२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८
आमनिर्वाचन २०७९

डडेलधुरामा कांग्रेस एक्लै लड्ला ?

२०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निरन्तर चुनाव जितेका प्रधानमन्त्री देउवाका लागि डडेलधुराबाट निर्वाचित हुनु आफैँमा एउटा तथ्यजस्तो बनिसकेको छ । यसपटक पार्टीभित्र नेताहरूलाई एक्लै जितेर देखाउन चुनौती दिँदै गठबन्धनको वकालत गरेका देउवा डडेलधुरामा एक्लै लड्लान् वा गठबन्धनकै भर पर्लान् ?
प्रकाश धौलाकोटी

काठमाडौँ — गत २७ असारमा बसेको कांग्रेसको बैठकमा गठबन्धनको औचित्यबारे प्रश्न उठ्दा सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘गठबन्धन नगरौँ भन्ने साथीहरूको कुरा पनि ठीक छ । तर, गठबन्धनबिनै एक्लै जितेर देखाउनुपर्छ ।’ गठबन्धनको पक्ष र विपक्षमा चर्काचर्की नै भए पनि बैठकले सर्वसम्मत गठबन्धन गर्ने निर्णय गर्‍यो ।

डडेलधुरामा कांग्रेस एक्लै लड्ला ?

त्यसपछि कांग्रेससहित सत्ता गठबन्धन दलले चुनावी तालमेल गर्न सहमति मात्रै गरेका छैनन्, १६५ वटै सिटमा भागबण्डा गरेर उम्मेदवार दिने तयारी छ । तर, प्रधानमन्त्री देउवाकै गृहजिल्लामा भने कांग्रेसले गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । डडेलधुरा कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको, र गठबन्धन दलसँग तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै सभापति देउवालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

पार्टीको बैठकमै नेताहरूलाई गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती दिएका देउवाले अरुका लागि गठबन्धन गराएर आफू एक्लै चुनाव जितेर देखाउन खोजेका हुन् ? वा गठबन्धनको सुत्रधार बनेका उनले आफ्नै जिल्लामा गठबन्धनविरुद्ध निर्णय गराएर के सन्देश दिन खोजिरहेका छन् ? गठबन्धन दल र कांग्रेसवृत्तमा चर्चा चलेको छ ।

कांग्रेस डडेलधुराका उपसभापति डिल्लीराज जोशीले जिल्लाको परिवेश अनुसार अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरिएको बताए । ‘हामीले स्थानीय चुनावमा पनि एक्लै लड्यौं, एक्लै बहुमत सिट जितेका छौं,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि हामी एक्लै जित्न सक्छौं भन्ने हाम्रो विश्लेषण हो, त्यहीअनुसार गठबन्धन दलसँगै पनि मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णय भएको हो ।’

स्थानीय चुनावमा पाँच दलबीच चुनावी तालमेलको निर्णय हुँदा कांग्रेसमा अधिकांश ठाउँबाट विरोधको स्वर सुनिएको थियो । तर, अहिले गठबन्धन दलमा धमाधम उम्मेदवार सिफारिस हुँदासम्म कांग्रेसमा कसैले पनि गठबन्धन नगरौं भन्न सकेको छैन । दलहरूबीच एक्ला–एक्लै प्रतिस्पर्धा नहुने र कांग्रेसले गठबन्धन नगरे, माओवादी केन्द्र लगायत दलहरूले एमालेसँग गठबन्धन गर्न सक्ने सम्भावनाका बीच कांग्रेस केन्द्रीय समितिको निर्णयलाई अपवादबाहेक जिल्ला र क्षेत्रीय कार्यसमितिहरूले स्वागत गरेका छन् ।

गठबन्धन हुँदा जित्न सजिलो हुने आशाले विगतमा गठबन्धनको विरुद्ध बोलेका कांग्रेस नेताहरूसमेत अहिले मौन छन् । कांग्रेसमा मात्रै होइन, सत्ता गठबन्धनका पाँच दलमै अहिलेसम्म कसैले पनि आफ्नो क्षेत्रमा एक्लै चुनाव लड्छु भन्न सकेका छैनन्, देउवाबाहेक ।

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले सभापति देउवाको गृहजिल्लामा भएको निर्णयबारे आफू अचम्मित भएको सुनाए । ‘हामीले गठबन्धन नगरौं भन्दा गर्नैपर्छ भनेर आदेश गर्नुहुन्छ, फेरि उहाँको आफ्नै जिल्लामा चाहिँ गठबन्धन नगर्ने निर्णय भएको छ,’ उनी भन्छन्, ‘वास्तवमा देशभर हुनुपर्ने त त्यही हो । तर केन्द्रीय समितिले निर्णय गरिसकेको छ, म त त्यही निर्णय कार्यान्वयन गर्न चुनावी अभियानमा म्याग्दी आइपुगेको छु ।’

