सार्वजनिक पदमा बस्ने महिलाको निजी जीवनमा अतिक्रमण

फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन निजी पार्टीमा सहभागी भएको फोटो र भिडियोले सार्वजनिक ‘बहस’ सिर्जना गरेको छ, यसरी निजी जीवनका विषयमा सार्वजनिक सफाइ दिन बाध्य उनी पहिलो नेत्री होइनन्
‘मरिन कडा नीति, बलियो नेतृत्व र सफल वार्ताकारका रुपमा चिनिन्छन् तर उनलाई अर्को विश्वको जस्तो गरी हेरियो’
बुद्धिसागर मरासिनी

काठमाडौँ — करिब ३ वर्षअघि फिनल्यान्डको प्रधानमन्त्रीका रूपमा विश्वासको मत जितेपछि ३४ वर्षीया सना मरिनले ‘आफ्नो उमेर वा लिंगबारे नभई राजनीतिमा आउनुको कारण र विश्वासका विषयमा सोच्ने गरेको’ बताएकी थिइन् । त्यतिबेला विश्वकै कान्छी प्रधानमन्त्री बनेर रेकर्ड बनाएकी उनी साताअघि पुनः चर्चामा आइन् ।

सार्वजनिक पदमा बस्ने महिलाको निजी जीवनमा अतिक्रमण

कारण थियो– मदिरा सेवन गरेर पार्टीमा नाच्दै गरेको भिडियो । भिडियो सार्वजनिक भएपछि उनले महिला भएकै कारण थप अपमानित हुनुपरेको छ ।

उनी मदिराको तालमा साथीहरूसँग नाच्दै गरेको भिडियो अघिल्लो शुक्रबार बाहिरिएको थियो । जसका कारण उनको कडा आलोचना मात्र भएन, अन्य दलका नेताले उनले लागूऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षण गर्नुपर्ने माग गरे । उनीहरूले मरिनमाथि छानबिन गर्न दबाबसमेत दिए । प्रधानमन्त्री मरिनले भने आफूले मदिरा पिएर रमाइलो गरेको तर लागूऔषध सेवन नगरेको बताएकी थिइन् । आलोचना बढ्दै गएपछि र राजीनामाको समेत आवाज उठ्न थालेपछि उनी लागूऔषध परीक्षण गराउन बाध्य भएकी थिइन् ।

मरिनले लागूऔषध सेवन गरेको पुष्टि भएन तर व्यक्तिगत जीवनको एउटा पाटो उघारिएका कारण उनी तनावमुक्त रहिनन् । त्यसका साथै प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित अर्को एक छुट्टै पार्टीमा दुई अर्धनग्न युवतीले चुम्बन गरिरहेको भिडियो बाहिरिएपछि उनले ‘अमर्यादित कार्य’ भन्दै माफी माग्नुपरेको थियो ।

परीक्षण गराएपछि उनले आफूले जीवनभर लागूऔषध प्रयोग नगरेको बताउँदै उक्त भिडियो सार्वजनिक गरिएकामा निकै दुःख लागेको बताएकी थिइन् । लागूऔषध सेवन गरेको कुरा अफवाह भएको उनको भनाइ थियो । ‘म मेरा साथीहरूसँग थिएँ, हाम्रो पार्टी थियो,’ उनले भनेकी थिइन्, ‘मैले नाचगान गरे पनि ड्रग्स कहिल्यै लिएको छैन । मसँग लुकाउन केही छैन । त्यो एक निजी भिडियो थियो, जुन यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।’ मरिनले आफू प्रधानमन्त्री पदमा रहेको भए पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टीकरणसमेत दिनुपरेको थियो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको उनको भिडियोमा अस्वाभाविक प्रतिक्रिया आएको थियो । कतिपयले प्रधानमन्त्रीले पनि निजी जीवन जीउन पाउनुपर्ने बताएका थिए भने कतिपयले सना मरिन फिनल्यान्डको प्रधानमन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका थिए । ‘काम गरेपछि उनले पार्टी गर्न किन सक्दिनन् ? के तिनीहरू मानव होइनन् ?’ उनको समर्थनमा एक जनाले लेखेका थिए । अर्का प्रयोगकर्ताले भने प्रधानमन्त्रीको व्यवहार आफूलाई स्वीकार्य नहुने भन्दै तर्क गरेका थिए । ‘प्रधानमन्त्रीको यस्तो व्यवहार स्वीकार्य छ ? मलाई लाग्छ– छैन,’ उनले लेखेका थिए ।

