कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
दयनीय अवस्थामा जेठो विश्वविद्यालय

तीन वर्षमा तीन सय दिन तालाबन्दी

त्रिविमा निरन्तर तालाबन्दी भएकाले त्रिवि कार्यकारी परिषद्को बैठक होटलमा, बैठकस्थलमै हस्तक्षेप गरेर नेविसंघका कार्यकर्ताले दस्ताबेज नियन्त्रणमा लिए
बैठक बिथोलिएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपकुलपतिको विपक्षमा नेविसंघ र पक्षमा अनेरास्ववियुको भीडको होहल्ला
देशकै ठूलो विश्वविद्यालयलाई प्राज्ञिक थलो बन्न नदिएर उपकुलपतिसहित पदाधिकारीमा कार्यकर्ता भर्ती गर्ने माउ पार्टीका प्रमुख नेता अहिले मूकदर्शक
सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा आइतबार बिहान पत्रकारहरूलाई आफ्नो मोबाइलमा १० दिनअघि आएको एसएमएस पढेर सुनाउँदै थिए, ‘आजदेखि विश्वविद्यालय नआउनुस् है, हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुँदै छ, नत्र हामी जिम्मेवार हुनेछैनौं ।’

तीन वर्षमा तीन सय दिन तालाबन्दी

एसएमएस पठाउने विद्यार्थी नेविसंघका कार्यकर्ता थिए । तीन वर्षअघि बाँस्कोटा उपकुलपति नियुक्त भएदेखि नै नेविसंघको एउटा समूहले विश्वविद्यालयमा तालाबन्दी, तोडफोड र अवरोध गर्दै आएको छ । यो अवधिमा ३०० दिन त्रिविमा तालाबन्दी भएको छ ।

त्रिविले आइतबार पत्रकार सम्मेलन गरिरहँदा पनि बाहिर दुई हूल विद्यार्थी प्रदर्शन गरिरहेका थिए– पक्ष र विपक्षमा । सत्तारूढ कांग्रेस समर्थित नेविसंघका विद्यार्थी उपकुलपतिको कार्यक्रम बिथोल्न पुगेका थिए भने प्रतिपक्षी अनेरास्ववियुका विद्यार्थी उपकुलपतिको समर्थनमा । दुवै थरी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा भएको झडपमा केही विद्यार्थी घाइते पनि भए ।

यसअघि नेविसंघको एक समूहले त्रिवि कार्यकारी परिषद्को बैठकमा हस्तक्षेप गरेको थियो । जमलस्थित एल्लो प्यागोडा होटलमा शुक्रबार परिषद् बैठक राखिएको थियो । नेविसंघका योगेन्द्र रावल, श्यामराज ओझालगायतको समूहले बैठकको फाइल र कागजात नियन्त्रणमा लिएर शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझायो । त्यही विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन बिथोल्न पनि हूल उत्रियो, झडप भयो ।

कार्यकारी परिषद्को बैठकमा हस्तक्षेप गर्ने रावल दुई वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको नेतृत्व गर्ने नेविसंघ त्रिविका नेतासमेत हुन् । रावल र हरि आचार्यको नेतृत्वमा त्रिविमा निरन्तर तालाबन्दी र तोडफोड हुँदै आएको प्राध्यापकहरूले बताए । चलाउनेमाथि भएको आक्रमणमा आचार्य पनि संलग्न भएको विषयमा अदालतमा मुद्दा विचाराधीन छ ।

