२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपेन्द्र यादव भन्छन् : सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने निश्चित छैन

मधु शाही

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आगामी निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने  विषयमा निश्चित भएको छैन । २०७४ को प्रतिनिधिसभाको चुनावमा सप्तरीबाटै जितेका यादवले आगामी चुनाव भने कहाँबाट लड्ने निश्चित नभएको बताए । ‘पार्टीले अहिलेसम्म निणर्य गरेको छैन,’ उनले भने,‘सप्तरीबाट सम्भावना कमै छ ।’

उपेन्द्र यादव भन्छन् : सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने निश्चित छैन

सप्तरीमा विगतको जस्तो चुनाव जित्ने सम्भावना नदेखेपछि यादवले ठाउँ फेर्नु परेको केही नेता बताउँछन् । सप्तरीमा यादवको छवि कमजोर हुँदै गएको जसपाको आकलन छ ।

अध्यक्ष यादव आफैले भने आफ्नो दलको जनाधार रहेका सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराएका हुन् । सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै उनको नाम सिफारिस भएको छ ।

पार्टीमा देखिएको टुटफुटको असरले पनि यादवले सप्तरी छाड्न चाहेको बताइन्छ । यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतले यादवलाई भेटेर सप्तरी २ आफूलाई छाड्न आग्रह गरेका थिए । जनमतका महासचिव चन्दन सिंह यादव उक्त आग्रहमा सकारात्मक रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले उहाँलाई सप्तरी २ छाड्न आग्रह गरेका हौं । उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’

यादव राजनीतिका यस्ता पात्र हुन्, जसले हरेक निर्वाचनमा जिल्ला र क्षेत्र फेरेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव जितेका यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी भएका थिए । ०७४ को निर्वाचनमा उनी सप्तरी आए । सप्तरीको निर्वाचन क्षेत्र नं.२ बाट उनले प्रतिनीधिसभा सदस्यमा चुनाव जिते । मधेस आन्दोलनको जगमा उदाएका नेता यादवको सप्तरी–२ बाटै जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उम्मेदवारी दिने घोषणा गरेपछि यादव ‘दोधार’ मा छन् ।

यसअघि २०७४ सालको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए । उपेन्द्रले २१ हजार ६सय २० मत ल्याउँदा उमेशले ११ हजार ५ सय ८० मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत ल्याएका थिए ।

यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका जयप्रकाश ठाकुर यस पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट उठ्ने तयारीमा रहेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको घर महादेवा गाउँपालिका वडा नम्बर २ मा पर्छ । गत स्थानीय चुनावमा महादेवा-२ मा जनमत पार्टीका जागेश्वरप्रसाद ईसरसहितको प्यानल विजयी भएको थियो । त्यस्तै सप्तरीका २ वटा स्थानीय तहमा समेत जनमत पार्टी विजयी भएको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा वीरेन्द्र माझी र वलान बिहुन गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव विजयी भएका थिए ।

प्रकाशित : भाद्र १६, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?