प्रधानमन्त्री भएदेखि नै पार्टी गर्ने बानीले मरिन बारम्बार आलोचित हुने गरेकी छन् । संगीत समारोहमा सामेल भएका उनका तस्बिरहरू कैयौं पटक बाहिर आएका छन् । पछिल्लो पटक भाइरल भएको भिडियोमा उनी फिनल्यान्डका पपस्टारसँग नाच्दै थिइन् । आलोचना भए पनि धेरैले उनको तारिफ गरिरहेका छन् । जर्मन समाचार संस्था बिल्डले उनलाई विश्वकै ‘कुलेस्ट’ प्रधानमन्त्रीको संज्ञा दिएको छ ।

मरिनको कार्यकालमा फिनल्यान्डले धेरै चुनौतीको सामना गरेको छ । कोरोना महामारीका कारण देशले धेरै समस्या झेल्नुपरेको थियो भने युक्रेनमा रुसको आक्रमणले फिनल्यान्डको चुनौती थप बढाएको छ ।

मरिन सोसल डेमोक्रेटिक पार्टीका तर्फबाट सन् २०१९ मा ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनको नेतृत्वमा बनेको गठबन्धन सरकारमा सहभागी अन्य चारवटै दलको नेतृत्व महिलाले गरेका थिए । देशको सत्ता आफ्नो हातमा लिन मरिनले ‘सेन्टर पार्टी’ र वाम विचारधाराका दलबीच महत्त्वपूर्ण गठबन्धन बनाएकी थिइन् । यो गठबन्धनमा थप चार जना महिला नेता समावेश छन् ।

तत्कालीन प्रधानमन्त्री आन्ती रिन्नेले पद त्यागेपछि पार्टीले मरिनलाई सरकारको नेतृत्वका लागि चयन गरेको थियो । हुलाक सेवामा भएको हडतालको विषयमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री रिन्नेले राजीनामा दिएका थिए ।

प्रधानमन्त्रीका रूपमा विश्वासको मत जितेपछि मरिनले ‘आफ्नो उमेर वा लिंगबारे नभई राजनीतिमा आउनुको कारण र विश्वासका विषयमा सोच्ने गरेको’ बताएकी थिइन् । मरिन नोर्डिक देशमा प्रधानमन्त्री हुने तेस्री महिला हुन् ।

साधारण परिवारमा जन्मिएकी मरिन सानै छँदा आमाबाबु अलग भएका थिए । आमाले एक्लै हेरचाह गरेका कारण उनले बाल्यकालमा आर्थिक समस्या भोग्नुपरेको थियो । मरिन परिवारमा विश्वविद्यालय स्तरको शिक्षा लिने पहिलो व्यक्ति हुन् । १५ वर्षको हुँदा एक पसलमा काम थालेकी मरिनले केही समय पत्रिका वितरणको काम पनि गरेकी थिइन् । त्यसताका आमा एक महिलासँग सम्बन्धमा रहेको भन्दै आफूले आलोचना खेपेको मरिनको भनाइ छ ।

जीवनको दुई दशक लाग्दै गर्दा राजनीतिमा प्रवेश गरेकी मरिनले त्यसको दुई वर्षपछि काउन्सिलरको चुनावमा उम्मेदवारी दिएकी थिइन् । पहिलो चुनावमा पराजित भएकी उनी ५ वर्षपछि काउन्सिलर बनिन् । त्यसलगत्तै २७ वर्षको उमेरमा देशको तेस्रो ठूलो सहर टाम्पेरेको काउन्सिलको नेतृत्व गर्ने मौकासमेत पाएकी थिइन् ।

सन् २०१९ मा सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३४ वर्ष मात्रै थियो । यसअघि सन् २०२१ मा कोभिड महामारीको समयमा पार्टी गरिरहेको तस्बिर भाइरल भएपछि उनी विवादमा परेकी थिइन् । त्यतिबेला तत्काल माफी मागेकी थिइन् ।

फिनल्यान्डको गठबन्धन राजनीतिमा निकै कठिन मानिएको अन्तरपार्टी विवादलाई सहजै मिलाउँदै उनले सन् २०२१ को बजेट ल्याएपछि उनलाई क्षमतावान राजनीतिज्ञका रूपमा चित्रित गरिएको थियो । कोरोना भाइरसको महामारीबाट जुध्न उनको निर्णय क्षमता र नीतिका कारण फिनल्यान्डका जनताले पुराना विवादास्पद छवि भुलेका थिए ।

मदिरा सेवन गरेर पार्टीमा नाच्दै गरेको पछिल्लो भिडियो सार्वजनिक भएसँगै मरिन विवादित बनेकी छन् । उनका समर्थकहरूले भने महिलाविरोधी भावना भएकाहरूले मरिनमाथि अनावश्यक आक्रमण गरेका बताएका छन् ।

