व्रत किन ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
तीज विशेष

व्रत किन ?

बुनु थारु

काठमाडौँ — हरितालिका तीज नजिकिएसँगै महिलाहरू दर खाने चटारोमा छन्, व्रत बस्ने योजनामा छन् । परम्पराका पक्षपातीहरू तीजलाई निराहार र निर्जल व्रत बस्ने पर्वका रूपमा लिन्छन् । धार्मिक आस्थाका आधारमा व्रतलाई साधनाका रूपमा पनि लिइन्छ । तर, निराहार व्रत बस्दा र दिनभर नाचगानको थकाइले कतिपय महिलामा कमजोरीको समस्या पनि देखिने गरेको छ ।


विज्ञहरूका अनुसार आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएको छैन भने व्रत बस्नु हुँदैन । स्वस्थ मानिसले साता वा महिनाको एकचोटि व्रत बस्नु शरीरका लागि राम्रो मानिन्छ । तर, पर्वका नाममा निराहार व्रत बस्दा टाउको दुख्ने, चक्कर लाग्ने, थकान र कम रक्तचापजस्ता समस्या देखिन सक्छन् ।

नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार व्रत तीन किसिमका हुन्छन्, निर्जलहार (पानी नखाई बस्ने), फलाहार (फलफूल खाने तर अन्न नखाने) र दिनभर पानीमात्र पिउने, साँझ अन्न खाने ।

‘तीजमा पानी पनि नखाई बस्ने चलन छ । सक्नेले गर्छन्, नसक्नेले गर्दैनन्,’ डा. ज्ञवालीले भने, ‘स्वस्थ व्यक्तिलाई फाइदा गरे पनि अशक्त, कमजोर, गर्भवती, उच्च रक्तचाप र मधुमेह भएकाले व्रत बस्नु हुँदैन ।’ साताको एक पटक बसिने व्रतले पेट सफा हुने, शरीरमा अनावश्यक रूपमा रहेका बोसो तथा हानिकारक तत्त्व हट्ने र सकारात्मक ऊर्जा दिने उनी बताउँछन् । ‘तीजमा त एक दिन मात्र व्रत बसिन्छ । यसले एकै दिनमा स्वास्थ्यमा फाइदा पुर्‍याउने काम त नगर्ला तर स्वस्थ व्यक्तिलाई राम्रै हुन्छ,’ उनले भने, ‘तीजमा मात्र होइन अरू बेला पनि शरीरलाई हानि नगर्ने खालका खाद्यवस्तु नखाने गरेर व्रत बस्दा फाइदा हुन्छ ।’

धार्मिक परम्पराअनुसार तीजको अघिल्लो दिन दर खाने चलन छ । पछिल्लो समय दरका नाममा बढी गुलियो, चिल्लो, पिरो परिकार खाने क्रम बढेको पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार मसलेदार, गुलिया तथा चिल्ला खानेकुरा धेरै सेवन गर्नु हुँदैन । भरसक घरमै बनाइएका स्वस्थकर परिकार खानुपर्छ ।

‘दर तीजको अघिल्लो दिन खाने चलन छ ताकि व्रतको दिन ऊर्जा प्राप्त भइराखोस्,’ पोषणविद् प्रा.डा. जया प्रधान भन्छिन्, ‘तर, यहाँ महिना दिनअघिदेखि भोजभतेर गर्ने चलन छ । जति पनि खाए हुन्छ भनेर दर खानुभएन । स्वास्थ्यलाई ख्यालमा राखेर सन्तुलित भोजन गर्नुपर्छ ।’

तीज नआउँदै सुरु हुने पार्टीका परिकारले पनि रोग बढाउन मद्दत गर्ने उनी बताउँछिन् । ‘गुलिया र चिल्ला खानेकुराले तौल बढ्न सक्छ, जसले थप अरू दीर्घरोगहरू निम्त्याउँछन्,’ उनले भनिन्, ‘खीरमा भने चामल, चिनी, ड्राई फ्रुट्स, घिउ आदिको मिश्रण हुन्छ, जसले सबै पोषक तत्त्वहरू प्रदान गर्छ । दरमा स्वस्थकर नै खानुपर्छ ।’

नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी फिजिसियन डा. अभिजित अधिकारी जति नै कठोर व्रत भए पनि पानी पिउन छाड्न नहुने सुझाव दिन्छन् । उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामीहरूलाई व्रतले राम्रोभन्दा पनि बढी असर गर्ने उनको भनाइ छ । ‘शरीरमा पानीको निरन्तर सप्लाई भएन भने एक दिनमै पनि यसले मिर्गौलालाई खराब गर्न सक्छ,’ उनी भन्छन्, ‘व्रत बस्नु नराम्रो त होइन तर यसको फाइदा सबैलाई लागू हुँदैन । पानी नखाई धेरै पटक व्रत बस्दा मिर्गौला बिग्रिने प्रक्रिया बढ्न मद्दत पुग्छ ।’

नर्भिक अस्पतालकी पोषणविद् प्रनीति सिंह पहिले आफ्नो शरीरलाई ध्यान दिएर मात्रै व्रत बस्न सुझाउँछिन् । कमजोरी महसुस भएको अवस्थामा फलफूल, पानी वा जीवनजल लिन सकिने उनको भनाइ छ ।

उनका अनुसार अहिले ‘इन्टरमिटेन्ट फास्टिङ’ (१६ घण्टा नखाने र ८ घण्टा खाने) को चलन बढेको छ । यसखालको व्रत बस्दा शरीरमा पुरानो, नचल्ने तथा गलेको कोषिका मर्दै जान्छ र नयाँ कोषिका बनाउन सहयोग गर्छ । ‘यो व्रत अहिले धेरैले लिने गरेका छन्, यसले फाइदा पनि पुर्‍याउँछ,’ उनले भनिन्, ‘यो व्रतमा अभ्यस्तलाई तीजको व्रतले केही फरक नपर्ला तर

बानी नबसेकालाई गाह्रो हुन सक्छ । पहिलो प्राथमिकता आफ्नो शरीर नै भएकाले सन्चो छैन वा सकिएन भने व्रत नबसेकै बेस ।’

व्रतले शरीरको तौल नियन्त्रणमा सहयोग गर्नुका साथै उच्च रक्तचाप रोक्न रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन थप मद्दत पुर्‍याउने विज्ञहरू बताउँछन् । मानसिक रूपमा पनि यसले फाइदा गर्छ ।

पोषणविद् सिंहका अनुसार हामीले खाइरहेको खानामा रहेको कतिपय विषाक्त पदार्थ जुन कोषिकामा गएर बसेको हुन्छ, व्रत बस्दा त्यो निस्किन्छ । ‘व्रत बस्नु भनेको शरीरलाई चाप दिएको हो । शरीरले खान पाएन भने शरीरको कोषिकाले कसरी अपडेट गर्ने भनेर सामना गर्ने क्षमता बढाउँछ,’ उनी भन्छिन्, ‘व्रत बस्दा शरीरमा रहेको ह्युमन ग्रोथ हर्मन बढ्छ जसले ‘मेटाबोलोजिम’ राम्रो हुन्छ । मांसपेशीले अक्सिजन पाएर फाइदा हुन्छ ।’

व्रत बस्नुभन्दा अगाडि खाइने चिल्लो तथा जंक फुडले शरीरलाई डिहाइड्रेट गराउन सक्ने भएकाले बढी प्यास लाग्ने उनी बताउँछिन् । ‘त्यसैले व्रत बस्दा पानी पिउन आवश्यक छ,’ उनले सुझाइन्, ‘कम तौल भएको र शरीर नै कमजोर महसुस छ भनेचाहिँ व्रत नलिनुस् ।’

पोषणविद् प्रा.डा. प्रधानले व्रतमा पानीसमेत नपिउँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने र बेहोससमेत हुन सक्ने बताइन् । ‘शरीरमा पानी भएन भने डिहाइड्रेसन हुन्छ । शक्तिह्रासले कमजोरी बढ्छ र कतिपय बेहोस हुन सक्छन्,’ उनले भनिन्, ‘रमाइलो चाडमा शरीरलाई जोखिममा नपारी पनि व्रत बस्न सकिन्छ ।’

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

ि१३ वर्षमुनिका बालबालिका

िमधुमेहका समस्या भएका

िरक्तचाप कम भएका

िग्यास्ट्रिकको समस्या भएका

िगर्भवती, स्तनपान गराइरहेका महिला

िइटिङ डिसअर्डर भएका

िधेरै औषधि सेवन गरिरहेका


प्रकाशित : भाद्र १३, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा डेंगुका बिरामी ह्वात्तै बढे

