कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
भिडियो

अन्धविश्वासको ‘पसल’

पेटमा चुसेर पत्थरी निकालिने भन्दै कथित माताद्वारा सर्वसाधारणको जीवनमाथि खेलबाड

मोरङ र रुपन्देही — ग्राभेल सडक नै ढाकिनेगरी रंगीचंगी टेन्ट । भित्र छरपस्ट प्लास्टिकका कुर्सी । परबाट हेर्दा बिहे वा धार्मिक समारोहजस्तो । टेन्टछेवै उत्तरपट्टि केही मानिस लाइनमा उभिइरहेका छन् । पालैपालो घाँटीमा ‘राम नाम’ लेखिएको पहेंलो गम्छा भिरेर कुर्सीमा बसिरहेका अधबैंसे पुरुषछेउ पुग्छन् । प्रतिव्यक्ति १५ रुपैयाँ तिरेर टोकन लिन्छन् । छेवैको पसलमा पुगेर दिन्छन् अनि जस्ताको छाना हालिएको घरभित्र छिर्छन् ।

अन्धविश्वासको ‘पसल’

भित्रको पूजा कोठाजस्तो देखिने ठाउँमा एक पुजारी महिला बसेकी छन् । हातमा रुद्राक्षको माला लिएकी उनी टोकन लिएर भित्र छिरेकी एक महिलासँग एकछिन कुरा गर्छिन्, त्यसपछि महिला उत्तानो परेर सुत्छिन् । पेटको भागको कपडा हटाउँदै पुजारी महिला मुख लगेर चुस्न थाल्छिन् । केहीबेरमा सानो ढुंगा निकालेझैं गरेर सबैलाई देखाउँछिन् ।

विराटनगरसँगै जोडिएको जहदा गाउँपालिका–४ सोहल टोलकी ४५ वर्षीया परनीदेवी मण्डलको घरको दृश्य हो यो । उनलाई स्थानीय ‘माता’ भनेर चिन्छन् । पुजारी बताउने उनले मुखले चुसेर पेटबाट पत्थरी निकालिदिने दाबी गर्छिन् । उनको दाबीमा भर परेर दैनिक दर्जनौं मानिस यहाँ आउँछन् । दैनिक दुई सयभन्दा बढी बिरामीको शरीरभित्रको ढुंगा चुसेर निकाल्ने परनीको दाबी छ ।

कथित माता बताउने उनले चमत्कारको भ्रम फैलाएर वर्षौंदेखि बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिरहे पनि स्थानीय निकाय मौन देखिन्छ । प्रदेश राजधानी छेउकै एउटा गाउँमा चलिरहेको अन्धविश्वासको यस्तो पसलका ग्राहक प्रदेश १, मधेस र भारतको विहारसम्म फैलिँदा पनि नियामक निकाय बेखबर देखिन्छन् । सरोकारवाला निकायको मौनताकै कारण अन्धविश्वासको यो खबर फैलिरहेको छ ।

सप्तरीको खडग नगरपालिका–४ पन्सेराका ४५ वर्षीय देवनारायण चौधरीलाई केही समयअघि पेट दुख्ने समस्या देखियो । लहानमा उपचार गराउँदा चिकित्सकले पित्तथैलीमा ४ एमएमको ढुंगा रहेको बताए । ‘शल्यक्रियाका लागि रकमको जोहो गर्न थालें,’ उनले भने, ‘त्यही क्रममा गाउँकै एक जनाले माताले चुसेर पत्थरी निकालेपछि निको हुने सुनाएपछि यहाँ आयौं ।’ पहिलो पटक साउन २४ मा ‘माता’कहाँ आफू आएको र उनले चुसेर पत्थर निकालिदिएको देवनारायणले सुनाए । ‘माताले पुनः जडिबुटी खान दिनुभएको छ । १५ दिनपछि भिडियो एक्सरे गरेर हेर्न भन्नुभएको छ ।’ यहाँ १५ रुपैयाँका दरले दुई टिकट किनेको र ८०/८० रुपैयाँको प्रसाद किनेर चढाएको उनले सुनाए ।

भारत विहारको अररिया जिल्ला ग्रामपञ्चायत लक्ष्मीपुर–१ का मथुरानन्द मण्डल पनि यहीँ भेटिए । छोरीहरू रुक्मिनीदेवी र पिंकीदेवीको पेटमा रहेको ढुंगा झिक्न र निःसन्तान एउटी छोरीको झारफुक गराउन आएको उनले बताए । ‘माताले दुवैको पत्थरी निकालिदिनुभयो र जेठी छोरीको सन्तान प्राप्तिका लागि झारफुक गरेर ग्रह काटिदिनुभयो,’ उनले भने ।

परनीदेवीका भाइ देवनारायणले यहाँ पत्थरीलगायतका रोगको उपचारका साथै झारफुक, मन्त्रद्वारा शरीर र घडेरी बाँध्नुका साथै ग्रह कटाउन दैनिक २ सय बढी मानिस आउने गरेको दाबी गरे । परनीका पति भटनका अनुसार कोरोना महामारीका बेला बन्द गरेको सेवा फेरि सुरु भएको हो । ‘कुनै किसिमको शुल्क नतोके पनि भक्तजनको स्वैच्छिक चढावाबाट परिवार चलिरहेको छ,’ उनले भने । कान्तिपुरकर्मी पुगेको दिन अधिकांशले प्रसादसँगै सामर्थ्यअनुसार ५ सयदेखि १५ सय रुपैयाँसम्म चढाएका थिए ।

