सिट १६५, गठबन्धनमा दाबी २२७- समाचार - कान्तिपुर समाचार

सिट १६५, गठबन्धनमा दाबी २२७

संघ र प्रदेशका निर्वाचन क्षेत्रमा दलको अवस्था विश्लेषण गर्दै कार्यदल
राष्ट्रपतिको गतिविधिप्रति सशंकित गठबन्धन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् ।

उनीहरूले दाबी गरेको कुल सिट संख्या २ सय २७ पुग्छ । जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने सिट संख्या १ सय ६५ मात्रै छ ।

कार्यदलका एक सदस्यका अनुसार कुन निर्वाचन क्षेत्रमा कुन दलको अवस्था कस्तो छ भन्नेबारे मत विश्लेषणसमेत सुरु भएको छ । ‘कुन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर सामान्यतः छलफल भएको छ । अब केही गृहकार्य आवश्यक छ, शुक्रबार ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्छौं,’ कार्यदलका ती सदस्यले भने ।

बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई संघ र प्रदेशका निर्वाचन क्षेत्रमा दलको अवस्था शुक्रबारसम्म विश्लेषण गर्ने जिम्मेवारी दिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले दिएको जिम्मेवारीअनुसार प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रको समीक्षा भइरहेको बताए । ‘दलहरूबाट खुलस्त दाबी प्रस्तुत भएको छ,’ उनले भने, ‘हामी त्यसलाई न्यायसंगत ढंगले टुंगोमा पुर्‍याउँछौं ।’

राष्ट्रपतिको गतिविधिप्रति सशंकित

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रवाद’ का नाममा सक्रियता बढाएर संविधानको मर्यादा र दायरा नाघेको सत्तारूढ गठबन्धनले निष्कर्ष निकालेका छन् । बिहीबार बिहान बसेको गठबन्धनको बैठकमा शीर्ष दलका शीर्ष नेताहरूले नागरिकता र शान्ति प्रक्रियासँग सम्बन्धित संसद्मा विचाराधीन विधेयकलाई लिएर राष्ट्रपतिले देखाइरहेको सक्रियता अस्वाभाविक रहेको टिप्पणी गरेका छन् ।

चुनावी तालमेलका लागि सिट बाँडफाँटको गाँठो फुकाउन बोलाइएको शीर्ष नेताको बैठक त्यतातिर प्रवेश नै नगरी राष्ट्रपतिका पछिल्ला गतिविधिमा केन्द्रित भएको थियो । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिसहित करिब ७० जना बहालवाला र अवकाशप्राप्त सैनिक अधिकारीहरूलाई राष्ट्रपति भण्डारीले बुधबार राति दिएको रात्रिभोज र त्यसमा राष्ट्रपतिले उठाएका प्रश्नलाई लिएर सत्तारूढ दलका नेताहरू सशंकित देखिएका छन् । उनीहरूले राष्ट्रपतिको सक्रियतालाई लोकतन्त्रमाथि नै हमला गर्ने मनसायका रूपमा व्याख्या गरेका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरूसँग गरेको रात्रिभोज र त्यसमा राखेको धारणाका पछि असल मनसाय नरहेको बताए । ‘राष्ट्रपति भण्डारीले बढ्ता नै राजनीति गर्न थाल्नुभयो । संविधानको दायरा र मर्यादालाई नाघेर लोकतन्त्रलाई उल्टाउने तानाबाना बुन्न खोजेको हो कि भन्ने आशंका उठेको छ । बिहानको बैठक यिनै विषयमा केन्द्रित भयो,’ उनले कान्तिपुरसँग भने, ‘राष्ट्रियतालाई अघि सारेर लोकतन्त्रमाथि आक्रमण गर्नु र संविधानमाथि खेलबाड गर्नु आपत्तिजनक हो भन्ने हाम्रो साझा धारणा छ ।’

