हराए हातैले फलाम पिटेर बनाइएका ऐतिहासिक झोलुंगे पुल

केदार शिवाकोटी

दोलखा — तामाकोसी नदी तरेर लुगाफाटो किन्न गएको सम्झना ताजै छ ७४ वर्षीय रत्नबहादुर जिम्बालाई । २०१९ सालमा १३ वर्षको उमेरमा लुगा किन्न पहिलोपटक काठमाडौं जाँदा उनले तामाकोसी नदीमा बनेको झोलुंगे पुल तरेका थिए । 

हराए हातैले फलाम पिटेर बनाइएका ऐतिहासिक झोलुंगे पुल

स्थानीय भाषामा फलामे साँघु भनिने त्यस्ता पुल तामाकोसी नदी तर्न ठाउँठाउँ हालिएका थिए । तत्कालीन सरकारले नभएर स्थानीयले आफ्नै रैथाने सीप र जिल्लाभित्रकै फलाम खानीबाट काचो फलाम निकालेर बनाएका थिए ।

रत्नलाई अझै सम्झना छ, रामेछापको ठोसे मेक्चनमा रहेको फलाम खानीबाट काँचो फलाम बोकेर हप्तौं लगाएर फलाम ल्याएको अनि साँघु निर्माणस्थलमा आरन राखेर कालीगढले साङलाको आकार दिएको । उनले भने, ‘साँघु बनाउन कम्तीमा ६ महिना लाग्थ्यो ।’

अघिल्लो पुस्ताका स्थानीयका अनुसार खानीबाट हप्तौं लगाएर काँचो फलाम निर्माणस्थलमा ल्याइन्थ्यो । भारीका भारी दाउरा प्रयोग गरेर आगो बालेर फलाम गालिन्थ्यो र साङ्ला बनाइन्थ्यो । त्यसपछि ढुङ्गामा गहिरो प्वाल खोपेर फलामका ठेंडी गाडिन्थ्यो । उक्त ठेंडीमा अंकुश बनाएर साङ्ला तन्काएर साँघु हालिन्थ्यो । जसमा स्थानीय टुनी जातका फ्ल्याक हालिने गरिन्थ्यो । साँघु तर्दा हल्लिन्थ्यो तर साङ्ला मजबुत हुने भएकाले चुँडिने डर थिएन् । यस्ता फलामे साङ्लामा खिया लाग्छ भनेर वर्षमा एकपल्ट तेल दल्ने चलन थियो ।

लिखित दस्ताबेज नभेटिए पनि तामाकोसीमा हातैबाट निर्मित फलामे साँघु दशकौं पुरानो रहेको बुझ्न सकिन्छ । यस्ता साँघुमध्ये तत्कालीन बुलङ र खारे जोडने फलामे साँघु प्रयागराज पण्डितले आफ्नै खर्चमा बनाएको इतिहास भेटिन्छ । ७७ वर्षीय बलबहादुर खड्काले वि.सं. २००३ सालमा उक्त साँघुमा दोस्रो साङ्लो थपिएको आफूले सुनेको बताउँछन् । उनलाई प्रयागराजले साँघु रेखदेखका लागि गुठीको जग्गा दिएर ल्याएका थिए । उनका अनुसार प्रयागराजले साँघु मात्रै बनाएनन् ।

साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने काम पनि गरे । उक्त गुठीको जग्गा दिएर २५ वर्षको उमेरमा बलबहादुरलाई साँघु रेखदेखका जिम्मा दिइएको थियो । २०२८ सालमा प्रयागराजको निधनपछि उक्त साँघुमा तेल दल्न छाडिएको बलबहादुरले बताए । ‘घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा विशेष तरिकाले तेल दलिन्थ्यो,’ उनले भने, २०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो, त्यही वर्ष प्रयागराजको निधन भयो ।’ बलबहादुरका अनुसार २०४४ सालमा तत्कालीन सरकारले साँघु मर्मत गरिदिएको थियो । त्यसयता पुल मर्मत भएको छैन ।

तामाकोसी नदी वारपार गर्न लामाबगर, साँघुरे, सुरीदोभान, भोर्ले, सिंगटी, पिखुती, नागदहलगायतका स्थानमा यस्ता साँघु बनेका थिए । ती सबै व्यक्तिले आफनै खर्चमा बनाइएको बताइन्छ । दसकौंअघि निर्मित धेरै साँघु मासिएका छन् । जामुनेमा रहेको साँघु भने नदीमा खस्ने अवस्थामा छ । ‘तत्कालीन समयमा पुर्खाले बनाएका यस्ता साँघु संरक्षण भएको भए राम्रो हुन्थ्यो,’ उनले भने, संरक्षण गर्ने भन्छन् तर साङ्लाले ठाउँ छाड्न थालिसके, तामाकोसी नदीमा भएको यो अन्तिम साँघु हो ।’

८३ वर्षीय अच्युतप्रसाद आर्चायले २०४५/४६ सालमा सुरीदोभानमा झोलुङ्गे पुल बनेपछि अलपत्र अवस्थामा रहेको साङ्ला बोकर ल्याई जामुनेमा साँघु सारेका थिए । उनले सोही वर्ष उक्त फलामे साँघुमा तेल दलेको बताए । तर उक्त पहिरोले क्षति गरेपछि त्यसका साङ्ला अलपत्र थिए । उनले भने, ‘म जन्मनुभन्दा अघिका साँघु हुन् यी, कम्तीमा पनि डेढ सय वर्ष पुराना फलामका यस्ता साँघु अहिले हराए ।’

प्रकाशित : भाद्र १०, २०७९ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?