जोखना हेर्दै सिटौला 

समानुपातिकमा मन छैन, गठबन्धनमा भर छैन

कुलचन्द्र न्यौपाने

काठमाडौँ — ०७४ को निर्वाचनमा समानुपातिकतर्फको सूचीमा एक नम्बरमा नाम राख्दा नमानेर चुनावी मैदानमा होमिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई यसपटक के गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनको प्रष्ट जवाफ थियो, ‘म समानुपातिकमा बस्दिनँ ।’ प्रत्यक्षतर्फ नै प्रतिस्पर्धा गर्न चाहनु भएको हो ? भन्ने पुरक प्रश्नमा भने उनले प्रष्ट जवाफ दिएनन् । तर, उनको अभिव्यक्ति र आफ्नो निर्वाचन क्षेत्रमा बढाइरहेको गतिविधिले भने चुनावी मैदानबाट पछि नहट्ने प्रष्ट संकेत गर्छ ।

समानुपातिकमा मन छैन, गठबन्धनमा भर छैन

जिल्लाबाट प्रत्यक्षमा नै उनको नाम पनि सिफारिस भएको छ । औपचारिक रुपमा घोषणा गर्नुअघि सिटौलाले सत्ता गठबन्धनको चुनावी तालमेलको निर्णय, एमाले र राप्रपाबीचको सम्भावित समीकरणलगायत राजनीतिक दृश्यलाई नियालिरहेका छन् ।

‘चुनावी क्षेत्र छाड्दा भागेको भन्ठान्छन् । कि त म सक्रिय राजनीतिबाटै अलग हुन्छु । होइन भने चुनावी क्षेत्र छाड्ने कुरा हुन्न’ गृहजिल्लामा आफू निकट नेताहरूसँग भने उनले यसो भन्दै आएका छन् ।

संविधान मस्यौदा समितिका संयोजकसमेत रहेका सिटौला प्रत्यक्षतर्फ चुनाव लडेका र पार्टीको केन्द्रीय तहको नेतृत्वमा रहेको नेता सिद्धान्ततः समानुपातिकमा बस्न नहुनेमा जोड दिन्छन् ।

‘चुनाव लड्ने क्षमता नभएको, शारीरिक रुपमा अशक्त र संसदमा ल्याउन अन्त्यन्तै जरुरी भएका व्यक्तिलाई समानुपातिकमा राख्ने हो,’ उनले भने, ‘हामी जस्ता नेतृत्व तहमा रहेका व्यक्ति समानुपातिकमा बस्ने होइन, अघिल्लो पटक त्यही भएर चुनावी प्रतिस्पर्धामा गएको हुँ ।’

चतुर राजनीतिज्ञका रुपमा चिनिने सिटौलालाई चुनाव जिते पनि प्रधानमन्त्री बन्छु भन्ने विश्वास त छैन । तर, उनी निकट नेताहरूका अनुसार मौका परे राष्ट्रपति हुन सकिन्छ कि भन्ने आश उनमा जीवित छ । त्यसका लागि पनि सक्रिय राजनीति नत्याग्ने उनको चाहना हो । कुन व्यक्तिलाई अघि सार्दा राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक समीकरणमा लाभ पुग्छ भन्ने हिसाब गरेरै नेतृत्वले उम्मेदवार छनोट गर्छन् ।

‘गिरिजाप्रसाद कोइरालाको छत्रछायामा राजनीतिक उचाई बढाएका सिटौलाले नेतृत्वको त्यस्तो चरित्र नबुझ्नै कुरै भएन,’ उनी निकट एक नेताले भने,‘राष्ट्रपति बन्न नसक्दा पनि सरकारमा गएर राष्ट्रिय राजनीतिको मियो बन्ने आकांक्षा अझै मरेको छैन ।’