टेकु अस्पतालको इमरजेन्सीमा बेड पाउनै मुस्किल 
६९ जिल्लामा पुग्यो डेंगु, ललितपुरमा सबैभन्दा धेरै 
बुनु थारु

काठमाडौँ — उपत्यकामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेका हुन् । अस्पतालमा शुक्रबार  करिब २ बजे पुग्दा १५ बेडको इमरजेन्सी सबै भरिभराउ देखिन्थ्यो । कुनै बेडमा त दुई जनासम्म पल्टिरहेका थिए ।

इमरजेन्सीको बेडमै भेटिए कुलेश्वरका ४० वर्षीय प्रह्लाद भट्टराई । बिहीबार १०४ डिग्री ज्वरो आएको र अत्यधिक शरीर दुखेपछि उनी अस्पताल भर्ना भए । उनले डेंगु परीक्षणका लागि नमुना दिएका छन् । चिकित्सकका अनुसार उनको लक्षण सबै डेंगुसित मिल्छ । ‘जिउ दुख्न कम भए पनि रिंगटा चलिरहेको छ । बस्न पनि सकेको छैन । एकदम कमजोरी महसुस भएको छ,’ उनले सुनाए ।

जडिबुटी बस्ने २८ वर्षीय दीपक कार्की र २५ वर्षीय बलबहादुर खड्का भर्ना हुनका लागि इमरजेन्सीबाहिर १ घण्टा कुर्दा पनि भर्ना पाएनन् । दुवैलाई डेंगु पुष्टि भएको छ । दुवैमा ज्वरो पनि आएको छ । तर इमरजेन्सी र भित्रको वार्डको बेड पनि सबै भरिएपछि उनीहरूले बेड पाउन सकिरहेका थिएनन् ।

चिकित्सकले बेड खाली नभएपछि घरमै आराम गर्न र चिकित्सकको निगरानीमा बस्नु भनेर घर पठाए । भक्तपुर अस्पतालमा परीक्षण गराएका उनीहरूको परीक्षणमा दुवैको प्लेटलेट्स ८० हजार देखाएपछि अस्पतालले टेकु रेफर गर्‍यो । सामान्यतया प्रतिमाइक्रोलिटर रगतमा १,५०,००० देखि ४,५०,००० सम्म प्लेट्लेट्स हुन्छन् । १,५०,००० भन्दा कम प्लेट्लेट्स हुनुलाई सामान्य मानिँदैन । रगतमा प्लेट्लेट्सको मात्रा कम हुँदा रगत बग्न समस्या देखिन सक्छ ।

टेकु अस्पतालमा रहेको १५ वटा इमरजेन्सी बेड मात्र होइन, ४० बेडको वार्डमा पनि अधिकांश बिरामी डेंगुकै रहेका छन् । केही बिरामी भने केही सर्पदंश र कालाजारका रहेका छन् । इमरजेन्सी वार्डमा खटिएका मेडिकल अधिकृत डा. प्रकाश ज्ञवालीका अनुसार दुई हप्ता डेंगुको बिरामी आउन थाले पनि १ हप्तायता संख्या ह्वात्तै बढेको जनाए । उनले धेरैजसो बिरामी ज्वरो र जिउ दुखाइको लक्षण लिएर आएको बताए ।

डा. ज्ञवाली भन्छन्, ‘९० प्रतिशत डेंगुकै बिरामी उपचार गराइरहेका छन् । यहाँ अरु पनि संक्रामक रोगको बिरामी आउँछन् । घरमै आराम गर्न सक्नेलाई पठायौँ नभए अरु म्यानेज गरेका छौँ । अहिले बेड नै खाली छैन । बिरामी नै फर्काउनु पर्ने अवस्था आइसकेको थिएन। सानो ठाउँ भयो बिरामी बढे ।’

हाल अस्पतालमा ७० देखि ८० जना दैनिक डेंगुजस्तै लक्षण लिएर आउने बिरामी बढेका छन् । अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले परिवार नै संक्रमित भएको केस आइरहेको बताउँदै डेंगु फैलिरहेको बताए । उनले भने, ‘धेरै मानिस ज्वरो आएको ३ देखि ५ दिनमा आइरहेका छन् । अति नै दुखाइ भएपछि मात्र अस्पताल आएका छन् ।’

