मूल्यसँगै अपराध बढाउँदै बोधिचित्त- समाचार - कान्तिपुर समाचार

मूल्यसँगै अपराध बढाउँदै बोधिचित्त

राम्रो मूल्य पाउन थालेपछि धेरैको आकर्षण बढेसँगै बोधिचित्तको भाउ खस्किन थालेको छ
नगेन्द्र अधिकारी

काठमाडौँ — जिल्ला सदरमुकाम धुलिखेलबाट करिब २६ किलोमिटर दूरी छिचोलेपछि पुगिन्छ, बिपी राजमार्गअन्तर्गतको चौकीडाँडा । त्यहाँबाट तल झरेर रोशी खोला हुँदै करिब ८ किमि कच्ची मोटरबाटो र त्यसपछि आधा घण्टा पैदल यात्रापछि पुगिन्छ— रोशी गाउँपालिका–५ को नागबेली गाउँ । मकै पाकी नसकेकाले होला किसान फुर्सदमा देखिन्छन् । तर यहीँका आइतेसिं थिङलाई भने अर्कै चटारो छ । 

केही वर्षअघिसम्म नागबेली गाउँका धेरै स्थानीयको आम्दानीको मुख्य स्रोत बस्तुभाउ र एकाध कृषि बाली थियो । तर ०६५ सालपछि समयले कोल्टे फेर्‍यो । थोरै फल्ने धान र मकै अनि एकाध बाख्रा र दुहुना गाईभैंसीको आम्दानीको भरमा परिवार चलाउनुपर्ने दुःखबाट धेरै किसानले एकैचोटि मुक्ति पाए । कारण थियो, बोधिचित्त । बिरुवा रोपेको चौथो वर्षबाट बर्सेनि फल लिन सकिने भएकाले बोधिचित्तमा एकचोटिको लगानी वर्षौंसम्मको आम्दानी भएको छ । चैतदेखि फूल लाग्ने बोधिचित्तको दाना असार अन्तिम साता वा साउन पहिलो साता टिपिसकिन्छ ।

आइतेसिंको बारीको एक छेउमा छ, बोधिचित्तको रुख । त्यसको सुरक्षा दिन उनले सेना, प्रहरीलगायतका सुरक्षा निकायले निषेधित क्षेत्रमा लगाउने ‘कन्सटिना तार’ ले रुख वरपर घेरेका छन् । अनधिकृत व्यक्तिको प्रवेश नहोस् भनेर उनको ध्यान हर्दम रुखैतिर हुन्छ । केही केही स्थानीयले त बोधिचित्तका दाना चोरी होलान् भनेर तारबार मात्रै गरेका छैनन्, सीसी क्यामेरासमेत राखेका छन् ।

तेमालमा बिक्रीका लागि तयार गरिएको बोधिचित्तका दाना सुकाइँदै ।

केही वर्षअघिसम्म रोशी गाउँपालिकाका बुद्ध धर्मावलम्बीहरू बोधिचित्तको कारोबार गरेर मनग्गे कमाउन सकिन्छ भन्ने सोच्दैनथे । बौद्ध धर्ममा बोधिचित्तको प्रयोग शुभकार्य र दाहसंस्कार आदिमा हुन्थ्यो । कोही कोहीले पाथीको ४–५ सयमा यसका दाना बेच्थे पनि । तर यसैको कारोबार गरेर लाखौं रुपैयाँ कमाउने कुरा कसैको सोचेका थिएनन् । ‘पहिला बिक्री गर्ने कुरा थिएन, धार्मिक काममा प्रयोग गर्न बौद्ध धर्म मान्नेकहाँ हुन्थ्यो, अहिले सबै धर्म मान्नेहरूको घरमा एउटा न एउटा बोट छ,’ रोशी–५ का स्थानीय कामिसिं लामाले भने, ‘२०६५–६६ सालदेखि केही चहलपहल भएको बोधिचित्तको कारोबार ०७२ सालदेखि ह्वात्तै बढ्यो ।’