संसदीय राजनीतिमा सिटौलाको प्रवेश निरन्तर छैन । ०४८ सालदेखि यता एक उपनिर्वाचनसहित उनले ७ वटा चुनावमा प्रतिस्पर्धा गरेका छन् । जसमा तीनवटामा मात्रै सफलता पाएका छन । ०४८, ०५१, ०६४ र ०७४ मा उनी पराजित भए । ०४८ सालमा सिटौलालाई चुनाव हराएर सांसद बनेका एमालेका द्रोणप्रसाद आचार्यको निधनपछि ०५० मा भएको उपनिर्वाचनमा पहिलोपल्ट उनले चुनाव जितेका हुन । त्यसबेलादेखि नै सिटौलाको संसदीय राजनीतिक यात्रा सुरु भएको हो । तर राष्ट्रिय राजनीतिमा उनको उचाइ भने ०६२/०६३ को जनआन्दोलपछि माओवादीलाई शान्ति प्रक्रियामा प्रवेश गराउने भूमिकाबाट सुरु भएको हो ।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टीभित्र तेस्रो समूहको नेतृत्व गर्दै आएका सिटौला १४ औं महाधिवेशनमा आफू केन्द्रीय सदस्यमा सीमित भएर युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेका थिए । सफलता नमिलेपछि राष्ट्रिय राजनीतिको दृश्यमै नदेखिएका सिटौला पछिल्लोपटक सत्ता गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँडको कार्यदल संयोजक बनेका छन् ।

यसपटकको निर्वाचन पनि उनका लागि जोखिममुक्त भने देखिँदैन । सत्ता गठबन्धन हुँदा केही हजार मत जोडिने भए पनि एमाले र राप्रपाबीचको सम्भावित समीकरणले उनलाई तर्साइरहेको छ । ०७४ मा झापा जिल्लामा एमाले र राजेन्द्र लिङ्देनबीच समीकरण बनेको थियो । त्यतिबेला साढे १३ हजार मतान्तरबाट हारेका सिटौलालाई यसपटक राप्रपा अध्यक्ष नै भएपछि झनै चुनौती थपिएको छ । झापाका मुख्य राजनीतिक शक्ति नै एमाले, कांग्रेस र राप्रपा हुन् । माओवादीसहित अन्य दलको प्रभाव निकै कम छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकक दलले ०७९ को स्थानीय तहमा पाएको मत जम्माजम्मी यस क्षेत्रमा ६ हजार जति छ । त्यति जोडिँदा पनि एमाले र राप्रपाले पाएको मत धेरै बढी छ ।

लिङ्देनलाई जिताउन पूर्वराजा ज्ञानेन्द्रसमेत सक्रिय हुनसक्ने भय सिटौलामा देखिन्छ । दमकलाई पूर्वराजा ज्ञानेन्द्रको दोस्रो घरकै रुपमा लिइन्छ, जहाँ उनको ठूलो चियाबगान छ । त्यही बगानमा बस्ने र पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका स्थानीय नेताहरूसँग भेटघाट गर्ने गर्छन् । हिमानी ट्रष्टको गतिविधि पनि त्यहीँबाट सञ्चालन हुन्छ । गणतन्त्र घोषणापछि नै पूर्वराजा ज्ञानेन्द्रले आफूमाथि ‘इगो’ राख्ने गरेको बुझाइ सिटौलामा छ । उनी राजगद्दीबाट बिदाइ गर्ने क्रममा गृहमन्त्रीको हैसियतमा सिटौला नै त्यसको जानकारी गराउन दरबार पुगेका थिए ।

एमाले र राप्रपाबीच समीकरण बन्न सकेन भने सिटौलाका लागि केही सहज हुने देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयअघिदेखि नै उक्त क्षेत्रबाट व्यवसायी दुर्गा प्रसाईलाई उम्मेदवार बनाउने बचन दिँदै आएका छन् । उक्त कुरा प्रसाई स्वयंले सिटौलालाई केही महिनाअघि सुनाएको कांग्रेस नेताहरू बताउँछन् । सिटौला र प्रसाईबीच मामा भान्जाको सम्बन्ध समेत छ । ‘मामा मलाई हजुर बा (ओली)ले तपाईँकै क्षेत्रबाट चुनाव लड्न भन्नु भएको छ । मैले यो कुराको जानकारी गराएँ,’ भनेर प्रसाईले टेलिफोनबाटै सिटौलालाई जानकारी गराएका थिए ।

