कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० जिल्लामा डेंगु, ४ जना आईसीयूमा

सबभन्दा बढी ललितपुरमा ८ सय ५८ जना संक्रमित, अस्पताल भर्ना हुने क्रम बढ्दो 
प्रशान्त माली

काठमाडौँ — काठमाडौंसहित ७० जिल्लाका विभिन्न भागमा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि आइतबारसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ ।

७० जिल्लामा डेंगु, ४ जना आईसीयूमा

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १७ जना उपचाररत छन्, तीमध्ये चार जना आईसीयूमा छन् । यहाँ दिनहुँ ७० जनासम्म संक्रमित उपचारका लागि आउने गरेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानस्थित होस्टलमा बस्दै आएकी १९ वर्षीया किशोरीलाई हातखुट्टा दुख्न र ज्वरो आउन थालेपछि सिभिल अस्पतालमा जँचाउने क्रममा डेंगु पुष्टि भएको थियो । टेकु अस्पताल रेफर गरिएकी उनी तीन दिनदेखि आईसीयूमा छिन् । डेंगु देखापरेपछि नुवाकोटका एक युवक र सिन्धुपाल्चोकका एक ज्येष्ठ नागरिक पनि आईसीयूमा छन् ।

स्वास्थ्य कार्यालय नुवाकोट प्रमुख महेन्द्रध्वज अधिकारीले शुक्रबार डेंगु देखापरेको ठाउँ विदुर नगरपालिकाका प्रतिनिधिसहित बैठक बसेर लामखुट्टेको बासस्थान पत्ता लगाएर नष्ट गर्ने निर्णय गरिसकेको बताए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरिरहेको दाबी गरे । ‘सचेतना सन्देशहरू पनि बनाउन भनेको छु,’ उनले भने ।

टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोक्दा संक्रमण हुन्छ । ‘लामखुट्टेले प्रायः दिनमा टोक्छ, यद्यपि घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकाले थप सचेत हुनुपर्छ,’ उनले भने, ‘टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्छ ।

संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिन्छ ।’ आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुनेजस्ता लक्षण पनि देखा पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ७० जिल्लामा डेंगु देखापरेको छ । तीमध्ये सबभन्दा बढी ललितपुरमा ८ सय ५८, रूपन्देहीमा ३ सय ६३, काठमाडौंमा ३ सय ३२, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा ५४, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जनामा डेंगु देखापरेको छ । वाग्मती प्रदेशमा १ हजार ४ सय ७८, लुम्बिनीमा ४ सय २, प्रदेश १ मा १ सय ६, सुदूरपश्चिममा ४७, मधेस र गण्डकीमा ३६/३६, कर्णालीमा १८ जनामा डेंगु पुष्टि भएको छ । महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले रोग नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी रहेको बताए । ‘१ सय ३९ पालिकालाई रोग नियन्त्रण गर्न बजेट पनि पठाएका छौं,’ उनले भने, ‘महिला स्वयंसेविका, टोल सुधारजस्ता संघसंस्था पनि सक्रिय हुनुपर्छ ।’

कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले डेंगु देखापरेको क्षेत्रमा ढल मर्मतको काम भइरहेको बताइन् । ‘औषधि छर्कने तयारी गरिरहेका छौं,’ उनले भनिन् । ललितपुर महानगरपालिका–५ का वडाध्यक्ष विकासमान श्रेष्ठले आइतबारबाट डेंगु देखापरेका महालक्ष्मीस्थान, लगनखेललगायत क्षेत्रमा लामखुट्टे मार्ने औषधि छर्कन सुरु गरेको बताए । पानी जमेको क्षेत्रमा पनि सरसफाइ थालेको उनको भनाइ छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले आइतबार बसेको बैठकले डेंगु नियन्त्रण गर्न चुना छर्कने, पानी जमेको क्षेत्र सरसफाइ र अस्पतालहरूमा यसबारे औषधि छ/छैन भनी बुझ्ने निर्णय भएको बताए । ‘अब निर्णय कार्यान्वयन गर्छौं,’ उनले भने ।

डेंगु २०२१ मा ५ सय ४० र २०२० मा ५ सय ३० जनालाई मात्र लागेको थियो । २०१९ मा महामारीका रूपमा फैलँदा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित : भाद्र १४, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?