कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दिल्ली दौडाहामा निधि

अयोध्याको निर्माणाधीन राम मन्दिरमा जनकपुरको ‘चिनो राख्ने’ प्रयास 
कालीगण्डकीको पत्थरबाट मूर्ति बनाउन प्रस्ताव
राजेश मिश्र

नयाँदिल्ली — कांग्रेस नेता विमलेन्द्र निधि पछिल्लो एक महिनामा दुई पटक दिल्ली दौडाहा गरेका छन् । निधिले आफ्नो लगातारको भारत भ्रमण दुई देशबीच ‘धार्मिक र सांस्कृतिक’ सम्बन्धलाई बढावा दिने उद्देश्यले रहेको बताउँछन् । तर चुनावको मुखमा एक महिनामै दुई पटकको भ्रमणलाई कतिपयले भने राजनीतिक अर्थमा लिएका छन् । 

दिल्ली दौडाहामा निधि

भारतको अयोध्या र नेपालको जनकपुरबीच पौराणिक रामायाणकालीन सम्बन्ध छ । उनी त्यही सम्बन्धलाई दीर्घकालसम्म दिगो बनाउने उद्देश्यले अयोध्या र दिल्ली आएको बताउँछन् । हिन्दु धर्ममा स्थापित मान्यताअनुसार भगवान विष्णुको अवतारका रूपमा रामको जन्म अयोध्यामा भएको थियो । र, उनको विवाह जनकपुरका राजकुमारी सीतासँग भएको थियो । आधुनिक विश्वमा अयोध्या भारतमा र जनकपुर नेपालमा छ ।

लामो समयको विवादपछि अयोध्यामा राममन्दिरको निर्माण भइरहेको छ । त्यहाँ मस्जिद र मन्दिरलाई लिएर वर्षौं विवाद थियो । भारतीय सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा विवादित जमिन राममन्दिर निर्माणका लागि दिने र मस्जिदका लागि अन्यत्र जग्गा उपलब्ध गराउने फैसला सुनाएपछि लामो विवादले कानुनी निकास पाएको थियो । अदालतको उक्त आदेशपछि भारत सरकारले अयोध्याको रामजन्म भूमिमा ‘भव्य मन्दिर’को निर्माण थालनी गरिसकेको छ ।

निधि त्यही मन्दिरमा जनकपुरको चिनो राख्न प्रयासरत छन् । ‘रामको मन्दिरमा जनकपुरबाट केही न केही महत्त्वपूर्ण चिनो राख्दा राम्रो हुन्छ,’ दिल्लीमा कान्तिपुरसँग उनले भने ‘त्यही विषयमा छलफल चलाइरहेको छु ।’ उनले राम र सीताबीच सम्बन्ध स्थापित गराउन राजा जनकको दरबारमा रहेको धनुषको भूमिका रहेको रामायणमा सबैले पढ्दै र सुन्दै आएकाले अयोध्याको मन्दिरमा जनकपुरको तर्फबाट धनुष राख्न पाए उत्तम हुने आफूलाई लागेको बताए । त्यसका लागि अयोध्यामा राममन्दिर तीर्थ क्षेत्र ट्रस्टका पदाधिकारीहरूसँग अघिल्लै भ्रमणमा निधिले छलफल गरेका थिए ।

यसपटक गत बिहीबार दिल्ली आएका उनले शुक्रबार मन्दिर निर्माण समितिका संयोजक नृपेन्द्र मिश्रसँग भेटेर त्यस विषयमा विस्तृत छलफल गरेका छन् । मिश्रले यस विषयमा भारतको विदेश मन्त्रालयको सहमति चाहिन सक्ने बताएपछि निधिले शनिबार विदेश सचिव विनयमोहन क्वात्रा र नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवसँग पनि भेटका छन् ।

