२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतीय सेनाध्यक्षका तीन एजेन्डा

जगदीश्वर पाण्डे

काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न आइतबार काठमाडौं ओर्लँदै  छन् । पाँचदिने भ्रमणमा उनले भारत सरकारले अघि ल्याएको अग्निपथ कार्यक्रम, सैन्य सहयोग र द्विपक्षीय सैन्य सम्बन्धका मुख्य तीन एजेन्डामा संवाद गर्ने स्रोतले जनाएको छ । 

भारतीय सेनाध्यक्षका तीन एजेन्डा

नरेन्द्र मोदी सरकारले भारतीय सेनामा अघि सारेको अग्निपथ कार्यक्रम नेपालले स्थगन गरेको छ । नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित भएको हो । त्यस विषयमा थप बुझ्ने भन्दै सरकारले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पनि पत्राचार गरिरहेको छ ।

सुरक्षा मामिला जानकार तथा अवकाशप्राप्त उपरथी पूर्ण सिलवाल नेपाल र भारतबीच अग्निपथ कार्यक्रमको विषय चलिरहेकाले यो भ्रमणमा त्यसबारे चर्चा हुनु स्वाभाविक मान्छन् । ‘नेपाल सरकारले निर्णय गर्ने भए पनि त्यस विषयमा भारतीय पक्षबाट जानकारी दिनेछन् । सेना–सेना बीचभन्दा पनि दुई मुलुकका सरकारबीचको विषय हो यो,’ उनले भने, ‘किनकि गोर्खा भर्तीमा सेनाले पठाउने होइन, नेपाली नागरिक आफैं जाने हुन् । त्यसमा नेपाली सरकारले निर्णय गर्ने हो ।’

भारतले सन् १९४७ को त्रिपक्षीय (नेपाल–भारत–बेलायत) सन्धिका आधारमा गोर्खा भर्ती गर्दै आइरहेको छ । दुई वर्षयता भने भारतीय सेनाले गोर्खा रेजिमेन्टमा भर्ना लिएको छैन । भारतीय सेनामा करिब डेढ लाख सैनिक खाली भएकाले छिटोभन्दा छिटो भर्ना लिन चाहेको सिलवालको बुझाइ छ । भारतीय पक्षले अग्निपथ कार्यक्रममा गोर्खा भर्ती गर्ने भने पनि नेपाल सरकारले राजनीतिक दलबीच छलफल गरेर मात्र प्रतिक्रिया दिने भारतीय पक्षलाई बताइसकेको छ ।

भारतीय सेनाध्यक्षको भ्रमण क्रममा दुई मुलुकका सेनाबीचको सम्बन्धलाई थप बलियो बनाउने अर्को एजेन्डा छ । नेपाली सेनाका अनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ । नेपालका प्रधानसेनापति प्रभुराम शर्मा पनि अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका थिए । यो परम्पराले पनि दुई देशबीचको सैनिक कूटनीति महत्त्वपूर्ण रहँदै आएको छ ।

अवकाशप्राप्त उपरथी सिलवाल सैनिक कूटनीति पनि कूटनीतिको एउटा महत्त्वपूर्ण हाँगा रहेको बताउँछन् । ‘यो भ्रमण पनि त्यसैको एउटा पाटो हो,’ उनले भने, ‘नेपाल र भारतको सम्बन्धलाई ट्र्याकमा ल्याउन बेला–बेलामा सैनिक कूटनीतिले पनि ब्रेक–थ्रुको काम गरेको छ ।’

अर्का सुरक्षा मामिला जानकार तथा अवकाशप्राप्त उपरथी विनोज बस्न्यात यो भ्रमणमा परिवर्तित भूराजनीतिक अवस्था र यसलाई लिएर दुवै मुलुकमा आउने चुनौतीबारे छलफल हुन सक्ने बताउँछन् । ‘किनकि आपराधिक गतिविधि नियन्त्रण, आपसी सहकार्य र नेपाली सेनाको क्षमता बढाउने सम्बन्धमा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने, ‘यो भ्रमणले दुई सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ ।’ सैनिक प्रवक्ता नारायण सिलवाल यो भ्रमण दुई देशको विशिष्ट निकट सम्बन्धको निरन्तरता रहेको बताउँछन् । ‘यसले दुई मुलुकबीचको सैनिक सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ,’ उनले भने ।

सेनाध्यक्ष पाण्डेको यो पहिलो नेपाल भ्रमण हो । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मनार्थ महारथी दर्जा लिएपछि उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वाटर पोखराको भ्रमण गर्नेछन् ।

प्रकाशित : भाद्र १८, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?