३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफ्नै निर्वाचन क्षेत्रमा पौडेल कति सुरक्षित ?

स्थानीय तहको चुनावी परिणामले पौडेललाई बल तर जोशीको भूमिका र सम्भावित अन्तरघातले जोखिम
राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न संसदीय चुनाव जितिरहनु पर्दैन । कतिपय नेताले पौडेललाई समानुपातिकमै बस्न सुझाउने गरेका छन्, तर पौडेल त्यस्तो सुझाव मान्न तयार छैनन् । भन्छन्, ‘म एक पटक हारेकै निर्वाचन क्षेत्रबाट चुनाव लडेर मर्न चाहन्छु ।’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — राजनीतिक जीवनकै आखिरीतिर पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनले आसन्न संसदीय चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम प्रतिस्पर्धा भनेर सार्वजनिक घोषणासमेत गरिसकेका छन् ।

आफ्नै निर्वाचन क्षेत्रमा पौडेल कति सुरक्षित ?

०७४ को निर्वाचनमा पराजित बनेका पौडेलले भदौ ३ मा गृहनगर दमौलीमा स्थानीय सञ्चारकर्मीसँग भनेका थिए, ‘म एक पटक चुनाव जितेर मर्न चाहन्छु ।’

पार्टीको चौधौं महाधिवेशनबाट पौडेलको राजनीतिक मैदान साँघुरिँदै गएको छ । तर उनी संसदीय निर्वाचन जितेपछि प्रधानमन्त्रीको सम्भावित अवसर छोप्न सकिने आशामा छन् । पार्टीको महाधिवेशनका बखत भने उनले सक्रिय राजनीतिबाट अलग हुन चाहेको सन्देश दिएका थिए । सभापति बन्ने लक्ष्यमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह तगारो बनेको भन्दै उनी नेतृत्वको प्रतिस्पर्धामा कतै खुलेनन् । भोटसमेत हालेनन् । जसको लाभ आफैंले नेतृत्व लिएको समूहलाई नभएर शेरबहादुर देउवालाई मिल्यो ।

महाधिवेशनका बेला बोहोराटार नै पुगेर देउवाले ‘मुलुकलाई तपाईंको योगदान अझै आवश्यक छ, स्वास्थ्य ठीक पारेर राख्नुहोस्’ भनेका थिए । त्यसलाई पौडेलले प्रधानमन्त्री पदसँग जोडेर हेर्ने गरेका छन् । प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँस्ने उनको रहरमा भने आफ्नै राजनीतिक दौंतरी देउवा नै बाधक बन्ने देखिन्छ । ‘प्रधानमन्त्रीमा आफूबाहेक विकल्प शेरबहादुर दाइले अरू कसैलाई देखेजस्तो लाग्दैन,’ देउवानिकट एक नेता भन्छन्, ‘यसैका निम्ति त गठबन्धन जोगाउने महाकसरत चलिरहेको हो ।’ उनका अनुसार पौडेललाई राष्ट्रपतिका लागि अघि सार्ने सम्भावना भने छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिन कांग्रेस निर्वाचनबाट पहिलो दल भएर मात्रै पुग्दैन, संसद्मा बलियो उपस्थिति देखिनुपर्छ ।

राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न संसदीय चुनाव जितिरहनु पर्दैन । कतिपय नेताले पौडेललाई समानुपातिकमा बसेर पार्टीको निर्वाचन रणनीति परिचालन गर्न र राष्ट्रपतिमा अघि सर्न सुझाउने गरेका छन् । तर, पौडेल त्यस्तो सुझाव मान्न तयार छैनन् । ‘म एक पटक हारेकै निर्वाचन क्षेत्रबाट चुनाव लडेर मर्न चाहन्छु,’ उनी भन्ने गर्छन् ।

तनहुँमा संविधान जारी गर्नुअघिसम्म तीन निर्वाचन क्षेत्र थिए । पौडेलले ०४८ सालमा १ र त्यसपछि ०७० सम्म २ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए । संविधान जारीपछि निर्वाचन क्षेत्र २ वटामा सीमित भयो । पौडेलले तनहुँ–१ रोजे । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले व्यापारिक पृष्ठभूमिका कृष्णकुमार (किसान) श्रेष्ठलाई अघि बढायो । ०४८ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका पौडेलको संसद्को यात्रा उनैले ब्रेक लगाइदिए । श्रेष्ठले पौडेललाई ६ हजार ८ सय २ को मतान्तरले हराए । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् ।

गठबन्धनका अन्य दलले ०७४ मा जितेका सिट सुरक्षित राख्न खोजेका छन् तर पौडेलले उम्मेदवार बन्ने घोषणा गरेपछि त्यहाँ गठबन्धनका अन्य दलको दाबी रहने देखिँदैन । श्रेष्ठलाई तनहुँबाहेक अन्य जिल्लामा उम्मेदवार बनाउने सम्भावना छ । पौडेलका लागि चुनौती गठबन्धनको भन्दा कांग्रेसभित्रकै हुने देखिन्छ । तनहुँ–१ यसअघि गोविन्दराज जोशीले चुनाव लड्दै आएको क्षेत्र हो । ०४८ सालदेखि नै सत्ता र पार्टी राजनीतिको प्रतिस्पर्धामा एकले अर्कालाई ‘सिध्याउने’ बाटोमा हिँडेका यी दुई नेताबीच अहिले पनि पानी बाराबार छ । पौडेललाई हराउन ०७४ मा जोशी आफैं स्वतन्त्र उम्मेदवार बनेका थिए । अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण देखाएर पौडेल आफैंले उजुरी दिएपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदियो । त्यसपछि पनि जोशी पौडेललाई हराउन र एमाले उम्मेदवारलाई जिताउन लागेको आरोप छ । त्यही आरोपमा उनले कारबाहीसमेत भोगिरहेका छन् ।

गत स्थानीय चुनावमा जोशीले छोरा दीपक जोशीलाई व्यास नगर प्रमुखमा कांग्रेसविरुद्ध उतारेका थिए । कांग्रेसका वैकुण्ठ न्यौपानेले थोरै मतान्तरले मात्र जिते । जोशी पुत्रलाई एमालेले समर्थन गरेको थियो । आगामी संसदीय चुनावमा पनि पौडेलविरुद्ध जोशी र एमालेबीच तालमेलको चर्चा सुरु भइसकेको छ । अबको चुनावमा पनि जोशीको भूमिका पौडेलका लागि भारी पर्ने देखिन्छ । जोशीले केही दिनअघि आफैं उम्मेदवारी हुने घोषणा गरिसकेका छन् । पुराना नजिर कायम राखेर उनको उम्मेदवारी खारेजी गरिदिए पनि विकल्पमा उनले अर्को उम्मेदवार खडा गर्न सक्ने जिल्लाका कांग्रेस नेताहरू बताउँछन् ।

पौडेलले भने यस पटक एमालेभित्रको विभाजन र गठबन्धनको बलबाट सहजै चुनाव जित्ने विश्वास गरेका छन् । स्थानीय तहको चुनावी परिणामले पनि पौडेलको विश्वासलाई बल त दिन्छ तर जोशीको भूमिका र कांग्रेसभित्रै हुन सक्ने अन्तरघातका कारण जोखिम आउन सक्ने स्थानीय कांग्रेसजन बताउँछन् ।

प्रकाशित : भाद्र १५, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?