पौडेलले २०१७ सालमा राजा महेन्द्र शाहले गरेकै जस्तो गतिविधिमा राष्ट्रपति उत्रन थालेकी हुन् कि भन्ने आशंकासमेत बढेको बताए । ‘राष्ट्रपति निवासमा पूर्वसैनिक अधिकारीहरूलाई भेला गरेर भोज खुवाउनु र नागरिकता विधेयक हुबहु जारी गरे राष्ट्रियतामाथि नै खतरा आउने भनेर बोल्नु राम्रो संकेत होइन,’ उनले भने, ‘लोकतन्त्र कमजोर पार्ने र मुलुकलाई सधैं अस्थिरतातिर धकेल्ने काममा राष्ट्रपति नै लाग्नु आपत्तिको विषय हो ।’

रात्रिभोजमा केही सैनिक अधिकारीले प्रतिनिधिसभाले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट हुबहु पारित भएर आए जारी नगरी कानुनी उपाय खोज्नुपर्ने राय राष्ट्रपतिसमक्ष राखेका थिए । शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा समेत उनीहरूको आपत्ति थियो । यसै विषयलाई लिएर राष्ट्रपतिले राजीनामा भने दिन नहुने उनीहरूको सुझाव थियो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटमा समेत राष्ट्रपतिको प्रसंग उठेको विषयमा पनि बिहीबार बिहानको गठबन्धन बैठकमा छलफल भएको थियो । दुई उपाध्यक्षसहित देउवालाई भेट्न बालुवाटार पुगेका ओलीले राष्ट्रपतिको मान नराखी नागरिकता विधेयक हुबहु पारित गरेको र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक एकपक्षीय रूपमा ल्याइएको भन्दै आपत्ति जनाएका थिए ।

जवाफमा देउवाले ‘तपाईंले नै ल्याएको नागरिकता अध्यादेश ल्याउँदा किन विरोध ?’ भनेर प्रतिप्रश्न गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार सत्तारूढ दलको बैठकमा राष्ट्रपतिको ‘राजनीतिक’ सक्रियतालाई मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनाव सार्ने ‘षड्यन्त्र’ त होइन भन्ने आशंकासमेत केही नेताले गरेका थिए ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले देखाएको पछिल्लो सक्रियता अस्वाभाविक र असंवैधानिक रहेको बताएका थिए । २०६३ सालको नागरिकतासम्बन्धी कानुन बनाउने क्रममा राष्ट्रपति भण्डारी स्वयं संलग्न रहेको उल्लेख गर्दै उनले अहिलेको कदम भने अस्वाभाविक रहेको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका गतिविधिलाई आफूहरूले सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताए । सैनिक अधिकारीहरूलाई राष्ट्रपति निवासमा भोज दिइनुले शंका जन्माएको उनको भनाइ थियो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिबाट भएका पछिल्ला गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

राष्ट्रपति कार्यालयले भने सैनिक अधिकारीहरूसँगको रात्रिभोज नागरिकता विधेयकमा छलफल गर्न आयोजना गरिएको नभई पूर्वनिर्धारित ‘कट्सी’ भेटघाट मात्रै भएको जनाएको छ । राष्ट्रपति कार्यालयका सल्लाकार विज्ञ समूहका सदस्य माधव शर्माका अनुसार नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपतिले पूर्वसैनिक अधिकारीहरूलाई भेट्नु असंवैधानिक नरहेको बताए ।

‘सुरक्षा निकायभित्र भएका समस्या र पीडितका विषयमा कुराकानी गर्न तीन महिनाअघि नै तय भएको भेटघाट हो । बीचमा कोरोना बढेकाले रोकिएको थियो,’ शर्माले भने, ‘समय मिल्यो भने नेपाली सेनाका मात्रै होइन, प्रहरी, सशस्त्र र अरूलाई पनि भेट्ने कार्यक्रम छ । यो भेटघाट नागरिकतासम्बन्धी विषयमा भएको होइन ।’