बोधिचित्त उत्पादन र कारोबारमा संलग्न समीप त्रिपाठीका अनुसार २०६७/६८ सालबाट बढेको बोधिचित्तको दानाको मूल्य ०७६ सालसम्म एउटा उचाइमा पुग्यो । ‘चीनबाट यसको बढी माग भएपछि मूल्य पनि त्यहीअनुसार बढ्यो,’ उनले भने, ‘विस्तारै राम्रो दानालाई राम्रो मूल्य र छनोटमा परेकाहरूको कम मूल्य आउन थालेपछि यसका महत्त्व र माग दुवै बढ्यो ।

कामिसिं आफैंले २०६९/७० सालतिर २ वर्षको बोधिचित्त दाना बेचेरै हात परेको केही लाख रुपैयाँमा थपथाप पारेर बनेपामा घडेरी किनेर घर बनाए । ‘एउटा रुखबाट नै पहिलो वर्ष ४–५ लाख आम्दानी भयो, दोस्रो वर्षको आम्दानी ५–६ लाखलाई समेत जोडेर बनेपामा घडेरी किनी घर बनाएका हौं, त्यो बेला जग्गा पनि अहिलेको तुलनामा सस्तो थियो,’ लामाले सुनाए, ‘त्यसको आम्दानी नभएको भए आँट हुँदैनथ्यो होला ।’ रोशी गाउँपालिकाको १, ३, ५ नम्बर वडाका धेरैजसो किसान बोधिचित्तको कारोबारबाट सम्पन्नताको बाटो हिँड्न थालेका छन् ।

तेमाल गाउँपालिका–८, भोर्ज्याङका सञ्जीव लामाले बोधिचित्तको व्यापार गर्न सकिने भएपछि २०६६/६७ सालमा घर छेउछाउमा एक सयवटा बोधिचित्तका बिरुवा रोपे । पहिलो वर्ष करिब दुई लाख आम्दानी गरेका उनी हिजोआज बोधिचित्त बेचेरै वार्षिक ८५ लाखसम्म कमाउँछन् । बीचको केही समय सुस्ताएको बोधिचित्तको कारोबार ०७२ सालपछि फेरि उकासिएको उनको भनाइ छ । धुलिखेलको २८ किलोमा घडेरी किनेर घर बनाएर बसेका लामा आफ्नो प्रगतिको सबै श्रेय बोधिचित्तलाई नै दिन्छन् ।

‘आम्दानीको अर्को स्रोत छैन, दुई महिनाको कमाइले वर्ष दिन खाने हो,’ उनले भने, ‘यसैबाट छोराछोरीको शिक्षादीक्षा चलेको छ ।’ रोशीमा कोही किसानले हुर्काएका बोधिचित्तको एउटै रुखबाट १० हजारदेखि ९ लाख रुपैयाँसम्म आम्दानी लिनेदेखि बढीमा एउटै बोटबाट १ करोड आम्दानी लिएसम्मको उदाहरण छ ।

बिक्रीका लागि तयार गरिएका बोधिचित्तका दाना ।

जिल्ला सदरमुकाम धुलिखेलबाट बिपी राजमार्ग हुँदै ४० किमिको दूरीमा पुगिने तेमालका स्थानीयको मुख्य पेसा कृषि हो । स्थानीय र व्यापारीका अनुसार, तेमालमा मात्रै बोधिचित्तका १५ सय बोट छन् । मकै, कोदो, गहुँ, तरकारी खेती गरेर आम्दानी गर्दै आएका यहाँका किसानले पछिल्लो समय बोधिचित्तबाट मनग्गे कमाएका छन् । तेमाल–१ का जगत तामाङले बोधिचित्तका सय बोट लगाएका छन् । सिंगो गाउँको आर्थिक हैसियत बोधिचित्तले उकासेको उनले बताए ।

सुरुवाती वर्षमा बोधिचित्तको कारोबारबाट केहीले मनग्गे आम्दानी गरे पनि पछिल्ला वर्षमा यसको भाउ खस्किन थालेको छ । राम्रो मूल्य पाउन थालेपछि यसप्रति धेरैको आकर्षण बढ्यो । तर बजारको मागभन्दा धेरै उत्पादन हुन थालेपछि भने बोधिचित्तको भाउ घट्न थालेको छ । कुनै समय किसानले बोधिचित्त भनेर झुक्याएर बयर पनि बिक्री गरेका पनि थिए । तर अहिले बजारमा रङ र आकार मिलेका दानाको मात्रै माग भएका कारण यसको कारोबार खुम्चिएको त्रिपाठी बताउँछन् ।