त्रिविका अलावा पोखरा र संस्कृत विश्वविद्यालयमा पनि नेविसंघले लामो समयदेखि तालाबन्दी गरिरहेको छ । नेविसंघको तालाबन्दीकै बीच २०७८ माघमा आंशिक प्राध्यापकले पनि त्रिवि सेवा आयोग र आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेका थिए । एकीकृत समाजवादीनिकट अनेरास्ववियुले पनि असार अन्तिम साता त्रिवि उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको थियो । ज्ञापनपत्र बुझाउने अनेरास्ववियुका उपाध्यक्ष माधव पन्तको नेतृत्वमा गएको समूहले उपकुलपतिलाई नभेटेपछि कार्यकक्ष तोडफोड गरेर फर्किएको थियो । उता नेविसंघले लगाएको ताला खोल्न छलफलको बाटो खोज्नेभन्दा पनि बल प्रयोग गर्ने नीति लिएको अनेरास्ववियुले आइतबारको झडपबीच एकतर्फी ताला खोलेको थियो । नेविसंघले एक महिनाअघि रजिस्ट्रार कार्यालय, लेखा, कर्मचारी प्रशासन महाशाखा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, मानविकी र व्यवस्थापन डिन कार्यालयमा लगाएको ताला अनेरास्ववियुका विद्यार्थीले फुटाएका थिए । तर, नेविसंघले तुरुन्तै ताला लगाएको छ ।

अनेरास्ववियुले त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको र त्यसअन्तर्गत ताला फुटाइएको नेता आरसी लामिछानेले बताए । ‘यसअघि नै वार्ता, छलफलबाट समस्या समाधान गर्नुपर्ने भन्दै तालाबन्दी गरे फुटाइदिने चेतावनी अनेरास्ववियुले दिएको थियो, अहिले त्यही गरेका हौं,’ उनले भने ।

एउटा पक्षले तालाबन्दी गर्ने र अर्कोले फुटाउने गर्दा विश्वविद्यालय रणभूमि बनेकामा प्राध्यापक र कर्मचारीको चिन्ता छ । पटक–पटक तालाबन्दी र तोडफोड गरेर नेविसंघले विद्यार्थी आन्दोलनलाई नै बदनाम बनाउन खोजेको पनि लामिछानेले बताए । ‘जायज माग संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट पनि उठाउन सकिन्छ, तालाबन्दीबाट उन्मुक्ति नदिएसम्म विश्वविद्यालय तंग्रिन सक्दैन, त्रिविलाई लकडाउनमा राख्न हुन्न भनेर सचेत गराउन ताला फुटाइदिएका हौं,’ उनले भने ।

प्रश्नपत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने र छानबिन प्रतिवेदन सार्वजनिक गरिनुपर्ने नेविसंघको माग छ । विश्वविद्यालयले भने प्रश्नपत्रमा हुबहु गर्नेलाई तीन वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने कारबाही गरिसकेको दाबी गरेको छ । दोषीको नाम भने गोप्य राखिएको छ । नाम सार्वजनिक गर्दा सुरक्षा खतरा हुने अनुमान गरेर गोप्य राखिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीको भनाइ छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले त्रिवि इकाईले गरेको तालाबन्दीमा केन्द्रीय समितिको समेत ऐक्यबद्धता रहेको प्रस्ट्याए । ‘शान्तिपूर्ण धर्नालगायत महिनौं आन्दोलन गर्दा त्रिवि पदाधिकारीले सुनेनन्, बाध्य भएर तालाबन्दी गरिरहेका छौं,’ उनले भने, ‘जायज माग पूरा भए पाँच मिनेटमै ताला खोल्न तयार छौं ।’ प्रश्नपत्र हुबहु सोधिएको बारे गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने उनले दोहोर्‍याए । शेर्पाले भने, ‘तालाबन्दीले पढाइ, परीक्षा रोकिएको छैन, विश्वविद्यालयको समस्याका विषयमा बोल्नै नपाइने हुँदैन ।’

एक वर्षसम्म नतिजा प्रकाशन गर्न नसकेर त्रिविले विद्यार्थीमाथि अन्याय गरिरहेको उनले बताए । ‘त्यसविरुद्ध तालाबन्दी गर्न पाइँदैन भने प्रश्नपत्र किनबेच गर्न पाइन्छ ? हुबहु प्रश्नपत्र सोध्न पाइन्छ त ?’ उनले प्रश्न गरे । माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने उनले बताए । ‘अखिल र युवासंघका गुन्डा किनेर ताला फुटाउने, हाम्रा साथीहरूमाथि आक्रमण गर्ने काम भएको छ, अझै सशक्त आन्दोलन हुन्छ,’ उनले कान्तिपुरसँग भने ।

