कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

के डेंगुले महामारीको रूप लिएको हो? 

७२ जिल्लामा ४ हजार १०४ जनामा डेंगु
बुनु थारु

काठमाडौँ — डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ गतेसम्मको तथ्यांकअनुसार पुषदेखि हालसम्म ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी १ जनाको मृत्यु भएको छ । 

के डेंगुले महामारीको रूप लिएको हो? 

संक्रमण बढेसँगै यसले महामारीको रुप लिने त होइन भन्ने धेरैमा चासो बढ्दै गएको छ । डेंगु पुष्टि हुने क्रमसँगै अस्पतालमा बिरामी हुनेको संख्यामा पनि वृद्धि आएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले डेंगुका बिरामी बढेसँगै डेंगु क्लिनिक सुरु गरेको छ । हाल दैनिक कम्तीमा १७० भन्दा बढी बिरामी लक्षणका साथ क्लीनिकमा आइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जनाए ।

उनका अनुसार ४ जना आइसियू तथा २७ जना वार्डमा डेंगु संक्रमितको उपचार भइरहेको छ । साथै इमरजेन्सीमा भिड बढेसँगै १५ बेडको आइसियूमा ५ वटा बेड थपी २० वटा बेडमा बिरामी भर्ना भएको उनले बताए । शुक्रराज अस्पतालमा मात्र नभइ डेंगुको लक्षण लिएर जाँच गर्न आउने तथा भर्ना हुने बिरामी देशभर बढिरहेको देख्न सकिन्छ ।

डेंगु क्लिनिकमा आउने अधिकांश बिरामीको परिवार नै संक्रमित देखिएको बताउँछन् अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनले घर–घरमा डेंगुको बिरामी रहेको बताउँदै यो व्यापक रुपमा फैलिरहेको बताए । डा. पुन भन्छन्–‘डेंगुको चेन ब्रेक गर्नलाई लामखुट्टेको नै चेन ब्रेक हुनुपर्छ । लामखुट्टेको नियन्त्रण अझै गरिएन भने दसैं तिहार पछाडिसम्म पनि बढिरहन सक्छ । यसमा सरकारले मात्र गरेर हुँदैन । स्थानीय तहमा युवा क्लब, स्वास्थ्य स्व्यंसेविकाहरु परिचालन गरी रोकथामसम्बन्धी अभियानहरु सञ्चालन गर्नुपर्छ।’

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै केसहरु पुष्टि भएका थिए । सबैभन्दा धेरै २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो जसले महामारीको रुप लिएको थियो । त्यतिबेला ६८ फैलिएको डेंगुबाट ५ जनाको मृत्यु भएको थियो । हालको बढ्दो अवस्था हेर्दा पुन: २०१९ कै अवस्था नदोहोरिएला भन्न सकिन्न । के अहिले डेंगुले महामारीको रुप लिएको हो त?

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालको अवस्थालाई महामारी नै हो भनेर भन्न नमिल्ने बताए । उनी भन्छन्– ‘अहिलेसम्म कुनै पनि देशमा डेंगुको सेरोफेरोमा यस्तो अवस्थामा महामारी भन्ने बारेमा स्पष्ट अवधारणा छैन । कसैले सिजनलाई त कसैले वार्षिक समिक्षालाई आधार मानेका छन् । पहिले पनि देखिएको र यो वर्ष पनि देखियो भन्ने त्यसलाई महामारी भन्न मिल्दैन भनेको छ । साथै देखिनुपर्ने सिजनमा नदेखिएर अरु कुनै सिजनमा देखियो भने थोरै केश भएपनि त्यसलाई महामारी भन्ने भनिन्छ ।’