बोधिचित्तको मूल्य यसको आकार र गुणस्तरमा निर्भर रहन्छ । व्यापारीका अनुसार प्रतिदाना बोधिचित्त ५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ । गोलाइ र आकारअनुसार ९ एमएमसम्मका दानाले बढी मूल्य पाउने गरेका छन् । छनोटमा नपरेका दाना भनेर पाथीको ४–५ सयदेखि २ हजार–२५ सयसम्ममा कारोबार हुन्छ । बोधिचित्तका १ सय ८ दानाको एउटा माला हुने गर्छ । बोधिचित्तको कारोबारले दिलाएको समृद्धिको कथा मात्रै छैन, अस्वस्थ कारोबार र व्यापारीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले कलहको बीउ पनि रोपिरहेको छ ।

जस्तो कि, रोशी–५ बस्ने जयन्ती मैया खड्गी लामाले ०७५ असोज ७ मा सोही स्थानका आइतेसिं थिङको साविक सिसाखानी गाविस–४ मा रहेको बुद्धचितको रूखमा फलेको दाना ०७७ देखि ०७९ सम्म तीन वर्ष नै टिपेर लिने गरी ६६ लाख रुपैयाँमा करार सम्झौता गरिन् । तर सम्झौताको सर्त उल्लंघन भएकाले आफूले बोधिचित्त टिप्न नपाएको भन्दै जयन्तीले ०७९ जेठ २० मा थिङविरुद्ध काभ्रे जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्, जसमा उनले ३४ लाख ५० हजार भुक्तानी दिए पनि सम्झौता उल्लंघन भएको उल्लेख गरेकी थिइन् ।

६६ लाख रुपैयाँमा सम्झौता गरे पनि १ करोड मूल्य आउने देखेपछि थिङले सम्झौता तोडेको जयन्तीको आरोप छ । समयमै दाना नटिप्दा नष्ट हुन सक्ने भन्दै अदालतले गत साउन २ मा दुवैको स्वामित्व रहने गरी दुवै पक्षको सहमतिमा टिपेर बिक्रीबाट प्राप्त हुने रकम संयुक्त स्वामित्वमा रहने गरी अन्तरकालीन आदेश दियो । अदालतले ०७९ साउन २ मा सुरक्षा र आवश्यक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रोशी गाउँपालिकालाई पनि अनुरोध पत्र काट्यो । बोधिचित्त मालाको खिचलोमा वर्षैपिच्छे मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताउँछन् ।

बोधिचित्तको कारोबारमा मुद्दा मामिलाका घटना मात्रै भएका छैनन्, यसको कारोबारमा अपराध पनि मिसिन थालेको छ । ०७६ असार ११ मा साविक सिसाखानी–३, नागबेलीमा एक समूहले ९० लाख रुपैयाँ बराबरका बोधिचितका दाना लुट्यो । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले स्थानीय सागर भनिने रामकृष्ण मैनाली, राधाकृष्ण मैनाली, श्यामकृष्ण मैनाली, राजकुमार तामाङ, किरण तामाङ, बिर्खबहादुर तामाङ, निरे तामाङ, दीपेन्द्र भन्ने राजेन्द्र घलानविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको छ । मुद्दामा राधकृष्ण, राजकुमार, विजय, किरण, बिर्खले अदालतमा उपस्थित भएर बयान दिएका छन् । रामकृष्ण भन्ने सागर मैनाली, श्यामकृष्ण मैनाली, निरे तामाङ र दीपेन्द्र भन्ने राजेन्द्र घलान भने फरार सूचीमा छन् । सरकारी बादी उक्त मुद्दाको पेसी भदौ १३ को लागि तोकिएको छ ।

बोधिचित्त रुखबाटै चोरी हुने घटना पनि बारम्बार दोहोरिने गरेका छन् । असार अन्तिम साता वा साउन पहिलो साता नै टिपिसक्नुपर्ने दाना चोरी हुन थालेपछि स्थानीयले प्रतिदिन प्रतिव्यक्ति १ हजारदेखि १५ सय रुपैयाँसम्म भत्ता दिएर युवाहरूको समूह परिचालन गर्ने गरेका छन् । एउटा व्यापारीले दिएको मूल्यभन्दा बढी दिएर माला खरिद गर्न खोजेपछि व्यापारीहरूको समूहबीच पनि झगडा हुने गरेको देखिन्छ ।