प्रकाशित : भाद्र १०, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

(अ)पूर्ण राजनीतिक प्राणी

सञ्चारकर्मीले प्रश्न गर्थे, ‘तपाईं कांग्रेसमै किन लाग्नुभयो ?’ गिरीको जवाफ हुन्थ्यो, ‘म पूर्ण राजनीतिक प्राणी होइन, राजनीतिको पोखरीमा म कहिल्यै चुर्लुम्म डुब्न चाहिनँ, कांग्रेस खराव भएपनि व्यक्तिगत स्वतन्त्रतामा प्रहार गर्दैन ।’
कुलचन्द्र न्यौपाने

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । घाँटीको क्यान्सरबाट शनिबार राति निधन भएका ७७ वर्षीय गिरीलाई सरकारको निर्णयअनुसार राजकीय सम्मानका साथ बिदाइ गरिएको हो ।

गिरीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्ति र ठूलो संख्यामा पार्टीका कार्यकर्ता आर्यघाट पुगेका थिए । गिरीलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए । त्यसअघि उनको पार्थिव शरीरलाई मेडिसिटी अस्पतालको शिवालय कक्ष र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा समेत श्रद्धाञ्जलीका लागि राखिएको थियो । दुवै ठाउँमा पार्टीका नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको थियो । पार्टीका कार्यक्रममा राजधानी बाहिर रहेका नेतासमेत गिरीको निधनको खबर सुन्नासाथ काठमाडौ फर्किएका थिए ।

गिरी पार्टीको सदस्य भए पनि विवेकको कुरा बोल्थे । विवेकलाई माथि राखेर अन्तरआवाजको कुरा बोल्दा कहिलेकाहीं पार्टीको निर्णयका विरुद्ध पनि हुन्थ्यो । तर उनलाई किन विरोधमा बोलेको भनेर प्रश्न गर्न सक्ने नेता पार्टीमा थिएन । पार्टीको बन्धनबाट बाहिर निस्कन नसक्ने कांग्रेसका धेरै नेताहरू भन्थे, ‘आफूलाई लागेको बोल्नलाई हामी प्रदीप गिरी परिएन । पार्टीको निर्णय र अनुशासनमा बाँधिएका छौं । यी सबैबाट छुट त केवल प्रदीप गिरीलाई छ, हामीलाई छैन ।’

पार्टीको केन्द्रीय सदस्यबाट माथि जान नखोज्ने, सांसद पटक–पटक बन्ने तर मन्त्री कहिल्यै हुन नखोज्ने गिरीलाई सञ्चारकर्मीले बारम्बार प्रश्न गर्थे, ‘तपाईं राजनीतिमा किन लाग्नुभयो ?’ अर्को प्रश्न हुन्थ्यो, ‘तपाईं कांग्रेसमै किन लाग्नुभयो ?’ पछिल्लो प्रश्न गरिनुका पछि गिरीको वैचारिक रूपमा कांग्रेसभन्दा पनि कम्युनिस्ट दर्शन र आदर्शसँग बढी निकटता रहनु हो । गिरीको जवाफ हुन्थ्यो, ‘म पूर्ण राजनीतिक प्राणी होइन, राजनीतिको पोखरीमा म कहिल्यै चुर्लुम्म डुब्न चाहिनँ । जस्तोसुकै खराब किन नहोस्, कांग्रेसले कहिल्यै व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गरेको छैन । त्यसैले म कांग्रेसमा छु ।’

गिरीको जीवन मात्रै होइन, घरव्यवहार पनि व्यवस्थित थिएन । उनी लामो समय बानेश्वरको कात्यानी चोकनजिक बस्थे । कांग्रेस कार्यकर्ता गुणनिधि तिवारीले भाडा नलिईकनै गिरीलाई आफ्नो घरमा बस्न दिएका थिए । पुरानो घर भत्काएर नयाँ घर बनाउन थालेपछि भने उनी तीन वर्षअघिदेखि भाइ लक्ष्मण गिरीको अपार्टमेन्टमा बस्दै आएका थिए ।

‘अपवाद नेता’