उता उपकुलपति बाँस्कोटाले भने पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा नै अवरोध गरिएकाले कार्यकारी परिषद्को बैठक होटलमा डाक्नुपरेको बताए । उनले शान्तिसुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरे । विश्वविद्यालयले शान्तिसुरक्षाको व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरेको छ । ‘एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतंक सिर्जना गर्दै आएको छ,’ बाँस्कोटाले भने, ‘विश्वविद्यालय नआउनु भनेर सन्देश पठाउँछन्, कुलपतिले विश्वविद्यालयमा काम गर्नु भनेर नियुक्ति दिनुभएको हो । अब हामी कहाँ जाने ?’

तालाबन्दीबारे कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी दिएको उनले बताए । प्रधानमन्त्रीले तालाबन्दी नगर्न निर्देशन दिए पनि गृह मन्त्रालय र प्रहरी प्रशासनबाट सहयोग नभएको पदाधिकारीहरू बताउँछन् । ‘पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी तोडफोड गर्ने, कार्यकक्ष प्रवेश गर्न निषेध गर्ने, दुव्र्यवहार गर्दा सुरक्षाकर्मी मूकदर्शक भएर बसिरहन्छन्,’ विश्वविद्यालयले विज्ञप्ति निकालेर भनेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने विश्वविद्यालयमा शान्तिसुरक्षाको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए । ‘तालाबन्दी प्रहरी, सीडीओले खुलाउने होइन, सम्बन्धित विश्वविद्यालयको आन्तरिक विषय हो,’ उनले भने, ‘प्रहरी साँचो फुटाउन जाँदैन । विश्वविद्यालयले नै छलफल गरेर मिलाउनुपर्छ ।’

उपकुलपतिमा बाँस्कोटा नियुक्ति भएदेखि (२०७६) यता नेविसंघले शृंखलाबद्ध तालाबन्दी गरिरहेको छ । गत माघमा उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पाँच महिनापछि (वैशाखमा) खुलेको थियो । ताला खुलाउन प्रतिनिधिसभामा सांसदहरूले समेत माग गरेका थिए । चौतर्फी दबाबका कारण नेविसंघ केन्द्रीय समितिको निर्देशनमा ताला खोलिएको थियो । तर, पछिल्लो तालाबन्दीका कारण असारदेखि शिक्षक–कर्मचारीले तलब पाएका छैनन् भने बिजुली, खानेपानी, इन्टरनेट र टेलिफोनको बिलसमेत भुक्तानी गर्न नसकिएको रजिस्ट्रार पेशल दाहालले बताए ।

देशको जेठो र सबैभन्दा ठूलो विश्वविद्यालयलाई प्राज्ञिक थलो बन्न नदिएर कार्यकर्ता भर्ती केन्द्र बनाउने माउ पार्टीका प्रमुख नेता नै हुन् । कांग्रेस, एमाले र माओवादी मिलेर तीर्थ खनियाँलाई उपकुलपति बनाउँदै सबै विश्वविद्यालयका पदाधिकारीमा भागबन्डा गरिएको थियो । त्रिविमा नेतृत्व आउँदा केपी शर्मा ओली नेतृत्वको सरकार भएकाले उनले पनि आफ्नै विश्वासपात्र बाँस्कोटालाई उपकुलपति बनाएका थिए । त्यतिमात्र होइन, रजिस्ट्रार, रेक्टरलगायत पदाधिकारी पनि नेकपामा प्रतिबद्धहरूलाई बनाइएको भन्दै कांग्रेस र नेविसंघलगायत संगठन असन्तुष्ट बनेका हुन् । नयाँ पदाधिकारी नियुक्ति भएको ६ महिनापछि ज्ञापनपत्र बुझाउन गएका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी लडाएर दुव्र्यवहार गरेका थिए ।