त्यस समयदेखि नै प्रसाई झापा–३ लाई नै आफ्नो निर्वाचन क्षेत्र मानेर तयारी गरिरहेका छन् । बिर्तामोडमा सञ्चालन गर्दै आएको बीएन्डसी अस्पताललाई मेडिकल कलेज बनाउन खोजेका प्रसाईले मतदाता आकर्षित गर्न ठूलो आर्थिक लगानी समेत गरिरहेको कांग्रेस नेताहरू दाबी गर्छन् । एमालेका प्रतिबद्ध मतदाताभन्दा चुनावमा निर्णायक हुने मतप्रति उनले लक्षित गरेर काम गरिरहेका छन् । गत असारमा दुबइका राजकुमार शेख महोम्मद माक्तुम जुमा अल माक्तुमलाई आफ्नै निर्वाचन क्षेत्रमा लैजानुको उद्देश्य पनि त्यहाँका मुस्लिम समुदायलाई आकर्षित गर्ने प्रसाईको मुख्य योजना रहेको चर्चा हुने गरेको छ । यस क्षेत्रमा मात्रै करिब ५ हजार मत मुश्लिम समुदायको छ ।

यस्तो छ वर्तमान अंकगणित

झापा–३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन् । जसमध्ये ०७९ को स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिका एमाले, हल्दीबारी गाउँपालिका राप्रपा र कचनकवल गाउँपालिका कांग्रेसले जितेको छ । यसअघिको स्थानीय तहमा हल्दीबारी, कचनकवल गाउँपालिका राप्रपाले र बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो । गठबन्धनको बलमा कांग्रेसको स्थितिमा केही सुधार देखिन्छ ।

तर, कचनकवल जित्नुका पछि एमाले समेतको भोट जोडिएको छ । स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई हराउन सत्ता गठबन्धनसँग एमाले समेत मिलेको थियो । कांग्रेस नेता सिटौलमा कचनकवलमा राप्रपाका विरुद्ध सबै दल एकजुट भएका थिए ।

०७९ को स्थानीय तहमा कांग्रेसले पाएको कुल मत २६ हजार ५ सय ९९ छ । अघिल्लो स्थानीय तहमा कांग्रेसले पाएको मत २० हजार २२ थियो । यसपटक कांग्रेसको करिब ६ हजार मत बढेको देखिन्छ । कतिपय वडामा गठबन्धनको मत कांग्रेसको मतमा जोडिएको छ भने केही वडामा कांग्रेसको मत पनि माओवादीतिर गएको छ ।

कांग्रेसले भद्रपुर नगरपालिकाको १,४ र ७ मा उम्मेदवारी दिएको थिएन भने माओवादीले पनि २, ३, ५, ६ र ८ वडामा उम्मेदवारी नदिई कांग्रेसलाई सघाएको थियो ।

यसै निर्वाचन क्षेत्रमा एमालेको मत २१ हजार ४ सय ६ छ । जसमा कचनकवल गाउँपालिकामा अध्यक्षको उम्मेदवार नभएकाले ७ वटामध्ये उसले दिएका ५ वडाको अध्यक्षको मत यसमा समावेश छ । दुई वटा वडामा उम्मेदवार नभएकाले त्यहाँको मत यसमा जोडिएको छैन । यो समेतगर्दा करिब डेढ हजार मत बढ्ने देखिन्छ । राप्रपाले २३ हजार ४ सय १६ मत ल्याएको छ । यसले ल्याएको मत एकल शक्तिमा आधारित छ ।

भद्रपुर नगरपालिकाको १ देखि ८ वटा वडा र विर्तामोड नगरपालिकाको १० नम्बर वडा यसै क्षेत्रमा पर्छ । गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको ठूलो प्रभाव यहाँ देखिँदैन । त्यसैकारण धेरैजसो स्थानमा सत्ता गठबन्धन कांग्रेसतिरै थियो । कांग्रेसबाहेक गठबन्धनमा रहेका अन्य दलको मत जोड्दा करिब ५ हजारको हाराहारीमा रहेको देखिन्छ । एमाले र राप्रपाबीचको समीकरण भएमा सिटौला जोखिमा पर्ने देखिन्छ । एमाले र राप्रपाको मत सत्ता गठबन्धनले पाएको भन्दा करिव १३ हजार बढी देखिन्छ ।

०७४ मा यस क्षेत्रको कुल मतदाता संख्या १ लाख १४ हजार ८६ थियो । यसपटक केही हजार नयाँ मतदाता थपिन्छन् । त्यतिबेला लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएर सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३१ हजार १ सय ७१ मत ल्याएका थिए । सिटौंला १३ हजार ४ सय ४३ मतले पछि परेका थिए । एमाले विभाजनको असर समेत झापामा खासै परेको छैन् । सत्ता गठबन्धन एकठाउँमा रहँदा पनि सिटौला जोखिम मुक्त देखिँदैनन् ।

प्रकाशित : भाद्र १८, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?