनेत गर्छन्, उत्तिकै ‘इफोर्ट’ दिन्छन् । राम्रो भइरहेको छ ।’

चर्को प्रतिस्पर्धा

प्रीति निकै प्रतिभाशाली खेलाडी हुन् । उनलाई चोटका कारण साफ च्याम्पियनसिप गुमाएकी प्लेमेकर रेनुका नगरकोटेको स्थान लिने अवसर छ । उनलाई पहिलो रोजाइमै अवसर पाउन भने सजिलो छैन ।

‘हामीसँग मिडफिल्डमा पाँच खेलाडी (प्रीति, सरु लिम्बू, दीपा राई, दीपा शाही र इन्दिरा राई) छन् । यसमध्ये ४–४–२ को सिस्टममा सेन्टर–मिडफिल्डमा दुई जनाले खेल्नेछन्,’ मुख्य प्रशिक्षक थापा भन्छन्, ‘प्रीति युवा खेलाडी हुन् । राम्रो खेल्छिन् । जोसिली छन् । उनको लय राम्रो छ । पोस्टमा प्रहार गर्ने र स्कोरिङ राम्रो छ । स्वार्थी खेल्दिनन् । तर, उत्कृष्ट टिम खेलाउने हो, त्यहाँ जो पनि पर्न सक्छ । प्रीतिले खेल्न पाउँछिन् तर पहिलो रोजाइमै हुन्छिन् भन्ने निश्चित छैन । किनभने सेन्टर मिडफिल्डमा कडा प्रतिस्पर्धा छ । कोही अनुभवी छन्, कोही नयाँ । तर, पाँचै खेलाडी राम्रा छन् । प्रीतिले जुनबेला मौका पाउँछिन्, त्यसबेला राम्रो खेल्नेमा विश्वस्त छु ।’

समूह चरणमा भुटान र श्रीलंकाविरुद्ध हुने खेलमा पहिलो रोजाइमै अवसर पाउनेमा प्रीति पनि ढुक्क छैनन् । ‘पाउँछु/पाउँदिनँ भन्दा पनि खेल्ने अवसर पाएपछि उत्कृष्ट प्रदर्शन गर्छु भन्ने सोचेकी छु,’ उनले भनिन् । मुख्यतः पहिलो रोजाइको प्रतिस्पर्धामा उनलाई ‘सानो शरीर’ ले पछाडि पारेको देखिन्छ । भविष्यबारे बोलिन्, ‘यत्तिकै मिहिनेत गर्दै जाने हो । यहाँ पुग्छु, त्यहाँ पुग्छु भन्दा पनि आफूलाई सुधार गर्दै लग्ने हो । आफ्नो ‘बेटर भर्सन’ बन्छु भन्ने सोचिरहेकी हुन्छु । कहिलेकाहीं यताउता हुन्छ तर त्यसलाई पन्छाएर आफ्नो लक्ष्यमा केन्द्रित हुँदै मिहिनेत गर्दै जान्छु । जहाँसम्म पुग्छ, पुग्छ ।’

मेसीकी फ्यान

उनी अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीकी ‘फ्यान’ हुन् । ‘मन पर्ने खेलाडी मेसी नै हो,’ उनले भनिन्, ‘मेसीको गेम कपी गर्न सकिन्न । नेयमर, रोनाल्डोको कपी गर्न सकिन्छ । मेसीको गेम छुट्टै छ ।’ परिवारको साथमा ६–७ वर्षकै उमेरमा भाइहरूसँग खेल्दाखेल्दै फुटबलमा रमाउन थालेकी उनी सुरुमा अग्रपंक्तिमा खेल्थिन् । स्ट्राइकर थिइन् । बल कुर्ने र पाएका बेला गोल गर्नै उनको जिम्मेवारी हुन्थ्यो । मिडफिल्डर कसरी भइयो त ? भन्छिन्, ‘मलाई कुद्न मन पर्छ, बल धेरै खेल्न मन पर्छ, जुन अवसर मिडफिल्डरले पाउँछ । त्यसैका लागि मिडफिल्डर भएकी हुँ । मलाई गोल गर्न मन लाग्छ, असिस्ट गर्न मन लाग्छ, डिफेन्स गर्न पनि मन लाग्छ । त्यसैका लागि स्ट्राइकरबाट मिडफिल्डर बनेकी हुँ । उनका बुबा ट्रेकिङमा काम गर्छन् । आमा होटल चलाउँछिन् । हालै कक्षा १२ को परीक्षा दिएकी प्रीतिले भनिन्, ‘पहिला फुटसल खुबै खेलियो । खेलेबापत पैसा पनि दिन्थे । केटाहरूको टिममा म एक्लै केटी हुन्थें । दैनिक ६–७ घण्टासम्मै खेल्थें । रमाइलै हुन्थ्यो । क्लबमा आबद्ध भएपछि भने फुटबलमा पहिलाजस्तै सधैं गएकी छैन ।’ उनले आफ्नो शरीर सानो भए पनि बलियो विपक्षीविरुद्ध सटीक ट्याकल गर्न सक्ने विश्वास छ । भन्छिन्, ‘जति बलियो विपक्षी भयो भने पनि दिमाग लायो भने उसलाई भेट्छु जस्तो लाग्छ । त्यहीअनुसार ट्याकल गर्छु ।’

बच्चैदखि उनलाई बल धेरै समय खुट्टामा राख्ने, खेलाउने बानी थियो । ड्रिब्लिङ गर्न मन लाग्थ्यो, गर्थिन् पनि । त्यस्तै दखेर सिकेकी थिइन् । एक्लै बल लगेर गोल हान्न खुबै रमाइलो लाग्थ्यो । तर, क्लब र राष्ट्रिय टिममा पुगेर आफूले खेलेका भिडियो हेरेपछि टिमका लागि स्वार्थरहित खेल खेल्नुपर्ने बुझेकी छन् । भन्छिन्, ‘जिल्लाको टिम र फुटसलमा खेल्नुभन्दा राष्ट्रिय टिममा धेरै भिन्नता हुँदोरहेछ । पहिला आफैंले बल खेलाउनुपर्छ, गोल आफैंले गर्नुपर्छ भन्ने लाग्थ्यो । अहिले आफैंमा केन्द्रित र स्वार्थी भएर खेल्नु हँॅुदैन भन्ने भएको छ । टिमसँगै खेल्नुपर्छ, एक्लै खेलेर हुँदैन भन्ने महसुस भएको छ । टिमका अरू खेलाडीमाथि विश्वास गर्नुपर्छ । उनीहरूले गर्छन्, मैले पनि गर्नुपर्छ भन्ने भावना हुन्छ ।’

प्रकाशित : भाद्र १९, २०७९ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×