कतिपय घटनामा जिल्ला प्रहरी कार्यालयले थप सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने अवस्था पनि निम्तिएका छन् । कतिपय अवस्थामा दानाधनीले गाउँपालिकामा शान्ति सुरक्षाका लागि निवेदन दिएपछि पनि प्रहरी परिचालन गर्ने गरिएको छ । सुरक्षा चुनौती बढेकैले सम्भावित घटना हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरि खतिवडाले जानकारी दिए । लुटपाट, प्रलोभन, डरधम्कीलगायतका घटना बढेको उनको भनाइ छ ।

कारोबार व्यवस्थित गर्न कार्यविधि

बोधिचित्तको कारोबारमा नियमन गर्न र बेथिति मौलाउन नदिन भन्दै रोशी गाउँपालिकाले ‘बोधिचित्त माला संरक्षण र व्यवस्थापन कार्यविधि, ०७६’ नै बनाएको छ । बोधिचित्त माला उत्पादन, खरिदबिक्री गर्नेहरूसहित कारोबारको पूर्ण विवरणसहित क्रेतासँगको सम्झौता वडाध्यक्ष वा उनले तोकेको आधिकारिक प्रतिनिधिको रोहबरमा मात्र गर्नुपर्ने त्यसका उल्लेख छ ।

सम्बन्धित धनीको निवेदनपछि आर्थिक ऐनमा तोकिएबमोजिम ५ प्रतिशत सहजीकरण शुल्क लिई गाउँपालिकाले सहजीकरण गर्नेछ । कार्यविधिमा जग्गाको स्वामित्व विवाद भए अशंबन्डा नभएसम्म रोक्का गर्ने र सार्वजनिक जग्गामा फलेको ठहरिए सूचना प्रकाशन गरी बढाबढको माध्यमबाट बिक्री गर्ने विषय पनि उल्लेख छ । एक पक्षसँग सम्झौता गरेपछि फेरि अर्को पक्षसँग सम्झौता गरेको पाइए उक्त व्यक्तिसँगको सम्झौता रद्द गरी गाउँपालिकाले बिक्री गरी २५ प्रतिशत गाउँपालिकाले असुल गरी बाँकी रकम सम्बन्धित जग्गाधनीलाई दिने कार्यविधिमा छ ।

कार्यविधि लागू भएयता ३ वर्षमा सहजीकरण शुल्कबापत् करिब १० लाख राजस्व संकलन गरिएको रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिए । वडा कार्यालयमा सम्झौता भएपछि दोस्रो व्यक्तिसँग सम्झौता नहुने सुनिश्चितता र उक्त स्थलको सुरक्षा व्यवस्था मिलाउने दायित्व वडा कार्यालय वा गाउँपालिकाको हुने कार्यविधिमा छ । कृषि उत्पादनको बिक्रीका क्रममा हुने विवाद कम गर्न कार्यविधि ल्याएर कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।

बोधिचित्त उत्पादन र कारोबार हुने तेमाल गाउँपालिकाले भने छुट्टै कानुन बनाएको छ । सम्बन्धित वडामै प्रतिकिलो २५ रुपैयाँ राजस्व लिने गरिएको अध्यक्ष चन्द्रबहादुर तामाङको भनाइ छ । सुरक्षालगायतका विषयमा निवेदन परे प्रहरी, प्रशासनको सहयोगमा समन्वय गर्ने गरिएको उनले जनाए । वन नियमावली ०७९ ले बोधिचित्तलाई कृषि उपज सरह मानेको छ ।

सोही कारण वनले अहिले कुनै राजस्व लिने गरेको छैन । अर्बमा कारोबार हुने बोधिचितको राजस्व यसअघि प्रतिकिलो १ रुपैयाँ ४ पैसा थियो । १ सय ८ दानाको प्रतिमाला ५ लाख रुपैयाँसम्ममा बिक्री हुने बोधिचित्तको सरकारी मूल्य प्रतिकिलो ८ रुपैयाँ थियो ।

महत्त्व चिनेपछि...