नेविसंघले आफ्ना माग पूरा गराउन २०७६ फागुन–चैतदेखि उपकुलपति कार्यालयअगाडि कालो ब्यानर टाँगेर विरोध गरेको थियो । आचार्य अध्यक्ष र रावल सचिव रहेको नेविसंघ त्रिवि कमिटीले त्यतिबेला थालेको आन्दोलन अहिलेसम्म जारी छ । तर संवाद गर्ने होइन, तर्साउने उद्देश्यले विरोध भइरहेको उपकुलपति बाँस्कोटाको आरोप छ । ‘उपकुलपतिको कुर्सी लडाउने, जुत्ताको माला राख्ने र जलाउनेजस्ता गतिविधि हुँदै आएका छन्,’ उनले भने, ‘यस्ता गतिविधि नियमित अध्ययन गर्ने विद्यार्थीले गर्नै सक्दैनन्, विद्यार्थी हुँ भनेर १७ वर्षदेखि विश्वविद्यालयमा बस्नेहरूले गरिरहेका छन् ।’

नेविसंघको समूहले २०७७ जेठमा त्रिवि परिसरमा रहेको ग्लोबल बैंकको काउन्टरसमेत तोडफोड गरेको थियो । त्यस्तै २०७७ वैशाखमा डेढ महिनासम्म तालबन्दी गरियो भने असार १० मा उपकुलपतिको कुर्सी जलाइएको थियो । साउन २७ मा त्यही समूह तोडफोडमा उत्रियो । प्रहरी प्रशासन र विश्वविद्यालयले पनि उनीहरूलाई कुनै कारबाही गरेन ।

विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर उक्त समूहले समाजशास्त्र केन्द्रीय विभागमा तालाबन्दी गरेको थियो । विभागको तालाबन्दी खुलाउनुपर्ने धारणा राख्ने उपप्राध्यापक प्रेम चलाउने आक्रमणमा परे । चलाउने अहिले बैसाखीको सहायताले मात्र हिँडडुल गर्न सक्ने हालतमा छन् भने आचार्य र रावलविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । सरकारले मुद्दा फिर्ता लिन अदालतमा सिफारिस गरेको छ । ‘नाजायज फाइदा लिन सक्रिय गिरोहले विश्वविद्यालयमा अशान्ति फैलाइरहेको छ, राज्यले साथ दिए मात्र कारबाही गर्न सकिन्छ,’ उपकुलपति बाँस्कोटाले भने । दोषीलाई सरकारले नै संरक्षण गर्दा कारबाही गर्न नसकिएको उनले बताए ।

नेविसंघको त्यही समूहले २०७८ माघ ७ देखि ५ महिनासम्म उपकुलपति कार्यालयमा तालाबन्दी गर्‍यो । उक्त ताला गत असारमा खुलेको थियो । उपकुलपति कार्यालयमा ताला खोलेको नेविसंघले त्यही महिना त्रिवि सेवा आयोग कार्यालयमा तालाबन्दी गरेर प्राध्यापक छनोटको परीक्षा अवरुद्ध गरेको सेवा आयोगले जनाएको छ । उपकुलपति कार्यालयको ताला आफैं खोले पनि साउनमा नेविसंघले रजिस्ट्रार कार्यालयसहित ६ निकायमा फेरि ताला लगायो । भदौ ८ मा उपकुलपति कार्यालयको ढोका तोडफोड गरियो भने कुर्सीमा जुत्ताको माला राखेर दुव्र्यवहार गरिएको थियो । असुरक्षाका कारण विश्वविद्यालयबाहिर बसेर दैनिक कामकाज गर्दै आएका पदाधिकारी कार्यकारी परिषद्को बैठकमा जुट्दा नेविसंघको सोही समूहले कागजात नियन्त्रणमा लिएको थियो । विश्वविद्यालयले त्यसलाई ‘लुटपाट’ को संज्ञा दिएको छ । उक्त घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनसमेत बिथोल्ने प्रयास भने आइतबार प्रहरीले असफल पारेको कर्मचारीहरूले बताए ।

प्रकाशित : भाद्र १३, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?