पटक–पटक चुनाव जितिसकेका, तर जनताको आसा अनुरुप काम गर्न नसकेका नेताहरूले गठबन्धनलाई यसपटकको चुनावमा जितको 'बैसाखी' ठानेका छन् । आफ्नै क्षेत्रमा जनलहर नहुँदा गठबन्धनले नै नेताहरूलाई चुनाव जित्न आत्मविश्वास दिलाइरहेको छ । जवकि स्थानीय चुनावपछि एकातिर देशभर स्वतन्त्र उम्मेदवारको लहर छ, भने अर्कोतिर पार्टीभित्रै बागी, विद्रोही र युवा पुस्ताको हस्तक्षेप बढ्दो क्रममा देखिएको छ । त्यसमाथि पटक–पटक अवसर लिएर पनि मुलुकको मुहार फेर्न नसक्ने पूर्वप्रधानमन्त्री हराउने अभियान त छँदैछ ।

त्यो अभियान डडेलधुरा पनि पुगिसकेको छ । पाँच वर्षअघि टेलिभिजन कार्यक्रममा देउवालाई प्रश्न गर्दा गाली खाएका युवा सागर ढकालले अहिले देउवासँगै चुनाव लड्न डडेलधुराबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, डडेलधुरा कांग्रेसले भने देउवालाई उम्मेदवार बनाउँदा गठबन्धन गर्नुपर्ने आवश्यकता महसुस गरेको छैन ।

जिल्लामा सात वटा स्थानीय तह छन् । स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन नगरेरै पाँच स्थानीय तह जितेको छ भने अन्य दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको छ । आलिताल गाउँपालिकाको अध्यक्षसमेत रहेका उपसभापति जोशीले भने, ‘हाम्रो संगठन मजबुद छ, हाम्रो पक्षमा जनमत छ, त्यसकारण हामीले गठबन्धनको आवश्कयता देखेनौँ ।’ तर, राष्ट्रियस्तरको गठबन्धनमा भने आफूहरूको कुनै विरोध नरहेको उनले बताए ।

नेताहरूका अनुसार डडेलधुरामा गठबन्धन नगर्ने निर्णयकापछि प्रदेशसभा सदस्यतर्फका दुवै सिट कांग्रेसमै राख्ने रणनीति जोडिएको छ ।

जिल्ला कार्यसमितिले प्रदेशसभा (क)मा जिल्ला सभापति भीमबहादुर सावद र प्रदेशसभा (ख) मा गोविन्दराज बोहराको नाम सिफारिस गरेको छ । सावद परशुराम नगरपालिकाका पूर्वमेयर हुन् भने बोहरा हाल सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री छन् ।

‘सभापतिजी काठमाडौं नै बस्नुहुन्छ, गाउँमा हुर्किएको नयाँ पुस्तासँग उहाँको आत्मीयता छैन,’ एक नेताले भने, ‘सबै सिटमा कांग्रेसकै उम्मेदवार भए जित सजिलो हुने, र जिल्लामा पार्टीको पक्षमा जनमत सिर्जना हुने बुझाइ हो ।’ त्यसो त डडेलधुरासँगैको अर्को जिल्ला डोटीले पनि गठबन्धनको आवश्यकता नरहेको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरेको छ । डोटीमा भने गठबन्धन गर्दा त्यो सिट कसले लिने भन्ने विषयमा शक्ति संघर्ष छ ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न चाहान्छन् । तर, यो क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका सांसद् प्रेमबहादुर आलेको पनि दाबी छ । स्थानीय चुनावमा समेत गठबन्धन नगरी ९ मध्ये ७ पालिका जितेको कांग्रेसले गठबन्धन गरेर आलेलाई सघाउनुभन्दा गठबन्धन नै नगर्नु उचित ठानेको छ ।

कांग्रेस प्रवक्ता प्रकाशसरण महत भने पार्टीले नै गठबन्धन गर्ने निर्णय गरिसकेकाले अहिले जिल्ला वा क्षेत्रले गर्ने निर्णयले अर्थ नराख्ने दाबी गर्छन् । ‘केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय भइसकेको छ । त्यही अनुसार १६५ वटै क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न भनिएको हो,’ उनले भने, ‘अहिले उम्मेदवार सिफारिस हुँदैमा १६५ सिटमै कांग्रेसकै उम्मेदवार हुन्छन् भन्ने हुदैन । गठबन्धनमा भागबण्डा हुँदा केन्द्रबाट निर्णय हुन्छ, पार्टीले गरेको निर्णय तल्ला तहले नमान्ने भन्ने हुँदैन ।’