विशेषगरी बौद्ध धर्ममा बोधिचित्तको विशेष महत्त्व छ । किंवदन्तीअनुसार, बौद्ध गुरु रिम्पोछे विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा तेमालको पोखरी नारायणस्थानमा आएको र त्यहाँ बास बसेर बिहान बोधिचित्त मालाको महत्त्वबारे बताएका थिए । सोही समयमा उनले बोधिचित्तका ३ दाना तीन दिशामा फालेको र सोहीबाट उम्रेका रुखबाट बोधिचित्तका दाना फल्न थालेको मान्यता छ । सोहीअनुसार, काभ्रेको तेमालमा फल्ने बोधिचित्तका माला अन्यत्रको तुलना बढी मूल्य पर्ने र बढी गुणस्तरका मानिन्छन् । यद्यपि जिल्लाका अन्य भेगका साथै छिमेकी रामेछापलगायतका जिल्लामा पनि यसको उत्पादन हुन थालेको छ ।

चिनियाँ बजारका साथै बौद्ध धर्मावलम्बी भएका विभिन्न स्थानमा यसको माग अझै छ । यसको माला जप्दा शान्ति प्राप्त हुने विश्वासका कारण अझै यसको माग छ । बयर प्रजातिमा पर्ने बोधिचित्त १२ सयदेखि २ हजार मिटरसम्मको उचाइका पाखोबारीमा पाइने विज्ञहरूको भनाइ छ ।

चैतमा फूल फुल्ने बोधिचित्तको दाना असार मसान्त वा साउनको पहिलो हप्ता टिपिसक्नुपर्छ । टिपेपछि यसलाई तातो पानीमा उमालेर बोक्रा निकालिन्छ । बोक्रा निकालेपछिको दाना केही समय सुकाएर बिक्रीका लागि तयार गरिन्छ ।

बढी मूल्य आउने छसुरे, सातसुरे भएका १२ एमएमभन्दा माथिका सुरे नभएका ९ मिलिमिटरभन्दा कमका दाना छुट्याइन्छ । खरिदका लागि व्यापारी गाउँ नै आउँछन् । उत्पादनसमेत गर्दै आएका स्थानीयले समेत अन्यत्रबाट संकलन गरेर व्यापारीसम्म पुर्‍याउँछन् । केही किसानले सीधै चिनियाँ व्यापारी वा अन्यलाई बिक्रीसमेत गर्ने गरेका छन् ।

प्रकाशित : भाद्र ११, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

देउवाले पनि प्रदेशलाई अधिकार दिन चाहनुभएन : मुख्यमन्त्री पाण्डे

नगेन्द्र अधिकारी

काभ्रे — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रदेशलाई अधिकार दिन नखोजेको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई कहिले पनि अधिकार दिन नचाहेको बताए ।


‘सबै अधिकार आफू मातहत ल्याएर केपीजी तानाशाह बन्न खोज्नुभएको थियो । शेरबहादुर देउवा आएपछि त हुनुपर्ने जस्तो लागेको थियो तर भएन नि,’ पाण्डेले भने, ‘देउवा आएको १० महिनासम्म पनि अधिकार विकेन्द्रित गर्न केही सुधार भएन । व्यक्तिभन्दा पनि मानसिकताको कुरा रहेछ ।’ प्रहरी नायव महानिरीक्षकसम्मको दरबन्दी प्रदेश प्रहरी मातहत रहने प्रस्ताव भए पनि संघले त्यसो गर्न नचाहेको उनले आरोप लगाए ।

प्रदेश मातहत कर्मचारी व्यवस्थापन गर्न कानुन ल्याइएको भन्दै उनले क्रमश: पदपूर्ति हुँदै जाने बताए । जनतालाई सेवा दिने मन्त्रालयको संख्या थप गरिएको भन्दै उनले सवारी अनुमतिपत्रलगायत व्यवस्थापन गरिएको बताए ।

कार्यक्रममा सांसद गंगाबहादुर तामाङ, नवीना लामा, संविधान सभा सदस्य तिर्थ लामा, रामहरी सुवेदी, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, जिल्ला समन्वय समिति काभ्रेका निवर्तमान प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइबा, पाँचखाल नगरप्रमुख महेश खरेल, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतले तीन तहको सरकार मिलेर विकास र समृद्धि दिनुपर्ने बताए ।


प्रकाशित : भाद्र १, २०७९ १२:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×