सन् २०२० मा डाभोसमा आयोजित एक कार्यक्रममा मरिनलाई सबै महिला नेतृत्वका दलको गठबन्धन सरकारले गरेका कामबारे सोधिएको प्रश्नको जवाफमा मरिनले ‘सरकारले अन्य देशमा जस्तै काम गरिरहेको र महिलालाई मात्र अनुमति रहेको कोठामा बस्ने नगरेको’ भन्दै कडा व्यंग्य गरेकी थिइन् । त्यसको केही समयपछि उनी एक म्यागेजिनका लागि गरिएको फोटोसुटमा भित्री वस्त्रबिना कोटमा देखिएपछि आलोचित बनेकी थिइन् ।

सन् २०१७ यता न्युजिल्यान्डको प्रधानमन्त्री रहेकी जसिन्डा आर्डन महिला सरकार प्रमुखका रूपमा चर्चित अर्को नाम हो । मरिन जोडिएको पछिल्लो अवस्थाका विषयमा विश्वभरबाट प्रतिक्रिया जनाउने राजनीतिज्ञको सूचीमा आर्डन पनि थपिएकी छन् । पछिल्लो पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा आर्डनले पुरुषको तुलनामा महिला राजनीतिज्ञले सामाजिक तथा पारिवारिक विषयमा बढी चुनौती सामना गर्नुपरेको बताएकी छन् ।

‘हो, तपाईंलाई थाहा भएजस्तै म कुनै पनि देशको राजनीतिक अवस्थालाई इंगित गर्दिनँ तर मेरो सामान्य अनुभव के हो भने जबदेखि म प्रधानमन्त्रीको भूमिकामा छु, आफ्नो सबै जीवन छाडेर राजनीतिमा मात्रै रहनुपर्छ भन्ने सोचका मानिसहरू देखेकी छु,’ उनी भन्छिन् ।

३७ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा आर्डन विश्वकै कान्छी महिला सरकारप्रमुख थिइन् तर दुई वर्षपछि त्यो रेकर्ड मरिनले खोसेकी हुन् । उनी सन् २०२० को चुनावमार्फत दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन् । २८ वर्षको उमेरमा सांसद निर्वाचित भएकी आर्डन पाकिस्तानकी बेनजिर भुट्टोपछि पदमै रहेका बेला आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन् ।

राष्ट्रसंघीय महासभामा श्रीमान् र बच्चा लिएर सहभागी न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन । तस्बिर : रोयटर्स

यसअघि संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि आर्डन चर्चामा आएकी थिइन् । उनले संसारभरका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएको भन्दै निकै प्रशंसा भएको थियो । पुरुषका तुलनामा नम्रता, संवेदनशीलता, सामाजिक–पारिवारिक विशेषता र प्राकृतिक गुणका कारण महिला नेतृत्व बढी प्रभावकारी हुने कतिपयको भनाइ छ ।

चुनाव नजिकिँदै गरेका बेला सार्वजनिक भिडियो र त्यसप्रतिको प्रतिक्रियाका कारण मरिनलाई आगामी कार्यकाल प्रधानमन्त्री बन्न कठिन बन्ने देखिएको विश्लेषकहरूको भनाइ छ । फिनल्यान्डमा सन् २०२३ को अप्रिलमा संसदीय चुनाव हुँदै छ । घटनापछि फिनल्यान्डका महिला भने मरिनको समर्थनमा उत्रिएका छन् । उनीहरूले आफूले पार्टीमा रमाइलो गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘सनाप्रति ऐक्यबद्धता’ लेखेका छन् ।

टुर्कु विश्वविद्यालयका प्राध्यापक अनु कोइभुनेन मरिनको स्थानमा पुरुष प्रधानमन्त्री भएको भए पनि केही विवाद हुने तर महिला भएका कारण बढी आलोचना भएको बताउँछिन् । ‘मरिन कडा नीति, बलियो नेतृत्व र सफल वार्ताकारका रूपमा चिनिन्छन् तर उनलाई अर्कै विश्वको जस्तो गरी हेरियो,’ उनको भनाइ छ ।

मरिन नेतृत्वको एसडीपीका पूर्वसचिव मिखाएल जंगनर उनी अर्को वर्ष हुने निर्वाचनमार्फत पुनः प्रधानमन्त्री बन्ने सम्भावना कमै देख्छन् । ‘जब मानिसहरू तपाईंमाथि हाँस्छन्, तब यो राजनीतिक जीवनका लागि खतरा हो,’ उनले भने, ‘पार्टी गर्नु खराब होइन तर गलत मानिससँग पार्टी गर्नु खराब हो ।’

यद्यपि आममानिसले मरिनलाई रकस्टारको जस्तो गहिरो छाप छाड्न सफल भएका कारण उनी सन् २०२४ मा हुने चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित हुन सक्ने बताउँछन् । ‘उनको राजनीतिक करियर अन्त्य भइसकेको छैन,’ जंगनरले भने ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र १२, २०७९ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?