३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कान्तिमा मेसिन खरिदमा ‘अनियमितता’

प्रशान्त माली

काठमाडौँ — कान्ति बाल अस्पतालले ल्याब उपकरण खरिदमा अनियमितता गरेको खुलेको छ । अस्पताल प्राविधिक समितिले क्यान्सर र रक्तअल्पताका बिरामीलाई लक्ष्य गरी बनाएको स्पेसिफिकेसन विपरीत मेसिन खरिद गरिएको हो ।

कान्तिमा मेसिन खरिदमा ‘अनियमितता’

स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि ससर्त अनुदानमा ‘हेमाटोलोजी एनालाइजर’ खरिद गर्न २५ लाख रुपैयाँ छुट्याएको थियो । अस्पतालले मंसिरमा टेन्डरमार्फत रेटिक्युलोसाइट गणना गर्ने ‘हेमाटोलोजी एनालाइजर पार्ट–७’ खरिद गर्ने निर्णय गर्‍यो । आर्थिक वर्ष सकिन लाग्दा असार अन्तिमतिर मात्रै कोटेसनमार्फत टेक्नो बायोमेड कम्पनीसँग ९ लाख ९४ हजार ४ सय रुपैयाँमा मेसिन भित्र्याइयो, त्यो पनि रेटिक्युलोसाइट गणना नगर्ने पुरानो मोडलको ‘हेमाटोलोजी एनालाइजर पार्ट–५’ । यसले रक्तअल्पता र क्यान्सरका बिरामीको रगत जाँच गर्न मिल्दैन ।

अस्पतालमा अहिले रक्तअल्पता र क्यान्सरका बिरामीको रगत जाँच हातले नै गर्नुपर्ने अवस्था छ, जसका कारण एक जना बिरामीले रिपोर्ट पाउन दुई दिनसम्म कुर्नुपर्छ । ल्याब टेक्निसियनका अनुसार यस्ता बिरामी दिनमा २० देखि ३० जनासम्म आउने गरेका छन् । यसबाहेक अन्य रोगका समेत गरेर दिनमा ५ सय जना ल्याब टेस्टका लागि आउँछन् । रेटिक्युलोसाइट

मेसिन रक्तअल्पता र क्यान्सरका बिरामीको शरीरमा रगत उत्पादनको अवस्था पत्ता लगाउने मेसिन हो । अहिले खरिद गरिएको मेसिनले थाइराइड, हार्मोन, भिटामिन, कोभिड, एचआईभीलगायत मात्र जाँच गर्न मिल्छ ।

यस्तै दुईवटा मेसिन अस्पतालमा पहिल्यैदेखि उपलब्ध छन् ।

सार्वजनिक खरिद ऐन २०७८ अनुसार कोटेसनमार्फत १० लाख रुपैयाँसम्मका सामान खरिद गर्न मिल्छ । यसैमा टेकेर कमिसनका लागिमात्र मेसिन खरिद गरिएको आरोप कर्मचारीहरूको छ । उनीहरूले यसविरुद्ध संघर्ष समिति नै गठन गरेर अस्पतालका निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । अस्पतालका ल्याब टेक्निसियन शमशेर नेपालीले अस्पतालमा आर्थिकसँगै नीतिगत भ्रष्टाचार भएको आरोप लगाए । ‘मन्त्रालयले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भने, ‘हामी कर्मचारी चरणबद्ध रूपमा आन्दोलन थाल्छौं ।’ कर्मचारीले कोटेसनबाट हुने खरिदकार्य बन्द गरी टेन्डर प्रक्रियामार्फत गर्न तथा निर्देशक र लेखा प्रमुखलाई अस्पताल छाड्न माग गरेका छन् ।

मेसिन खरिद गर्दा लेखा प्रमुख श्रीराम खनाल, खरिद एकाइ प्रमुख भवनाथ खतिवडा थिए । खतिवडा अहिले स्वास्थ्य विभागमा सरुवा भएका छन् । खरिद एकाइका तत्कालीन प्रमुख खतिवडाले कर्मचारीले अनियमितता पुष्टि गर्न नसक्ने दाबी गरे । ‘कर्मचारीबीचको टकरावले गर्दा टेन्डर आह्वान हुन सकेन,’ उनले भने, ‘ल्याब शाखाकै मागअनुसार कोटेसनबाट मेसिन खरिद गरेका हौं ।’

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले भने सबै कुरा आफूलाई जानकारी नहुने प्रतिक्रिया दिए । ‘कस्तो सामान चाहिन्छ भन्ने कुरा सम्बन्धित शाखालाई थाहा हुन्छ,’ उनले भने, ‘म फागुनमा आएको हुनाले मंसिरमा गरेको निर्णयबारे थाहा भएन ।’ अस्पतालका ल्याब शाखा प्रमुख डा. मोनी सुवेदीले बेलाबेलाम मेसिन बिग्रिरहँदा बिरामीको पैसा नै फिर्ता दिनुपर्ने अवस्था आएकाले मेसिन किनिएको दाबी गरिन् ।

मेसिन खरिदमा भएको अनियमितताबारे कर्मचारीहरूले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हीराचन्द केसीलाई लिखित ध्यानाकर्षण गराएका छन् । ‘इतिहासमै भ्रष्ट देखिएका अस्पतालका निर्देशक डा. युवानिधि बसौला र लेखा प्रमुख श्रीराम दाहाललाई तत्काल अस्पतालको जिम्मेवारीबाट हटाइयोस् । उच्चस्तरीय छानबिन समिति बनाई दुईको कार्यकालमा भएका अनियमितता छानबिन गरियोस्,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले कर्मचारीका मागका विषयमा छानबिन समिति गठन गर्ने वा अन्य विकल्प अपनाउनेबारे छलफल भइरहेको बताए । ‘स्वास्थ्यमन्त्री, राज्यमन्त्री, सचिवलगायत बसेर छलफलमार्फत अगाडि बढ्छौं,’ उनले भने । कर्मचारीले अस्पतालका निर्देशकलाई भने २४ बुँदे माग प्रस्तुत गरेका छन् । मागपत्रमा भनिएको छ, ‘बिनादरबन्दी कहिले मन्त्री, सचिव त कहिले कसको मान्छे भन्दै अनेक बहानामा जागिर खुवाउने काम हुनु गलत हो । अस्पताल विकास समितिको निर्णयविपरीत स्वास्थ्य बिमा बोर्डबाट शोधभर्ना प्राप्त रकमको १० प्रतिशत भत्ता खानेहरू सार्वजनिक गरी रकम फिर्ता गरियोस् ।’

कोभिडपछि अस्पतालमा सरुवा भएर आएका निर्देशक डा. बसौला, लेखा प्रमुख श्रीराम दाहालले कोभिडका बेला हाजिर नभएका कर्मचारीलाई कोभिड भत्ता खुवाएको र आफूले पनि खाएको भत्ता असुलउपर गर्न कर्मचारीको माग छ । असार महिनामा मात्रै गरिएको लगभग ३ करोड रुपैयाँभन्दा बढीको मनोमानी खरिदको छानबिन गरी अनियमितता गर्नेलाई कारबाही गर्न र अस्पतालका बैंक खाताहरूको विवरण सार्वजनिक गर्न पनि मागपत्रमा भनिएको छ ।

प्रकाशित : भाद्र १९, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?