कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लन्डनबाट ४० वर्षपछि सम्पदा घरफिर्ती

‘बेलायतबाट मात्रै २१ थान सम्पदा घर फर्किए’
देवेन्द्र भट्टराई

काठमाडौँ — झन्डै ४० वर्षअघि काठमाडौंका धार्मिकस्थलबाट हराएका दुई पुरातात्विक सम्पदा बेलायतको लन्डनबाट घरफिर्ता भएका छन् ।

लन्डनबाट ४० वर्षपछि सम्पदा घरफिर्ती

बेलायतको बरकत ग्यालरी तथा सम्बद्ध डिलरकहाँ फेला परेका सम्पदा लन्डनको महानगरीय प्रहरीको समन्वयमा नेपाली दूतावास हुँदै काठमाडौं आइपुगेका हुन् । यी सम्पदामध्ये प्रत्येकको मूल्य १० हजार पाउन्ड तोकेर बिक्रीमा राखिएको अवस्थामा यी मूर्तिको ‘नेपाल उत्पत्ति’ (कन्ट्री अफ ओरिजिन) फेला परेको थियो ।

लामो कानुनी प्रक्रिया बेहोर्दै बिहीबार घरफिर्ती गरिएका सम्पदामा काठमाडौं–२३ को कुमारी वहा प्रवेशद्वार माथिको काठको कलात्मक तोरण (सत्रौं शताब्दी) र सोही वडाको मञ्जुश्री मन्दिर नजिकै ओमबहालमा रहेको ‘नमस्कार मुद्रामा बसेको भक्तको प्रस्तर मूर्ति’(सोहैं शताब्दी) छन् । यी सम्पदाको पहिचान र घरफिर्ती प्रक्रियामा स्कटल्यान्डको ग्लास्गो युनिभर्सिटीमा अध्यापनरत क्रिमिनोलोजी विषयकी प्राध्यापक डा.एमिलिन स्मिथले सहयोग गरेकी थिइन् । लन्डनस्थित महानगरीय प्रहरीले यी सम्पदा गत मार्च १८ मा लन्डनस्थित नेपाली दूतावासलाई जिम्मा दिएको थियो ।

बिहीबार आयोजित एक समारोहमाझ, यी सम्पदालाई पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले छाउनी संग्रहालयका प्रमुख जयराम श्रेष्ठसमक्ष हस्तान्तरण गरेका छन् । यी सम्पदालाई सम्बद्ध पुरातात्विक स्थलमा पुरानै स्वरुपमा प्रतिस्थापन गरिने भएपनि तत्कालका लागि सुरक्षा र संरक्षणका निम्ति संग्रालयमा बुझाइएको पुरातत्वले जनाएको छ । यी दुई कलात्मक सम्पदा बिमा तथा ढुवानी खर्च संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेहोरेको थियो ।

तस्बिरहरु : दीपक केसी/कान्तिपुर

विभागका अनुसार हालसम्म अस्ट्रिया, अमेरिका, तिब्बत, भारत, जर्मनी, इटाली र युरोपियन युनियनबाट गरेर ७२ थान पुरातात्विक मूर्ति/सम्पदा घरफिर्ती भइसकेका छन् । बेलायतबाट मात्रै २०५२ सालयता २१ थान कलात्मक मूर्ति फिर्ता भएका छन् ।

प्रकाशित : भाद्र ११, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?