समाजवाद र उदारवादको मझधारमा पीडित व्यक्तित्व
काठमाडौँ — ग्लासनोस्त र पेरेस्त्रोइका । सन् १९८५ मा यी दुई नीति अख्तियार गर्दै सोभियत संघलाई बाहिरी दुनियाँसँग खुला गरेका मिखाइल गोर्बाचोभ यही नीतिका कारण शीतयुद्धकालीन महाशक्ति सोभियत संघको अन्तिम राष्ट्रपति बनेका थिए ।
अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभले अन्ततः सोभियत संघको विघटन रोक्न सकेनन् । सोभियत संघको पतन नै आधुनिक रुसको उदयको सुरुवात मानिन्छ ।
स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्बाचोभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष रूपमा देखे । युद्धपछि मस्कोमा कानुन पढेका उनी त्यसलगत्तै पार्टीमा सक्रिय भए । साम्यवादमा सुधार आवश्यक रहेको बताएपछि उनी केही कम्युनिस्ट नेताको आँखामा बिझाए । रुसबाहिर उनी निकै सम्मानित भए तर पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण कतिपयले उनलाई ‘गद्दार’ र अमेरिकी दलाल’ को संज्ञा दिए । कारण उही थियो– ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनःसंरचना) नीति ।
सन् १९८५ मा कम्युनिस्ट पार्टीको महासचिव भएसँगै उनले ‘सूचनाको खुलापन तथा अर्थतन्त्र र राजनीतिक व्यवस्थाको पुनःसंरचना’ का लागि आफ्ना नीति तीव्र पारे । उनका नीतिमा पुँजीवादी अर्थ व्यवस्थाका विशेषता समेटिएकाले देशको अर्थतन्त्रले पुनर्जीवन प्राप्त गर्ने तथा सोभियत संघ अझै लोकतान्त्रिक हुने भन्दै आम समर्थन प्राप्त गरे ।
गोर्बाचोभ सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव बनेका थिए । सन् १९८६ को एक भाषणमा उनले ‘ग्लासनोस्त’ को व्याख्या गर्दै सञ्चारमाध्यममाथिको पूर्वप्रतिबन्ध खुकुलो पारिएको बताएका थिए । ‘पुराना मान्यता र मनोवृत्तिका आधारमा स्वच्छ आवाजलाई दबाउन कोसिस गर्नेबाट बाहिर आउन हामीले यो बाटो लिनैपर्छ,’ उनले भनेका थिए । गोर्बाचोभले नै सरकारलाई खुला रूपमा सल्लाह दिन पाइने तथा सूचनाको व्यापक प्रसार गर्ने नीति लिएका थिए । उनकै कार्यकालमा प्रेस र कला समुदायलाई सांस्कृतिक स्वतन्त्रतासमेत दिइएको थियो ।
गोर्बाचोभले पेरेस्त्रोइका अर्थात् पुनःसंरचनाको नीति अपनाउँदै आर्थिक सुधारको कार्यक्रम सुरु गरेका हुन् । पेरेस्त्रोइकाको सन्दर्भमा बोल्दै उनले सोभियत संघले मूल्यमाथिको नियन्त्रण खुकुलो पार्ने, उद्यमलाई प्रोत्साहन गर्ने र आयातित वस्तु सहज रूपमा खरिद गर्नेलगायत बजार अर्थ व्यवस्थाका विशेषतासहितको अर्थतन्त्र अंगीकार गरेको जनाएका थिए । ‘योगदानका आधारमा प्रत्येक कामदारले आफ्नो मूल्य पाउनुपर्ने’ उनको भनाइ थियो ।
सन् १९८७ को जुलाई २७ मा टाइम म्यागेजिनले आफ्नो कभर स्टोरीमा उनका नीतिलाई ‘गोर्बाचोभ रेभोलुसन’ का रूपमा व्याख्या गरेको थियो । त्यसको करिब दुई दशकपछि टाइमसँगको एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘हाल ७० प्रतिशत रुसी जनताले आफूहरू स्वतन्त्र र लोकतान्त्रिक देशमा बाँच्न चाहेको बताएका छन् ।’ तर पनि उनले चाहेको जस्तो चाँडो वा समग्र परिवर्तन भने भएन ।
केही अमेरिकी व्यवसायीले भने रुसी मुद्रा रूपान्तरण, लगानी नीति तथा फाइदाको मुद्दा उठाउँदै सुरुमा सोभियत कम्पनीसँग काम गर्न चाहेनन् । ‘कतिपय अमेरिकी कम्पनीले सोभियत संघको अर्थतन्त्रलाई सुदृढ बनाउनु भनेको अमेरिकालाई क्षति पुर्याउनु हो भन्ने सोचे,’ टाइम म्यागेजिनले १९८८ मा लेखेको छ । त्यसका साथै पश्चिमाहरूको सुरक्षा चासोबीच अमेरिकी व्यापारीले सोभियत संघसँगको व्यावसायिक सम्बन्ध गाँस्न चाहेनन् । अमेरिकाले सोभियत उत्पादनको आयातमाथि कडाइ गर्ने नीति अख्तियार गरेपछि लगानी पुँजी जुटाउन र उत्पादनका लागि सोभियत संघ पश्चिम जर्मनी, जापानलगायतका देश तथा अन्य लगानीकर्तातर्फ फर्कन बाध्य भयो ।