स्वास्थ्य अवस्था स्थिर रहेसम्म प्लेट्लेट्स घट्दैमा आत्तिनु नपर्ने डा. पुन बताउँछन् । उनी भन्छन्, ‘डेढ लाखभन्दा तल प्लेट्लेट्स घटेको राम्रो मानिँदैन तर नियमित निगरानीमा हुनुपर्छ ।’ उनले डेंगुलाई पीडादायी रोगको संज्ञा दिँदै सहरिया क्षेत्रमा लामखुट्टे अत्यधिक बढेकाले निगरानीमा बस्न आग्रह गरे । ‘अहिले बिरामीले पातलो दिसा हुने लक्षण पनि लिएर आएका छन् । अहिले देखिएको डेंगु कुन सेरोटाइप(प्रकार)को भनेर परीक्षण गरे त्यसले निमत्याउने जटिलता र कति बेड आवश्यक पर्ला भनेर योजना बनाउन सजिलो हुन्थ्यो,’ उनले भने ।

६९ जिल्लामा पुग्यो डेंगु, ललितपुरमा सबैभन्दा धेरै

डेंगु हाल ६९ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको २६ अगस्ट २०२२ सम्मको तथ्यांक अनुसार जनवरीदेखि अगस्टसम्म प्रदेश १ मा १७४, मधेश प्रदेशमा ५२, वाग्मती प्रदेशमा १ हजार ३३०, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ६३३, कर्णाली प्रदेशमा ३५५ र सुदूरपश्चिम प्रदेशमा ७९ वटा गरी २ हजार ३७० जना केस भेटिएका छन् ।

सबैभन्दा धेरै ललितपुरमा ७५१, रुपन्देहीमा ३६१, काठमाडौँमा ३०१ वटा केस देखिएका छन् भने ७० भन्दा बढी केस देखिनेमा धादिङ, तेह्रथुम, संखुवासभा, भक्तपुर, सिन्धुली, अर्घाखाँची र गुल्मी रहेका छन् । सबैभन्दा बढी केस जुलाई र अगस्टमा पुष्टि भएका देखिन्छन् ।

ललितपुरमा ड्रममा राखिएको पानीमा लामखुट्टेको लार्भा निरीक्षण गर्दै स्वास्थ्यकर्मी ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले साउनयता डेंगुको लक्षण लिएर परीक्षण गराउन आउने बढेको बताए । उनका अनुसार परीक्षण गराउन आउनेमा दैनिक करिब ५० जनामा डेंगु पुष्टि भएका छन् । उनी भन्छन्, ‘डेंगु बढिरहेको देखिन्छ । अस्पतालको हिजोसम्मको तथ्यांकअनुसार साउन १ यता ४८० जनामा डेंगु परीक्षण पुष्टि भएको छ । हाल १४ जना बिरामी उपचार गराइरहेका छन् ।’

ललितपुर महानगरपालिकामा जनस्वास्थ्य शाखाको प्रमुख सरिता महर्जनले डेंगुको संक्रमण बढेसँगै प्रत्येक वडा–वडामा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको बताइन् । महानगरपालिकाले १ देखि २९ वटा क्षेत्रमा बिहान साढे ८ बजेदेखि साढे १० सम्म र साँझ साढे ५ देखि साढे ६ सम्म दैनिक ३ घण्टा लार्भा नष्ट गर्ने काम गरिरहेको छ । ‘हामीले ९,१०,१२ र १३ गतेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सबैको समन्वयले नियन्त्रणमा आउँछ होला,’ उनले भनिन् ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । सन् २००६, २०१०, २०१२/१३, २०१७ र २०१९ मा डेंगुले प्रकोपकै रूप लियो ।

टेकु अस्पतालका पूर्वनिर्देशक डा. अनुप बास्तोलाले सतर्क रहन आग्रह गर्दै सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्ने बताए । उनका अनुसार घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ । ‘साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नुपर्छ,’ उनले भने ।

उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगुका हुन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गनुुपर्ने चिकिसकहरूको सुझाव छ ।

प्रकाशित : भाद्र ११, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×