विदेश सचिव क्वात्रा र सहसचिव श्रीवास्तवसँग राममन्दिरमा जनकपुरको तर्फबाट धनुष राख्ने आफ्नो प्रस्तावकै विषयमा छलफल भएको उनले बताए । ‘क्वात्राजी नेपालमा राजदूत हुँदा नै मैले यस विषयमा उहाँसँग चर्चा गरेको थिए, अहिले मन्दिर निर्माण समितिले पनि विदेश मन्त्रालयको सहमति आवश्यक पर्ने बताएपछि त्यसमा सहजिकरण गरिदिन उहाँहरूलाई आग्रह गरेको हुँ,’ उनले भने ‘विश्वका हिन्दु धर्मालम्वीहरुको आस्था र धार्मिक पर्यटकको केन्द्र बन्दै गरेको अयोध्याको राम मन्दिरमा जनकपुरको तर्फबाट चिनो राख्न पाउँदा त्यसले अयोध्या र जनकपुरबीचको प्राचीन सम्बन्ध अनन्तकालसम्म सुपरिचित हुनेछ ।’ उनले जनकपुरको जानकी मन्दिर र जनकपुरवासीका तर्फबाट आफू त्यसका लागि प्रयासरत रहेको बताए । यस कार्यमा आफू डेढ वर्षदेखि लागि रहेको उनले उल्लेख गरे ।

धेरै पटकको टेलिफोन र अनौपचारिक छलफलपछि ३० जुलाईमा निधि जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितको टोली लिएर अयोध्या पुगेका थिए । जनकपुरका तर्फबाट राखिएको प्रस्तावलाई मन्दिर निर्माणसँग सम्बन्धित ट्रस्टका पदाधिकारीहरुले सैद्धान्तिक रूपमा सकारात्मक मानेका थिए । निधिले त्यसैको ‘फ्लो अप’ का लागि तुरुन्तै आफू दिल्ली आउनु परेको बताए ।

ट्रस्टका महासचिव चम्पत रायसहितका पदाधिकारीहरूसँग भएको छलफल सकारात्मक भएको थियो । ‘उहाँहरू हाम्रो प्रस्तावबाट खुसी देखिुन भयो, त्यसका लागि सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ,’ उनले सुनाए ‘तर, यो अयोध्या र जनकपुरबीचको कुरा मात्रै भएर नहुने रहेछ । सरकारी तहमा पनि एक खालको सहमति आवश्यक पर्नेछ ।’ त्यसका लागि आफूले नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अन्य नेताहरूसँग पनि छलफल गरेको उनले बताए ।

जनकपुरबाट दिइने उपहारस्वरूप दिइने धनुषलाई स्विकार्न र त्यसलाई अयोध्याको राम मन्दिर परिसरमा उचित स्थान दिन आफूले सबैसँग आग्रह गर्दै आएको बताए । धनुष कुन धातुले बन्ने, कस्तो आकार र वजनको हुने सबै कुरा मन्दिर निर्माण समितिले तय गरेअनुसारै बनाइने आफूहरूको प्रस्ताव रहेको उनले बताए ।

राम मन्दिरमा बनाइने मूर्तिका लागि नेपालको कालीगण्डकीको पत्थर प्रयोग गर्न सकिने विषयमा पनि छलफल चलाइएको निधिले बताए । त्यसका लागि निधिले विज्ञहसहित कालीगण्डकी क्षेत्रको भ्रमणसमेत गरेका थिए । त्यति मात्र होइन, उनले खानी तथा भूगर्भ विज्ञहरू शिवकुमार बास्कोटा, सुलभ कायस्थ र कालिगण्डकी क्षेत्रको धार्मिक, पुरातात्विक क्षेत्रको संरक्षणमा खटिएका कुलराज चालिसेलाई आफूसँगै अयोध्या ल्याएका थिए ।

त्यस्तै धनुष निर्माण सम्बन्धमा जानकारी राख्ने शिल्पकार जीवन ठाकुर र पवन ठाकुर पनि भ्रमण टोलीमा थिए । राम मन्दिरमा जनकपुरवासी र जानकी मन्दिरको तर्फबाट धनुष राख्ने तथा मूर्तिको निर्माणमा कालीगण्डकीको पत्थर प्रयोग गर्न सकिने दुईवटा प्रस्ताव आफूले मन्दिर निर्माणसँग जोडिएका व्यक्ति तथा संस्थासमक्ष राखेको निधिले बताए ।

प्रकाशित : भाद्र १३, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?