प्राध्यापक कृष्ण खनालका अनुसार प्रदीप गिरी पार्टीभित्र आफ्नो भूमिका र जिम्मेवारी आफैं परिभाषा गरेर हिँड्न सक्ने क्षमता भएका समकालीन राजनीतिका अपवाद नेता हुन् । उनी सत्ता निरपेक्ष भएर मूल्य मान्यताको राजनीति गर्ने, समयको आवश्यकतालाई बुझेर अघि बढ्न सक्ने र समाजवादी दर्शनलाई आफ्नो जीवनमा रूपान्तरण गरेर देखाउने नेता हुन् । पार्टी स्थापनाकालमै बीपीले प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई पार्टीको वैचारिक दर्शन बनाएका थिए । कांग्रेसले अहिले पनि यिनैलाई मूल आदर्श मान्ने गर्छ । ‘तर कांग्रेसमा समाजवाद नारा मात्रै छ । चिन्तन, अध्ययन छैन,’ खनाल भन्छन्, ‘समाजवादीको विषय भट्याउने काम मात्रै छ । त्यस हिसाबले प्रदीप र कांग्रेसबीच कहींकतै भेट हुन्थेन ।’

पार्टी सत्तामा पुग्दा गिरी र सरकारले लिने नीतिमा समानताभन्दा द्वन्द्व बढी देखिन्छ । ०४६ सालको परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारमा अधिकांश समय रामशरण महत अर्थमन्त्री थिए । कांग्रेसमा महत र गिरीका बीच जहिल्यै अर्थनीतिको द्वन्द्व चल्थ्यो । महत उदार अर्थतन्त्रका पक्षपाती थिए भने गिरी समाजवादी अर्थतन्त्रका । महत अर्थमन्त्री भएकै बेला सरकारी उद्योगहरूलाई निजीकरण गरिएकोदेखि राष्ट्रिय नीतिमा अपनाइएको उदार अर्थतन्त्रसम्ममा गिरीले सार्वजनिक रूपमै विरोध गरे । शिक्षा, स्वास्थ्य र बाँच्न पाउने जस्ता जनताका न्यूनतम आधारभूत कुरा राज्यले संरक्षण गर्नुपर्छ भन्ने गिरीको मत हुन्थ्यो । सुरुवाती दिनमा वैचारिक द्वन्द्वजस्तो देखिए पनि पछिल्लो कालखण्डमा गिरी लोकतान्त्रिक अर्थतन्त्रकै पक्षमा देखिएको महतको दाबी छ । ‘उहाँको प्राथमिकता पुरानो समाजवादी अर्थनीतिप्रति थियो । सबै सरकारले गर्नुपर्छ, यसले सरकारको ढुकुटी बढ्छ, गरिबी निवारणमा सहयोग पुग्छ भन्ने कुरा गर्नुहुन्थ्यो,’ महत भन्छन्, ‘जब निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चीनले लियो, त्यही बाटोबाट चीनले आर्थिक प्रगति हासिल गर्‍यो । भारत र रुसले पनि उदार अर्थनीतिको बाटो समाते । त्यसपछि गिरीले पनि लोकतान्त्रिक समाजवादको बाटो लिनुभएको थियो ।’

सरकारमा सांसददेखि माथि र पार्टीमा केन्द्रीय सदस्यदेखि माथिल्लो पदमा पुग्ने कहिल्यै चाहना गिरीमा थिएन । उनी पटक/पटक सांसद भए । तर कहिल्यै मन्त्री बन्ने दौडमा लागेनन् । ०५६ सालको निर्वाचनको प्रचारका क्रममा कृष्णप्रसाद भट्टराईले उनकै निर्वाचन क्षेत्रमा पुगेर ‘गिरीलाई जिताउनुहोस्, शिक्षामन्त्री बनाउँछु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएको सम्झन्छन् नेता नरहरि आचार्य । ०५६ को निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए र उनी पर्साबाट चुनाव लडेका थिए । गिरीले ०५६ सालमा चुनाव जित्न सकेनन् । चुनाव हारेपछि गिरीले ‘भगवान्ले मलाई जोगाउनुभयो, चुनाव जितेको भए किसुनजीको कुरा काट्न मलाई गाह्रो पर्थ्यो’ भनेर प्रतिक्रिया दिएका थिए । नेता आचार्य यसलाई कतिपयले उनको योग्यतासँग पनि जोडेर आलोचना गरेको सम्झन्छन् । ‘तर उहाँलाई आफू कहाँ योग्य छु भन्ने कुरा प्रस्टसँग थाहा थियो,’ उनले थपे, ‘सुत्दा पनि, उठ्दा पनि, खाँदा पनि राजनीति गर्नेहरूसँग तपाईं हामी जस्ता मान्छेले प्रतिस्पर्धा गर्न सकिन्न भन्नुहुन्थ्यो ।’