तत्कालीन समयमा अकल्पनीय मानिएको खुलापनबारेको नीति ग्लासनोस्तले सरकारको आलोचना गर्न जनतालाई अनुमति दियो । सोभियत संघको आधुनिकीकरणका लागि आवश्यक भनेर अघि सारिएको नीतिका कारण उत्पन्न घटनाक्रमले अन्ततः सोभियत संघकै विघटन भयो । यद्यपि त्यसले शीतयुद्ध भने रोकियो ।
दोस्रो विश्वयुद्धको परिणामले अमेरिका र सोभियत संघ विश्वका प्रमुख सैन्य शक्तिका रूपमा रहे । दुवै पक्षबीच सरकार र अर्थतन्त्रलगायतका विषयमा बेमेल थियो । अमेरिका पुँजीवादी लोकतान्त्रिक मुलुक थियो भने सोभियत संघ कम्युनिस्ट तानाशाही । एकअर्कासँगको त्रास र रोषले वैचारिक युद्ध सुरु भयो । अमेरिका र सोभियत संघमध्ये को विश्व महाशक्ति बन्ने भन्ने प्रतिस्पर्धा चल्यो । सन् १९४७ को मार्चदेखि सुरु भएको होडबाजी सोभियत संघको पतन अर्थात् सन् १९९१ को डिसेम्बर २६ सम्मै चल्यो । कतिपयले सन् १९४७ मार्च १२ को ‘ट्रॅमन डक्ट्रिन’ लाई शीतयुद्धको सुरुवात मान्छन् । तर, केही इतिहासकारले भने बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको मार्च १ को भाषणलाई शीतयुद्धको सुरुवात बताउँछन् । उक्त भाषणमा चर्चिलले ‘साम्यवादविरुद्ध युद्ध घोषणा गर्न सबै पश्चिमी देशहरूलाई’ आमन्त्रित गरेका थिए ।
सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्बाचोभ क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोसँग सन् १९८९ मा
राजनीतिक, आर्थिक र सैन्य मुद्दामा अमेरिका र सोभियत संघ तथा उनीहरूका सम्बन्धित सहयोगीहरू बीचको द्वन्द्व भए पनि शीतयुद्धलाई प्रायः पुँजीवाद र साम्यवादबीचको संघर्षका रूपमा वर्णन गरियो । खासमा दुई पक्षबीचको द्वन्द्वमा एकातिर अमेरिकी नेतृत्वमा पश्चिम र नाटो (उत्तर एटलान्टिक सन्धि संगठन) थिए भने अर्कोतिर सोभियत संघको नेतृत्वमा पूर्वी विश्व र वार्सा सम्झौता थियो । दुवै पक्षबीचको द्वन्द्वमा प्रत्यक्ष सैन्य संलग्नता भने भएन । भियत संघको विघटन रोक्न नसेकामा आफू निकै दुःखी भएको उनले बताएका थिए । सन् १९९१ को डिसेम्बर २५ मा गोर्बाचोभले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट सोभियत संघ औपचारिक रूपमा विघटन भएको हो । ‘मलाई आज पनि यो कुराको निकै दुःख छ,’ उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘मैले आफ्नो जहाज शान्त समुद्रसम्म ल्याउन सकिन र देशमा सुधार ल्याउने कुरालाई सफल बनाउन सकिनँ ।’
पश्चिमा जगत्मा उनलाई ‘सुधारका प्रणेता’ का रूपमा हेर्ने गरिन्छ । पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको जनाउँदै सन् १९९० मा गोर्बाचोभलाई नोबेल शान्ति पुरस्कार दिइयो । पूर्व र पश्चिमबीच सम्बन्ध चिसिइरहेका बेला नाटकीय रूपमा सम्बन्ध सुधार भएको र त्यसका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई पुरस्कार प्रदान गरिएको हो ।
दुई ध्र्रुवीय विश्वमा टकराव त्यागेर वार्ताका माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ । ‘शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै गोर्बाचोभलाई पुरस्कार प्रदान गरिएको’ नोबेल समितिले जनाएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोभले अमेरिकासँग अस्त्र नियन्त्रणसम्बन्धी सहमतिहरू गरेका थिए । पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिंदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेपछि प्रशंसाको पात्र बनेका थिए ।
सन् १९८६ मा आइसल्यान्डमा आयोजित एक सम्मेलनमा गोर्बाचोभले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग अमेरिका र सोभियत संघ दुवैले ‘लामो दूरीका सबै क्षेप्यास्त्र अन्त्य गर्ने’ प्रस्ताव राखेका थिए । त्यसलाई नै शीतयुद्धको सुरुवातका रूपमा लिने गरिन्छ ।