उनले डडेलधुरामा समेत सभापतिले देउवाले निर्देशन दिएर वा आफ्नो रुचीबमोजिम त्यस्तो निर्णय नगराएको दाबी गरे । ‘जिल्लाले आफ्नो अवस्थाअनुसार निर्णय गरेको हो, त्यसमा सभापतिजीको कुनै हस्तक्षेप हुने कुरा भएन,’ उनले भने, ‘डडेलधुरामा कांग्रेस बलियो छ, कांग्रेसले संघ र दुवै प्रदेश क्षेत्रमा दाबी गरेको छ, भोलि त्यसमा गठबन्धनका अन्य दलले सघाउने भनेर निर्णय गर्न पनि सक्छन् । माओवादी लगायत दलले दाबी नै नगर्न पनि सक्छन् । त्यसकारण अहिले जिल्लाले तालमेल नगर्ने भन्ने निर्णय गर्दैमा त्यो अन्तिम हुने होइन, त्यसबारे केन्द्रबाटै निर्णय हुन्छ ।’

देउवाकै पक्षमा चुनावी गणित

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट ०४८ सालपछि देउवाले नै निरन्तर चुनाव जित्दै आएका छन् । देउवाले यहाँबाट छ पटक चुनाव जित्दा पाँच पटक त प्रधानमन्त्री नै भए । पछिल्ला निर्वाचनमा सभापति देउवाले आफ्नो उम्मेदवारीबारे आफैँ खटिएर प्रचार प्रसारसमेत गर्दैनन् । तर, चुनावी नतिजा भने उनकै पक्षमा आउने गर्छ । २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा समेत निरन्तर चुनाव जितेका देउवाका लागि डडेलधुराबाट निर्वाचित हुनु आफैँमा एउटा तथ्यजस्तो बनिसकेको छ ।

देउवालाई पटकपटक जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको डडेलधुरामा अझै पनि उनकै पक्षमा जनमत देखिन्छ । विगत र वर्तमानको चुनावी गणित हेर्दा फेरि पनि देउवा नै बलियो पोजिसनमा छन् ।

पछिल्ला चुनावी गणितमा डडेलधुरामा कांग्रेसपछि माओवादी केन्द्र नै दोस्रो शक्ति हो । यसपटक माओवादी केन्द्रले नै देउवालाई सघाए झन् सहज परिस्थिति बन्नेछ ।

०६४ पछि डडेलधुरामा देउवासँग खगराज भट्ट निरन्तर प्रतिस्पर्धामा छन् । भट्टले ०७४ मा एमालेसँग तालमेल हुँदा सबैभन्दा धेरै भोट २१ हजार ४९८ ल्याए । तर, त्यति हुँदा पनि देउवाले ६ हजार ९४८ मतान्तरले जिते । देउवाले २८ हजार ४४६ मत ल्याएका थिए । देउवाले भट्टलाई ०७० मा ११ हजार ५८८ र ०६४ मा एक हजार ३६२ मतान्तरले चुनाव जितेका थिए ।

गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धन नगरेरै ७ मध्ये पाँच वटा स्थानीय तह जित्यो । बाँकी दुई वटा पनि माओवादी केन्द्रले जित्यो । एमालेले कुनै पनि पालिका जितेको छैन ।

स्थानीय तह निर्वाचनमा एमालेले देउवाको शक्ति क्षयीकरणको प्रयास गर्‍यो । देउवासँग करिब २५ वर्षसम्म सँगै राजनीतिक सहयात्रा गरेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निकालिए । उनले बीपी कांग्रेसको चुनाव चिह्नबाट एमालेसँग तालमेल गरेर जिल्लैभर उम्मेदवारी थिए । जसले गर्दा चुनावमा देउवा आफैँ डडेलधुरा पुगेर चार दिनसम्म बस्न बाध्य भए ।

देउवाको जिल्लाको संगठन भत्काए पनि मतदातामा भने त्यसले खासै असर गरेन । वडाध्यक्षको मतको आधारमा डडेलधुरामा कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ छ । जिल्लामा तेस्रो शक्ति रहेको नेकपा एमालेको मत १० हजार ४४९ मात्रै छ । एमाले विभाजित भएर गठित नेकपा एकीकृत समाजवादीको ५ हजार ४१ मत पाएको छ भने बीपी कांग्रेसले ३ हजार ६०४ मत पाएको छ ।

यसआधारमा डडेलधुरामा कांग्रेस एक्लै लडेर बाँकी सबै गठबन्धन गरेको अवस्थामा बाहेक देउवालाई कुनै जोखिम छैन । यदि माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारी नदिएर देउवालाई नै सघाए भने देउवाको पक्षमा ३९ हजार ८१० मत देखिन्छ ।

प्रकाशित : भाद्र १८, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?