अनौपचारिक छलफलमा समेत भट्टराईले गिरीलाई मन्त्री हुनका लागि आग्रह गरिरहेको प्रसंग गिरीसँग लामो संगत गरेका राजनीतिज्ञ दुर्गा सुवेदी स्मरण गर्छन् । ‘०५६ सालकै चुनावताका हो । म उपस्थित भएकै बेला किसनुजीले प्रदीपजीलाई मन्त्री बन्नुपर्छ भन्नुभएको थियो,’ सुवेदीले सुनाए, ‘तर उहाँले मन्त्रीले के–के गर्छन्, म त्यस्तो काम गर्न सक्दिनँ, मेरो काम छलफल गर्ने, तपाईंहरूबाट सिक्ने, जानेका कुरा सिकाउने हो भन्नुभएको थियो ।’

सुवेदीका अनुसार गिरी पार्टी र परिवारको बन्धनमा नपरेका निष्फिक्री मान्छे थिए । विचारमा गिरी कम्युनिस्ट दर्शनसँग निकट थिए तर व्यावहारिक राजनीतिमा उनी कांग्रेसमा थिए । कांग्रेसभित्र पनि उनी देउवाको गुटमा थिए । कुनै नेताका कर्म र पार्टीका गलत निर्णयमा गिरीले खुलेर आलोचना गर्थे । प्रदीप गिरीका हकमा कांग्रेस नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा विरोध गर्न सक्थेनन् ।

गिरीसँग नजिकको सम्बन्धमा रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफूले समेत ०७४ को एक सार्वजनिक कार्यक्रममा गिरीलाई मन्त्री हुन आग्रह गरेको सम्झन्छन् । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री र उनी अर्थमन्त्री थिए । देउवा प्रमुख अतिथि भएकै कार्यक्रममा कार्कीले ‘प्रदीपजीको परीक्षा हुन बाँकी छ, मन्त्री भएर परीक्षा दिनुपर्छ’ भनेका थिए । ‘उहाँले कुनै प्रतिक्रिया दिनुभएन । उहाँले चाहेको भए भट्टराई र देउवा पटक–पटक प्रधानमन्त्री भएका बेला मन्त्री भइरहन सक्नुहुन्थ्यो । उहाँले नचाहिने काम गरिदिनुपर्‍यो पनि भन्नुभएन । कहिलेकाहीं प्रक्रिया र कानुनले दिने काम यसो हेरिदेऊ है, मलाई यसले धेरै सहयोग गरेको छ मात्रै भन्नुहुन्थ्यो,’ कार्कीले सुनाए, ‘प्रदीपजी नेपाली राजनीतिमा कहिल्यै ननिभ्ने दियो बालेर जानुभएको छ । उहाँको राजनीतिक दर्शन, निष्ठा र विचारले नेपाली राजनीतिलाई धेरैपछिसम्म तरंगित पारिरहनेछ ।’

कांग्रेस नेता विमलेन्द्र निधि गिरीलाई आफ्नो राजनीतिक अभिभावक र आदर्श नै मान्थे । गत वर्ष भदौमा बिरामी भएर गिरी मुम्बई गएको खबर सुन्नासाथ उनी पनि उतै पुगेका थिए । ‘गिरीको निधनले कांग्रेस र मुलुककै लागि ठूलो क्षति पुर्‍याएको छ,’ निधिले भने । महाभारतका विषयमा घण्टौं बोल्न र प्रवचन दिने गिरीको रामायणको गहिरो अनुराग रहेको निधि बताउँछन् ।

प्रकाशित : भाद्र ६, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×