कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टोमाटो फ्लु’ को जोखिममा नेपाल

भारतमा १०८ बालबालिकामा संक्रमण
सावधानी अपनाउन स्वास्थ्यविद्हरुको आग्रह
अतुल मिश्र

काठमाडौँ — पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लु’ को जोखिम नेपालमा पनि बढेको विज्ञहरूले चेतावनी दिएका छन् । उच्च संक्रामक मानिएको टोमाटो फ्लु खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा गोलभेंडा (टमाटर) जस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लु’ नाम दिइएको हो ।

‘टोमाटो फ्लु’ को जोखिममा नेपाल

भारतमा हालसम्म १ सय ८ जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार केरलमा ८२ र तमिलनाडु राज्यमा २६ जना संक्रमित भएका हुन् । संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै पूर्वसावधानी अपनाउन आग्रह गरिसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लु पहिलो पटक केरल राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो ।

भारतमा फ्लुको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सल्लाह दिएका छन् । संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे बृहत् अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. चुमनलाल दासले बताए ।

नेपालसँग भारतीय राज्य बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, उत्तराखण्ड, असम, सिक्किमलगायत राज्यको सीमा जोडिएको औंल्याउँदै डा. दासले सीमा क्षेत्रमा संक्रमणबारे सतर्क गराइने जनाए ।

भारतमा कुनै नयाँ संक्रमण देखिए त्यसबाट नेपाल अछुतो नरहने डा. दासको भनाइ छ ।

ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित रिपोर्टमा भारतमा ‘टोमाटो फ्लु’ भनिएको नयाँ भाइरस पहिलेदेखि नै खास क्षेत्र विशेषमा देखिएको उल्लेख छ । उक्त संक्रमण एचएफएमडी (हात, खुट्टा र मुखसम्बन्धी रोग) को एउटा प्रकार भएको चिकित्सकहरूले पुष्टि गरेका रिपोर्टमा उल्लेख छ । फ्लुको संक्रमणका कारण बालबालिकाका हात, खुट्टा र मुखमा रातो फोका देखिने, ज्वरो आउने, थकाइ लाग्ने र शरीर दुख्नेलगायतका समस्या हुने गर्छ । यद्यपि, यो संक्रमणको कोरोना, मंकीपक्स, डेंगु तथा चिकनगुनियासँग कुनै सम्बन्ध नरहेको जनाइएको छ ।

प्रकाशित : भाद्र १४, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?