सन् १९३१ मार्च २ मा स्टाभ्रोपोलमा जन्मिएका गोर्बाचोभले आफ्नो सुरुवाती जीवन खेतीपाती र अध्ययनमा बिताएका थिए । उनी सन् १९५२ मा कम्युनिस्ट पार्टीको सदस्य बने । १९५५ मा मस्को विश्वविद्यालयबाट कानुनको डिग्री हासिल गरेका उनी १९८० मा पार्टीको पोलिटब्युरो सदस्य भए । सन् १९९१ पछि उदाएको नयाँ रुसी राजनीतिमा भने उनी किनारा लाग्न पुगे । त्यसपछि उनले आफ्नो जीवनलाई शिक्षा तथा मानवीय कार्यमा लगाए । सन् १९९६ मा पुनः मूलधारको राजनीतिमा फर्कने प्रयास त गरे तर असफल भए । त्यतिखेरको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गरेका गोर्बाचोभलाई जम्मा ०.५ प्रतिशत मतदाताले मात्र रुचाएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने गोर्बाचोभ पछिल्लो समय टाढिएका थिए । दुई नेताबीच पछिल्लो पटक सन् २००६ मा कुराकानी भएको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको निर्णयप्रति पनि गोर्बाचोभ बेखुसी थिए । यद्यपि, क्राइमियामाथि सन् २०१४ मा रुसले गरेको अतिक्रमणको भने उनले समर्थन गरेका थिए ।
अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनसँग सन् १९८५ मा ।
सन् २०१९ मा सीएनएनसँगको अन्तर्वार्तामा गोर्बाचोभले अमेरिका र रुस ‘नयाँ शीतयुद्धबाट जोगिनुपर्ने’ बताएका थिए । ‘यो गोलीबारुदको युद्धका रूपमा परिणत हुने जोखिम छ । त्यसो भएको खण्डमा हाम्रो समग्र सभ्यता नै ध्वस्त हुनेछ,’ उनले भनेका थिए । सुधार र खुलापन रुचाउने उनै गोर्बाचोभको मंगलबार राति ९१ वर्षको उमेरमा निधन भएको छ । गोर्बाचोभको निधनमा विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जर गोर्बाचोभको योगदानलाई विश्व समुदायले युगौंयुगसम्म सम्झने बताउँछन् । ‘गोर्बाचोभलाई विश्व इतिहासले मानव जाति र रुसी जनताको फाइदा हुने गरी भएका ऐतिहासिक परिवर्तनको सुरुवातकर्ताका रूपमा स्मरण गर्छ,’ बीबीसीसँग उनले भनेका छन् ।
सोभियत संघ विघटनताका अमेरिकी विदेशमन्त्री रहेका जेम्स बेकरले गोर्बाचोभलाई इतिहासले ‘आफ्नो देशलाई लोकतन्त्रतर्फ डोर्याउने महान् नेता’ का रूपमा सम्झने बताउँछन् । हाल जेलमा रहेका रुसी विपक्षी दलका नेता एलेक्सी नाभाल्नीले ‘गोर्बाचोभ शान्तिपूर्ण रूपमा पद त्याग गर्ने महान् नेता’ भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचोभलाई ‘अद्वितीय नेता’ संज्ञा दिएका छन् । यस्तै, फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले ‘गोर्बाचोभ युरोपेली शान्तिप्रति प्रतिबद्ध व्यक्ति’ भन्दै उनका कार्यले युरोपको साझा इतिहास नै मोडिएको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सन् २००४ मा
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गोर्बाचोभको साहस र इमानको आफू प्रशंसक’ भएको बताएका छन् । ‘युक्रेनमाथि पुटिनको आक्रमणको समयमा गोर्बाचोभले सोभियत समाजलाई खुला गर्न देखाएको कटिबद्धता हामी सबैका लागि उदाहरणीय छ,’ जोन्सनले भनेका छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गोर्बाचोभले ‘इतिहासको बाटो बदलेको’ बताएका छन् । उनले भनेका छन्, ‘उनी एक असल राजनीतिज्ञ थिए । विश्वले एक विश्व नेतालाई गुमाएको छ जसले बहुलवाद र शान्तिको निरन्तर वकालत गरे ।’
उनको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेका छन् । पुटिनले उनलाई ‘विश्व इतिहासमा निकै ठूलो प्रभाव पार्ने राजनेता’ को संज्ञा दिएका छन् । ‘उनले निकै अप्ठ्यारो समयमा देशको नेतृत्व गरे र नाटकीय परिवर्तन ल्याए,’ पुटिनले भनेका छन्, ‘त्यतिबेला सुधार अत्यावश्यक थियो भन्ने उनलाई राम्रो जानकारी थियो र आफैंले समस्याको समाधान पनि गरे ।’ पुटिनका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले गोर्बाचोभको निधनले ‘देशलाई निकै ठूलो क्षति पुगेको’ जनाएका छन् । तर, आश्चर्यजनक रूपमा, रुसी कम्युनिस्ट पार्टीका प्रमुख गेनाडी जायुगानोभले भने गोर्बाचोभलाई ‘निराशा, दुर्भाग्य र समस्या’ ल्याउने नेताका रूपमा व्याख्या गरेका छन् ।
(एजेन्सीहरूको सहयोगमा)
प्रकाशित : भाद्र १६, २०७९ ०७:५५