उनले डेंगुको ५ वर्षे ट्रेन्ड हेर्दा अहिलेको देशभरको केश हेर्दा ‘आउटब्रेक’ भन्न नमिल्ने बताए । ‘डेंगुको महामारी नै फैलियो भन्दा त्यति धेरै संख्यामा केश देखिएका छैनन् । जिल्लाअनुसार पनि त्यस्तो छैन। त्यसैले महामारी भन्न सक्ने अवस्थामा छैनौं । ४ हजार केश देखिएका छन् । यो भन्दा धेरै होलान् कुनै परीक्षणमा आएका छैनन् ।निगरानी गरिरहेका छौं,’ उनले भने । उनकाअनुसार अझै २ महिना डेंगुको संक्रमण चुलिन सक्ने सम्भावना रहेको छ । डा. दाहाल भन्छन्– ‘दुई वर्षको तथ्यांक विश्लेषण गर्ने हो भने सबैभन्दा सेप्टेम्बर र अक्टुबरमा बढी केस देखिन्छ । नोभेम्बरमा बिस्तारै घट्दो छ । त्यसैले अझै बढ्न सक्ने सम्भावना छ। मनसुन छिटो भएकालेपनि केस बढेको देखिन्छ । २ महिना अझै डेंगुको जोखिममै छौं ।’

उनले जिल्लामा डेंगुको केसका आधारमा किटहरु उपलब्ध गराइरहेको बताए । ‘पालिका र प्रदेशले पनि आफैं किनिरहेका छन् । हामीले पनि उपलब्ध गराएका छौं । हामीले पालिकाहरुपनि पनि बजेट गएको छ,’ उनले भने । ईडीसीडीका अनुसार डेंगुको सेरोटाइप (प्रकार) अध्ययन गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा विश्व स्वास्थ्य संगठनसँग छलफल भइरहेको छ र छिट्टै नै अध्ययन सुरु गरिनेछ । विज्ञहरुका अनुसार डेंगुका ४ वटा सेरोटाइप हुन्छन् । एउटै ठाउँमा पटक–पटक डेंगु देखिए त्यसको लक्षण कडा भएर घातक हुनसक्ने र अस्पताल भर्ना हुने जोखिम पनि बढ्छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले डेंगु रोकथाम तथा नियन्त्रणकालागि हिजोबाट सबै वडाहरु पत्राचार गरिएको र अभियान सञ्चालनकालागि अभिमुखीकरण तालिम दिइसकेको बताए । ‘केस बढेसँगै हिजैबाट केही वडाहरुले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सुरु गरिसके । अभियान निरन्तर रहनेछ,’ उनले भने ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्दछ। माथि उल्लेख गरेझैं दुखाइबाहेक उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, वाक–वाक वा बान्ता हुनु, पखाला वा पातलो दिसा लाग्नु, खानामा अरुचि देखा पर्नु हाल डेंगु संक्रमितहरु देखिँदै आइरहेका प्रमुख लक्षणहरू हुन् ।

विशेषत: पानी संकलन हुने सामान/भाँडा, गमला वा खाल्डो आदिमा लामखुट्टेका लार्भा सहज वृद्धि विकास हुने भएकोले त्यस्ता ठाउँहरूमा विशेषत निगरानी गर्नुपर्दछ । शुक्रराज अस्पतालका डा पुन तारन्तार बान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिजा वा शरीरका अरु ठाउँबाट रगत बग्नु दिसा, पिसाब वा बान्तामा रगत देखिनु, बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ देखिनु आदि लक्षण संक्रमितमा देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्ने वा अस्पताल जानुपर्ने बताउँछन् ।

‘डेंगु पुष्टि भएका सबैले अस्पताल भर्ना हुनुपर्दैन तर केही जटिलता देखिएमा अस्पताल जानुपर्छ। घरमै झोलिलो खानेकुरा खानुपर्दछ । यसमा दुखाइ एकदम हुन्छ तर चिकित्सकको सल्लाकहबिना आफूखुसी औषधी भने खानुहुँदैन,’ उनले भने ।

प्रकाशित : भाद्र १७, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?