ऐलानी जग्गामा बसोबास गरिरहेको मण्डल परिवारमा तीन छोरा छन् । उनका छिमेकीहरू भने यस्तो अन्धविश्वासले गाउँकै बेइज्जत भइरहेको बताए । ‘माताको विरोध गर्दा अधार्मिक र नास्तिक भनिने डर छ,’ एक छिमेकीले भने, ‘कोही खुलेर बोल्न सक्दैनन्, तर अन्धविश्वास चलिरहेको छ ।’

कथित माताले धेरैजसोलाई दुग्धिका, पथरचट्टा र नागफनी नामक जडिबुटी दिएको देखिन्छ । यी जडिबुटीको गुण र दोषबारे उनी नै जानकार देखिन्नन् । कान्तिपुरको अवलोकनमा उनले क्यान्सर, छारेरोग र पक्षघातबाहेक सबै खालका बिरामीलाई यही दिएर पठाइन् । जिल्ला आयुर्वेद अस्पताल मोरङका प्रमुख डा. केनिन राईले दुग्धिका छालालगायत रोगमा, नागफनी पेटसम्बन्धी दुखाइमा र पथरचट्टा पत्थरीको बिरामीका लागि लाभकारी भएको बताए । तर परनीदेवीले बिरामीलाई दुग्धिका, नागफनी धेरै मात्रामा र पथरचट्टाको एउटा मात्रै पात दिने गरेको देखियो । उक्त जडिबुटीको मात्रा र खाने विधि नमिलाए उल्टै हानिकारक हुने राई बताउँछन् ।

कोसी अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असित घिमिरे अन्धविश्वासको पछि लागेर ज्वरोदेखि जनैखटिरासम्म आउँदा पनि मातागुरुकहाँ जाने प्रथा कायमै रहेको बताए । ‘सामान्यजनको के कुरा अगुवा भनाउँदा नेता एवं समाजसेवी पनि यस्ता ठाउँमा धाउँछन्,’ उनले भने । आयुर्वेद चिकित्सक एवं समाजशास्त्री मुकेश सिंहले अनेक खालका धार्मिक आवरणमा बसेकाहरूले आफ्ना एजेन्टमार्फत चलाखीपूर्ण तरिकाले ठगी गरिरहेको बताए । समाजशास्त्री डिल्ली प्रसाईं पूर्वी सभ्यतामा परम्परागत कालदेखि झारफुक, जादुटुना चलाइआएको कुप्रथाले अहिलेको आधुनिक समाजमा पनि निरन्तरता पाइरहेको बताउँछन् । ‘गोजीमा ५ हजार रुपैयाँ लिएर नगए उपचारै नहुने अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरू यस्तै गुरुमाताको ढोका ढकढक्याउन बाध्य छन्,’ उनले भने ।

...

मृतलाई बचाएको भ्रम फैलाउने पक्राउ

बुटवलको एक चर्चमा मृत्यु भएका व्यक्तिलाई जीवित बनाइएको भन्दै गत आइतबार दिउँसो साढे २ बजे फेसबुकमा एउटा भिडियो पोस्ट भयो । विवेक सत्यालका नामबाट पोस्ट भएको ‘मरेका मान्छेलाई पुनः जीवित बनाउँदै’ शीर्षकको भिडियोले अफवाह फैलाएको भन्दै आलोचना सुरु भयो । त्यसपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले घटना अनुसन्धानसँगै अफवाह फैलाउनेलाई पक्राउ गर्न निर्देशन दिए । भिडियोमा ‘मृत व्यक्तिलाई प्रभु यशुले जीवित बनाएको’ बताउने बुटवल–११ देवीनगरको होली क्यालभरी चर्चका पाश्चर राजेन्द्र गोतामे पक्राउ परे ।

भिडियोमा भुइँमा ‘अर्धचेत अवस्थामा’ एक व्यक्ति सुताइएको देखिन्छ । वरिपरि केही व्यक्ति उभिएर प्रार्थना गरिरहेका छन् । गोतामेले सुतेको व्यक्तिको टाऊको नजिकै टुत्रुक्क बसेर यशुका नाममा केही भन्छन् । उनको निधारमाथि हात राखेर उनी भन्छन्, ‘सुन चाँदी हामीसँग छैन, जे हामीसँग छ तँलाई दिन्छौं । बैनी उठ । उठेर हिँड ।’ लगत्तै पाश्चरको हातको सहयोगमा अन्दाजी २४/२५ वर्षीया महिला उठेर हिँड्छिन् ।

भिडियो फेसबुकमा अपलोड गर्ने ओखलढुंगाका विवेक सत्यालले अर्कैको फेसबुकमा देखेपछि अफवाह फैलाउनेलाई कारबाहीको माग गर्नकै लागि पोस्ट गरेको बताए । ‘हाम्रो समाजमा नपच्ने खालको दृश्य देखेपछि नियन्त्रण गराउने उद्देश्यले पोस्ट गरेको हुँ,’ उनले भने, ‘भिडियो जबरजस्ती धर्म परिवर्तन गराउन दबाब दिने खालको देखिन्छ ।’

सोमबार सामाजिक सञ्जालमा भाइरल उक्त भिडियो भने २०७७ माघ १७ को रहेको पुष्टि भएको छ । भिडियोमा देखिएकी महिला लमजुङको राइनास–४ अल्काटारकी हुन् । भिडियो १ फेब्रुअरी २०२१ मा पाश्चर गोतामे आफैंले युट्युबमा अपलोड गरेका छन् । जीउ, हात–खुट्टा नचल्ने अवस्थामा आएकाले ती महिलालाई मृत अवस्थामा आएको भनेको र उपचारपछि निको भएकाले भिडियो अपलोड गरेको गोतामेले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलले गोतामेलाई सोमबार नै पक्राउ गरी सोधपुछ गरेको थियो । २०७७ मा खिचेर त्यही बेला उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको बयान दिएको रूपन्देही एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रकाशित : भाद्र ९, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?